उत्साहको खोजीमा कवि पुरण

       प्रमोद | 617 Views |   Published Date : 3rd August 2015 |

book cover_puranकविता भावनात्मक आवेग, संवेदना, शिल्प र विचारको संयोजन हो । सँगसँगै यो जिम्मेवारीपूर्ण सामाजिक काम पनि हो । सामाजिक यसकारणले कि यसले समाजसँग सम्वाद गर्ने हैसियत राख्छ । नबोलिकन शारीरिक हाउभाउमार्फत् प्रस्तुत गरिने नृत्यकला त सन्देशविहीन हुँदैन भने कविता सन्देश र विचारबाट मुक्त हुने कुरा भएन ।

तर ख्यालख्यालै कविता कोरेर कवि बन्नेहरुको ठूलो जमात छ हामीकहाँ । कविता लेख्न सुरु गरेको एक वर्षभित्रै दुई थान कविता संग्रह छपाएर साहित्यमा उल्लेखनीय योगदान पु¥याएबापत वर्षको अन्तिमतिर पुरस्कार थाप्ने भाग्यमानी कविहरु पनि नभएका होइनन् । यसो भनेर कविता लेख्नु र छपाउनुलाई अन्यथा भन्न खोजिएको होइन, बरु कविता लेख्न चाहनेहरुबाटै कविता विधासँग गरिएको खेलवाडप्रति मात्र संकेत गर्न खोजिएको हो ।

कविताले आन्तरिक र बाह्य दुवै संसारको बारेमा हामीलाई अवगत गराउँछ । जसको बारेमा हामी अनभिज्ञ भैरहेका हुन्छौं । एउटा शक्तिशाली कविताको मापन के होला ? यसलाई परिभाषित गर्न त्यति सहज नभए पनि अनुभूति गर्न सकिने कुरा हो ।

प्रमोद

प्रमोद

मलाई लाग्छ– हामीभित्र विद्यमान मनुष्य र मनुष्यत्वलाई जगाउने काम गर्न सक्यो भने असल कविता त्यही हो । मान्छेको टाउको भित्र थोरै भए पनि हलचल पैदा गर्न सक्ने कविता नै वास्तविक कविता हो । त्यही नै कविताले गर्न सक्ने सबैभन्दा ठूलो क्रान्तिकारी योगदान पनि हो । समाजमा क्रान्ति गर्ने कामको अगुवाई त दिमागले नै गर्ने हो ।

रोल्पामा रहेर कलम चलाइरहेका कवि पुरण क्षेत्री समयसँग सम्वाद गर्न खोज्ने कविहरुको कोटीमा आफूलाई उभ्याउँदै ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कवितासंग्रहमार्फत् पाठकसमक्ष आएका छन् ।

जम्मा पैंतीसवटा कविताहरु समेटिएको यस संग्रहमा कवि मूलतः जनयुद्धको भावभूमि, क्रान्तिप्रतिको विश्वास र समर्थन, उच्च देशभक्ति, वर्गदुश्मनप्रति आक्रोश लगायतका विषयवस्तुमा केन्द्रित भएर पोखिएका छन् । विषयवस्तुको हिसाबले यो समय अलि फरक खालको हो ।

भानुभक्तकालीन या लेखनाथकालीन भावन र विचार बोकेका कविताले अबको समयसँग सम्वाद गर्न सक्दैनन् । त्यसको लागि दिमाग पनि अहिलेकै चाहिन्छ । त्यसरी नै कविता पनि । विडम्बनाको कुरा अहिलेकै समयमा बाँचेर पनि तत्कालीन समयका भानुभक्त वा लेखनाथले जति पनि समयलाई चिन्न नसक्ने कुपमण्डुक दिमागहरुको बिगबिगी यतिखेर छ । यो सन्दर्भमा कविले आफ्नो हकहितको पुर्पक्ष नगर्ने संविधान आफ्नो नहुने जिकिर गरेका छन्–

के म अटाउँछु होला
बनिरहेको हाम्रो संविधानमा ?
किनकि
म नअटाएको संविधान मेरो हुने छैन ।

जन्मेको एकदशक पछाडि नै टाउको नेपाली भएपनि युरोप अमेरिकाको सपना सजाएर सुत्ने टाउकाहरु फस्टाउँदै गएको परिवेशमा कवि नेपालको अद्वितीय विशिष्टताको उल्लेख गर्छन् । सुन्दरताको विपुलताले भरिएको मातृभूमिमा सपना फुलाएर समृद्ध बन्नुपर्ने आकांक्षा व्यक्त गर्छन्–

टाकुरा लेकमा हामी यार्सा फलाउँछौं
रक्ताम्मे पहाडमा गुराँस फुलाउँछौं
लहलह तराईमा धान झुलाउँछौं
बुकी फुल्ने लेकमा हामी फुल्दछौं

हो, कविले भनेझैं हामी फुल्न बाँकी नै छ । कोपिलामै मुर्झाउँदै या निमोठिदै सिद्धिने नियतिबाट अभिसप्त सपनाहरु नेपाली धर्तीमा सदियौंदेखि संघर्षरत छन् । जस्तो कि निम्न हरफहरुमा कवि बोल्छन्–

तिमी बस्ने छाप्रो उस्तै छ
तिमी नाच्ने आँगन उस्तै छ
उस्तै छन् लुगाफाटोहरु
उस्तै छन् खाने मानोहरु
गाउँ बजारमा फेरियो
बजार सहरमा फेरियो
घर महलमा फेरिए
तर ए जेठा दाइ
तिमी उस्तै–उस्तै छौ ।

यस संग्रहका केही कविताहरु देशभक्तिको भावनाबाट प्रेरित छन् । एउटै समयभित्र दुइवटा देश बाँचिरहेका परिवेशमा उत्पीडितहरुको मनमा जबसम्म घाम लाग्दैन तबसम्म देशमा वास्तविक देश बन्न सक्दैन । यो यथार्थलाई बदल्न कवि यो देशलाई श्रमले सिंगार्नु र सिर्जनाको पसिनाले सिंचन गर्नुको विकल्प देख्दैनन् । त्यसैले त उनी भन्छन्–

सुन, तामा, फलाम प्रकृतिको धनी हो
पहाड, तराई, हिमाल सुन्दरताको खानी हो
पसिनाले सिँचौं यो प्यारो माटोलाई
श्रमले सिँगारौं यो सुन्दर मुटुलाई ।

कवि पुरण क्षेत्रीसँग न विषयको अभाव छ, न दृष्टिकोणको । आवश्यकता छ भने केवल कवितालाई कविताको भीडमा थप ऊर्जाशील र लडाकू बनाउनको लागि कविताकै नयाँ–नयाँ अस्त्रहरुले थप सुसज्जित भएर भिड्नुपर्ने आवश्यकता छ ।

निश्कर्षमा भन्दा तुलनात्मक रुपमा काव्यिक उपकरणका हिसाबले कमजोर अनि विषयवस्तु अनि वैचारिक उच्चताको हिसाबले सबल कवितामा राख्न सकिन्छ यस संग्रहका कविताहरुलाई ।

त्यसभन्दा अझ सकारात्मक कुरा के छ भने कवि बन्ने धुनमा कविले कृत्रिमताको संसार खडा गर्ने धृष्टता गरेका छैनन् । आफूले भोगेका र देखेका कुराहरु नै कविताका विषयवस्तु बनेका छन् । आगामी दिनहरुमा थप खारिएका कविताहरु कविबाट सृजित हुने अपेक्षा गर्न सकिन्छ । आवश्यकता छ त केवल आत्मनिरीक्षणको ।

अन्तमा कवितामार्फत् सपना देख्ने र बाँड्ने सफलताको कविलाई शुभकामना ।

कृति : देशले उत्साह खोजिरहेछ
विधा : कविता
कवि : पुरण क्षेत्री
संस्करण : २०७१ असोज
प्रकाशक : प्रगतिशील लेखक संघ, रोल्पा
मूल्य : रु. ९९/-

प्रतिक्रिया दिनुहोस्