शब्दहरुको बीचमा अमर गिरी

       शरद देवकोटा | 491 Views |   Published Date : 12th July 2015 |

bhubanamar giri bookनेपालको प्रगतिवादी साहित्यको उर्बर फाँटमा क्रियाशील श्रष्टाहरुमध्ये एक हुन् अमर गिरी । ‘घाम छेक्ने पहाड’, ‘तर पनि जीवित छौं’, ‘दुःसाध्य समय यो’ तीनवटा कवितासंग्रह र समय, समाज र संस्कृति (साहित्य, संस्कृति चिन्तन) समेत चारवटा कृति प्रकाशित गरिसकेका साहित्यकार अमर गिरीको ‘शब्दहरुको बीचमा’ कविता संग्रह हालै प्रकाशित भएको छ । जम्माजम्मी बयालीसवटा कविता समावेश गरी प्रकाशित गरिएको यो कृति यतिबेला चर्चामा रहेको छ ।

कवि, निबन्धकार, समालोचक एवं चिन्तकको रुपमा स्थापित अमर गिरी एक कुशल वक्तासमेत हुन् । उनको कविता वाचनशैली आकर्षक हुन्छ । प्रभावकारी हुन्छ र मिठासपूर्ण हुन्छ । ‘शब्दहरुको बीचमा’ यो कृतिको शीर्षक आफैमा कौतुहलपूर्ण छ ।

साँच्चै भन्ने हो भने कवि अमर गिरी शब्दहरुलाई केलाउन, छान्न र शब्दहरुको लयबद्ध समिश्रणबाट कविता सिर्जना गर्न निकै सिपालु छन् । उनका कविताहरुले कुरा गरेजस्तो आफूले भोगे जस्तो र आफ्नै आँखाले देखेजस्तो गरी पाठकको मनभित्र झंकार पैदा गरिदिन्छन् ।

सामान्य जस्तो लाग्ने विषय परिवेशलाई टपक्क टिपेर उठान गरिएको सिर्जना शैली कविताको पुछारमा पुग्दा पाठकको मन निकै गम्भीर र भावोत्तेजक बन्नु कवि गिरीको मौलिकता हो । साथै कविताहरुमा पाइने आञ्चलिकताको सुगन्ध उनको विशेषता हो । गाउँले जीवनका अनेक रुपरङलाई मन छुने गरी कविताहरुमार्फत यथार्थ चित्रण गर्नु पनि उनको रहरलाग्दो कला हो ।

पटक–पटक उज्यालो भयो
गाउँलेहरुको निराश अनुहार
पटक–पटक भने तिनले
सरकार जिन्दावाद !

तर आधा दशक भयो
अझै बनेको छैन गाउँको पुल
भत्किएको पुलको
निरीक्षण र नापनक्सामा
सिद्धिसकेको छ
पुल बन्ने भन्दा धेरै बजेट । (गाउँको पुल)

लयबिना कविता बन्न सक्दैन । छन्दोबद्ध कवितामा लय अनिवार्य हुन्छ । वास्तवमा गद्य कवितामा समेत लय हुन्छ । अमर गिरी गद्य कविता लेख्ने कुशल शब्द सिल्पी हुन् । उनका कवितामा पाइने मीठो लय, प्रभाव उत्पन्न गर्ने बैचारिक धरातल र चिन्तन गर्न प्रेरित गर्ने आलोचनात्मक चेतले पाठकको मनलाई उद्वेलित बनाइदिन्छ ।

वर्गीय पक्षधरता, युगको आवाज र सुन्दर भविष्यको आशावादिता कवि गिरीका कविताका मूल स्वर हुन् ।

पुर्खाले कोरेको आदिम बाटोबाट
यहाँसम्म आइपुगेको छु म
चाहन्छु म अझ अघि बढोस्
कहिल्यै नआओस् त्यस्तो दिन
जहाँ युद्धको भयंकर विभीषिकाले
ध्वस्त भएको संसारलाई
हेरेर रोइदिने कोही नहोस्
सघन अन्धकारबाट
उज्यालोतर्फ डो¥याउने
कोही नबचोस्
चाहन्छु म संसार बाँचोस्
र सयपत्री झै फुलिरहोस् । (सम्बाद)

कवि अमर गिरीले थोरै शब्दमा धेरै कुरा व्यक्त गर्छन् । श्रुति माधुर्य र लयात्मक अभिव्यञ्जनाले कविताको गरिमालाई थप उचाइमा पु¥याएका छन् ।

निष्ठापूर्ण जीवन, स्वाभिमानी दैनिकी र शान्तिपूर्ण परिवेशको आवाज बोक्ने गरेका उनका कविताका हरेक शब्द पंक्तिहरु कतै पनि निरर्थक भेटिदैनन् । सुन्दा र पढ्दा सरस र सरल कविताका अनेक बान्की मीठा छन् । सुन्दर छन् र भरपर्दा छन् । वर्तमान समयमा महिलाहरुको अवस्थालाई दर्शाउनका निम्ति कवि अमर गिरीले प्रतीक र बिम्बहरुको उचित संयोजन गरेका छन् ।

के मेरी आमाजस्तै यिनी पनि मर्नेछिन्
घाँसको भारी बोक्दाबोक्दै ?
मर्नुभन्दा पहिले के मरिसक्नेछन् यिनका सबै सपनाहरु ?
मैले सोचिरहें घाममा
अनुभव भयो विचित्र थकानको
उनीभने हिँडिन् घामघामै
जसरी आएकी थिइन् घामघामै ।
(घामघामै)

विश्वमा बढ्दै गएको व्यक्तिवादी सोच, बजारीकरण र भू–मलण्डलीकरणले मानवीय मूल्य मान्यताप्रति धावा बोलिरहेको यो समयमा त्यो धावा बिरुद्ध सगौरव उभिन्ने अनगिन्ती मन नभएका होइनन् । तर पनि उनीहरुलाई कमजोर बनाउने प्रयास अनवरतरुपमा भइरहेका छन् । यसतर्फ कवि गिरी सचेत छन् र उनले सचेतनाको यही सन्देशलाई कवितामार्फत आकर्षक ढंगले प्रस्तुत गरेका छन् ।

यस ग्लोबल दुनियाँमा
सत्तारुढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेट बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउने छन् चटामारी र सामान्य मानिसले
मेरो सुगन्ध
तिनकै प्रतिरोधीले
राख्नेछ सुरक्षित ।

नायकहरुमा सिद्धान्त र व्यवहारमा आइरहेको फरकपना । उनीहरुमा देखिएको नैतिक संकट र उनीहरुभित्र पलाएको व्यक्तिवादी स्वार्थी ऐंजेरुलाई छिमल्ने योजनासमेत कवि गिरीले सबलरुपमा कवितामार्फत प्रस्तुत गरेका छन् ।

कवि गिरीले ती एेंजेरुहरुलाई उखेलेर फाल्नको निम्ति आह्वानसमेत गरेका छन् । नेपाली जनताले विश्वास गर्दै आएका वामपन्थी नायकहरुका दोधारे चरित्रलाई कवि गिरीले बेसरी उधुनेका छन् ।

गंगोत्रीजस्तो
कहिल्यै नसुक्ने पैसाको मुहान
त्यसका बलमा निर्मित
राजनीतिको सानोतिनो साम्राज्य
मैले गर्नुपर्नेछ
कामरेडको आदर्श छविको कुरा
त्याग र बलिदानको कुरा
र भन्नुपर्नेछ
यहाँबाटै पूरा हुनेछ
क्रान्तिको कार्यभार
यसो भनिन भने मैले
हुनेछ मेरो सत्यानाश ।

ऊ मेरो बरिष्ठ कामरेड
म उसको सामान्य कार्यकर्ता
(मैले भन्नुपर्नेछ)

थोरै शब्दमा धेरै भाव व्यक्त गर्ने कवि अमर गिरीको भावना ‘मौन’ शीर्षकको कवितामा यसरी प्रस्तुत भएको छ–

मौन छ ऊ
असाधारणरुपले मौन
शायद उसको मौनता
बिष्फोटको लागि हो

कविता यसरी लेखिन्छ भनेर वर्तमान पुस्तालाई समेत प्रेरणा र ऊर्जा थप्नमा यो कृति पाठकहरुको मनमा सजिलै घुलमिल गर्न सक्नेछ भन्ने मैले विश्वास लिएको छु ।

याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको यो कृतिको मूल्य एक सय ५० रहेको छ । साजसज्जा एवं छपाई आकर्षक रहेको छ । कवि अमर गिरीबाट थप कृतिको अपेक्षासहित अहिलेलाई यत्ति ।

प्रतिक्रिया दिनुहोस्