फरक धारका नेपाली सिनेमा

       माधव ढुङ्गेल | 683 Views |   Published Date : 28th July 2015 |

Madhav Dhungel१. विषय परिचय :
सिनेमालाई मूलधार र फरक धार भनी छुट्याउने प्रचलन छ । मूलधार भनेको सस्तो मनोरञ्जनप्रधान नितान्त व्यावसायिक सिनेमाको धार हो जसको उद्देश्य जसरी भए पनि पैसा कमाउनु हो । यस धारले सिनेमालाई समाजबाट, यथार्थबाट कटाउँछ र मनोरञ्जनका नाममा यसले यौन र हिंसाको व्यापार गर्छ ।

निर्माणमा पनि यसका खास सूत्रहरू छन् । नाच्न, गाउन तथा फाइट खेल्न सिपालु नायक हुनु, कुलीन परिवारकी अविवाहित सुन्दरी छोरी नायिका हुनु, नायिकाको बाबु नै भिलेन हुनु वा नायकसँग उसको दुस्मनी हुनु, शारीरिक सुगठनयुक्त डरलाग्दो व्यक्ति भिलेन हुनु, बलात्कारका प्रयास वा दौडधूपका दृश्यहरू हुनु, समाजभन्दा व्यक्ति शक्तिशाली हुनु आदि फर्मुला मूलधारका सिनेमाका आधार हुन् ।

फरक धारका सिनेमा भन्नु यस्ता फर्मुला सिनेमासँगको विद्रोह हो । यिनले सिर्जनात्मक र अभिव्यक्तिगत पक्षमा जोड दिन्छन् । फर्मुलामा विश्वास नगर्नु, सामाजिक सरोकारका मुद्दा वा विषयसँग गाँसिनु, राजनीतिक, वैचारिक वा मानवतावादी कोणबाट समाजको आलोचनात्मक चित्रण गर्नु यस्ता सिनेमाका विशेषता हुन् ।

विभिन्न महोत्सवहरूमा पुरस्कृत र सम्मानित हुँदाहुँदै पनि मूलधारका सिनेमाको एकाधिकार जस्तै रहेको वर्तमान विश्वमा ‘फरक धारका सिनेमा’ उपेक्षाको शब्दावली बनेको छ । तथापि फर्मुला सिनेमाबाट आजित सर्जकहरू यसलाई गौरवका साथ प्रयोग गर्छन् ।

नेपाली सन्दर्भमा एकादुई निर्देशक तथा निर्माताहरूले आफ्नो सिनेमालाई फरक धारको भनेका भए पनि नेपालमा फरक धारको आन्दोलन सशक्त रूपमा अझै आउन सकेको छैन ।

यहाँको सन्दर्भमा फरक धारका सिनेमा भन्नाले मातृभाषाका सिनेमाहरू, राजनीतिक तथा ऐतिहासिक विषयमा बनेका सिनेमाहरू र साहित्यिक कृतिमाथि बनेका अल्पसङ्ख्यक सिनेमाहरूलाई बुझ्नुपर्ने हुन्छ । यिनका अलावा गीत, फाइट, स्टार र कृत्रिम डाइलगबाजी नभएका, थोरै चरित्रहरू भएका अनि यथार्थको नजिक रहेर कथा भन्न बनाइएका सिनेमाहरूलाई पनि नेपाली सापेक्षतामा फरक धारअन्तर्गत राख्नु उचित हुन्छ ।

२. विश्लेषण
२.१. विषयवस्तु :
फरक धारका नेपाली सिनेमाका विषयवस्तु पनि मूलधारका सिनेमाभन्दा फरक छन् । मायाप्रेम र अपराधका कृत्रिम घटना मूलधारका नेपाली सिनेमाका मुख्य विषय हुन् भने फरक धारका सिनेमाहरू यसभन्दा भिन्न छन् ।

लालसलाम, जनयुद्ध, सहिद, दासढुङ्गा, जलजला जस्ता सिनेमाहरूले राजनीतिलाई मूल विषय बनाएका छन् भने दशगजा, कालापानी आदिले राष्ट्रियतालाई मूल विषय बनाएका छन् ।

बुह्रान, अनागरिकजस्ता सिनेमाहरूले जातीय पहिचान र विभेदलाई विषय बनाएका छन् भने मसान आदि सिनेमाले लिङ्गीय विभेदलाई विषय बनाएका छन् । आचार्य सिनेमाले कलाकारको जीवनवृत्तलाई विषय बनाएको छ ।

मैनाले युद्धकालीन गाउँ र मानवअधिकारलाई विषय बनाएको छ भने लुटले संस्थागत हुँदै गएको आपराधिक गतिविधि तथा चपली हाइटले अपराध मनोविज्ञानलाई विषय बनाएको छ ।

बसाइँ सिनेमाले नेपाली समाजको गरिबी र शोषणलाई चित्रण गरेको छ भने बोक्सीले बालमनोविज्ञानलाई विषय बनाएको छ ।

२.२. शैली :
फरक धारका नेपाली सिनेमामा मुख्यतः वृत्तचित्रात्मक, कथानक र अतिनाटकीय गरी तीन खालका शैलीहरू प्रयोगमा छन् । माथि उल्लेख गरिएका मैना, दासढुङ्गा, आचार्य आदिमा वृत्तचित्रात्मक शैलीको प्रयोग छ । यी सिनेमाहरूमा तथ्यलाई महत्त्व दिइएको छ । कल्पनाको प्रयोग नभएको होइन तर कम छ । कार्यकारण सम्बन्धमा आधारित काल्पनिक कथामाथि बनाइएका सिनेमाहरूलाई कथानक सिनेमा भनिएको हो । यस्ता सिनेमामा यस्तो किन र कसरी भयो भन्ने कुराको तार्किक जबाफ पाइन्छ । यस्ता सिनेमाहरूमा लुट, चपली हाइट, सहिद, मसान, बोक्सी आदि पर्दछन् । नाट्य ढाँचाको प्रयोग यिनमा छ तर अतिनाटकीय सिनेमा यी होइनन् ।

मूलधारको व्याकरणलाई नै प्रयोग गरिएको तर विषयका रूपमा भने नयाँ विषय छानिएको सिनेमा अतिनाटकीय सिनेमा हुन् । जलजला, दशगजा, कालापानी, बाटामुनिको फूल आदि सिनेमा अतिनाटकीय सिनेमा हुन् । यिनमा तर्कले काम गर्दैन र हेर्दा चटक वा रमिता जस्ता लाग्छन् । यिनमा कथा त हुन्छ तर कथानक हुँदैन । यस्ता अतिनाटकीय सिनेमाहरूले दर्शकलाई ‘कन्भिन्स’ गर्न सकेका छैनन् ।

माथि उल्लेख गरिएका फरक धारका तीन थरीमध्ये वृत्तचित्रात्मक सिनेमाहरूमा आख्यान संरचना कमजोर देखिन्छ । यी सिनेमाहरूले विषयलाई उठाएका त छन् तर कथानकलाई द्वन्द्व र जटिलताहरूमा जेल्दै क्रमशः चरमावस्था र समापनसम्म लैजान सकेका छैनन् । आख्यान ढाँचाका हिसाबले आचार्य कमजोर छ । यो सिनेमा सिनेमा जस्तो नभएर जीवनवृत्त जस्तो बनेको छ । यसमा दबाब र तनावको उत्तरोत्तर बढोत्तरी छैन, क्लाइमेक्स बन्न सकेको छैन । विषय असाध्यै महत्त्वपूर्ण र सम्भावनायुक्त भएर पनि आचार्य सिनेमा सुरुचिपूर्ण बन्न सकेको छैन ।

दासढुङ्गाको उठान ठीक छ । दोस्रो अङ्कसम्म उत्सुकता जगाउन सक्षम छ, तर तेस्रो अङ्कमा यो लैबरी भएको छ । विषयलाई छोडेर अन्यत्रै भौंतारिएको छ । दासढुङ्गाको अपराधी को हो भन्ने विषयमा स्पष्ट बोल्न सकेको भए सिनेमा साँच्चै ऐतिहासिक हुने थियो तर त्यही कुरा (जो सर्वाधिक महत्वको कुरा हो) लुकाएर सिनेमाले बेइमानी गरेको छ । सिनेमाले विषयको तौल बोक्न सकेको छैन, निर्देशक निरीह भएका छन् ।

मैना यी तीनमध्ये आख्यान संरचनाका हिसाबले सन्तोषजनक छ । आख्यानात्मक संरचना, र सामाजिक–राजनीतिक अन्तर्संघर्षलाई उचित ध्यान दिने हो भने वृत्तचित्रात्मक शैलीका यस्ता सिनेमाले दर्शकको मन जित्ने र मुद्दालाई बहसको विषय बनाउने सम्भावना प्रशस्त छ । दर्शकको सीमित घेरालाई फराकिलो पार्न यस्ता सिनेमाहरू प्रभावकारी हुन सक्ने सम्भावना छ ।

कथाको सुरु, मध्य र अन्त्यको योजनाबद्ध विन्यास गरिएका सिनेमाहरूलाई कथानक सिनेमा भनिएको हो । लुट, चपली हाइट, सहिद, बोक्सी आदि सिनेमामा कथानक संरचनाको विन्यासमा प्रशस्त ध्यान पु¥याइएको छ । मसानमा भने आदि र मध्य ठिकै भए पनि अन्त्य कमजोर छ, दृश्य संरचनाहरू कमजोर छन् । क्लाइमेक्सलाई सर्वोच्च उचाइ मानेर त्यसभन्दा अगाडि र पछाडिका भागहरूलाई व्यवस्थित र सुसङ्गठित गर्नुपर्नेमा त्यो हुन सकेको छैन । आख्यान संरचना फितलो छ, के भन्ने भन्ने कुरामा निर्देशक सावधान देखिए पनि कसरी भन्ने भन्ने विषयमा उनी कमजोर देखिएका छन् ।

हेनरिक इब्सेनको नाटक ‘डल्स हाउस’ होस् या गोपालप्रसाद रिमालको ‘मसान’ होस् दुबैमा युवतीको गृहत्याग असाध्यै महत्वको घटना हो । नोरा वा युवतीले ढोका लगाउँदा निस्केको आवाज विश्वभरिका महिलाहरूको दिमागमा बजारिएको शक्तिशाली ध्वनि तरङ हो । तर, मसान सिनेमाले त्यो तरङ्गलाई ठीक ठाउँमा उचित जोडका साथ बजार्न सकेको छैन ।

‘बोक्सी’ सिनेमामा सिङ्गो कथानकलाई पूर्वदीप्तिका रूपमा प्रयोग गरिएको छ र बालकृष्ण समको ‘बोक्सी’को कथा अहिलेका कम्प्युटर खेल्ने बच्चाहरूले सुनेका छन् । आजका बच्चा बोक्सीमा विश्वास गर्दैनन् तर हिजोका बच्चाले विश्वास गर्दा जघन्य र अमानुषिक घटना घट्न पुगेको कथा यसमा छ । आख्यान संरचनाका हिसाबले यो मसानजस्तो कमजोर छैन, मध्यम स्तरको छ ।

सहिद सिनेमामा ठाउँ–ठाउँमा अतिनाटकीयता देखिए पनि सारमा सिनेमाको संरचना ठीकै छ । हिरोका रूपमा दुनियाँले चिनेको व्यावसायिक कलाकार (दिलिप रायमाझी) लाई मूल भूमिका दिनुको साटो कुनै नयाँ अनुहारलाई त्यो भूमिका दिइएको भए र यथार्थवादी शैली अपनाउन सकेको भए सिनेमाको गुणवत्ता अझै बढ्ने थियो ।

चपली हाइटको अन्त्य अतिनाटकीय छ, त्यसलाई स्वाभाविक बनाउन सक्दा त्यो थप सुन्दर हुने थियो । अश्लीलतालाई रुचिपूर्वक देखाउन खोज्नु आवश्यक थिएन, त्यसले व्यावसायिक लाभका लागि केही सहयोग गरेको होला तर सामाजिक मूल्यको सम्मान गर्ने हिसाबले त्यो कमजोरी हो । सिर्जना गर्नु भनेको अश्लीलतालाई बढावा दिनु होइन । थोरै पात्रबाट कथा भन्ने, कम बजेटबाटै सिनेमा बनाउने र असान्दर्भिक क्षेत्रमा प्रवेश नगर्ने कुरा यस सिनेमाका राम्रा पक्ष हुन् ।

अन्त्यमा सस्तो शृङ्गारिक (वा भनूँ अश्लील नै पनि) गीत राख्नुभन्दा बाहेक लुटको आख्यान संरचना सुगठित छ । कुतूहलको निर्वाह र तनावको बढोत्तरी राम्ररी हुन सकेको छ । क्लाइमेक्सको विन्यास पनि व्यवस्थित छ । नायकलाई मुख्य चरित्र बनाउने परम्पराका विरुद्ध खलनायकलाई मुख्य चरित्र बनाउने प्रयास यसले जो गरेको छ, त्यसबाट दर्शकलाई नयाँ स्वाद प्राप्त भएको छ । हरेक चरित्रमाथि प्रशस्त ध्यान दिनु, दृश्य संरचना र संवाद प्रयोगलाई सुरुचिपूर्ण बनाउनु तथा मध्यतिर जटिलता र तनावको भुमरी सृष्टि गरी त्यसलाई चरमावस्थामा केन्द्रीकृत गर्नु, कहाँको कसको कहिलेको कथा हो भन्ने बारेमा स्पष्ट जबाफ दिनु यसको राम्रो पक्ष हो । स्थान र समयको ठोस सेटिङ गरी परिवेशलाई उचित स्थापना गर्नु र त्यसलाई पात्रको व्यवहारसँग एकाकार गरी संयोजन गर्न सक्नु यसको प्रशंसनीय प्रयास हो ।

आपराधिक हुँदै गएको काठमाडौं सहर, कमजोर प्रहरी प्रशासन, राज्यको निरीहता र असुरक्षाको भावनालाई सुहाउने गरी चरित्रहरूको भूमिका निर्धारण गर्नु तथा अपराधीहरू नै समाजमा प्रतिष्ठित र सम्पन्न हुँदै गएको अनि श्रमजीवीहरूको सुदिन आउन नसकेको यथार्थलाई अभिव्यक्त गर्न जुन व्यङ्ग्यात्मक शैलीको प्रयोग गरिएको छ, त्यो विषयको प्रकृतिसँग सुहाउँदो छ । त्यसैले विषय र शैलीको तालमेलका हिसाबले पनि लुट यीमध्ये सर्वोत्कृष्ट सिनेमा हो ।

फरक विषय लिएर पनि मूलधारकै शैली अपनाइएका सिनेमालाई अतिनाटकीय सिनेमा भनिएको हो । माओवादी जनयुद्धमाथि बनाइएको भनिएको जलजला सिनेमा पनि यही वर्गमा पर्छ । यसमा ऐतिहासिक सत्यको कुनै गुन्जाइस छैन, न त कुनै पात्रहरू वास्तविक दुनियाँसँग मेल खाने खालका नै छन् ।

बलिया पाखुरा र ठूला जुँगा भएको वा कपाल खौरिएको डरलाग्दो बहादुर भिलेन भएको छ, जनमुक्ति सेनाको पोशाक लाएकाहरू हिरो भएका छन् । हिरो हुने चाहिँ जनमुक्ति सेना कुलीन घरानाको छ र नायिका जलजला सुन्दर युवती छे । यिनीहरूलाई हातहतियार सजिलै प्राप्त हुन्छ र यिनीहरू जुनसुकै ठाउँ र समयमा पनि दोहोरो भिडन्त गर्न सक्छन् । बदला लिने भावबाट यिनीहरू ग्रस्त छन् र आवेगमा निर्णय गर्छन् । मूलधारका सिनमाको यो व्याकरण फरक विषयमा बनेका अन्य सिनेमाहरूमा पनि लागू हुन्छ ।

दशगजा, कालापानी आदिमा पनि यही व्याकरणलाई मूलमन्त्र बनाइएको छ भने बाटामुनिको फूलमा विषयका रूपमा दलित समस्या उठाइएको भए पनि दलित नायकहरू सम्भ्रान्त परिवारका छन् र काँटा चम्चाको भान्सा चल्छ । यस्ता सिनेमामा चरित्रको पेसा के हो ? घराना वा शिक्षा के हो ? त्यही काम गर्नुपर्ने बाध्यता के हो वा त्यस चरित्रको दिमाग त्यस्तो किन बन्यो भन्ने बारेमा कुनै तर्कले काम गर्दैन । मूलधारभन्दा फरक विषय भएकाले मात्रै यिनलाई फरक धारका सिनेमा भनिएको हो शैलीका हिसाबले यी मूलधारका सिनेमाभन्दा फरक छैनन् ।

२.३. व्यवसाय :
फरक धारका सिनेमाहरूको व्यवसाय अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिएको हुन्छ । स्थानीय क्षेत्रमा मूलधारका सिनेमाले यिनलाई उछिनेका हुन्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा मूलधारका सिनेमाहरूको प्रभाव र पहुँच न्यून हुन्छ । महोत्सवहरूमा फरक धारकै सिनेमाको राज चल्छ र अन्तर्राष्ट्रिय बजारमा जाने सिनेमा पनि यिनै बन्दछन् । नेपाली सिनेमाको भने अन्तर्राष्ट्रिय बजार शून्य छ भने पनि हुन्छ । फाट्टफुट्ट एकादुई सिनेमाहरू महोत्सवहरूमा सहभागी भएका छन् र नगण्य मात्रै पुरस्कृत भएका छन् ।

यसले पुष्टि गर्ने कुरा के हो भने नेपालमा फरक धारका सिनेमाहरू करिब–करिब बनेकै छैनन् । जसलाई यस लेखमा फरक धारका सिनेमा भनिएको छ, ती पनि सापेक्षिक हिसाबले मात्रै फरक धारका हुन् । साँच्चै फरक धारका सिनेमाहरू बनाउने हो भने नेपालमा जनयुद्धसँग गाँसिएका समाजवादी यथार्थवादी सिनेमाहरू बनाउनु सजिलो छ ।

हिजो गौतम बुद्ध र सगरमाथाका कारण चिनिएको नेपाल आज माओवादीको देश भनेर चिनिन्छ । माओवादी जनयुद्धको प्रभाव नभएको सिनेमा विश्व समुदायमा नेपालको सिनेमा भनेर स्थापित हुन कठिन छ । नेपाल भन्नेबित्तिकै माओवादी सम्झने विश्वका नागरिकहरूले नेपालबाट अपेक्षा गर्ने मूल विषय पनि यही हो । उनीहरूले जनयुद्धको प्रभाव व्यक्तिमा, समाजमा, संस्कृतिमा कसरी परेको छ भन्ने कुरा हाम्रा सिनेमामा हेर्न चाहने हो ।

यो काम जुनसुकै निर्देशकले गरे पनि हुने हो त्यसमा पनि माओवादी पार्टीप्रति आस्था राख्ने सिनेमाकर्मीले गर्नुपर्ने पहिलो काम यो हुनुपर्ने हो तर भइराखेको छैन । माओवादी पार्टीले पनि त्यस्तो जनशक्ति र सिर्जना उत्पादनमा कुनै चासो देखाएको छैन र राज्यले पनि सिनेमाप्रति उदासीनता नै ज्यादा देखाइरहेको छ ।

केही निर्देशकहरू जो यस कुरालाई आत्मसात् गरेर काम गर्न चाहन्छन्, तिनमा पहिलो त आर्थिक अभाव नै मुख्य छ, त्यसमाथि उनीहरूसँग सीप वा दक्षताको कमी छ ।

मूलधारकै व्याकरणमा माओवादी मसला हालेर जनवादी फिल्म बनाउनेहरूबाट यो काम सम्भव छैन तर हाम्रा धेरै निर्देशकले यही मात्रै जानेका छन् । उनीहरूलाई तालिम, प्रशिक्षण वा उच्च शिक्षाको व्यवस्था हामीले गर्न सकेका छैनौँ । अब त झन् माओवादी पार्टीप्रति आस्था राख्ने केही निर्देशकहरू कस्तो संश्लेषण गर्न थालेका छन् भने व्यावसायिक सुरक्षा नै पहिलो कुरा हो । निर्देशकहरूमा विचारधाराको फिल्म बनायो भने चल्दैन, टिक्न सकिँदैन भन्ने मनोविज्ञान विकास हुनु राम्रो होइन । यो चुनौती हो ।

फरक धारमा कथानक सिनेमाहरू नै अहिले व्यावसायिक रूपमा सफल देखिएका छन् । लुट र चपली हाइट जस्ता व्यावसायिक रूपमा सफल भनिएका सिनेमाहरू कथानक सिनेमा नै हुन् । अन्तर्राष्ट्रिय अनुभवमा यी फरक धारका सिनेमा होइनन् । कथानक भन्ने तत्व मूल वा फरक जुनसुकै धारका सिनेमामा रहनु पर्ने कुरा हो ।

हाम्रामा कथानक सिनेमा भनिएका सिनेमाहरूमा कथा चाहिँ हुन्छ तर कथानक हुँदैन । त्यसैले कथानक हुनु नै पनि हाम्रो सन्दर्भमा फरक धार भएका हुन् । लुट वा चपली हाइट फरक धारका हुनुमा कथानकले काम गरेको छ । यी सिनेमाले व्यावसायिक सफलता पाउनुमा पनि कथानक संयोजनको सफलता नै मूलमा रहेको छ ।

नेपालमा वृत्तचित्रात्मक वा अतिनाटकीय शैलीका सिनेमाहरूको व्यावसायिक अवस्था दयनीय देखिएको छ । वृत्तचित्रात्मक सिनेमाहरूको स्थिति न वृत्तचित्र जस्ता बन्न सकेका छन् न सिनेमा जस्ता । यता अतिनाटकीय सिनेमाहरू पनि न पूर्ण व्यावसायिक भएर मायाप्रेममा रम्न सकेका छन् न त फरक धारको व्याकरणलाई आत्मसात् गरेर अन्तर्राष्ट्रिय बजार र बौद्धिकहरूलाई नै आकर्षण गर्न सकेका छन् । हाँसको चाल न कुखुराको चाल हुनु यी सिनेमाहरूको विशेषता बनेको छ ।

४. संश्लेषण :
नेपालमा साँच्चै फरक धारका सिनेमाहरूको सङ्ख्या असाध्यै कम छ र जति छन् तिनमा पनि परिपक्वताको अभाव छ । यस अभावलाई न्यून गर्न सक्दा फरक धारका नेपाली सिनेमाहरूको भविष्य राम्रो हुने सम्भावना छ र त्यसतर्फ व्यक्तिगत र संस्थागत रूपमा केही अभ्यासहरू भएका पनि छन् ।

सिनेकर्मीहरूलाई सङ्गठित गरी विभिन्न कार्यशाला गोष्ठी, प्रशिक्षण, क्षमता अभिवृद्धिको तालिम, आवश्यक औपचारिक शिक्षा र अनुसन्धान आदि गतिविधिमा संलग्न गराउन सके नेपाली सिनेमाले नयाँ धार र नयाँ उचाइ लिनसक्ने सम्भावना छ ।

शैलीका रूपमा यथार्थवादी शैली र विषयका रूपमा स्थानीय विषय (युद्धको प्रभाव, राजनीतिक परिवर्तनले ल्याएको जटिलता, जातीय क्षेत्रीय समस्या, आदिवासीका पुरातन सीप र संस्कृति, कृषि, सहकारी, प्राकृतिक, जैविक विविधता आदि) हाम्रा अनुकूल हुने देखिन्छन् ।
०००

प्रतिक्रिया दिनुहोस्