एसएलसी र स्कूले जीवनका ती दिनहरु

       कृष्णराज सर्वहारी | 465 Views |   Published Date : 7th July 2015 |

Krishnaraj sarbahariहालै एसएलसी गर्नेहरूको कलेज खोज्ने अभियान तीब्र भएको छ । एसएलसीको सङ्घारसम्म पु¥याउने आफू अध्ययनरत स्कूलको पाइला फेरि कमैले टेक्छन्, त्यो इतिहासमा सीमित रहन्छ । मेरी कान्छी छोरी भूमिकाले पनि यस बर्ष एसएलसी गरिन् । म यस आलेखमा मलाई २०४४ सालमा एसएलसीको फलामे गेट पार गराउने स्कूलको सम्झना गर्न गइरहेको छु ।

बाल जनता मावि बनगाउँ, दाङदेउखुरी मेरो कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यालय हो । चैलाही–६, छुटकी घुम्ना मेरो गाउँबाट पैदल मात्र २० मिनेटको दुरीमा छ यो स्कूल । केही बर्ष पहिले एक दैनिकमा एक एंकर समाचार छापिएको थियो– ‘आठ कक्षामा पनि ब्याक दिन पाइने’ शीर्षकमा । विद्यालयमा एक दशक बिताएको सम्झनाको पोको म यही ब्याक परीक्षाको सेरोफेरोबाट शुरुवात गर्न चाहन्छु ।

म कक्षा ४ मा पढ्दै गर्दा ब्याक लाग्यो । कक्षा ६ मा पढिरहेका दाजु ऋषिराज चौधरी (हाल उच्च मावि बनगाउँ गणित शिक्षक) को पनि ब्याक लाग्यो । मलाई लाग्छ, यही ब्याक परीक्षाले हामी दुई भाइको पढाइको अवस्थालाई ‘यु टर्न’मा मोडिदियो । ब्याक दिएर पास गर्ने हामीहरू आघौं सालबाट ‘फस्ट÷सेकेण्ड’ आउन थाल्यौं । शिक्षकहरू छक्क थिए– ‘यिनीहरूको घरमा पढाउने होम टिचर पनि छैन । कसरी यिनीहरू अब्बल विद्यार्थी भए ?’

गुह्य कुरा के थियो भने, हाम्रा पिता टिकाराम चौधरी फरेष्टर जागिरको सिलसिलामा राप्तीको पहाडको चक्कर काटिरहनुभएको थियो । छोराछोरीहरूको राम्रो रिजल्ट आउने आशा कुन चाहिं बाबुआमालाई हुन्न र ! तर, ब्याक परीक्षाले बाबुको सपनामा तुषारापात गरेको थियो । हामी दुई भाइले सल्लाह ग¥यौं– ‘पढाइ भनेको हाम्रै लागि हो । बाबुआमाको लागि हामीले पढिदिने होइन, आफ्नै लागि पढ्ने हो । राम्ररी पढे बाबुजस्तै जागिरे भइन्छ, दुःख पाइदैन ।’ यही विचारले मनमा डेरा जमाएपछि हामी पढाकु भयौं । कतिसम्म भने देउखुरी गढवा–६, मानपुर मामाघर पाहुना पर्न जाँदा पनि झोलामा किताब कोचेर लान थाल्यौं । ‘हाम्रा भाञ्जाहरू कति ज्ञानी’ मामा÷माइजूले यसो भन्दा हामी दङ्ग, फुरुङ्ग । ब्याक परीक्षाले यसरी मेरो जीवनमा क्रान्ति ल्याइदिएपछि मैले यस प्रणालीको गुणगान गरी, त्यो प्रणाली लागू गर्ने गुरु राजेन्द्र प्रसाद चौधरीको बखान गर्दै शिक्षक मासिकमा लेख पनि लेखेको छु ।

विद्यालयमा कक्षा १ को पहिलो दिन मलाई कत्ति याद छैन । तर, कक्षा २ मा फेल हुँदा बोझिलो मन लिएर घर फर्किदा आमाले भन्नुभएको यी वाक्य अझैं सम्झनायोग्य छ– ‘भैगो छोरा, अरु पनि फेल भएका छन्, अर्को वर्ष राम्रो गर्नू ।’ यसरी आमैले मल्हम लाइदिंदा फेल भएको घाउ तुरुन्तै पुरियो । जाँचमा असफल हुने विद्यार्थीलाई अभिभावकले हायल–कायल गर्दा उसले सुधार गर्नु सट्टा अझ खराब हुन सक्छ ।

यसरी कक्षा ४ मा ब्याक दिई पूरक पास भए पनि ५ कक्षादेखि १० सम्म मैले राम्रो नम्बर ल्याएर, कक्षामा पहिला, दोश्रा भएर उत्तीर्ण गरेको हुँ । तर एसएलसीमा मात्र सेकेण्ड डिभिजन आउँदा यस कारणले चित्त बुझाएँ कि मेरो टक्करमा आइरहने सहकर्मी चेतलाल चौधरी चार्लीले थर्ड डिभिजन ल्याएका थिए ।

यी पंक्ति लेखिरहँदा मलाई १÷२ कक्षामा आफै घरबाट गुन्द्री बोकेर पढ्न गएको झलझली सम्झना भइरहेछ । उत्तर मजगाउँका शिक्षक प्रेमलाल चौधरीले १÷२ कक्षामा मैले आफ्नो नामसमेत लेख्न नजान्दा यो विद्यार्थी जिन्दगीमा कहिल्यै उँभो लाग्दैन भनेर ठोकुवा गरेको सम्झना भइरहेछ । सायद, कक्षा ६ को कुरा हो । म नियमित ड्रेस लगाएर आउने विद्यार्थी भनेर बार्षिकोत्सवमा पुरस्कृत भएको थिएँ । तर, पुरस्कार थाप्ने दिन नै आउट ड्रेसमा हुँदा सिफारिस गर्ने कक्षा शिक्षक अंगेशकुमार वलीले गुनासो गरेको याद आइरहेछ । र, आफ्नो कुबुद्धिप्रति दया लागिरहेछ । किन–किन अरु साथीको सापटी मागेर भए पनि ड्रेस लगाइनँ । र, याद आइरहेछ, कक्षा ६÷७ मा शिक्षकहरू नआएको बेला आफै कार्यवाहक शिक्षक भई घण्टी खाली हुन नदिएको । कक्षा ७ मा फस्ट हुँदा बाबुले पहिलो पटक हाफपैन्टको बढुवा गरी पैन्ट सिलाई दिएको र चाइनिज पेन किनिदिएको ।

९ कक्षामा पुग्दै गर्दा बिस्तारै अनुशासनहीन विद्यार्थीको गणनामा गनिएँ म । देउखुरी धर्मापुरका साथी महेश चौधरीले एकदिन बिग्रेको रेडियो बनाउनलाई ल्याइरहेको बेला मैले खोलेछु । ९ र १० कक्षाको बीचमा एउटा खट्प्वाल थियो । खट्प्वाल छिर्दै रेडियोको आवाज घन्किएपछि गुरु राजेन्द्र हाम्रो कक्षामा आए । म त झ्यालको बाटो लुसुक्क भागी पो सकेछु । पछि कार्यालयमा बोलावट भयो र अंग्रेजीमा गाली खाएको याद अझै पनि मनमा ताजा छ ।

हिसाब मलाई मन नपर्ने विषय । कक्षा ९ को ऐच्छिक विषयमा भूगोल, अर्थशास्त्रको पुस्तक किनेर ल्याएको थिएँ । दाजुले ती फिर्ता गरिदिएर विज्ञान र ऐच्छिक गणितको किताब ल्याइदिनुभयो । सायद २५ पूर्णांकको त्रैमासिक परीक्षा हुँदा गणितमा ०.२५ नम्बर मात्र ल्याउँदा श्यामबहादुर त्रिपाठी सरले– ‘कृष्णराज अरु विषयमा कस्तो छ, थाहा भएन । तर मेरो गणित विषयमा त लिड्डु छ ।’ भनेको वाक्य मेरा मानसपटलमा अझै गुञ्जिरहेछ । अब त त्रिपाठी सर पनि बितिसके ।

एसएलसी पास भएपछि एक थुंगा फूल, अलिकति अविर लगाइदिएर बिदाइ गरिदिएको सम्झना मैले ‘सपना’मा मात्र भोगें, यो विपना भइदिएको भए कति जाती हुन्थ्यो भन्ने लागिरह्यो निकै दिनसम्म । सायद यो बिदाइको चलन अझै पनि शुरुवात भएको छैन । २०७१ सालको एसएलसीमा ८० जनामा जम्मा २२ जना पास भएको सुनेको छु । जति जना सम्पर्कमा हुन्छन्, तिनलाई औपचारिक बिदाइ गर्दिए राम्रै हुने थियो । पूर्वविद्यार्थीहरूलाई बोलाई विद्यालयलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ ? सरसल्लाह गर्ने चलन बसेको छैन । जबकि त्यहाँका अधिकांश स्टाफ सोही विद्यालयका पूर्वविद्यार्थी नै छन् ।

थापाथली काठमाडौंको मार्टिन चौतारी अफिसमा एकदिन म भन्दा जुनियर साथी मोती रिजाल भेटिए, जो त्यसबेला जर्मनबाट पीएचडी गरेर आएछन् । सँगै श्रीमतीले पनि पीएचडी गरेर आइछन् । मोतीले भने– ‘बनगाउँ स्कूलको माया लाग्छ, एकदिन समय निकालेर सरहरूलाई भेट्न जाउँ है ।’ पछि उनी कार्यरत क्षेत्र हेटौंडामा भेट हुँदा पनि उनले त्यहीं प्रसंग दोहो¥याए । विद्यार्थीले सफलता पाएको कुरा पुराना गुरुहरूलाई सुनाउने, खुसी बाँड्ने रहर हुन्छ । बनगाउँ स्कूलले त्यो अवसर पनि कहिल्यै नजुटाइदिंदा थकथक लाग्छ । विद्यालयले स्वर्ण महोत्सव पनि मनाइसक्यो । तर महोत्सव सम्झनायोग्य भएन ।

म पनि नेपाल संस्कृत विश्वविद्यालयमा २०६८ बाट थारू संस्कृतिमा पीएचडी गर्ने विद्यार्थी भएको छु । पीएचडी नै पढाइको अन्तिम टुंग्याउनी हो भन्ने मैले सुनेको छु । तर ज्ञान त्यस्तो चीज हो, जो जिन्दगीभरि अध्ययन गरेर सकिदैन । नभए कुनै समय मेरा पिता टिकाराम चौधरी जेठो छोरासँगै एउटै बेञ्चमा क्याम्पस पढ्न किन पो धाउँथे र ?

कक्षा ६/७ मा बनगाउँ स्कूलमा लाइब्रेरियनको भूमिका निभाइयो । अहिले बनगाउँमा गतिलो पुस्तकालय छैन रे भन्ने सुन्दा दुःख लाग्छ । पुस्तकालयलाई भौतिक होइन (कोठा त अब फालाफाल छन् सायद) पुस्तक जुटाइदिएर सहयोग गर्ने मन छ । विद्यालय प्रशासनले एक वचन भन्दिए हुन्थ्यो– ‘आओ है, प्यारा पूर्वविद्यार्थीहरू स्कूललाई कसरी सहयोग गर्न सक्छौ ? सहयोग गर्न आओ ।’ बनगाउँमा कक्षा ६ मा विद्यार्थी शून्य–शून्य हुँदै गएर पुनः १ देखि ५ कक्षाको भर्ना लिन थालिएको केही बर्ष भयो । तर अपेक्षित विद्यार्थी छैनन् । मलाई डर लागिरहेछ । मेरो प्यारो स्कूल सिमेन्टले त बलियो भएको छ । तर विद्यार्थीको अनुपस्थितिले कतै खण्डहर मात्रै हुने त होइन ?

र, अन्त्यमा– कक्षा ७ मा पढ्दा उपनाम राख्ने लहर चलेको थियो । प्रायः सबैले उपनाम राखे । मैले पनि ‘सर्वहारी’ उपनाम राखें, अरुले आफ्ना उपनाम के कति जोगाए, थाहा छैन, तर बनगाउँ स्कूलमै पढ्दा जसले मलाई ‘सर्वहारी’ नाउँ दियो, यसको सम्झनास्वरुप जोगाएको छुँ । जुन नामले मलाई लेखक, पत्रकारको रूपमा चिनाएको छ । मेरा प्रकाशित २० वटा पुस्तकमा यही नाम प्रयोग भएको छ । कक्षा ७ को नेपाली किताबमा मेरो एउटा कथा समावेश भएको छ । तर त्यसमा मेरो उपनाम सर्वहारी हटाएर चौधरी बनाइएको छ । २०४४ सालमा मैले एसएलसी दिएको हुँ । स्कूले जीवनको मेरो गोरेटोमा टेवा दिने मेरा आदरणीय गुरुहरू र मेरा एसएलसी ब्याचका साथीहरूलाई सलाम अर्पण गर्न चाहन्छु ।

ksarbahari@gmail.com

प्रतिक्रिया दिनुहोस्