कोपिलाको ‘हमार संस्कृति’

       कृष्णराज सर्वहारी | 433 Views |   Published Date : 12th November 2014 |

Krishnaraj sarbahari

२०५९ सालमा मुक्तिक खोज उपन्यासमार्फत् थारू साहित्यको फाँटमा पाइला चालेका छविलाल कोपिला संयुक्त संग्रह समेत गरी ११ पुस्तक प्रकाशित गरिसकेका छन् । उपन्यासबाहेक उनी खासगरी कविता बिधामा केन्द्रित छन् । उनी साहित्यकार व्यक्तित्वको अलावा पत्रकार व्यक्तित्वबाट पनि परिचित छन् ।

पाँच बर्ष यता लावा डग्गर त्रैमासिकमार्फत् साहित्यिक पत्रकारितामा उनका पाइला अघि सरेको छ । यसै सिलसिलामा उनको ‘हमार संस्कृति’ नामक खोजमूलक लेख संग्रह प्रकाशन भएको छ ।

पत्रकारितामा लेख लेख्ने सिलसिलामा समसामयिक बिषयमा कलम चलाउनु एउटा कुरा, आफै पत्रकार मान्छेले गहिरो बिषयमा कलम चलाउँदा, आफ्नै लेखको छुट्टै संग्रह नै निकाल्दा सन्दर्भ स्रोतमा एकदमै ध्यान पु¥याउनु पर्छ । यसमा सन्दर्भ सामग्रीको प्रयोग भएको छ । त्यसैले, हमार संस्कृति संग्रह थारू सांस्कृतिक लेखको लागि महत्वपूर्ण दस्तावेज र संग्रहणीय बनेको छ । यो संग्रहमा जम्मा १९ वटा सांस्कृतिक लेख संग्रहित छन् ।

थारू जातिको लोकगीत, संस्कृति र गीति साहित्य शीर्षकको पहिलो लेखमा धेरै कुरा समेट्ने प्रयास गरिएको छ । थारू समुदायमा लोकगीत भन्ने बित्तिकै गीति साहित्य त्यसै आउँछ । त्यसमाथि संस्कृति बिषय जोड्ने बित्तिकै यसको फैलावट त्यसै बढेर आउँछ । त्यसैले यो लेख अलि छ्यासमिस लाग्छ । यद्यपि थारू समुदायमा गाउने चाडपर्व गीत, ऋतु गीत लगायत विभिन्न किसिमका गीत, नाचको बारेमा केही आख्यानसहितको वर्णनले लेखलाई खोजमूलक बनाएको छ ।

जहाँ सजना गाए पानी पर्छ शीर्षकको दोस्रो लेखमा गोरु बेह्रना चलनको बारेमा उल्लेख छ । गोरु बेह्रना चलनलाई कतै–कतै गैया बेह्रना पनि भन्ने गरिन्छ । यो चलन कहिले र कसरी चल्यो ? यसको उत्तर खोज्ने प्रयास गरिएको छ ।

chhabilal_book-193x300यो लेखको कमजोर पक्ष गोरु बेह्रदा गाइने सजनाको सप्रसंग व्याख्या छैन । सजनामा महिलाहरुको जुन विरह वेदना हुन्छ, त्यसको व्याख्या छुट्टै किताब जो बन्न सक्छ ।

महाभारतको प्रारुप बर्का नाच तेस्रो लेखमा विशेष गरी दशैं र तिहारमा नाचिने महाभारतको कथावस्तुसँग जोडिएको बर्का नाचको बारेमा छ । यो नाच केवल दाङको नारायणपुर गाविसको जलौरा गाउँमा मात्रै नाचिन्छ भन्ने लेखककोे तर्क छ । मैले सुनेअनुसार बर्दियाको उल्टनपुरमा पनि बर्का नाच नाच्ने चलन अझैं यथावत छ ।

बर्का नाचको बारेमा कुर्ट मेयर र पामेला डुयलले अंग्रेजी संस्करण (२०५५) मा पुस्तक प्रकाशन गरी अन्तर्राष्ट्रियकरण गरेका छन् । यस्तो अरु धेरै थारू लोकगीत, नाचको बारेमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने जरुरी छ ।

थारू समुदायमा भोज–विवाह र भोंर–पैठ्ना चलन यो छुट्टाछुट्टै लेखमा विभिन्न किसिमका विवाह गर्ने चलनको बारेमा वर्णन छ । पहिलो लेखमा ठोकौनीदेखि, बिदाइसम्मको कुरा र माँगरको चर्चा धेरै छ । पहिलेको श्रीमान मरेमा दोश्रो श्रीमान श्रीमतीको घरमा गएर बस्ने चलनलाई भोंर–पैठ्ना चलन भनिन्छ ।

दोस्रो लेखमा भोंर पेलल् बुवाबाट भएका छोराछोरी, भोंरपैठा स्वयम् अंशको दावेदार हुन नपाउने कानूनी समस्याको जटिलताको बारेमा लेखकले दृष्टिगोचर गरेका छन् ।

छैठौंदेखि बाह्रौं लेख थारू समुदायमा मनाउने चाडपर्वको बारेमा केन्द्रित छ । जसमा गुर्ही, अष्टिम्की, अँट्वारी, डश्या डेवारी, माघ र ढुर्हेरी मनाउने चलनको बारेमा खोज गरिएको छ । यसमा थारू जन्म संस्कार र मृत्यु संस्कारको बारेमा पनि छुट्टाछुट्टै चर्चा छ ।

चाडपर्व यसरी मनाइन्छ, उसरी मनाइन्छ भन्ने सतही चर्चाको गन्थनबाट लेखको स्तर बढाइए पनि थारू समुदायमा मनाइने चाडपर्वमा कसरी रंग बदलिदैछ ? यो बद्लाउले के अर्थ राख्छ ? यसको बारेमा चिन्तन मनन कम छ ।

जस्तो कि माघी पर्वको चर्चा । माघी डेवानीको भूरा खेलमा गाउँको अगुवा, बरघर, महटाँवा चुन्ने प्रसंग त यहाँ छ, तर बाहुल्य रहेका थारू गाउँको अगुवाई अब गैरथारूले पनि गर्दैछन् । यो सवालमा बहस गर्ने कि नगर्ने ? मुक्त भएर कमैयाहरु गाउँको अगुवाई आफै गरेर सभासद पनि भइसके । तर आम थारू अगुवाहरु बरघरमा मात्रै सीमित छन्, उनीहरुलाई चुनावमा गोटी मात्र बनाइन्छ । माघी डेवानीको अवसरमा आफ्नो मुद्दा, आफ्नो नेतृत्व यो सवालमा बहस गर्ने कि नगर्ने ?

त्यस्तै जरुरी छ– अष्टिम्की, अँट्वारी, डश्या, डेवारी, माघीमा बनाउने परिकारको व्यावसायिकताको चर्चा पनि ।

लेखकको चिन्तन छ कि थारू समुदायमा विकृति बन्दै जाँदैछ जाँडरक्सी । यही हो थारुलाई कमैया, कमलहरी बनाउने दुरवस्थाको कारण ।

मलाई लाग्छ, केही प्रतिशत यसको पनि हात हुन सक्छ, तर वास्तविकता के हो भने राज्यको नीतिले जो थारूहरुलाई गरिब बनायो, उनीहरुको मोहियानी हक सुरक्षित गरेन । यिनीहरुलाई मतवालीमा गणना ग¥यो ।

धर्म, थारू समाज र वास्तविकता यो लेखमा थारू जाति मात्रै होइन, अन्य समुदायको मानिसहरुको पनि पुरानो रुढीवादी र अन्धविश्वासमा अन्धभक्त भएर दुःख पाएको कुरा उठान गरिएको छ । थारुहरुको वास्तविक धर्म के हो ? यसको बारेमा भने केही चर्चा गरिएको छैन ।

थारू भाषा र पत्रकारिताको अवस्था लेखमा लेखकको ठहर छ– थारू भाषाको पत्रिका संख्यात्मक हिसाबले धेरै प्रकाशन भएको देखिएको भए पनि गुणस्तर र निरन्तरताको हिसाबले एकदमै नाजुक अवस्थामा देखिन्छ । यो सोह्रै आना सही हो । तर, लेखकले अनुसन्धान गर्दाको अवस्थासम्म हालसम्म कति थारू पत्रिका प्रकाशन भए, त्यो खुलाइएको छैन । गुणस्तर र निरन्तरता कसरी कायम गर्ने यसको कुनै उपाय सुझाइएको छैन ।

हाम्रो कला, साहित्य र संस्कृति लेखमा वर्गीय साहित्यको चिन्तन छ । हाल आधुनिकताको नाउँमा संस्कृति परिवर्तनमा देखिएका विकृतिको बारेमा तिखो प्रहार छ ।

थारू पहिचानको धरोहर जंगलकुटी ऐतिहासिक पर्यटकीय क्षेत्रको परिचयात्मक जानकारी दिइएको यो संग्रहको पुछारको लेख हो । मेरो जानकारी अनुसार यो लेख कार्यपत्र भएकाले अरु लेखभन्दा वजनदार छ ।

यसमा संकलित लेख पहिले कहाँ–कहाँ छापिएको थियो ? यसको सूची दिएको भए राम्रो हुने थियो । कुनै–कुनै लेखमा तस्विर छैन । यद्यपि धेरैजसो लेखमा बीच–बीचमा राखिएको तस्विरले संग्रह अझैं वजनदार बनाएको छ, यद्यपि छपाइमा तस्विर मधुरो छ । तस्विर मौलिक हो या कसैको साभार ? यो पनि अनिवार्य खुलाउनु पथ्र्यो ।

हमार संस्कृति यो संग्रह थारू भाषामा नै अनुसन्धानमूलक कृतिको लावा परम्परा बसालेकोले लेखक धन्यवादको पात्र छन् ।

अन्तमा, छविलाल कोपिलाले यो पुस्तकमार्फत् अनुसन्धानकर्मीको परिचय उजागर गरेका छन् । मलाई आशा छ, पत्रकार र साहित्यकारको पगरीसँगै अनुसन्धानकर्मीको पगरीलाई उनले आउने दिनमा पनि निरन्तरता दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्