निदाएको लहर

       मनु मञ्जिल | 529 Views |   Published Date : 11th August 2015 |

(हराएको एक प्रिय साथीको स्मृतिमा)

Manu-Manjilऊ मेरो चिट्ठी पुग्ने यौटा ठेगाना थियो,
हरायो ।
जीवनका अनेक किनारहरूमा
मलाई भेट्न आउने लहर निदायो ।
सम्बन्धको झ्यालमा उदाउने जून अस्तायो ।

उसका आँखामात्रै बचाउन सकिएको भए
पूmलहरूमा सधैं उज्यालो खस्थ्यो ।
मरुभूमिमा नहराएको भए एक तलाउ प्रेम
यो सानो देशका धूले बालकहरूलाई
सङ्लैसङ्लोले नुहाउन पुग्थ्यो ।
आँखाहरूमा अल्झेको पुरानो समय पखाल्न पुग्थ्यो ।
यो आकाशै अर्कै हुन्थ्यो उसको मन टाँग्न पाएको भए,
कति सुकिलो हुन्थ्यो !

खोल्सी र पाखामा बज्ने यौटा सुसेली अब छैन ।
कुनै–कुनै साँझ
बाटाले मेरो घरसम्म लिएर आउने पदचाप अब छैन ।
म रूख हराएर टोलाएको छायाझैं
जीवनको नियतिमा अल्झेको छु
सँगै हामीलाई भिजाएर अब कहिल्यै पानी पर्दैन
हामीलाई एकैपटक छोएर कहिल्यै हावा चल्दैन ।
जसरी हामी सँगै किनार–किनार दगुथ्र्यौं त्यसरी
अब एकसाथ हाम्रो प्रतिबिम्ब देखाएर
झरना पनि बग्दैन ।

हेर्छु कसरी खोपियो आफ्नै उदास अनुहार
यसरी ऐनामा ?
छाम्छु कसरी गढ्यो होला धारिलो दुःख यो छातीमा ?
आकाशको चित्र कोर्दा–कोर्दै
चम्किलो कुनै तारा हराएर टोलाएको कलाकारझैं
उदासीको झ्यालबाट मैले जीवन हेरिरहेको बेला
आज पनि यौटा जून जीवनको काँडाघारीमै अस्तायो ।
समुद्रबाट अँध्यारैमा उठ्यो यौटा सुन्दर लहर
धेरैबेर प्रेमले जीवनका किनारहरू सुम्सुम्यायो
थकित–थकित लहर
फेरि समुद्रमै फक्र्यो
र आमाको काखको बालकझैं लुटुक्क निदायो ।

ऊ मेरो चिट्ठी पुग्ने यौटा ठेगाना थियो,
हरायो …. ।

प्रतिक्रिया दिनुहोस्