त्यो पुरुष…

       भुपेन | 425 Views |   Published Date : 12th July 2015 |

Bhupenधेरै समयपछि मुटुले आज पग्लिने आँट ग¥यो ।

समुन्द्रमा छालले आफ्नो सिमारेखा नाघेजस्तै । शान्त नदीमा कसैले ढुङ्गा प्रहार गर्दा निस्किने तरङ्गजस्तै– म आज किन अशान्त भइरहेकी छु । एउटा सामान्य भेटले पुनः किन यो मनमा अशान्ति मच्चाइरहेको छ । राति १० बजेको यो सिरसिरे हावा कतिखेर निक्कै मादक लाग्छ त कतिखेर निक्कै पीडादायी । बेडमा पल्टिएका मेरा श्रीमानको मुहार हेर्छु कतै निर्दोष त कतै निक्कै क्रूर पाउँछु यो मान्छे । कतिखेर बलिरहेको मैनबत्तीजस्तै मन शान्त हुन खोज्छ भने कतिखेर निभ्न लागेको झैं गरी झर्झराउन थाल्छ ।

एउटा शब्द नलेख्ने कसम खाएको पनि आज पाँच वर्ष पुगिसकेछ । बिहेको मिति तोकिएको दिनबाटै मैले यो साहित्य संसार र शब्दको आत्मीयताबाट टाढा भाग्ने कसम खाएकी थिएँ । तर आजको एउटा भेटले पुनः ती सबै बाचाबन्धन टुटाइदिएको छ । केन्द्रीत हुन नसकेको मनलाई श्रीमानको घुरघुरले क्षण–क्षणमा बिकेन्द्रित बनाइदिन्छ । केही आँसुका थोपा खसिदिए मन शान्त हुन्थ्यो कि ! तर मुल सुकेको नदीझैं यी आँखाले पनि वर्षिने आँट गरिरहेका छैनन् ।

‘ए चाहना सुत न बत्ती निभाएर ।’ श्रीमान् तेस्रोचोटि कराए ।

यसरी जोड गरेपछि आफ्नो मन अशान्त हुँदाहुँदै पनि मैले श्रीमान्को मन र शरीर शान्त बनाउनु पर्छ । मेरा सबै आफन्तले सम्झाएअनुसार मेरो श्रीमान् मेरो भगवान हो । उ मेरो श्रीमान् भएदेखि म उसको भक्त भएँ । मैले उसको पूजा गर्नैपर्छ । मेरो सारा मन, शरीर सबै उसको मन्दिरमा (घर) चढाइएका हुन् ।

‘चाहना कस्तो नसुनेको तिम्ले ? बोक्सीजस्तो रातभर के गरेर बस्छौ ? आऊ न सुतौं ।’ मेरो भगवानको अर्को आग्रह ।

अब त केही समय म जानै पर्नेछ मेरो भगवानमा आफूलाई चढाउन । अबको केही समय मेरो सारा शरीर र मन उसकै होे । मेरो स्वत्व मैले गुमाउनेछु (यो कस्तो भगवान ? जहाँ म आफ्नो स्वत्व गुमाउँछु ! जहाँ कैद हुन्छन् मेरा भावना, जबर्जस्ती लुछिन्छन् मेरा इच्छाहरु) । केही समयको आरधनाले शिथिल हुनेछ उसको मन र शरीर । र जब उ निदाउनेछ मैले मेरो स्वत्व पाउनेछु यो रातमा । अनि पूरा गर्न पाउनेछु बाँकी कथा ।
….

PhotoFunia-1434694984आठ वर्षअघि एक साँझ एउटा दुब्लो शरीर र झुसे दाह्रीग्रस्त युवकले मलाई एकोहोरो हेरेको हे¥यै ग¥यो । साँझको त्यो समय हतारिएर हिडेका मेरो खुट्टा थर्थराउन थालेका थिए– उसको एकोहोरो हेराइले । हेर्दै गँजडीजस्तो देखिने त्यो युवक जब मेरो पछि नै लागेर आउन थाल्यो, मैले आफुलाई झन् दौडाउने प्रयास गरें । पछि–पछि उसले पनि आफ्नो गति बढायो । उ पछि नै लागेपछि मन झनै डराउँदै गयो । घर पुग्न अझै आधा घण्टा लाग्थ्यो । अघि जाला कि भनी सुस्तरी हिड्ने प्रयास गरें । उसले पनि आफ्नो गति मन्द बनायो । म अडिएर फोनमा कुरा गरेजस्तो गरें । उसले पनि खल्तीबाट ठूलो आवाज निकालेर को सँग हो कुरा गर्न थाल्यो । बाटोको छेउबाट मास्तिर सरें । उ पनि उसैगरी मास्तिर स¥यो । फर्किएर उ तिर हेरें । उसले नि फर्किएर पछाडि खै के हे¥यो ?

साँझ झमक्क परिसकेको थियो । जे त होला भनी सरासर हिड्दै गएँ । उ पनि पछि–पछि आउँदै रह्यो । अब म सामु दुइटा बाटो थिए । एउटा बाटो छोटो थियो घरसम्म पुग्नलाई । जुन बाटोमा सधैं घर जान्थें । अर्को अलिक घुमाउरो पथ्र्यो । अघिदेखिको उसको क्रियाकलापले सधैं हिड्ने बाटो हिडे यो पक्कै पनि मेरो पछि–पछि आउनेछ भनी घुमाउरो बाटो घर पुग्ने सोच बनाई अघि बढ्नै लागेको थिएँ, उ खितखिताएर हाँस्न थाल्यो । निरन्तर हाँसिरह्यो केही समय । उसको हाँसोले मेरो नि हाँसो थामिएन । त्यो झमक्क परेको रातमा दुई पागल भई हाँस्न थाल्यौं । उ रोकिन्थ्यो । म हाँस्न थाल्थें । म रोकिन्थें, उ हाँस्न थाल्थ्यो । यसरी करिब पाँच÷सात मिनेटसम्म हाँसेपछि हाँस्दा–हाँस्दै हात अघि सार्दै सुनायो आफ्नो नाम–

‘म अनुभव’

‘म चाहना ।’

मैले पनि हाँस्दा हाँस्दै परिचयसहित हात मिलाउन पुगेछु उ सँग । पछि उसैले घरसम्म पु¥याइदियो । त्यहीं रात निन्द्रा परेन राम्रो गरी । त्यो दुब्लो शरीरमा झुसे दाह्री निक्कै सुहाउँदा देखिए त्यो अनिदो रातमा ।

त्यसपछिका कैयन् रात हामी सँगै हिड्यौं ती गल्लीहरुमा । अब उ सँग भाग्नुपर्ने कुनै कारण थिएन । बरु उ नभएको साँझ बाटो निक्कै लामो लाग्थ्यो । तर प्रायः साँझ उ आइपुग्थ्यो खुकुरी चुरोटको धुवाँ उडाउँदै । चुरोटको धुवाँमा पनि थरिथरि चित्र बनाउँछु भन्थ्यो । म उसले कोरेका ती चित्र देख्दैनथें । तर चुरोटको धुवाँमा पनि चित्र बनाउँछु भन्ने यो मानिस मलाई अचम्मको लाग्थ्यो । एकदिन त्यसरी चुरोट नखान आग्रह गरें ।

‘चाहना मेरो नाम नै अनुभव हो । यस्तो लाग्छ– जिन्दगी नै कैयन् अनुभवको संगालो हो । अब तिमी नै भन जिन्दगीलाई नै एउटा अनुभव ठान्ने मानिस कसरी यो सिगरेटबाट मुक्त होला ?’

उसले कोर्ने चित्रजस्तै उसका कैयन् यस्ता कुरा मैले बुझ्न सकिनँ । उसका कुरा माकुरोको जालजस्तै हुन्थे । निक्कै उल्झन हुन्थ्यो ती शब्दहरुमा । तसर्थ त्यो जालमा बल्झिन प्रायः मनले मान्दैनथ्यो । पछि बुझ्दै जाँदा उ लेखक रहेछ । जो दिनमा दुई÷चार कविता र कथा कमाउँथ्यो । म जस्तै बीचमै कुरा नकाट्ने इमान्दार श्रोता भेटाए आफ्नो कमाई बाँड्थ्यो अरुसँग । कपाल र दाह्री महिनौं काट्दैनथ्यो । उसकै आफन्तका नजरमा दिमाग खल्बलिएको मानिस थियो ऊ । घरबेटीको नजरमा महिनौं भाडा नतिर्ने गरिब थियो । जो परिवारप्रति निक्कै गैरजिम्मेवार थियो– महिनौं घर जाँदैनथ्यो । उसलाई बुझ्न सक्ने मानिसका नजरमा लेखक थियो, जो निक्कै गम्भीर कुरा लेख्थ्यो अनि बोल्थ्यो ।

अनि मेरा नजरमा ?

एउटा सहयात्री । जो सँग म हिड्न चाहन्थें दिनरात यी गल्लीहरुमा । दिनको एकफेर त्यसैगरी बौलाएर हाँस्न चाहन्थें उसँग । तर प्रायको नजरमा अक्षर कमाउने मानिससँगको भविष्य निक्कै असुरक्षित हुन्छ क्यार । घरमा बाबा मम्मीले पनि त्यो असुरक्षाको सुइँको पाउनुभएछ । घरमा मेरो बिहेको कुरा अन्तै चल्न थाल्यो । मलाई अचम्म लाग्छ– नारीले जब आफ्ना इच्छा पूरा गरी खुसी हुन थाल्छे, परिवार आफन्त किन त्यसरी भयभीत भइदिन्छन् ? कुनै पनि नारीको खुसी (जो परिवारबाट अनुमोदित हुँदैन) जब पूरा हुन थाल्छ किन दुःखी बनाइदिन्छ यी आफ्ना भनिनेहरुलाई ? अनुभवसँगको संगतले मलाई आफ्नै परिवारमा बन्दी बनाइदियो । जहाँ म हरदम निगरानीमा हुन्थें । म दुःखी हुँदै गए, मेरा आफन्त खुसी हुँदै गए । तर जब म उसलाई यी सब कुरा सुनाउँथें । उ उसैगरी जोडले हाँस्थ्यो र भन्थ्यो ।

‘चाहना आफ्नो आफन्त आफूभित्र मात्रै छ । त्यसलाई सुन । त्यसैलाई गाऊ र त्यसमै रमाऊ । तिमीलाई सुन्न बुझ्न नसक्ने मान्छे आफन्त हैनन् नातेदार मात्र हुन् ।’

उसका कैयन् यस्ता कुरा निक्कै मन पर्थे मलाई । सुनिरहन चाहन्थें जिन्दगीभर– यी कतै अल्झाउने, कतै खुसी बनाउने, कतै रुवाउने कुरा । तर सपना पूरा हुँदैनन् । अरुले नै ब्यूँझाएर रोकिदिन्छन् सपनाको गति । एकदिन मलाई सधैं खुसी र सुरक्षित राख्ने एक जना युवक र उसको खानदानको लागि म प्रस्तावित भएँ अर्कैबाट । र स्वीकार्य पनि भएँ अर्कैबाट । मेरो जिन्दगीको फैसला गरिदियो कसैले । अनुभवलाई बताएँ यी सबै । उ पनि हाँसेन त्यो दिन । बस यति भन्यो–

‘तिमी उड्न चाहन्छौ भने आफ्नै प्वाँखको भर पर । हिड्न चाहन्छौ भने आफ्नै खुट्टाको भर पर । अरु बैसाखीको सहारा लेऊ तर भर नपर । तिम्रा प्वाँख र खुट्टा बाँधिन्छन् भने भुवा भइ उड । उड्दा उड्दै सुदूर आकाशमा जाऊ, जहाँबाट तिमीलाई केही समय अरुले नियाल्न नसकून् र तिम्ले अरुलाई पनि नियाल्न नपरोस् । केही समय आफूसँग आफूलाई मात्र उड्न देउल । र ती बन्धनहरुबाट मुक्त भएछौ भने बोलाऊ अनुभवलाई  । यो अनुभव तिमीसँगको त्यो मिठो अनुभव साट्न र बौलाएर हाँस्न अवश्य आइपुग्नेछ तिमीसम्म ।’

तर न त म उड्न नै सकें । न त म मेरा बन्धनहरुबाट मुक्त नै भएँ । बरु ती बन्धन बढ्दै गए छोरीबाट स्वास्नी भएर, स्वास्नीबाट बुहारी भएर । शायद आमा भएर अब ती बन्धन अझै थपिनेछन् ।

….

आज दिउँसो म मेरो परिवार र खुदै श्रीमानलाई नि ढाँट्न बाध्य भएँ ।

निक्कै अन्योलमा थिएँ । मस्तिष्क दोधारमा थियो । पाँच वर्षपछि आएको अनुभवको फोनले बनाइदिएको थियो यसरी अन्योल । मस्तिष्क र मनको झगडामा मनले जित्छ क्यार हामी नारीलाई । मनको निर्देशनबमोजिम भेट्न गएँ उसलाई । एउटा घरजम भइसकेकी नारी कसैकी बुहारी, कसैकी श्रीमती भेट्न गई आफ्नो पुरानो प्रेमलाई । उही क्याफे जहाँ बिहेअघि हामी कैयन् चियाका गिलास रित्याएका थियौं । उही टेबुल, जहाँ अनुभवले कैयन् सिगरेटका ठुटाहरु धसारेर निभाएको थियो । पाँच वर्षपछि पनि उ त्यहीं थियो । टाढैबाट उसले हात हल्लाउँदा मुटुको ढुकढुकी बढेको चाल पनि आज पाँच वर्षपछि नै पाएँ ।

‘उही हाँसो, उही झुसे दाह्री, उही पातलो शरीर, उही लामो कपाल र उही वजनदार बोली ।

तपाइँ फेरिनुभएनछ है’ उसका धेरै गन्थन सुनेपछि फेरि उसकै बखान गर्न पुगेछु ।

‘अँ म चाहिँ फेरिएको हैन, तिमीचाहिँ फेरिएछौ ।’

कसरी नि ?

‘तिमीबाट एकैचोटी तपाइँले सम्बोधन गर्ने भएछौ त ? मैले बिहे गरेपछि मान्छेहरु यसैगरी फेरिन्छन् भनेर नगरेको अहिलेसम्म ।’

अलिक मुस्कुराएँ मात्र उसको यो कुरामा । एक घण्टाको समयमा करिब पाँच वर्षयताका प्रायः अनुभव साटासाट भए । मैले बताउन नपाउँदै उसैले प्रशंसा गरिदियो मेरो पति अनि परिवारको । ऊ मेरो श्रीमान्, श्रीमान्को खानदान, रवाफको प्रशंसा गर्दा खुसी देखिन्थ्यो । उसको कुरा मैले काट्न सकिनँ । आफ्नो वेदनाका कुरा सुनाएर उसको अनुहारमा अँध्यारो पोतिएको हेर्न मन लागेन मलाई ।

अहिले सोचिरहेछु– छुट्टिदा कति आत्मीय थियो उसको हातको स्पर्श । अनि मेरा हात किन काँपेका थिए त्यसरी ?

….

शब्द मात्रै खसेनन् यहाँ आँखामा आँसु आई बसेका छन् ।

रातको तेस्रो प्रहरमा छु । रात निक्कै छिप्पिसकेको छ । तर पाँच वर्षपछि आज अनुभवसँगको भेट र यी शब्दसँगको सामीप्यताले यो एकान्त रात प्रिय भइदिएको छ । पछाडि फर्केर हेर्छु । मस्तसँग निदाइरहेको यो मानिस, जसलाई मेरा नातेदारले मेरो श्रीमान् घोषणा गरेका थिए– किन–किन अपहरणकारी जस्तो लाग्दैछ । जसले आजभन्दा पाँच वर्षअघि मेरो बाआमाको स्वीकृतिमा मलाई मेरो घरबाट अपहरण गरेको थियो । र, मेरो घरलाई माइती घोषणा गरेर मलाई आफ्नो यो कैदखानाभित्र थुनिदिएको थियो ।

जहाँ म मेरा लागि केही गर्दिनँ । खान्छु अर्कैको इच्छामा, लाउँछु अर्कैको इच्छामा, सुत्छु अर्कैको इच्छामा, हिड्छु अर्कैको इच्छामा । यहाँ म खुसी भइदिंदा मेरा नातेदार दुःखी भइदिन्छन् । उनीहरुको इज्जतका लागि मैले मेरा इच्छा, चाहनाका बलिदान दिनुपर्छ– हरेक दिन ।

सोच्दैछु–

सधैं निकै पीडा दिने यो कालो रात त आज यति सुन्दर लाग्दैछ भने भोलिको उज्यालो बिहान झन् कति सुन्दर होला ?!

प्रतिक्रिया दिनुहोस्