सानो ट्याक्टर

       सौगात आचार्य | 425 Views |   Published Date : 14th July 2015 |

Nirmal acharya Cहिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले ।

आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन ।

दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । दुःख बिरामी पर्दा सजिलो । यसो आफन्तलाई दुई चार पैसा सहयोग गरौं भन्दा पनि सजिलो ।

दिनभरि रुङ्घ्यो बेलुकासम्म एक ट्रिप पनि काम नपाउँदा उसलाई असाध्यै सास्ती हुन्छ ।

ऊ अर्थात् बीरबहादुर । उसलाई सानो ट्याक्टर भनेर पनि चिन्दछन्, मान्छेहरु । आफू पनि सानो ट्याक्टर उसले ट्याक्टर पनि सानै किनेको छ । पावर टेलर । गाउँमा हलो । बजारको लागि स–साना सामान बोक्ने भरिया । ऊ बजारमा छ ।

सानो ट्याक्टर उसको उपनाम । उसको यो उपनाम पछाडि गजबको कहानी छ ।

नामले इतिहास बनाउने हो या इतिहासले नाम ।

नामले गर्दा इतिहास बन्यो भन्दछन् कोही । कोही इतिहासले नाम बनायो भन्दछन् । इतिहास र नाम सँगसँगै दौडिरहन्छन् । इतिहास पछ्याउन नसक्ने नामको के काम । नामले पनि नबदलिने इतिहासको के काम । जे होस्, इतिहास र नाम सँगसँगै दौडिरहन्छन् ।

बीरबहादुरको नाम सानो ट्याक्टर रहन गयो । यसपछाडि एउटा ऐतिहासिक कारण छ । इतिहास बलवान् कि नाम बलवान् छुट्याउने जिम्मा त पाठकलाई नै ।

२०५५ सालतिर रहन गयो उसको नाम सानो ट्याक्टर । जनयुद्धले घनिभूत रुप लिदै थियो । गरिब घरको ऊ । खान नपुग्ने । पिछडिएको ठाउँमा जन्मिएको । इतिहास बदल्ने नाराले प्रभावित गरिहाल्यो ।

पार्टीमा सामेल भयो । नयाँ नाम राख्नुपर्ने । कसैले निशान राखे, कसैले सिमाना । कसैले मिसाइल राखे, कसैले लाल्टिन । त्यही सिलसिलामा उसले नाम जुरायो ट्याक्टर ।

‘किन यस्तो नाम…?’

कसैको प्रश्नमा उसले भन्यो– ‘उकालो, ओरालो, अप्ठ्यारो, सप्ठ्यारो बाटोमा हिड्न ।’ सटिक जवाफ उसको ।

अब ऊ वीरबहादुरबाट कमरेड ट्याक्टर । स्क्वाइड सदस्य कमरेड ट्याक्टर ।

ऊ आफैले रोजेरै कमरेड ट्याक्टर भयो । तर, उसको नामको अगाडि एउटा विशेषण थपियो– सानो । ऊ सानो ट्याक्टर भनेर चिनिन थाल्यो ।

रोल्पातिर जाँदै गर्दा उसको स्क्वाइडले ठूलै नेताको सुरक्षा गर्नुपरेको थियो, बाटोभरि । नेतालाई बीचमा राखेर बडो सुरक्षाका साथ अगाडि बढ्दै थिए । बाटोमा खोला प¥यो । खुलामा पुल थिएन ।

खोला तर्नुपर्ने, सबैले जुत्ता लगाएका थिए । सबैले जुत्ता खोल्न थाले । उसले पनि खोल्यो । तर, उसले नेतालाई जुत्ता नखोल्न अनुरोध ग¥यो । ऊ टोलीमा सबभन्दा होचो, ५ फुट २ इन्चको ।

‘कमरेड जुत्ता खोल्नुपर्दैन । मैले बोकेर तारिहाल्छु नि ।’

उसले जिद्धी नै ग¥यो । नेताले जुत्ता खोलिहाले । उसले पनि मान्ने कुरै भएन ।

‘सबैभन्दा सानो जो छ, त्यसैले…’ एउटा साथीले छड्के हान्यो ।

‘बाजी राखम्, नाम त्यसै ट्याक्टर राखेको होइन ।’ ऊ पनि तम्सिहाल्यो । खोला तर्न छाडेर केहीबेर हाँसो ठट्टा चल्यो । ऊ एकजनालाई नबोकेर खोला नतर्ने नै भयो ।

‘सबैभन्दा सानो’ भनेको उसलाई पटक्कै मन परेको छैन ।

‘ल ! सबैभन्दा सानो । सबैभन्दा ठूलोलाई तार्छु ।’ उसले मान्दै मानेन । अन्तिममा सबैले हार खाए । सबैभन्दा ठूला नेता नै थिए । उनलाई सजिलै बोकेर खोला ता¥यो ।

सबैले उसको तारिफ गरे । आइन्दा सानो भनेर हेपिनुपर्ने सम्भावनालाई परास्त गरेकोले ऊ पनि खुसी भयो ।

‘ओहो तपाईं त बलियो ! नामै कमरेड ट्याक्टर । मान्छे भने सानो तर बलियो । हो तपाईं ट्याक्टर नै हो, सानो ट्याक्टर ।’ नेताले भने ।

‘हो, हो सानो ट्याक्टर ।’ सबैले एकै स्वरमा भने ।

वीरबहादुर कमरेड ट्याक्टर हुँदै खोला तराइपछि सानो ट्याक्टर भइसकेको थियो ।

सानो ट्याक्टर स्क्वाइड सदस्य हुँदै जनसेनाको बटालियन कमाण्डरसम्म बन्यो । धेरै लडाइँ लड्यो, जित्यो पनि । एकपटक घाइते पनि भयो । उपचारपछि पुनः जनसेनामै जोडियो ।

सेना समायोजनपछि उसले स्वेच्छिक अवकाश रोज्यो । त्यसबापत आएको रकमले गाउँमा सानोतिनो बास बनायो । परिवार उतै राख्यो । बाँकी रहेको रकमले किस्ताबन्दीमा किन्यो सानो ट्याक्टर ।

ऊ एक्लो सानो ट्याक्टर छैन । उसको मीत पनि छ । ऊ मानव सानो ट्याक्टर, उसको मीत मेसिन सानो ट्याक्टर । दुवै मिलेर परिवारसहित दुवैको पेट पाल्छन् ।

मेसिन सानो ट्याक्टरले मानव सानो ट्याक्टरलाई गाँस, बास, कपास जुटाउन सहयोग गर्छ । मानव सानो ट्याक्टरले पनि मेसिन सानो ट्याक्टरलाई तेल जुराइदिन्छ, हेरचाह गर्छ ।

मानव र मेसिन सानो ट्याक्टर मिलेर जिन्दगी चल्दैछ जेनतेन, दुवैको । उँघ्दा दुवै उँघ्छन्, कुद्दा दुवै कुद्छन् । हुँदा दुवै खान्छन्, नहुँदा दुवै भोकै रहन्छन् । मानव र मेसिनको अद्भूत जोड बन्यो त्यो ।

उसले सानो ट्याक्टरको ट्रलीमा लेखेको छ– …हामीलाई सम्झिनुहोस् । सम्पर्कको लागि प्रो. सानो ट्याक्टर । मोबाइल नम्बर ९८…. ।

मान्छेलाई चाहिए सानो ट्याक्टरलाई फोन गर्छन्, दुवै सानो ट्याक्टरहरु काममा दगुर्छन् ।

दुवै सानो ट्याक्टरहरुको खुब चर्चा छ । धेरैले उनीहरुको सम्पर्क नम्बर राखेका छन् ।

दुवै सानो ट्याक्टर काममा कुदिरहन्छन् । एउटा सानो ट्याक्टर मेसिन न हो कुदिरहन्छन्, मानव सानो ट्याक्टर पनि कुदिरहन्छ । तर, हरबखत उसको मनमा एउटा कुरा खेलिरहन्छ– ‘मैले इतिहास बनाए कि मलाई इतिहासले बनायो ?’

इतिहासले मानव सानो ट्याक्टर बनायो भनौं भने ऊ मेसिन सानो ट्याक्टरको मीत भएको छ । मानव सानो ट्याक्टरले इतिहास बनायो भनौं भने पनि फेरि पनि ऊ मेसिन सानो ट्याक्टरकै मीत भएको छ ।

सोच्दा सोच्दै ऊ आफै अलमलिन्छ । सोच्न छाडेर मेसिन सानो ट्याक्टरको हेण्डिल समाउँछ र कुदिरहन्छ ।

भोलि शनिबार सबै बन्द हुन्छ । आज दिउँसोको दुई बजिसक्यो, काम पाएको छैन । कसैले फोन पनि गरेको छैन ।

हिजो त राम्रै काम भेट्टाएको थियो उसले ।

ऊ जस्तै उस्तै एक जना कमरेडले घर बनाएछन् । राम्रै ठाउँमा राम्रै । कमरेडलाई डेराबाट घरमा सामान सार्नुपर्ने भयो । संयोग भनौं या माया गरेर हो ? कमरेडले सानो ट्याक्टरलाई बोलाए ।

खुब मेहनत ग¥यो उसले । सामान लोड ग¥यो । नयाँ घरमा लगेर अनलोड ग¥यो । कमरेडले ज्याला दिए । अरुले भन्दा धेरै ।

धेरै किन दिए ? माया गरेर ? धेरै भएर ? लाज लागेर ? दया लागेर ? जे होस्, कमरेडले धेरै दिए, उसले लियो । चुपचाप । गोजीमा राख्यो । मीतको कान बटार्दै कुद्यो अर्को कामको खोजीमा ।

उसको ऊ जस्तै कमरेड डेराबाट घरमा स¥यो । सामान मिलाउँदै होला । ऊ स्टेशनमा फर्कियो । र, कामको प्रतिक्षा गर्न थाल्यो ।

इतिहासले उसलाई मीत भेटाइदियो । इतिहासले उसको ऊ जस्तै कमरेडको घर भेटाइदियो । इतिहासले बनायो या इतिहास बनाए !

उसको पेट पोलिरहन्छ । मनमनै सोचिरहन्छ– मैले इतिहास बनाएँ या इतिहासले मलाई बनायो ?

हिजो त्यही कमरेडको कामले चित्त बुझाउनुपरेको थियो । अर्को काम भेटेन । राती सुत्यो ।

आज दिउँसोको दुई बजिसक्यो, काम भेटिदैन । ऊ एकछिन मीतसँग बिदा मागेर चिया खान जाँदै थियो, मोबाइलमा घण्टी बज्यो ।

‘हेलो……’ ऊ ।

‘को सानो ट्याक्टर हो ?’ उताबाट ।

‘हजुर म बोल्दैछु’ ऊ ।

‘खाली छ सानो ट्याक्टर ?’ उताबाट ।

‘हजुर’ ऊ ।

‘त्यसो भए आउनुस् न त ।’ उताबाट ।

‘लोकेसन ….’ ऊ ।

………………..

‘ओहो अलि टाढा रहेछ, आउने त बजारै हो नि ?’ ऊ ।

‘हो, हो अलि बढी नै दिउँला, आउनुस् न त ।’ उताबाट ।

उसले मीतलाई कुदायो । आफू पनि कुद्यो ।

काममा जाँदैछ…. गाउँमा । ऊ त्यो गाउँमा पहिला पनि एकपटक गइसकेको थियो । स्क्वाइडमा छँदा ।

पार्टीले गाउँमा भएका हतियार कब्जा गर्ने नीति बनायो । माग्ने । नदिए खोस्ने । तर, हतियार जे गरेर पनि ल्याउने ।

उनीहरु साँझ आठ बजेतिर त्यस गाउँको एउटा घरमा पुगे । घरलाई घेरा हाले । कमाण्डर र ऊ घरभित्र पसे । घरमूलीलाई आफूहरु आउनुको कारण बताए । मागे । दिएन । धम्काए । फेरि पनि दिएन । चेतावनी दिए । दिदै दिएन । कमाण्डरले कासन गरे । उसले उफ्रेर एक झापड कानमै हान्यो ।

‘ऐया मरें’ भन्दै लड्यो घरबेटी ।

‘ऊ त्यहाँ छ’ एउटा दराज देखायो घरबेटीले ।

‘चाबी खोई त’ उसले प्रश्न ग¥यो ।

‘छैन, छोराले लगेको छ ।’ झुटो बोल्यो घरबेटी ।

‘बञ्चरो ले…’ कमाण्डरको कासन ।

बञ्चरोले एक चोट हानिहाल्यो दराजमा उसले । घरबेटी अत्तालिदै उठ्यो । ताला खोल्यो । दराजबाट झिकेर टुवलबोर दियो । ऊ खुसीले उफ्रियो । उनीहरु हतियार लिएर सुरक्षित ठाउँमा गए ।

आज फेरि धेरै वर्षपछि ऊ त्यही गाउँमा जाँदैछ । त्यतिबेलाको घरबेटीको नाम याद छैन उसलाई । तर, गाउँको नाम र घरचाहिँ राम्रैसँग याद छ ।

त्यो कार्बाहीको सर्वे गर्ने ऊ नै थियो । ऊ आफैले गाउँको सबै कुना र घरको सबै कुना सर्वे गरेको थियो । उसको जीवनको पहिलो ठूलो कार्बाही थियो । उसकै सर्वे रिपोर्टको आधारमा हतियार लिने योजना बनेको थियो ।

अलि तल पुगेपछि उसले फोन लगायो– ‘घरचाहिँ कसरी चिन्ने त ?’

‘…….को घर ।’ उताबाट ।

‘नाम होइन लोकेसन…।’ ऊ ।

उताबाट लोकेसन बताइयो, ठ्याक्कै त्यही घर ।

ऊ झसंग भयो । जाऊँ कि नजाऊँ, बडो दुविधामा पर्दछ ऊ ।

‘चिने भने’ उसले आफैलाई प्रश्न गर्दछ ।

‘के को चिन्दथे, यतिका वर्षपछि । रातीको कुरा ।’ आफैले उत्तर दिन्छ ।

जाउँ कि नजाउँ भन्ने दोमनकै बीचमा ऊ पुगिहाल्छ ।

गाउँ उही । घर उही । घरमूली उही । अलि बुढो भएको ।

उसले नमस्कार ग¥यो । नमस्कार फर्कायो घरमूलीले ।

एक दुई कुरा ग¥यो उसले । बुढो कान नसुन्ने भएछ, उसले हेक्का पाइहाल्यो ।

‘उतिबेलै फुटेछ क्यारे’ अनुमान लगायो उसले ।

उसलाई सामान देखाइयो । एउटा पलङ, कपडाको गुन्टो, अलिकति भाँडाकुडा । चामल, दाल । अनि त्यही बञ्चरोको चोट भएको दराज ।

छोरा बुहारीलाई छुट्याइदिएको बुढाले ।

सामान जतनले लोड ग¥यो । उसले मीतलाई जाऔं भन्यो, दुवै अगाडि बढे ।

सबै थोक उही । सबै चीज उही । मात्र थिएन त त्यो दराजमा एक थान बन्दुक । उसको मन अमिलो भएको छ । त्यो बन्दुक ऊसँग पनि छैन । फरक भनेकै त्यही हो । त्यही छैन दुवैसँग ।

ऊ बीरबहादुरबाट सानो ट्याक्टर भयो । इतिहासले उसलाई बनायो या उसले इतिहास ।

ऊ मेसिन सानो ट्याक्टरको गियर बदल्दै अगाडि बढ्दैछ । ऊ निकै ठूलो अलमलमा छ । ऊ दौडिरहेको छ मेसिन सानो ट्याक्टरसँग ।

गियर बदलिरहेको छ । लगातार दौडिरहेको छ । ऊ हतारमा हुन्छ जहिले पनि । मानौं खोजिरहेको छ इतिहास र उसको अन्तरसम्बन्ध । जवाफ खोजिरहेको छ– ‘इतिहासले उसलाई मेसिन सानो ट्याक्टरको मीत बनायो कि उसले इतिहास बनाउँदैछ ?’

प्रतिक्रिया दिनुहोस्