स्रष्टा, साधना र सिर्जना

       टीकाराम उदासी | 692 Views |   Published Date : 15th August 2015 |

udasi_cap small

सिर्जनशीलता मानिसको अति महत्वपूर्ण शक्ति हो । सृष्टिक्रमसँगै मानिसले आफ्नो यही शक्तिको उपयोग गर्दै सभ्यताका अनेकौं आयामहरु निर्माण गर्दै आइरहेको छ । ज्ञान र सिर्जनशीलता दुबै एकअर्काका परिपूरक हुन् । सभ्यताको उषाकालदेखि नै मानिसले हरेक ज्ञानलाई सिर्जनात्मक कर्ममा र हरेक सिर्जनालाई ज्ञानको बिस्तार क्रममा प्रयोग पनि गर्दै आइरहेको छ ।

ज्ञान र सिर्जनाका अनेकौं रुप र शैलीहरु छन् । तीमध्ये कलासाहित्य पनि मानव समाजको ज्ञान र सिर्जनालाई अभिव्यक्त गर्ने, अभिलेखीकरण गर्ने र बिस्तार गर्ने एउटा महत्वपूर्ण क्षेत्र हो ।

कुनै पनि कलासाहित्यको सिर्जना गर्ने व्यक्ति स्रष्टा हो भने स्रष्टाले गरेको कर्म सिर्जना अनि स्रष्टाले सिर्जनाका लागि गर्ने परिश्रम वा मेहनत साधना । यी तीनै आयामको त्रिकोणात्मक सम्बन्धबाट मात्रै कलासाहित्यको बलियो अस्तित्व स्थापित हुनसक्छ ।

स्रष्टा, साधना र सिर्जनाका बारेमा आजसम्म विभिन्न कलाचिन्तक, स्रष्टा र दार्शनिकहरुले अनेकौं किसिमले व्याख्या गर्दै आएका देखिन्छन् । पूर्वमा प्रतिभा, व्युत्पत्ति (ज्ञान) र अभ्यासलाई सिर्जनाका महत्वपूर्ण आयाम मानिएको छ भने पश्चिममा पनि शब्दावली जे जस्तो प्रयोग गरिएको भए पनि प्रकारान्तरले यही चिन्तन नै बलशाली देखिएको छ ।

आजसम्म यस बारेमा अनेकौं विमर्श र चिन्तनहरु भइरहेका छन् । नयाँ–नयाँ साहित्य सिद्धान्त, कला चिन्तन र समालोचना प्रणालीहरु यसै क्रममै अस्तित्वमा आएका हुन् । निश्चय नै मानव समाजको सुदूर भविष्यसम्म पनि यो क्रम निरन्तर चलिरहने नै छ ।

मैले माथि नै उल्लेख गरेको छु– सिर्जनशीलता मानिसको नैसर्गिक स्वभाव हो । तर सबै मानिसको रुचि, क्षमता र स्वभाव आदि भने एउटै प्रकृतिको हुँदैन । दुनियाँमा भएका सबै मानिसको रुचि, स्वभाव र क्षमता एउटै प्रकृतिको हुन्थ्यो भने यो संसार यति सुन्दर र विविधतामय पनि हुने थिएन । यसैले संसारको विविधता हुनुमा मानिसको यही प्रकृति नै प्रमुख कारक बनेको छ ।

ज्ञान र सिर्जनाका अनेकौं क्षेत्रहरु छन् । संसारमा भएका सबै मानिसहरु कुनै न कुनै ज्ञान र सिर्जनाकर्मसँग अत्यन्त घनिष्ट रुपले जोडिएका छन् । यस दृष्टिले सबै स्रष्टा हुन्, सबैले परिश्रम वा साधना गर्छन् र सबैले यस संसारमा केही न केही सिर्जना गरिरहेकै छन् ।

कुनै घर बनाउने मानिस पनि स्रष्टा नै हो । घर पनि सिर्जनाकै एउटा विशिष्ट रुप हो । यसका लागि पनि प्रशस्त प्रतिभा र श्रम चाहिन्छ । सबै मानिसले घर बनाउन सक्तैनन् । त्यस्तै अन्य भौतिक निर्माणका सबै क्षेत्रमा प्रतिभा आवश्यक पर्दछ । जहाँसम्म घर बनाउने मानिसले भौतिक निर्माणका सामग्रीहरुलाई समाजबाट लिन्छ भन्ने कुरा छ, त्यो त कलासाहित्यको सिर्जना गर्ने मानिसले पनि शब्द रङहरु सबै यही समाजबाटै त लिएको हुन्छ नि ।

दुनियाँमा कुनै यस्तो स्रष्टा छैन, जसले सिर्जनाका लागि चाहिने सबै तत्व आफैले लिएर आएको होस् । जस्तो कुनै भाषामा साहित्य रचना गर्ने व्यक्तिले आफ्नै समाजमा प्रचलित भाषा, त्यही समाजको अनुभव, ज्ञान र अनुभूतिलाई आफ्नो सिर्जनशीलतासहित पुनः समाजकै लागि सम्प्रेषण गर्दछ । उसले समाजमै नभएको कुनै नयाँ वस्तुको आविष्कार गर्ने कदापि होइन । बरु, उसले अरुले भोगिरहेका, देखिरहेका अनि भनिरहेका विषयहरुलाई पनि नवीन शैलीमा प्रस्तुत गर्दछ र मानिसहरु त्यसलाई नयाँजस्तो अनुभूत गर्दछन् ।

कुनै पनि स्रष्टाले के बिर्सन हुँदैन भने संसारमा सबै मानिसहरु स्रष्टा हुन्, सबैमा सिर्जनशील प्रतिभा हुन्छ र सबैले केही न केही सिर्जना पनि गरिरहेकै हुन्छन् । यसकारण एउटा मानिसले आफ्नो सिर्जनशील क्षमता कुन क्षेत्र र विधासँग सम्बन्धित छ भन्ने कुरालाई गहिरोसँग विश्लेषण गरी त्यसमै केन्द्रित हुनुपर्दछ । एउटै मानिसमा सबै प्रतिभा वा क्षमता हुँदैन । स्रष्टाले आफ्नो प्रतिभाको वस्तुगत पहिचान गर्नुपर्दछ । समयमै आफ्नो प्रतिभाको क्षेत्र पहिचान गर्न सकिएन भने निश्चय नै मानिसलाई जीवनमा असफलताबाहेक अरु चीज हात लाग्दैन । संसारमा सबै मानिस सफल हुँदैनन् । यसको प्रमुख कारण आफ्नो प्रतिभाको आफैले पहिचान गर्न नसक्नु नै हो ।

कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि त्यस क्षेत्रको परम्परा, क्षेत्रगत ज्ञान र कठोर साधनाको आवश्यकता पर्दछ । साहित्यकलाका क्षेत्रमा सफलता प्राप्त गर्नका लागि पनि यो अनिवार्य शर्त हो ।

तर बुझ्नुपर्ने कुुरा के हो भने कुनै एक व्यक्तिमा सबै प्रतिभा सम्भव हुँदैन । जस्तो कुनै व्यक्तिमा कविप्रतिभा होला, कुनैमा आख्यान प्रतिभा अनि कुनैमा निबन्ध वा नाटक प्रतिभा । कुनैमा हुन सक्छ कला क्षेत्रको प्रतिभा, जस्तै : चित्रकला, मूर्तिकला आदि आदि । यस्तै कुनैमा समालोचना गर्ने प्रतिभा होला । त्यस्तै कुनैमा चाहिँ साहित्यभन्दा अन्य क्षेत्रको प्रतिभा हुनसक्छ ।

त्यसैले सबैभन्दा पहिले आफ्नो प्रतिभा क्षेत्रबारे स्वविश्लेषण गर्नुपर्छ । त्यससँगै आफ्नो क्षेत्र वा विधा क्षेत्रबारे जानकारी प्राप्त गर्नु आवश्यक हुन्छ साथै कठोर साधना पनि गर्नुपर्छ ।

उदाहरणका लागि कसैले कविता लेख्छ भने उसमा सर्वप्रथम कविता लेख्न सक्ने प्रतिभा आवश्यक छ । त्यसपछि कविताबारेको जानकारी वा ज्ञान चाहिन्छ अनि कठोर साधना भएपछि राम्रो कवि बन्न सक्छ ।

संसारमा सबै मानिस कवि अवश्य बन्न सक्तैन । कविताबारे ज्ञान धेरैले हासिल गर्न सक्छन् किनभने यो शास्त्रज्ञानको कुरा हो । यसको अर्थ कविताको समालोचक सबै बन्न सक्छन् भन्ने पनि होइन किनकि आफूमा कविप्रतिभा कत्ति पनि नभएको मानिसले कविताको सही समालोचना पनि गर्न सक्तैन ।

त्यस्तै आख्यान, निबन्ध आदिको बारेमा पनि यही सत्य लागू हुन्छ । यसकारण कि साहित्यकला कुनै अन्य क्षेत्रजस्तो नितान्त दार्शनिक वा भौतिकजगत्सँग मात्रै सम्बन्धित विषय होइन । यो समाजको आन्तरिक दुनियाँ वा मानिसको सम्वेदनासँग पनि प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हो । यसमा जीवनको बाह्य आन्तरिक संसारको कलात्मक अनुहार उभिएको हुन्छ ।

कुनै स्रष्टामा सिर्जना गर्ने प्रतिभा वा क्षमता भएर मात्रै हुँदैन, उसमा साधना गर्ने धैर्यता र अभिलाषा पनि उत्तिकै आवश्यक पर्दछ । विश्वमा जति पनि आफ्नो विषय क्षेत्रमा सफल भएका प्रतिभाहरु छन्, ती सबैले जीवनमा निकै कठोर साधना पनि गरेका छन् ।

कतिपय मानिसहरु आफ्नो क्षेत्रमा निरन्तर श्रम र साधनाका बाबजुद पनि असफल भएका देखिन्छन् । यसको प्रमुख कारण उनीहरुमा त्यस क्षेत्रबारे चाहिने प्रतिभाको अभाव हो । कठोर साधनाले मात्रै मानिसलाई सफलता मिल्दैन, त्यसका लागि कुन क्षेत्रमा के कसरी साधना र लगानी भएको छ भन्ने कुराले पनि निर्धारण गर्दछ । यसैले सर्वप्रथम मानिसले आफ्नो प्रतिभा क्षेत्रको पहिचान गर्नु आवश्यक छ । त्यसपछि आफ्नो विधा क्षेत्रको विशिष्ट ज्ञान अनि निरन्तर साधनाले मानिसलाई सफलता दिलाउँछ ।

यदि कुनै मानिसले समयमै यसतर्फ गम्भीरतापूर्वक ध्यान दिएन भने उसले आफ्नो जीवनको अन्तिम पुछारमा केही कुण्ठा, केही गुनासा र केही पश्चात्तापका निःश्वासहरुबाहेक केही पाउनसक्ने छैन ।

प्रतिक्रिया दिनुहोस्