हटारु

       नवीन विभास | 641 Views |   Published Date : 7th August 2015 |

Nabin bibhasआँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् ।

‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’

प्रसंगबिना नै मनबहादुरले हाटका कुरा सुन्ने भनेपछि आमा बक्क परेकी छन् । किन सोधेका हुन् ? किन जान्न चाहेका हुन् ? आमाले बुझेकी छैनन् । बुझ्न कोशिस पनि गरेकी छैनन् ।

hataru_shabdashikha‘उहिलेका कुरा खुइले,’ बेवास्ता गर्दै आमाले भनिन् ।

‘हाट कहाँ पुरानो भएको छ र ?’ मनबहादुरले भने ।

चुल्होछेउमा बसेका छन् आमा, मनबहादुर र पानसरी । तिनका छेवैमा खेल्दैछन् मनबहादुरका छोरा लोकबहादुर र बिरालो । परिवारका बाँकी सदस्य मास छर्न गइसकेका छन् । कति मास पुगेर त कति मास नै नपुगी ।

०००

आमाले तीनआँख्लेले जिलाधुरी नकाटुन्जेल कहिले भाङ्ङो त कहिले पुवा धागो कात्थिन् । कहिले स्यालको त कहिले धेनु गाई र मालु बाच्छाको लोककथा सुनाउँथिन् । कहिले सुनाउँथिन्, नुनको हाट गएका नेपालगन्ज र कोइलाबासका कहानी । सुनाउँथिन्, खयर काट्न गएका खयरझालाका । त्यसैले आमालाई सुनाउन आग्रह गरेका छन्, हाटको कहानी ।

धेरै कर गरेपछि बल्ल आमाले थालिन्, ‘जैसीले हेरेको साइतको दिन आउनुअघि नै तयार पार्थिम्, ठूलो भारे डोको । डोकोको मुखमा जाली र खकन्नाले जेलेर धेरै अट्ने बनान्थिम् । त्यसैमा राख्थिम्, एक महिना जतिलाई पुग्ने पिठो, मारेको साग (सुक्खा साग), दाल, मकै र भटमास भुटेर मिसाएको खाजा । जाँदाखेरि कोही चुल्ठे, सोमाजस्ता जडिबुटी र घिउ लान्थे । र, नुनसित साट्थे ।

गहुँ र जौ छरेर हाट गएका हामी हटारु फर्कंदा कहिले त पसाउनसमेत थालेका हुन्थे । खोलैखोल जान्थिम् । ढाङ्ढुङगारदेखि चिउराघारसम्म पुग्नसमेत चौरासी जङार तर्थिम् ।

‘जाँदा–आउँदा सोह्र सत्र नम्मरीको भारी हुन्थ्यो । ओडार र रुखमुनि बास बस्थिम् । कहिले पकाउँदा पकाउँदै त कहिले खाँदा–खाँदै त कहिले मध्यरातमा हुरीबतास र झरीले बितरा पाथ्र्यो । चोरको बिगबिगी । बाहिर बाघ, हात्ती, बिच्छी र सीतको जात्तिबित्ति डर हुन्थ्यो । कति हटारु त बाटोमा ओक्काउनेले मर्थे । मारीले बगाउँथ्यो कहिले मान्छे त कहिले भारी । ऐरापति तर्दा कोही डुबेर मर्थे भने कोही डुंगा पल्टेर । थुर्पाको लेकमा हिउँले पुरेर बगाल नै चिलिम हुन्थे । सँगै गएका हटारु छुट्थे ।

साँगुरा बाटोमा ठूला भारी बोकेर हामी टोपी खस्ने उकालो र भीरमा उत्रा हान्दै हर्थिम् । उकाली चढ्दा गान्थिम्, ‘लैजा उकाली धुरी बसाली ।’ फेरि ओरालो झर्दा गान्थिम्, ‘लैजा ओराली पेदा झराली ।’ भारीले टाउका चिर्के पनि गाइरहन्थिम् गीत । तिनै गीतले तान्थे उकाली ओरालीमा अघि–अघि पाइलालाई । घर पु¥याएको नुन बतेवा खाएको तिर्दा थोरै उब्रन्थ्यो । त्यै उब्रेको नुनले फारोफारो गरी वर्ष दिन पु¥याउनुपथ्र्यो ।

‘कि गरी खाम्ला कि मरी जाम्ला’ भनी एकसोरे भएपछि मात्रै नुनको हाटबाट फर्कन्थिम् । आँटी ज्यानलाई घोराके (बाघ)ले पनि खान सक्तैन । हुन्छन्, पाइला–पाइलामा उकाली आरोली । ऐरापती । थुर्पाको लेक । चोरका बिगबिगी । भैरा (बहिरा) बाघको डर । शीत । बिच्छी । तर हेर मने ! भान्सामा नुन नभएपछि जानै परो । बरु सुन नभए नि निबाजा हुने रै’छ । तर, नुनचाहिँ नभई नहुने मान्छेको जातलाई ।’

आमाले हाटको कथा यहीँनेर पु¥याउँदा फेरि चट्याङ परेको आवाज आयो । सब झस्कन्छन् । लोकबहादुर मनबहादुरको छातीमा टाँसिए ।

‘नुन बोक्न कोइलाबास जान्थे होइन जेई ? ठेस लाग्थ्यो । रगत बग्थ्यो । सँगैका हटारु मरे तिनका डोको खपाएर बोक्नुपथ्र्यो । होइन जेई ? गरिबका लागि हाट जाने बेला हो यो । डोकोमा डोरीको बदला आस्थाको जालीखकन्ना हालेर हाटकै गीत गाउँदै झरीमा भिज्दै जाने बेला हो यो ।’

अब भने मनबहादुर अलि अराजकजस्तो न भावुकजस्तो देखिए ।

‘जेई, जान्छु म त झुप्राका लागि जून बोक्न । चिसा चुलाका लागि नुन बोक्न । हिजो तम्ले बोकेजस्तै ।’

‘तेर्चेत्कान केल् खायो र अथल कुरा गर्छस् ? छारो हाली कुरा गर्नु, काँ बाघको मुखमा पस्ने कुरा गर्छस् ? म ता भएँ, डाँरामाथिको जून । बुझा, सम्झा तेरो जोइलाई ।’

‘सधैँ काँ जुर्छ र साइत ? … बैशाखमा त सबै वन हरियो हुन्छन् नि । दिनमा त ढुङ्गा पनि चम्कन्छ ।’

त्यसपछि नजानिँदो सन्नाटा छायो ।

‘भैगो लोक्या बाबै आएका दिन जसरी तसरी भए नि धकलम्ला । चुलोमा आगो नबले नि धरा कसम्ला । हाम्ता जाँ गए नि जाम्ला यो काखको काँ जाला ?’

पानसरीले छोरा लोकबहादुरलाई देखाएर आँसुको बार लाइन् । यसअघि चुपचाप सुनिरहेकी पानसरी उठिन् ।

‘यै लोकेको लागि त जाँदैछु नि,’ मनबहादुरले भने ।

०००

मनबहादुरले ठिक्क पारेका छन्, डोको । उही भारे डोको । अनि रुक्स्याक झोला । थाहा छ, उनलाई जान दिने छैनन् निकोमनले । तर मनबहादुर पनि नगई नछाड्नेगरी मन उठाएका छन् । आँसुको बार नाघेर जान सक्ने छाँट देखेनन् । चुपचाप हिंड्नुभन्दा अर्को विकल्प देखेनन् ।

‘आफ्नै परिवारलाई सम्झाउन, बुझाउन नसक्नेले के हाट गएर आउला,’ एक मनले भनेपछि मनबहादुरको मन चसक्क भयो । होजस्तो पनि लाग्यो ।

‘हाट जाँदा जेइलाई पनि यसरी नै आँसुले बाटो छेकेको थियो र ?’ यो कुरा आमालाई सोध्नुपर्छजस्तो पनि लाग्यो ।

‘रुन्थे होला ।’ मनबहादुरको अर्को मनले भन्यो ।

कता–कता उनले देखे, सबका आँखाबाट झरेका आँसुको छेउ–छेउमा भने भोलि फुल्ने मुस्कान पनि छ ।

यसरी नै रुन्थिन् मनबहादुरकी आमा हाट जाँदा पनि । नजाऊ भन्थे । तर जानुपर्ने बाध्यता पनि हुन्थ्यो नुनका लागि ।

‘गरिबका घरमा नुन र जूनका लागि अहिले पनि बाध्यता छ नि मलाई हाट जान,’ मनबहादुरको एक मनले भन्यो । त्यसपछि उनले सम्झिए, आमाले भनेका कुरा, ‘पाइतो फालेपछि काम नसकी नफिर्नू । जोरीपारीले गाला बजाउने काम नगरेस् ।’

‘गोर्खा परो । यस्तो बेला काँ छारिजाने भन्छ ? औँसीको रातमा असिना परेको छ । हुरी चलेको छ । आँना मिल्केको छ,’ आमाको बोली कक्कडको सर्कोसँगै झ¥यो । सुल्पा नसेलाउँदै टकटक्याएर गादोमा राखिन् । चुलोमा बचेको थोरै फिलिङ्गा मनतातो खरानीमा जम्मा गरिन् । त्यसपछि भनिन्, ‘सुनिनस्, कुकुर रोएको ?’

सल्लाको दियालोको उज्यालोमा आमाको अनुहार रातोपिरो देखिन्छ । चुलोछेउ ताल्लिएको पानी बटुकोमा वापेर पानसरीले फालिन् र चुहिने ठाउँमा खाली बटुको राखिन् ।

‘मने, हेर कति भयो छानो नफेरेको ?’

जिउमा काँडा फुलेका छन् । फारुफारु गरी बलोस् भनेर चुलोमा अगुल्टो ठोसिन् ।

‘न आङमा नयाँ टालो छ न चुलोमा जिउ सेक्ने आगो ।’

मनबहादुर घरी आमाको मुहार हेर्छन् घरी तुषारोले खाएको फूलजस्तो पानसरीको मुहार । घरी हेर्छन्, पानसरीको काखमा निदाएका लोकबहादुरलाई, घरी मनतातो चुलो र चुहिरहेको घरको छानो ।

छेवैमा बिरालो घरी यता गर्छ घरी उता ।

‘पटुकाले पेट कसेर कति भोक टार्नु ! न गरिखाने न मरिजाने बेला पिट्ठे फर्काएर काँ टाउको लुकाने भन्छस् ?’

आगोको मुस्लो नै घरभित्र पसेजस्तो उज्यालो भयो । त्यसपछि कानको जाली फुट्नेगरी चट्याङ परेको आवाज आयो ।

‘कालापार जेठा गए, माइलो पल्टन । मुटुको टुक्रा चुँडिदा अचाक्ली दुख्छ है जेई ?’

मनबहादुरले भूमिका बाँधिरहे ।

‘सुन्तलीलाई बलात्कार गरे अनि माडीमा फाले । टाकुराबोट रनवीरलाई जोत्दाजोत्दै मारे । आफ्नै आँखाअगाडिका यी सब नदेखेजस्तो गर्दा कति चिरा हुन्छ मुटु ?’

मनबहादुरको कुरा सुनेर असहज हुँदै आमाले मन्टो हल्लाइन् ।

‘घरमा आगो लागेको बेला आफ्नो हातको एक लोटा पानी साँचेर टुलुटुलु हेर्न मिल्छ ?’

त्यसपछि पुसको चिसोमा पनि एक अम्खोरा पानी पिए । मुख पुछे । चारैतिर हेरे । चट्याङले तर्सेका लोकबहादुरलाई काखमा लिए ।

आमालाई आज बल्ल प्रष्ट भयो कि मनबहादुर राति–राति कहाँ जान्थे । उनलाई डरजस्तो न भरजस्तो पनि लाग्यो । यस्तो कुरा सिक्नु राम्रो भयो कि नराम्रो ? ठम्याउन सकिनन् ।

जाडोले लोकहादुर रुन थाल्छन् ।

‘गरिबका शरीरमा काँडा फुलेका छन् । तिनका छाना चुहेका छन् ।’

जसरी पनि मनाउनु छ । र, मनबहादुरलाई सामेल हुनु छ, हाट जाने हटारुको समूहमा । त्यसैले मनबहादुरले हाँगोथुँगा मारिरहेका छन् ।

आरू र पलमका पात पानीले बजाएको धूनमा आमा, पानसरी र लोकबहादुर रोएको आवाज मिसियो । चुलोछेउमा पानी चुहिरह्यो । ‘जा’ र ‘नजा’ नभनीकनै मनबहादुर निस्किए उही रातको झरीमा जहाँ छन् सहिदका सपना बोकेका हटारु । जति मधुरियो मनबहादुर हिंडेको पदचाप उति नै टाँठियो मनबहादुरको बोली, ‘जेई गरिबका चुल्हा चिसा छन् । तिनै चुल्हामा नुन र जून लिन हाट जान्छु । हाटबाट नफर्कन पनि सक्छु तर जरुर आउनेछन् बाँकी हटारु, नुन र जून लिएर । त्यसपछि सारा चिसा चुलामा आगो बल्नेछ ।’

 

Hataru photo : Hank Lacy
Date: 1968 Location: Okhaldhunga, Okhaldunga Description: Villagers gathered for the weekly haat bazaar.

प्रतिक्रिया दिनुहोस्