रोबोटहरु

       क्षितिज मगर | 524 Views |   Published Date : 11th August 2015 |

Chhitij Magarमान्छेहरुझैँ
मान्छेहरुसँगै
उकाली गर्छन्
ओराली गर्छन्
समयझैँ
समयसँगै
रुप फेर्छन्
रंग बदल्छन्
आधुनिक रोबोटहरु ।

रोबोटहरु
लड्छन्
भिड्छन्
र, दौडन्छन्
तर, बिडम्बना !
उनीहरु चलेका हुन्नन् आफ्नै बिवेकले
उनीहरु बाँचेका हुन्नन् आफ्नै पौरखले
न जानेका हुन्छन् सोच्न कुनै गौरवले नै
रोबोटहरु
हाँस्छन् त आफ्नो खुशी हैन
नाच्छन् त आफ्नो कला हैन
गाउँछन् त आफ्नो गला हैन
किनकि उनीहरु
सधैँ–सधैँ टाढा कतैबाट
अदृश्य शक्तिको रिमोट कन्ट्रोलबाट चल्छन् ।

रिमोट कन्ट्रोलरले
दायाँ दबायो, दायाँ जान्छन्
बायाँ भन्यो, बायाँ गर्छन्
सभ्यताको न्युयोर्कबाट
बिकट तोराबोरामा लडाइन्छन्
बिलासिताको ताजमहलबाट
झुपडीको इज्जतमाथि नचाइन्छन्
रोबोटहरुमा
समवेदना हुँदैन
भावना हुँदैन
र माया हुँदैन
र, पनि कहिलेकाहीँ
महाकवि देवकोटाझैँ कविता लेख्छन्
उनीहरुमा
ज्ञान हुँदैन
कला हुँदैन
र, बुद्धि हुँदैन
र, पनि यदाकदा
शेक्सपियरझैँ नाटक लेख्छन्
किनकि
उनीहरु आधुनिक यन्त्र हुन्
आधुनिक सभ्यताको बिहानीमा
उनीहरु कहिलेकाहीँ
नेपोलियनको दिवास्वप्न पनि देख्छन्
जार शाहीको योजना पनि कोर्छन् ।

ए मेरा प्रिय देशबासीहरु हो !
हरेक आन्दोलनपछिको क्रान्तिमा
हरेक रातपछिको बिहानीमा
हाम्रो देश यिनै यन्त्रको बिर्ता बन्दैछ
हाम्रो देश यिनै यन्त्रको शासन भोग्दैछ ।

-रोल्पा

प्रतिक्रिया दिनुहोस्