बिक्रीमा एउटा खाट

       महेन्द्र महक | 532 Views |   Published Date : 30th August 2015 |

Mahendra_Mahakतपाइँ बिबाहित हो वा अबिबाहित ?

बिबाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ ।

खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘बिबाह’का बिकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ ।

bedपाठक महोदय ! तपाइँ बिबाहित हो भने सवाल बन्छ–

‘बिबाह अरेञ्ज हो वा लव म्यारिज हो ?’

खासमा यस कथामा ‘लव म्यारिज’ले विशेष अर्थ राख्छ ।

यस कथाकी नायिका– श्रीदेवी ।

उनको नाम सुनेर मलाई पनि ‘हवा–हवाएँ’की श्रीदेवी याद आएकी हुन् । खासमा उनकी आमा … हैन ममीले आफ्नी छोरी ज्यादै ‘खुबसूरत’ देखेर नायिकाको नाम राखिदिइछन् ।

श्रीदेवीका ममी/बाबा/दाजु/भाइ/दिदी/बहिनी यस कथाका पात्र होइनन् । तसर्थ तिनको बारेमा उल्लेख नगरिनु ‘संयोग’ होइन बरु सुनियोजित लेखन ठहर्छ ।

पाठक महोदय,

श्रीदेवी हुर्किदै गइन्– बढ्दै गइन् ।

बैंश तँछाड मछाड गर्दै आयो र श्रीदेवीलाई छपक्कै छोप्यो । श्रीदेवीका ममीबाबा र आफन्तले चाल पाउनुपूर्व निखिलले यो कुरा थाहा पाइहाले ।

निखिल– यस कथाको नायक ।

र निखिललाई पनि तँछाड मछाड गर्दै आएको बैंशले छपक्कै छोपेको थियो ।

‘दुई विपरित धु्रवका बीच आकर्षण हुन्छ ।’ विज्ञानको शास्वत नियम हो ।

निखिल र श्रीदेवी पनि दुई फरक धु्रव भए– महिला भर्सेज पुरुष । गहिरो आकर्षण पैदा भयो र दुबैको मनमा एक अर्काप्रति ‘कुछ कुछ’ भयो ।
यो कुछ कुछ हुनुभित्र उल्लेखित क्रियाकलाप पर्छन्–

– बाटो कुर्नु,

– रुपको बयान गर्नु,

– सिनेमा हेर्न जानु, कुरा गरिरहँदा मोबाइलमा किस खानु,

– लव ओचार्ड अर्थात् प्रेमी प्रेमिकाका लागि नै बनेका एकान्त स्थल, जंगलको छेऊ वा बस्ती बाहिर गई एक अर्काको काखमा घन्टौं हराउनु ।

– सपनाको कुरा गर्नु, यादका कुरा गर्नु… एट्सेट्रा ।

यसरी ‘कुछ कुछ होता है’का साइड इफेक्टबाट यी प्राणीद्वय पनि बच्न सकेनन् । ‘कुछ कुछ’ एक दिन ‘बहुत कुछ’ मा बदलियो ।

साइडइफेक्टको मात्रा एकदिन एक्सट्रीममा पुग्यो ।

अर्थात् निखिलले श्रीदेवीलाई भगायो ।

याने कि श्रीदेवी निखिलसँग पोइल गइन् ।

(खैर पाठक महोदय, यहाँनिर मलाई Gender Discrimination को संगीन आरोप लगाउने अधिकार राख्नुहुन्छ । कारण– नेपाली बृहद् शब्दकोषमा ‘जोइल’ भन्ने शब्द हुँदा–हुँदै ‘पोइल’ मात्र प्रयोग गरिएको छ । खासमा यसको अन्तर्य के भने नि श्रीदेवी निखिलको ‘झिटीझाम्टो’ भएको कोठामा गएकी हुन् । तसर्थ, परिस्थितिले पोइल जानु नै उपयुक्त शब्द हुन गएको हो ।)

निखिलले श्रीदेवीलाई किन भगायो ? वा श्रीदेवी निखिलसँग किन भागिन् ?

लव म्यारिज, त्यसमा पनि भागेर बिहे गर्ने पाठक महोदयले यसको गहिराई बुभ्mनुहुनेछ भन्ने हार्दिक अपेक्षा छ ।

बिबाहित तर अरेञ्ज म्यारिज गर्नेहरु तथा अबिबाहितहरुलाई– ‘वाइल्ड ओचार्डमा वाइल्ड दौडमा सरिक भई प्रेमको गहिराई नाप्दाको परिणामस्वरुप उत्पन्न परिस्थतिको गाम्भीर्यतालाई ध्यानमा राखी दुबै जना भागेको जानकारी गराइन्छ ।

***

शहरको जीर्णावस्थामा पुगेको एउटा पुरानो घरको भुइँतलाको कोठा ।

एउटा खाट– जसको हेड र टेल छैन, अर्थात् प्लेन बेड । खाटमाथि असरल्ल ओछ्यान । महिनौं नधोएको– मैलिएको– खुम्चिएको– खुइलिएको तन्ना ।

खाटमुनि सिग्नेचर र सान मिग्वेलका खाली बोत्तल । कोठाभरि यत्रतत्र छरिएर रहेका तासका पत्ति ।

धेरै दिन बन्द बन्द रहेको कोठामा सडन्ली प्रवेश गर्दा श्रीदेवीलाई ह्वास्स गन्हायो ।

‘हवा–हवाइँ’ टाइपका सपनाबाट झल्यास्स ब्युँझिइन् श्रीदेवी । एक अव्यक्त चिच्याहट उनको आत्माभरि गुञ्जियो । निखिलले सुनेनन् उनको आत्माको चित्कार ।

‘यही हो तिम्रो कोठा !’ डर–आतङ्क र विस्मयले भरिएको बोली ।

‘हो ! एक्लो जीवनमा केही व्यवस्थित हुन सकेको थिएन । अब दुईजना छौं जिन्दगी लिगमा आउँदै जाला ।’

यसो भनेर निखिल श्रीदेवीको छेऊमा बस्यो र ‘हर्टली कन्सोलेसन’ दिने कोशिस ग¥यो– श्रीदेवीको शिर आफ्नो छातीमा टाँस्न खोज्दै ।

सान्त्वनाले श्रीदेवीलाई स्पर्श गरेन । उनले ‘मुन्टो’ बटारिन् र आँसुले धुमिल हुँदै गएको दृश्यलाई पछ्यौरीले पुछिन् र मनमनै भनिन्– ‘तिमी चाँडै बिर्सदा रहेछौ निखिल, अब हामी दुई मात्र होइन तीन भइसकेका छौं ।’

त्यस साँझ उनीहरुले बाहिरै खाना खाए ।

र त्यससाँझ उनीहरु त्यही असरल्ल ओछ्यान भएको खाटमा सुते, जहाँ निखिल उन्मत्त बन्यो र श्रीदेवी झन्पछि झन् चीसो हुँदै गइन् ।

सर्वाङ्ग नग्न देह– खाटमुनि अलिपर मिल्काइएका आफ्ना अन्तवस्त्र र छेऊमा ‘टन्न खाएर’ मस्त निदाइरहेको निखिललाई देखेर श्रीदेवीलाई पहिलो पटक अनुभूति भयो– भर्खर उसँग जेजस्तो दुर्घटना भयो त्यो एक वैधानिक बलात्कार थियो ।

प्रेमपूर्ण आलिङ्गनको अनुभूति नै नगरी सकिएको संवेदनाहीन क्रीडा ! अर्थात् बैधानिक बलात्कार ।

***

चार महिना पूरा भएपछि केही यस्तो दुर्घटना हुन पुग्यो पाठक महोदय–

मात्तिएर आएको निखिलले ‘भात पस्की’ भनी अह्रायो श्रीदेवीलाई । श्रीदेवीले भात पस्किइन् र सोधिन्– यो घर फर्किने कुनै समय हो ? रातको १२ बजेको छ । हिजो अस्ती कहाँ बसेको ?’

श्रीदेवीको रुवाँसी बोलीलाई सुनेन निखिलले । जुत्तैसँग बस्यो भात खान ।

‘यो तिहुन हो या भैंसीलाई खोले हो ?’

थाल पर सर्कायो– देबे्र हातले श्रीदेवीको कपाल समात्यो, एउटा भद्दा गाली दियो र चिच्याउँदै सोध्यो– ‘तलाइँ भात पकाउन पनि आउँदैन हँ !’

फुत्किने चेष्टा गर्दै आक्रोशपूर्वक चिच्याउँदै श्रीदेवीले भनिन्– ‘घरमा नुन/भुटुन छ/छैन । स्वास्नीसँग पैसा छ/छैन । आफूलाई केही मतलब छैन । अहिले घिच्ने बेला मात्रै मीठो खोज्ने ? लाज लाग्दैन !’

‘बढी बोल्छेस् ? बढी बोल्छेस् ? तँ …?’ एक भद्दा गाली । गालामा तमाचा । र भातको थाली हुर्रिदै भित्तामा ठोकियो एकसाथ । कोठाभरि जूठो भात र त्यसका केही सिता श्रीदेवीको अनुहारमा पनि थिए ।

श्रीदेवी अवाक् भइन् । आक्रोशित हुँदै निखिलको कपाल लुछ्दै भित्तामा पु¥याइदिइन् ।

श्रीदेवी सहनशिला सुशीला थिइनन् । उनी प्रतिकार गर्न तयार थिइन् । रुँदै चिच्याउँदै । आफ्नो हक माग्न सक्थिन् उनी ।

भित्तामा ठोकिएको निखिलभित्रको मर्दलाई चोट पुग्यो । ऊ सम्भालियो र फेरि श्रीदेवीलाई कपाल समातेर भुइँमा पछा¥यो ।

(आफ्नो प्रेमकालीन युगमा श्रीदेवीको यहीं बाक्लो लामो केशमा लट्टु भएको थियो । भन्थ्यो– तिम्रो कपालमा बिछट्टै आकर्षण छ काली । जादू छ तिम्रो कपालमा । यस घटनामा कालो लामो केशको उपयोग सटिक ढङ्गले गर्न सकेकोले सो कुराको पुष्टि गरिदिएको छ निखिलले ।)

भुइँमा पछारिएकी, गाली ओकल्दै गरेकी श्रीदेवीलाई बुटले बजा¥यो ।

एक … दुई… तीन… ।

लामो चित्कार र श्रीदेवी बेहोस् भइन् ।

वरपरका कोठामा बस्ने छिमेकी जम्मा भए । निखिललाई हप्काए । श्रीदेवीलाई हस्पिटल पु¥याए ।

निखिलले बुटले हिर्काएर श्रीदेवीलाई होइन आफ्नै सन्तानलाई मारेको थियो, जुन श्रीदेवीको कोखमा हुर्कदै थियो ।

पाठक महोदय, तपाइँको आरोप हुन सक्छ क्या ट्रेडिश्नल राइटर परेछ । ट्वान्टी फस्र्ट सेन्चुरीमा पनि डोमेस्टिक भ्वाइलेन्सको कुरा गर्दैछ, त्यो पनि एक झूर कथाको स्वरुपमा ! तर के गर्नु पाठक महोदय, समय पोस्टमोर्डन भए पनि मेरो समाज र मेरा पात्रहरु दुबै मध्यकालीन बर्बरता भोग्न बाध्य हुनुपरिरहेको सन्दर्भलाई बिर्सन गाह्रो भएको छ ।

खैर, यो दुर्घटनापछि निखिल कोठामा आउन छाड्यो ।

श्रीदेवीको कोखमा रहेको बच्चाको हत्या गर्नु फौजदारी अभियोग अपराध भए पनि, अस्पतालमा यस्तो हुनुको कारण निखिलको मारपिट बताइएन बरु भ¥याङमा चिप्लिएर भएको दुःखद दुर्घटना बताइयो ।

रेस्क्यु टिमका छिमेकीहरुले दुर्घटनाको कारण बताइरहँदा श्रीदेवीले आफ्नो वैवाहिक जीवन सुरक्षित गर्न मौन स्विकृति दिएकी थिइन् ।

श्रीदेवीको ज्यान त जोगियो तर विवाह ?

***
पात्र तीनको कथामा प्रवेश ।

नाम : रमेश ।

काम : वैदेशिक रोजगार व्यवसायी ! रियल स्टेट कारोबारी ।

ठेगाना : श्रीदेवी बस्ने घरको माथिल्लो तला ।

परिवार : एक श्रीमती/एक छोरी ।

स्थायी ठेगाना : गोप्यताको हकअन्तर्गत गोप्य राखिएको !

मिस्टर रमेश फलफूल किन्दा वा अन्य सामान किन्दा दुई वटा फरक–फरक ब्यागमा भरेर ल्याउँछन् ।

एउटा श्रीदेवीका लागि र अर्को आफ्नी श्रीमतीका लागि ।

राती कोठा फर्कदा आफ्नो कोठामा उक्लिनुभन्दा पहिला श्रीदेवीका कोठामा पस्थ्यो, पानी पिउँथ्यो, हाल खबर सोध्थ्यो । कोसेली दिन्थ्यो र भ¥याङ उक्लिन्थ्यो ।

रमेशकी श्रीमती मिसेज रोमा पकाएको खाना/तरकारी/निकोमिठोसहित श्रीदेवीको कोठामा पस्थिन् यदाकदा ।

रमेशको परिवारको सहयोगमा श्रीदेवी निको हुँदै गइन् ।

मिसेज रोमा सहयोग गर्दै थिइन्– श्रीदेवीको अनुहारमा आफ्नै बहिनीको अनुहार देखेर । मानवीय नाता र महिलाका समस्या बुझेर ।

मिस्टर रमेश भने श्रीदेवीको अनुहारमा भने धेरै थोक देख्थे ।

जस्तो कि चढ्दै गएको लालिमा,

जस्तो कि एक एक्लो निरव जवानी,

जस्तो कि प्यासी रातको छटपटाहट अनि,

एउटा पासपोर्ट ।

मिसेज रोमाको अनुपस्थितिमा एक दिन रमेशले श्रीदेवीसँग रात बिताए ।

निखिलप्रतिको घृणा र रमेशप्रतिको आकर्षणमा बदलियो । निःसर्त स्वर्गीय सुखको अनुभूति फेरि गरिन् श्रीदेवीले ।

आफ्ना चाहना, कामना र बैंशलाई उन्मुक्त बन्न दिइन् एक साँझ रमेशको अँगालोमा ।

र यो क्रम चलिरह्यो ।

शहरको कुनै चोकमा निखिललाई अर्कै कुनै सुन्दरीको साथमा देखेपछि श्रीदेवीले निखिललाई माया मारिसकेकी थिइन् । अब श्रीदेवीका हरेक आवश्यकता रमेश पूरा गर्दै गए । र तबसम्म पूरा गर्दै गए जबसम्म मिसेज रोमाले धम्की दिइनन् । मिस्टर रमेश र श्रीदेवी दुबैलाई । शहरबीच दुई/दुई वटा घडेरीकी माल्किन रिसाएपछि रमेशको रोमान्टिक बैंश धरापमा प¥यो र बिस्तारै त्यसमा बरफ जम्दै गयो ।

रमेश अब उन्मुक्तिको बाटो खोज्न थाले ।

एक रात अनायासै रमेशले सोधे– बिदेश जान्छ्यौ ?

श्रीदेवीले रमेशलाई डिमलाइटमा एकटक नियालिन् र दृढतापूर्वक सोधिन्– कुन देश ?

‘अरब ! अरु कुन देश जान सक्छ्यौ र ?’

‘ठिक छ जान्छु तर मसँग पैसा छैन ।’

‘पैसाको टेन्सन नलेऊ । कमाएर मलाई तिरे भैहाल्यो नि !’

‘हुन्छ !’ श्रीदेवीको बोलीमा दृढता थियो ।

त्यसको केही दिनपछि श्रीदेवीले बाआमाले दिएको एकमात्र दाइजो नागरिकता रमेशलाई थमाइन् । फोटोहरु दिइन् र फारममा दायाँ बायाँ ल्याप्चे लगाइन् ।

पासपोर्ट बन्यो । श्रीदेवीको भिसा स्विकृत भयो ।

अरबको कुनै कम्पनीमा फिमेल क्लिनरका रुपमा जानु दुई दिनपूर्व श्रीदेवीले मिस्टर रमेशसँगै बिताइन् । दिनभरि आवश्यक किनमेल गरेर । रातभरि रमेशलाई प्यार गरेर ।

(खैर, यो कुरा श्रीदेवी–रमेशको  Personal matter को रुपमा गोप्य रहनुपथ्र्यो तर त्यसो हुन नसकेको यो लेखक क्षमाप्रार्थी छ ।)

श्रीदेवीको फ्लाइट टेक अफ भएपछि रमेश कोठमा फर्किए । मिसेज रोमा कोठामा अनुपस्थित थिइन् । रमेशले श्रीदेवीको बन्द कोठा खोले र एकटक नियाले एउटा पुरानो खाट । थोरै रोमाञ्चित भए त्यो साँझ सम्झेर ।

खल्तीबाट मोबाइल झिके र कसैलाई डायल गरे । ‘एउटा पुरानो खाट बिक्रीमा छ, कसैलाई आवश्यक परे खबर गर्नू ।’ त्यसपछि रमेशले कोठाको ढोका बन्द गरे ।

प्रतिक्रिया दिनुहोस्