पुनर्मिलन–पुनःबिछोड

       क्षितिज मगर | 802 Views |   Published Date : 15th August 2015 |

Chhitij Magar‘नमस्कार’- परिचारिका बोलिन् ।

‘न…’- मेरो वाक्य फुटेन ।

अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति ! त्यो सत्कार ! आश्चर्यचकित भावमा अनायासै टोलाएँ म– बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना– छुट्याउनै नसक्ने अवस्थामाझैं ठिङ्ग उभिरहें । र, उनको वदनमा एकोहोरो आँखा गाडिरहें ।

सम्भवतः यसै भएको होस उनलाई पनि । आश्चर्यको झड्काले हृदय अजीव रुपमा फुल्लियो र मुटुको धड्कनले मेरो छातीका बार भत्काउलाझैं गरी जोड–जोडले धड्किन थाल्यो– ढुक–ढुक, ढुक–ढुक ।

‘ए … अँ… न … नमस्ते ।’ निकै समयपछिको मेरो स्वभाविकता ।

न बिहानीको न कालरात्रीको जस्तो हालत थियो मेरो । कि हर्षमा कि विष्मातमा । कि त त्रासमा कि त अकल्पित आश्चर्यमा मान्छेको मुहारमा आउने परिवर्तन हो यो । यसमा हामी दुईको इतिहास उद्घाटित हुँदै थियो शायद । हाम्रा नजर छुट्न मानिरहेका थिएनन् ।

‘जाउँ सर अगाडि ।’ सहयात्री दिनेश सरको आग्रह थियो यो ।

झसङ्ग झस्किएँ म । क्रमभङ्ग भयो– हाम्रो समिप्यताको, पुनर्मिलनको । ओहो ! जहाजको भ¥याङको अघिल्लो पङ्क्तिमा म सबैको बाटो बन्द गरिकन उभिएको रहेछु ।

म अगाडि बढें जबर्जस्त– उनको दृष्टि घेराबाट मेरो आँखालाई छुट्याएर, घुमाएर । अझ भनुँ, मेरो अन्तरआत्माको कोमल भावनाको कोपिलालाई बलात् धकेल्दै, घचेट्दै म आफ्नो सिटमा गएर बसें, अरु साथीहरु जस्तै गरेर ।

०००

गृष्मकालीन बिहानीको समय ! काठमाडौंको हावा । न चिसो, न गर्मी, अनुकूलित मौसम । कोलाहाल र प्रदूषणलाई वेवास्ता गर्र्दै शान्त स्वभावमा गजधम्म परेको थियो आकाश । चन्द्रागिरि, नागढुङ्गा, नागार्जुन, शिवपुरी, फुलचोकी, थानकोट अलि–अलि कुहिरोको गलबन्दीले बेरिएकोझैं देखिन्थे । जहाँबाट बर्षातको मौसम हाम फालँु कि झैं गरेर सोधेजस्तो आभास हुन्थ्यो ।

हामी माउन्टेन फ्लाइटमा थियौं– बुद्ध एयरको ।

एक घण्टाभित्र पूर्वतिरको हिमश्रृंखला अवलोकन गरि फर्कनु थियो– हाम्रो लक्ष्य ।

हर्षोल्लासमा हाँसिरहेका थिए कोही । कोही रोमाञ्चमा, कोही उत्सुकतामा । नयाँ भ्रमणको, नयाँ यात्राको । अझ भनुँ, जहाज चढ्न पाउनुको पनि एक भाग खुशी होस् ।

अझै ठाउँमा फर्किएको होइन– मेरो ढुकढुकी ।

अवाक् थिएँ म, कुनै अर्को संसारको नौलो प्राणीजस्तै ।

म भित्रभित्रै उद्देलित थिएँ– आन्दोलित थिएँ । त्यस्तो अनुभूति, कुनै अप्राप्य चीज पाउँदाको या गुमाउँदाको । अथवा चरम खुशीको ।

उफ् ! अव्यक्त त्यो अनुभूति ।

जहाज जमिनबाट चल्नासाथ पछिल्लो स्पीकरबाट महिलाको कोकिल स्वरमा सूचना जारी हँुदै थियो । त्यो आवाजमा पनि उनकै जादूमयी प्रेमिल स्वरझैं लाग्थ्यो मलाई ।

‘एक्सक्यूज मी ।’– उनै परिचारिका आइन् ।

‘प्लीज, सिट बेल्ट बाध्नुस् है ।’– उही मधुबोली, विनम्रता ।

म आफ्नो भागको नियम पालना गर्छु । असफल हुन्छु, फेरि प्रयास गर्छु । केही अस्वभाविकतामाझैं हात काम्छन् । सिट बेल्ट मिलाउन उनले सहयोग गर्छिन्, अझैं नजिकिन्छिन् । बायाँ पाखुरामा उनको दायाँ कुहिनाको स्पर्श हुन्छ– हल्का स्पर्श । मेरो मुटु झनै जोड–जोडले धड्किन्छ– कुनै अज्ञात करेन्टको प्रसारित झड्काझैं ।

यसै मेसोमा म जबर्जस्त बोल्ने प्रयास गर्छु । अहँ, सकिनँ । सकिनँ मैले उनलाई बोलाउन ।

कसरी सुरुवात गर्ने होला ? आफैभित्र म प्रश्नै प्रश्नले घेरिन्छु । र मनमनै ‘मलाई बोलाओस्’ भन्ने जिम्मा उनैलाई सुम्पिदिन्छु ।

उनले पनि बोलाइनन् । किन होला बोल्ने प्रसंगको सुरुवात नगरेकी ? पुनः अर्को प्रतिप्रश्नले हठात् घेरिन्छु म । मनले सोध्छ ‘माया मारिन् कि ?’ फेरि अर्को शंकाले घेरिन्छु म– ‘घृणा पो गर्छिन् कि ?’ मलाई थाहा छैन, वास्तविकता के छ ?

पछिल्लो सिटनेर गइन् उनी । म आफैलाई असन्तुलित सान्त्वनाको जवाफ दिन्छु– ‘भरसक म जस्तै अप्ठ्यारोमा परेछिन् क्यारे ।’

केही बेरपछि जमिन छोड्छ जहाजले ।

मान्छेहरु, गल्लीहरु, गाडीहरु, घरहरु झन पछि झन टाढिदै, साना–साना हुँदै गए । उपत्यका छाडेर जहाज पूर्वतिर मोडिएपछि आकाशको कुहिरोभित्र हरायो । केही पनि देखिएन, सब शून्यझैं लाग्थ्यो । शून्यताभित्र म कतै अतीतको स्मृतिपथमा हराइसकेको थिएँ ।

एकोहोरो जहाजको आवाज । वरिपरि कुहिरोको सघन घनत्व । र मभित्रको आन्दोलित मनोभावनाको हुण्डरी । म चुपचाप छु, केवल चुपचाप ।

‘प्लीज… ।’– प्लेटमा चक्लेट लिएर आइन् उनी ।

म मनमनै अठोट गर्छु, साहस गर्छु । ‘जसरी पनि बोलाउँछु यसपटक त ।’ आफैसित भन्छु– उनलाई बोलाउन मनमनै शब्द चयन गर्छु । सिर्फ अव्यक्त । हो, आफूसित मात्रै भन्छु– ‘तपाई !?… तपाई कसरी यहाँ ?’ अहँ, आँट खुल्न सक्दैन । मुख बोल्दैन । म भित्रको उथलपुथलसँगै कतै हराए यी शब्द पनि ।

अर्धमुस्कानमा थिइन्, उनी । बैंशको सौन्दर्य झन आकर्षक भएछ उनमा । हल्का लाली, गाजली, पाउडर, एयर होस्टेजको आकर्षक ड्रेस । उनलाई सौन्दर्यको उचाइमा सजाउने साधनहरु थिए यी सब । अघिल्लो पटकभन्दा अहिले अलि खुलस्तझैं देखिन्थिन्– बोल्छिन्झैं लाग्ने ।

‘बिर्सेको त छैन ?’– म भित्रको कायरपनाको बाँधलाई उनैले भताभुङ्ग पार्दै, तोड्दै अघि सरिन् । प्लेटको एक चक्लेट मैले हातमा लिनु र उनको यो बोली फुट्नु करिब–करिब एकैपटक भयो ।

सहज बन्दै जवाफ दिएँ– ‘अहँ, मेरो लागि त्यो असम्भव ।’

‘हो र !’– उनका दन्तलहरले सौन्दर्यको वकालत गरे ।

‘हो, मेरो लागि सास फेर्न भुल्नु र तपाईलाई भुल्नु एकै हुनेछ ।’

‘अनि किन नबोलेको त ?’

‘आश्चर्यजनक यो भेट सपनाझैं लागेर ।’

‘यथार्थ विपना सपना बन्दैन ।’

‘तर यो यथार्थता अहिलेसम्म सपनामै सीमित थियो नि ।’

‘यो समयको दोष हो ।’– उनी पहिलेझैं भलाद्मी पारामा बोल्छिन् ।

चुपचाप, बिलकुल चुपचाप, मौनतामा रह्यो निकै समय ।

उनी गइन्– कर्तव्य निभाउन । भनिन्, ‘पछि डिटेलमा कुरा गरौंला ल !’

मेरो हृदयको गति झन्–झन् जोडले चल्यो– आँखाबाट हर्षाश्रु गुडुल्किए । मानवीय गुण अथवा प्राकृतिक गुण भनुँ ? सम्भवतः अप्रत्यासित र औधी खुशीमा सबैको यस्तै हालत हुन्छ क्यारे ! एकाएक उनका मुहारमा पनि लालीपना बढ्यो, परेली झिम–झिम हुन लागेको देखें । देखें– गाजलका बार लगाइएका उनका परेलीका घेरा तोड्दै केही थोपा पानी बाहिरिएका ।

थाहा छैन, हामी दुई मात्र भए स्थिति कस्तो हुन्थ्यो । गम्लङ्ग अङ्गालोमा बेरिन मन लाग्यो । बर्षौ–बर्षपछिको यो प्रेम, यो भावना, उनलाई अङ्गालो हाल्न मन लाग्यो त्यसै–त्यसै । म कल्पना गर्न थालें– आफू भित्र–भित्रै हराएर । अवाक् बनेर ।

म भित्रको एक मनले भन्छ– दश वर्ष पहिलेको सरिता अहिलेसम्म सरिता नै छिन् या पहिलेकै बिनु तामाङ मात्र रहेकी छिन् ? थाहा छैन ।

यो प्रेमले । भावनाले । मलाई जबर्जस्त अतीतको भुमरीतिर घुमाइरहेको थियो । उही युद्ध, उही बन्दुक, उही मोर्चा । थबाङ, कुरेली, मिरुल… सन्धिखर्क, खारा, जुम्ला… ।

मनमनै म अन्तरसंवादमा रुमलिन्छु । घुम्छु, बोल्छु, कसरी आइन् उनी यो ठाउँमा ? कहाँ बसेकी थिइन् ? किन उनी प्रचारमा आइनन् ? मेरो र उनको सौभाग्य भनुँ या के ?

धन्न ! उनी जीवित रहिछिन् ।

अहिलेको सञ्चारको भूमण्डलीकृत जमाना, फोन, इन्टरनेट । किन बेखबर बसिन् उनी । के मलाई माया मारेकी होलिन् र ? भन्न सकिन्न, मान्छे समयको दास न हो ।

आफु भित्रभित्रै डुलिरहेछु,, बोलिरहेछु म ।

आफूभित्रका नानाथरिका तर्कनाहरुँग धकेलिँदै म अतीततिर घुम्छु । आफु र आफ्नो इतिहास उभिन्छ, आँखामा । हो, अतीतका दृष्य भरिन्छन् मेरा दृष्टि भरि कुनै फिल्मको रिलझैं ।

एकाएक २०५८ सालमा फर्किन्छु म ।

000

माथिल्लो कमाण्डको सूचना थियो– ‘पश्चिम केन्द्रीय कमाण्डको एक कम्पनी पूर्वी कमाण्डमा जाने… पूर्वबाट एक प्लाटून पश्चिम कमाण्डमा आउनेछ । शक्ति सुदृढिकरण र अनुभवको आदान प्रदान … । भिन्न परिवेश र भूगोलमा खेल्ने अर्को किसिमको ट्रेनिङ हुनेछ । जसले हाम्रो जनमुक्ति सेनाको शक्ति केन्द्रिकरणमा ठूलो कोशेढुङ्गाको काम गर्नेछ … ।’

दुई महिनापछि पूर्वको समूह आयो ।

थबाङको स्वास्थ्यचौकीको खुल्ला प्राङ्गण । बसन्तको त्यो याम, बैंश रुखको पालुवामा हरिया लहराले पनि उनीहरुको स्वागतमा सहभागी बनेझैं लागेथ्यो । असरल्ल हल्लिन्छन् हावामा, मानौं कुनै सुन्दरीका आकर्षक केशराशीझैं । औधी मुस्कुराएझैं लाग्छ जलजलाको चुचुरो । चिसो हावाले निधारमा चुम्बन दिन्छ । मानौं, जलजलाले नै त्यो हावामा सत्कार पठाएझैं लाग्ने । डिसारी, फुली र डुलडाँडाका माथिल्लो पखेरामा गुराँस उन्मुक्त मुस्कानमा घाम तापिरहेथ्योे– मानौँ कि स्वागतको आसनमा । थबाङ खोलाले नयाँ गीत सुसेलेझैं लाग्थ्यो ।

हामीले सलाम टक्रयायौं । र उनीहरुले पनि ।

थबाङवासी जनता र हामी सँगै उभिएका थियौं उनीहरुको स्वागतमा । थबाङीहरु भन्दै थिए– ‘कटाङ् कटाङा मिरमनि आङ केहुकेर मोरो !’ (कहाँ कहाँका मान्छेहरु पनि यहाँ आइपुगे है !)

स्वागतमा बजेका असंख्या तालीका गडगडाहटले थबाङ गुञ्जायमान भयो ।

निधारमा रातो टीका लगाई हात मिलायौं, अँगालोमा बाँधियौं । वर्गीय प्रेमको बन्धनभन्दा अरु थोक केही थिएन त्यो ।

किन–किन पहिलो भेटमै मेरो लागि विशिष्ट थिइन् उनी । उनको सादा जीवन, बौद्धिक विचार, आदर्शवान अभिव्यक्ति, नम्र बोली, शील स्वभाव, जनशैलीका विविध कला । अनुशासित र परिपक्व व्यवहार । सबै–सबै मलाई आकर्षित गर्ने विषय थिए । अचम्मको कुरो ! उनले पनि मेरा विषयमा, मेरा हरेक क्रियाकलापमा अध्ययन गरिछिन् गहिरो पारामा । पछि थाहा भयो यसबारे ।

आधार क्षेत्रका भूगोल, संस्कृति, सांगठनिक बिशेषता– सबै जान्न उत्सुक थिए उनीहरु । अझ बढी घुलमिल हुन् उनै इच्छुक हुन्थिन् भन्दा जायज होला । एकदिन– एकाबिहानै धारामा ब्रस गर्ने मौकामा उनी आफै अघि सरिन्, ‘तपाईको डिटेल परिचय पाउँ न ।’

‘हुन्छ ।’– कुनै संकोच थिएन ममा ।

‘पहिला म बताउँछु ।’– उनी नै बढी तत्पर थिइन्– ‘मेरो नाम बिनु तामाङ ‘सरिता’ । घर रामेछाप । पूर्वी कमाण्डको मुख्य फोर्समा कार्यरत थिएँ । सेक्सन कमाण्डर ।’

उनले यसरी आफ्नोबारे बताइरहँदा उनको मुहारमा अतिशय चमक थियो– सम्भवतः अव्यक्त इच्छा पनि झल्केको होस् । गहुँगोरो रङ, बाटुलो परेका आँखा, टक्क मिलेका दन्तलहर, अनुहारसँग मेल खाने नाक– समष्टिमा मंगोलियन अनुहार । भौतिक रुपमा जति सुन्दर थिइन्, त्यो भन्दा अझ सुन्दर उनको विचार लाग्थ्यो ।

मेरो पालो थियो बोल्ने, भनें– ‘मेरो खास नाम बलबहादुर बुढा । यहाँ ‘नवीन’ हो । पहिलो बटालियनको ए कम्पनीको प्लाटूनमा एफ.जी.एल. छु । घर चाहिँ उवा हो ।’ बीचमै कुरो काटिन्– ‘कता पर्छ उवा ? रोल्पामै हो ?’

‘हो, यहीं रोल्पा नै हो’, औलाले इंगित गर्दै भनें– ‘उ त्यो धुरीको पल्लोपट्टि हो, दुई घण्टा बढी लाग्छ ।’

उनी त्यतै एकोहोरिइन्– जहाँ मेरो औंलाले निर्देश गरेको थियो ।

त्यहीं दिन त्यहाँबाट हामी पश्चिमतिर हिड्नुप¥यो । किनकि हामी ठूलो आक्रमणमा जाँदै थियौं । अछामको मंगलसेनबाट आक्रमण सफल गरी सबै फोर्स केन्द्रित हुँदै थियो– दाङ सतबरियामा आक्रमण गर्नको लागि । रोल्पाको बुढागाउँमा आक्रमणको तयारी भइरहेको थियो– प्राविधिक, म्याप रिडिङ, शक्ति बिन्यास । समग्रमा पूर्ण योजनाको तयारी ।

मिरुल, कुरेली, भाबाङ, कोर्चाबाङ र गैरिगाउँको तिला हुँदै तीन दिनपछि बुढागाउँ पुगेका थियौं । प्रत्येक नौलो ठाउँमा उनीहरुको जिज्ञासा हामीतिर सोझिन्थ्यो । खासगरी सरिताको जिज्ञासामा अर्थपूर्ण भाव लुकेको आभाष हुन्थ्यो ।

०००

सोचाइको पोखरीबाट बाहिर निस्किएँ, झस्किएँ ।

कुहिरोको शून्यताबाट फुत्त बाहिर निस्केर जहाज उडिरहेको थियो । अब भने हाम्रो दृष्यमा नयाँ–नयाँ भूगोलका चित्र देखा पर्न थालेपछि त्यसले मेरो सोचाइको क्रम टुटाइदियो । अतीतबाट म वर्तमानमा आइसकेको थिएँ । अथवा नौलो भूखण्ड, प्राकृतिक छटासँग मन जोड्ने जबर्जस्त प्रयासमा थिएँ म । आँखाका दृष्टिलाई जहाजको झ्यालबाट बाहिर हुत्याउँदै, धकेल्दै ।

सबै साथीहरुको ध्यान जहाज बाहिर नै थियो । कोही जानिफकार साथीले बताइरहेको थियो– ‘ऊ त्यो भोटेकोशी, पारी दोलखा, त्यता सिन्धुपाल्चोक…।’

उनी तेस्रो पटक फेरि आइन् ।

‘सबैले मोबाइल स्वीच अफ गर्नुहोला ।’– कुनै व्यक्तिले मोबाइलबाट फोटो खिचिरहेको देखेर नै यसो भनेकी हुनुपर्छ । मनमनै अड्कल काटें ।

मसँग अझै नजिकिइन् । अघिल्लो पटकभन्दा सहज र खुलस्त चेहरामा थिइन् उनी । केही निहुरिइन्, झ्यालबाट बाहिरको दृष्यमा आँखा गाडिन् । मेरो मुखबाट करिब–करिब एक बित्ताको दूरीमा थियो उनको दायाँ गाला । देखाउँदै भनिन्– ‘ऊ त्यो नदीदेखि पारी रामेछाप । ऊ त्यो कालो–कालो लेक देखिन्छ नि– त्यहीं हो शैलुङ । त्यहाँबाट बगेको खोला छ नि– हो त्यो अलिकति घुमेको छ, ठिक त्यही हो मेरो गाउँ ।’

कुनै बेला उनले भनेकी थिइन् । मलाई पनि शैलुङ घुमाउँछु भनेर । त्यो बाचा त पूरा भएन तर आज उनले देखाइन्– निकै टाढाको जहाजभित्रबाट मात्र । मैले उहिलेको बाचा मनमनै सम्झिएँ ।

निकै हर्षित थिएँ म– उत्साहित, रोमाञ्चित । क्षणभरमै म अर्कै संसारको कल्पनामा थिएँ मन भित्रभित्रै । धेरै ठाउँको जिज्ञासा, चासो, अझ भनुँ– उसबेलाको मनको कौतुहलतामिश्रित वादसंवाद पनि भए ।

‘घरमा को–को हुनुहुन्छ नि ?’– मेरो प्रश्न ।

‘दाइ, भाउजू र नानीहरु ।’

‘आमा नि ?’

‘आमाको … डेथ भैसक्यो ।’– उनको सटिक जवाफ थियो । पहिला जति उजेली थिइन्, यो जवाफसँग त्यत्तिकै पारामा अँधेरिइन् । लाग्छ– मेरा प्रश्नले उनको मनको घाउ बल्झियो । मलाई लाग्यो, ‘नसोधेको भए नि हुन्थ्यो, किन सोधे हुँला ?’

उसबेला नै भनेकी थिइन्– बुवालाई पुलिसले मारे । आमा जेलमा, दाइ बिदेशमा, भाउजू माइतमा । घर त बन्द छ भनेर ।

जहाज आफ्नै गतिमा थियो, पूर्व– झन पूर्व बेगिदै ।

प्राकृतिक सौन्दर्यपान गर्न कत्ति मानेनन् आँखाले । आँखा चिम्लें । लामो स्वास लिएँ । छातीको ढुकढुकीलाई छामें । दृष्यमा आएका चित्रसँग सम्बन्ध टुटाएर मन भित्रभित्रैको आफ्नै इतिहासका चित्रसँग साक्षात्कार गर्न थालें ।

०००

लिस्ने भिडन्त, गामको आक्रमण, सन्धिखर्कको आक्रमण र जुम्लाको आक्रमण । करिब आठ महिनापछि जुम्ला आक्रमणबाट फर्केर जेलबाङ आइपुग्यौं– रोल्पाको पूर्वोत्तरको गाउँ । धेरै समय पहिले थबाङमा जाहेर गरेको इच्छा पुनः त्यहाँ पनि दोहो¥याइन् उनले– जलजलाको चुचुरोमा पुग्ने धोको ।

दुई दिनको समय छुट्याएर जलजला पुग्यौं– करिब एक दर्जनको संख्यामा । इच्छामुताविक धेरै फोटो खिचिए । युद्ध शुरु हुनुपूर्व बनाइएको जलजलाको स्तम्भलाई सेनाले भत्काएकोले भग्नावशेष मात्र भए पनि मनभित्रको आस्थाको स्तम्भ झन चुलिँदैथ्योे । भग्नावशेषका ढुङ्गामाथि धेरै बेर बस्यौं । आत्मीयता साटासाट ग¥यौं । बात मा¥यौं– जीवनका, युद्धका र जलजलाको ऐतिहासिकताका ।

भग्नावशेषको केही तलतिर लेकाली धुपी र चमेलाघारको फेदमा हिउँका डल्लासँग रमाउन थाले साथीहरु । म त्यो क्षितिजको उचाइसँग मनभित्र नानाभाँतीका कल्पना नाप्न लागेथें ।

मेरो सामु आइन् उनी । धेरै प्रसंगका गफिला बेलिबिस्तार लगाउन थालिन् ।

अन्त्यमा प्रस्ताव राखिन्– जीवन मिलनको, यात्रा संगमको ।

एकाएक मेरो मुटुको धड्कन बढ्यो । उकुसमुकुस बढ्यो । चिसो सिरेटो पनि तातोझैं लाग्यो । सम्भवतः मेरो अनुहारको रंग बदलिएथ्यो होला । त्यसो त केही हप्ता पहिलेदेखि मन भित्रभित्रै म उनको मूल्याङ्कनमा थिएँ, अथवा भनुँ परीक्षामा । आज अन्तिम परीक्षा थियो त्यो घडिको । त्यो मनोदशाको । तर यस मामलामा हतारिनु जरुरी थिएन ।

त्यसो त हामी बीचमा मैले पाएको थिएँ– बैचारिक समानता, भावनात्मक एकता, व्यावहारिक एकरुपता र दृष्टिकोणमा समान बुझाइ । त्यसैले जीवन र जगतका बारेमा, दृष्टिकोण र समाज संस्कृति बारेमा धेरै छलफल गरेपछि अन्तिम निर्णय दिएँ– हुन्छ भनेर । मेरो स्वीकारोक्तिपछि आएको उनको मुहारको चमक र बिहानी उषाबीच एकै–एकै सम्बन्ध भएझैं देखें ।

नाटकीय पारामा खल्तीबाट केही लेखिएको कागज निकालिन् र भनिन्– ‘यो हाम्रो कसमको बकपत्र ।’

अन्तमा लेखिएको थियो– ‘देश र जनताको लागि सँगै बाँच्ने, जीवनको सहकार्य गर्ने…।’

हेरें, फेरि हेरेर पढें– दोहो¥याइ, तेहे¥याई ।

‘ल यसमा सहिछाप गरौं, मसीले होइन– आफ्नै रगतले ।’– यति भन्दै उनले औंलाको टुप्पोमा ब्लेडले सरक्क काटिन् र रगतले कागजको एक छेऊमा ल्याप्चे मारिन् । मनभरि नयाँ सपना साँचेर मैले पनि उनकै तरिका पछ्याएँ । फेरि खल्तीबाट त्यसकै प्रतिलिपि निकालिन् र उसै गरिन्, मैले पनि उसै गरें ।

रगतले रंगिएको त्यो कागज पट्याउँदै एउटा मलाई दिइन् र अर्को उनले राखिन् । यसबेला उनको अनुहारमा अवर्णित चमक थियो– औधी खुशीको, प्रेमको ।

ठीक त्यही दिनदेखि तपाईबाट तिमी र कमरेडबाट अझ वरको सम्बन्धमा जोडिएका हौं । तर आज स्थितिको बोध नभएकोले आपसमा तपाई भनेर सम्बोधन गरिरहेछौं ।

सोच्दै थिएँ–

‘किन यतिका वर्षसम्म पनि उनी बेखबर रहिन्, मदेखि ?’

‘बेपत्ता नागरिकमा दर्ज थिइन्, किन बोलिनन् उनी ?’

‘कसरी यस पेशामा आइन् ?’

सबै कुरो अनुत्तरित छन् । म यी यावत जवाफको व्यग्र प्रतीक्षामा छु ।

आजको यो भेट सपनाभन्दा पनि बढी जादूमयी छ । यसभन्दा पहिले मैले पनि उनलाई बेपत्ता नागरिक नै सम्झिएको थिएँ– द्वन्दकालको बेपत्ता नागरिक । यसरी भेट हुने कुराको कल्पनासम्म पनि गरेको थिइनँ, मात्र सम्झनाको त्यान्द्रो बोकेर बाँचेको थिएँ ।

०००

‘लौ हेर्नुस्, हेर्नुस्– ऊ सगरमाथा, मकालु, कञ्चनजंघा … ।’

कसैको आवाजले झस्किएँ म । विगतको स्मृतिलाई छाडेर वर्तमानको यथार्थतामा आएँ । सामुन्ने थियो– अवर्णित, अनुपम सौन्दर्यले मुस्कुराएका हिमखण्डका चुचुराहरु । केही कुहिरो, सेता हिमाच्छादित हिमालय । पर–परको अनन्त आकाश र आकर्षक हिमक्षितिज । यी मनमोहक दृष्य जीवनमा पहिलोपल्ट देख्दै थिएँ म । तर पनि मन अशान्त, अस्थिर र खण्डित थियो । मन नलागी–नलागी इतिहासको लागि भनेर क्यामेरामा केही फोटोहरु लिएँ ।

ती फोटोहरुभन्दा अझ मूल्यवान चीज पाएको छु आज । जसलाई मैले बेनीमै गुमाइसकेको सम्झेको थिएँ । तर आज भेटिइन् उनी– भाग्यमानी ठान्छु म आफूलाई ।

०००

ठीक एक घण्टापछि काठमाडौं विमानस्थलमा ओर्लियौं ।

मनभरि बात मार्ने इच्छा थियो– मसँग । उनीसँग । दुबैसँग । साझा चाहना । जहाँ अहिलेसम्मको बिछोडको प्यास मेट्नु थियो । नाटकीय पाराको यो पुनर्मिलनको डोरीलाई अझै गाँठो पार्नु थियो बलियो पारेर– जुनी जुनीसम्म ।

रहस्यमय उनको यो आगमनको भित्री कुरो जान्न खसखस थियो मेरो मनमा । अर्थात् उनको स्पष्टीकरण जान्नु थियो । मलाई आफ्नो नम्बर टिपाइन् । मैले पनि इमेल आइडी टिपाएँ । मन खोलेर इतिहास देखाउने तीव्र चाहना भए पनि हामी बीच आ–आफ्नै बाध्यता थिए ।

उनको दुई तीन पोज फोटो लिँदा नलिँदै निगमका कर्मचारीहरु र सुरक्षाकर्मीले छिटो जान आग्रह गरेअनुसार बाहिरिएँ म– गह्रुङ्गो मन बोकेर । गेटबाट अन्तिम पल्ट नियालें । उनले हात हल्लाइन् । मैले पनि । र, अलिकति रहस्यमयी मुस्कान ।

‘हेलो, म सरिता’– साँझ मेरो मोबाइलमा उनको सुकोमल आवाज सुनियो । हृदयको तार झंकृत गर्ने खालको । करिब दश मिनेटको संवादपछि उनले भनिन्– ‘मेरो पुरानो डायरी छ– युद्धकालको… तपाईलाई देखाउने सोंचमा छु ।’

पहिले पनि कविता लेख्थिन्, गीत गाउँथिन् ।

‘हुन्छ, यहीं आउनू न ।’– मैले उनलाई बोलाएँ ।

करिब आधाघण्टा पछि उनी आइपुगिन् । सुन्धाराको एक होटेल, जहाँ दश जनाको समूहमा थियौं । साथीहरुसित परिचय गराइदिएँ ।

इतिहास पनि बताइदिएँ । चकित परे सबै साथीहरु ।

निकै गह्रुङ्गो लाग्यो उनले दिएको डायरी ।

खाना खाएपछि मनको कौतुहलताले मलाई हठात् धकेलेर ओछ्यानमा पु¥यायो । डायरीका सेता पाना पल्टाउन मेरा औंला सल्बलाए, मेसिन चलेजसरी ।

०००

डायरीको शुरुमै लेखिएको थियो–

‘गामको मोर्चामा नवीनको दायाँ पाखुरामा गोलीले छेडेपछि रगत बग्न थाल्यो । मैले खल्ती छामें, रुमाल थिएन । ड्रेसभित्रको मेरो नरम भेष्ट च्यातेर उनको घाउमा फनफनी बाँधिदिएँ । रगत रोकिएपछि डाक्टरहरु कहाँ पठाएको थिएँ । ….वरिपरि बम र गोलीका असङ्ख्य पर्रा त्यत्तिकै छुटिरहेका थिए । जीवन रहन्छ या रहन्न अनिश्चयको क्षण थियो त्यो…।’

‘….जुम्लाको लेकमा मेरा हात खुट्टाका रगत जाम भयो । म मुर्छा परें । थाहा छैन, त्यसपछि के भयो ? …साँझ म ब्यूँझिदा महिला साथीहरु मेरा हात खुट्टा मालिस गर्दै थिए । मलाई याद छ, ब्यूँझेपछिको पहिलो क्षणमा उनै नवीनलाई नै सम्झें । उनले आफ्नो ओभरकोट फुकालेर मलाई ओढाइदिएका थिए । मलाई आवश्यक तातोपना दिन धुपीको फेंदका चिसा दाउरामा आगो झोसिरहेका थिए …।’

उफ् ! उही अतीत, उही विगत । सम्झेर मन आधा खिन्न हुन्छ– आधा गौरवान्वित । डायरीका पाना अझैं पल्टाउँदै एकपछि अर्को लिपिवद्ध संस्मरणहरु हेर्दै गएँ ।

केही मार्मिक रहस्यहरु खोलिएका थिए-

‘…जे सपना बोकेर म युद्धमा होमिएकी थिएँ, ती सबै तासको महलझैं भताभुङ्ग त्यसबेला भयो– जुनबेला म बेनीको खोला किनारमा एक्लै छाडिएँ ।

बेनीबाट फर्किरहेका थियौं । दायाँ–बायाँ असंख्य बमहरु पड्किरहेका थिए– हेलिकप्टरबाट खसालिएका बमहरु । गोली पनि त्यत्तिकै चलिरहेको थियो । जीवनको पर्वाह कसैसँग थिएन र पनि उसबेला मैले नवीनलाई खोज्न सबै ग्रुपमा आँखा दौडाएँ– कहीं देखिनँ । थाहा थिएन उनी कहाँ थिए त्यसबेला । एक्कासी हाम्रो बीचमा बम खस्यो । त्यसपछि थाहा छैन के भयो ?

म ब्यूझँदा सुनसान बगरमा एक्लै लडेकी थिएँ । रातको कुन प्रहर हो, थाहा थिएन । निकै पटकको प्रयासपछि उठें । शीरमा ठुलो भारीले थिचेजस्तो रिङ्गटा लागिरहेथ्यो । ठूलो चोट लागेछ टाउकोमा । छामें, रगतका पाप्रा थिए । हिड्न खोजें, निकै मुस्किल प¥यो । जेनतेन हिड्न त सकें । तर कहाँ जाने ? अपरिचित भूगोल छ ।

नजिकैको झुपडीमा शरण मागें ।

… संयोग भनुँ या भाग्य ! त्यो बकिमले गाउँको अहेव मेरै मामा हुनुहुँदोरहेछ । उपचार गरिदिनुभयो । तीन हप्तामा केही सञ्चो भएँ । त्यसबेलासम्म म त्यो घरमै भूमिगत बसें । दुई महिनासम्म पनि पार्टी सम्पर्क हुन सकेन । यस बीचमा मलाई नवीनको सम्झनाले निकै रुवायो । एक्लै रोल्पाको थबाङ पुग्ने हिम्मत गरें तर मामाले स्वीकृति दिनुभएन ।

उहाँकै चाहनामा करिब तीन महिनापछि मामासँग काठमाडौं आएँ र पहिलेको इन्टरको पढाइ जोडें । घर भत्किएको छ रे, दाइ भाउजूले नयाँ बनाउन थाल्दै हुनुहुन्छ रे । आमाको निधन भएको खबरले म कति रातसम्म रोएर बिताएको छु । गाउँको मायाले असाध्यै सताउँदै छ ।’

‘…नवीनको हालखवर के छ ? आजकाल सपनीमा निकै भेट हुन्छ । जीवित छन् कि छैनन् ? बेखबर छु म । जीवित रहुन् भनेर कामना गर्नुभन्दा अरु थोक केही छैन मसँगको उपाय । मेरा नजिकका नातेदार आफन्तदेखि म बेखबर छु । टाढा छु मामाबाहेक । मेरो सुरक्षाको लागि पनि कसैसँग भेट नहुने बचन खाएको छु । मेरो नाम बेपत्ताको सूचिमा छ । म यहाँ छु । हाँसो लाग्छ ।’

रातभर म उनकै डायरीमा हराएँ । उनी यहाँ आएको कारण बल्ल थाहा पाएँ । साठी सालको मध्यतिर लेखिएको संस्मरण रहेछ यो । शान्तिकालपछि त उनको सुरक्षाको प्रश्न हटेकोले सार्वजनिक पेशामा लागेकी होलिन् ।

‘… नवीनको जति माया लागे पनि अचेल पार्टीसँग मेरो कुनै साइनो छैन । अहिलेसम्म उनको सम्पर्क खोज्न निकै धाएँ तर असफल भएँ । उनी पाँचौं डिभिजनमा छन् भन्ने कुरा थाहा छ । कसैले पनि दिन मानेनन् उनको नम्बर । आशा छ– एक न एक दिन हाम्रो भेट हुनेछ ।’

हालसालै लेखिएको हरफ रहेछन् यी ।

‘नेताहरुले हाम्रो सपनाको हत्या गरेका छन् । जनतालाई धोखा दिएका छन्…।’

डायरीको अन्त्यमा लेखिएको संस्मरणको अनुच्छेद यही थियो ।

यस तर्कसँग म पनि सहमत छु– सत्यतामा म झुटको खोल हाल्न सक्दिनँ । विगतका बाचा कसम सम्झन्छु र अहिलेको अवस्था हेर्छु । हो, नेताले हाम्रो भर्भराउदो बैंशलाई चुसेका छन्, लुटेका छन् र अहिले आएर हाम्रो भविष्यमाथि खेलवाड गरेका छन् । अपमान गरेका छन् । यही नै हाम्रो दुर्भाग्य हो ।

हामी र हाम्रो संगठनको नाम इतिहासमा लेखिएको छैन । विघटन गरिएको छ । निरास छु म यस प्रक्रियाबाट । तर गर्व यस अर्थमा गर्छु– साढे दुई सय वर्ष पुरानो राजतन्त्र जनता र हाम्रो बलबाट खत्तम गरियो ।
बस यसैमा छ गर्व ।

०००

म रोल्पा आएपछि पनि फोनमा धेरै कुराकानी भए ।

दिनहुँजसो भेट हुन्छ फोनमा । मिनेटौंको गफ पनि छोटोझैं लाग्छ ।

०००

‘बुद्ध एयरको माउण्टेन फ्लाइट दुर्घटनाग्रस्त….।’– मुटुमा किला रोपेभन्दा तिखो थियो यो समाचार । छाती ढुकढुक हुन्छ जोडजोडले । छाँगाबाट खसेझैं हुन्छु । आँखा तिरमिराउँछन् । भाउन्न हुन्छ । थर्थराउँदै गरेका औंलाले फोन नम्बर डायल गर्छु । स्वीच अफ भन्छ– झन् बेचैनी बढ्छ ।

जताततै सम्पर्क गर्छु, समाचार सत्य सावित हुन्छ ।

बुद्ध एयरको केन्द्रीय कार्यालयमा फोन गर्छु । पहिचान माग्छु । पाइलटको । एयर होस्टेजको । यात्रीहरुको ।

उफ् ! रिङ्न थालेका आँखा बन्द गरेर आफ्नो सन्तुलन कायम राख्ने यत्न गर्छु– कडा यत्न ।

एकाएक सम्झन्छु, । रगतले ल्याप्चे लगाएको सम्झौता–पत्र ।

–रोल्पा

प्रतिक्रिया दिनुहोस्