तारा र सम्झनाहरु

       फुलमान वल | 471 Views |   Published Date : 11th August 2015 |

phulman_balसम्झिरहेको छु–
चकमन्न साँझ
टिलपिल टिलपिल तारा
न्यानो दलान
हजुरआमाले बलेसीमा भाँडा माझ्दा
बजेको चुराका छिन्–छिन्
हजुरबाले सुनाउनु भएको परिकथा
‘परिकथाका राजकुमार
शहर पसेपछि
गाउँ फर्केको छैन ।’

सम्झिरहेको छु–
सुनसान साँझ
टिलपिल टिलपिल तारा
आरुको बोट
कुकुरहरु भुकिरहेका छन् टाढा कतै
मौन छिन् उनी
म पनि छु मौन
आकाश मौन
ताराहरु मौन
त्यो दिन ताराहरुले मनका कुरा
निर्धक्क भन्नै सकेनन् ।

सम्झिरहेको छु–
गोधुली साँझ
टिलपिल टिलपल तारा
खड्कुलो खोलाको घट्ट
घट्टको एकतमास घुईं घुईं
रातभर वनमान्छेको कथा सुनाउने
ताङसार गाङको घटुवारे आस्याङ
पालो पर्खिंदा पर्खिदा
छिप्पिएको साँझसँगै
लाली चढ्दै गएको
खानीगाउँकी मगर्नीहरुको
बैशालु अनुहार !

सम्झिरहेको छु–
सुनसान साँझ
टिलपिल टिलपिल तारा
आम्बल चेको आँपघारी
झ्याउँकीरीको किरकिर
भर्खरै चुटेको गहूँको छ्वाली
खलोमै आकाशतिर उतानो पल्टिएर
तिनतारा र सात तारा गन्दै
शहरको सपना देखिरहेको म
आमाले गोठभित्रबाट
भात पाकेको संकेत गर्न
गाउनु भएको तामाङ सेलो !

सम्झिरहेको छु–
सुनसान साँझ
टिलपिल टिलपिल तारा
कमेरे स्योङको खेतबाट
उकालो चढिरहेका हलगोरुको खुरको आवाज
बाउसे आम्बोटे आस्याङ
र, रोपहारहरुले हालेको जुहारी
सबैभन्दा पछिल्तिर
उनी र म
‘शहर नगए नि हुन्न ?’ भन्दै
थरथराउँदै च्याप्प समातेको
उनको मायालु हात

सम्झिरहेको छु–
सुनसान साँझ
टिलपिल टिलपिल तारा
चिउरीको बोटको फेद
घुँक्क घुँक्क उनको आवाज
तिनतारा कहिल्यै भेट नभएको कथा हाल्दै
शहर पस्नुअघि उनले बगाएको
प्रेमको अन्तिम आँसु

मेरा सम्झनाका साँछी
ओ, आकाशका ताराहरु ?
शहरको यो चिसो बाल्कोनीछेउ
के तिमी मलाई सुनाउन सक्छौ ?
पचास बर्षअघि
गाउँमै छुटेको
मेरो पहिलो प्रेमकथा ?

प्रतिक्रिया दिनुहोस्