घर

       दिल महरा | 373 Views |   Published Date : 12th November 2014 |

Dil Maharaखेत

(खेतको माया लाग्छ र त खेत मेरो हो भनिन्छ । तेरो हो भनिन्छ । हाम्रो हो भनिन्छ । किनकि खेत र मान्छेबीचको सम्बन्धको कुरा आदिम युगबाट सुरु भएको रे । जतिखेर मान्छेलाई भोक लाग्न थालेछ ।)

खेतमा ।
चरार साल धान रोपेको थियो । धानसँगै आलीमा भट्ट र मास रोपिएका थिए । पुतलीहरु घुमिरहन्थे । फट्याङ्ग्रा वरपर । आउँथे जान्थे । गड्यौलाहरु आलीको भित्र बाहिर गरिरहन्थे । गलगला खेल्ने केटाकेटीहरु लस्कर हुन्थे ।

र भन्थे बुढाबुढीहरु– ‘खेत भनेको खेत हो । खेत भयो भने बाँच्न पाइन्छ । र देख्न मिल्छ संसार । दुनियाँमा यही खेतको बालीले बाँचेको छ ।’

अनि,
युवायुवतीहरु धानको बाला मुसार्दै पर–परसम्म पुग्थे । परसम्म पुगेर सुरिलो सुुसेली हाल्थे । अनि वरवर रमाउँदै आउँथे । धानको रङजस्तै पहेंलपुर । सुदूर भविष्यमा बाँच्ने जीवनकोे सुन्दर भ¥याङ बनाउँदै–बनाउँदै हिड्थे । प्रितको मिठो गीत गाउँथे । धानको छेको मारेर अङ्गालोमा कसिन्थे युवायुवतीहरु । खै ? कहाँ हराउँथे उनीहरु एकछिन । पछि गलगला खेल्ने केटाकेटीहरु उधुम मच्चाउँथे । चिच्चाउँथे । हल्ला गर्थे ।

‘फलानी दिदी र फलानो दाजुको– लभ प¥यो । लभ प¥यो ।’

home_cartoon-300x242अनि लाजले रातो मुख लगाएर आलीमा उभिन्थे अघि हराएका युवायुवतीहरु । र खुसीले ताली बजाउँथे केटाकेटीहरु । देख्ने जति बुढाबुढी गाली गर्थे केटाकेटीहरुलाई ।
‘किन बौलाउँछौ तिमेरु । तिमेरुको पनि त आउला नि दिन । यो उमेरमा नगाँसेर कहिले गाँस्लान् माया । बिचराहरुलाई किन खिज्याउँछौ तिमीरु । परपर गएर खेलन गलगला ।’

हल्ला गर्ने केटाकेटीहरु हेरेको हे¥यै हुन्थे । पुतलीहरु उडिरहेकै हुन्थे । युवायुवती मुस्कुराउँथे घोसो मुन्टो पारेर ।

यो चरार साल धान नकाट्दैको खेतको अन्तिम कहानी हो । धान काटिसकेपछि खेतको कहानी पनि सकियो । र अर्को कहानी सुरु भयो । किनकि त्यसपछि खेत बाँझो भयो ।

हरियो डोजर

परार साल । एकदिनको कुरो । हरियो रङको डोजर बिहानै आयो । डोजर सरासर खेतमा पस्यो । एक बर्ष पुरानो बाँझो खेत उधिनी–उधिनी जोत्यो हरियो डोजरले । पुराना मास र भट्टका डाँठहरु पुरिए । धान फल्ने खेत पुरियो र अघिलो दिन साँझसम्म सेपा भंैसीले खाएको दुबो पुरियो । हेर्दाहेर्दै धेरै खेतको गरा एउटै भयो । केटाकेटीले खेल्ने खोपी पुरियो । कबड्डी खेलको रेखा पुरिए । हिजै खनेको भलिबलको कोर्ट पुरियो । अन्तमा, हरियो डोजरले बीच बीचमा बाटो बनायो । अनि गयो डोजर । रमाउँदै–रमाउँदै आफ्नो बाटो । पर–पर जाँदासम्म बूढाबूढीले छत्रे हात लगाइ लगाई हेरिरहे । केटाकेटी पछि–पछि दौड्दै थिए । हरियो डोजरले बस्नु भनेर हात हल्लाएन । पछि फर्किएन । सट्टामा दौडि–दौडि भाग्यो । केटाकेटीहरु हल्लाइरहे हात ।

हरियो डोजर देखिन छोड्यो । अनि वरिपरि हल्ला मच्चियो । नगरपालिकाको हाकिमले खेत मासेर घडेरी बनायो । धान छोडेर ढुङ्गा रोप्ने भयो ।

यसरी खेत घडेरी बनेको हो ।

(यो खेतको दुःख त बयान हो । र साह्रै दुःख त छ बयान । पलासको फूलजस्तै । धेरै कालो–कालो । कुकुरडाइनाको काँडाजस्तै प्रयोगहीन । तर धेरै विषालु ।
यही बेला देश । लाग्छ पूरै–पूरै भ्रष्टहरुको हातमा चलिरहेछ । तपाई पट्याउनुस् या जे गर्नुस् । तर सुविधाको नाममा । देशभर प्रत्येक दिन करोडौंको बदमासी बिलहरु थोपरिरहेको सत्य कुरा हो । डरलाग्दो त यो कुरा छ कि । व्यक्तिगत प्रयोगका लागि किनिने । दाल चामल, नुन भुटुन, कपडा, जुत्ता, चप्पल, लिपिष्टिक, क्लीप र सबभन्दा बढी एनटिसी र एनसेलका रिचार्ज कार्डहरु प्रयोग गरिएका बिलहरु अग्रस्थानमा रहेका छन् । तपाई हेर्न चाहनुहुन्छ भने नमुनाको रुपमा यहाँ पेश गरेको छु एउटा बिल । जहाँ मेरो देशको पूरै–पूरै मिठो सुगन्ध आउँछ । बिल यस्तो छ–

सगरमाथा किराना पसल
………, नेपाल

एनसेल रु. एक सय जम्मा खरिद रु. १२०/–
एनटिसी रु. एक सय जम्मा खरिद रु. ११५/–

यहीताका घडेरीको कालाबजारी पनि सुरु भयो । र कुरा के पनि बुझनुस् भने नातावाद–कृपावाद । तेरो–मेरो । चिया । कमिशन । चम्चे । आफ्नो–बिरानो । बलात्कार आदि सम्बन्धले खुब महत्व पायो यही समय ।)

दलाल

पोहरसाल । दलालले भकाभक घडेरी बेच्यो । घडेरी किन्नेहरु यही देशका नागरिक थिए । तर को हुन् ? कहाँका हुन् ? अथवा कसरी किन्ने भए घडेरी भन्नेबारे कसैलाई केही पत्तो भएन । वरिपरिका छिमेकी हल्लाचाहिं यस्तो गर्थे । यस्तो भन्थे ।

‘उँभो–उँभो शेसपट्टिका सेशीहरु ।

उदो–उदो तराइतिरका कालाहरु ।’

उनीहरुले घडेरी किने रे । अब घर बनाउँछन् रे ।

(यो दुनियाँको चर्चित नियम के रहेछ भने । सोझा साझाहरु । इमान्दारीहरु । घुसपिस । चिया चम्चा । तलमाथि । आफ्नो बिरानो नभएका । वा त आदिमकालदेखि हेपिएकाहरु । हेपिएरै बस्नैपर्छ भन्ने मान्यता राख्दोरहेछ । यिनीहरुमाथि हेपाहा शासन लाउन पाए आफूलाई महान मान्दो रहेछ सरकार । अन्याय अत्याचार वा राज्यले, प्रशासनले दलालले, कर्मचारीले यिनीमाथि नै थिचोमिचो गर्ने उद्देश्य हुँदोरहेछ । हैन भने यी कुराहरु किन हुन्छ बारबार ।)

टुक्रा–टुक्रा भएर घडेरी सबै बिक्री भयो । खेत घडेरीमा बिक्यो । यसरी पोहरसाल पनि सकियो । दलाल र नगरपालिकाको हाकिमले दोब्बर मूल्य उठाए घडेरीबाट । पोहरसालको कहानी यसरी नै सकियो । कहानी यही भयो ।

घरको नक्सा

अस्ति ।

घडेरीको एउटा मालिक आयो । मान्छेसँग बोल्नै डराउने ऊ । घर बनाउँछु भन्न थाल्यो छरछिमेकमा । छरछिमेकले बाटो पहिलाइदिए । सुरुमा नगरपालिका धायो घर नक्साका लागि । अमिन आयो । नापजाँच भो घडेरी । त्यसपछि कित्ताकाट । अमिनले नक्साघरमा पठायो उसलाई । घरको आधुनिक नक्सा बनाउन । नक्साघरले भनिदियो– चार महिनापछि आउनुस् । त्यतिखेरसम्म तयार हुन्छ नक्सा । उसले पत्यायो । विश्वास ग¥यो र चार महिनापछि नक्सा लिन आउने गरेर उ हिड्यो आफ्नो बाटो । तर कहाँ जान पाउनु उसले उसको बाटो । नक्साघर बाहिर घडेरी नापछेक गर्ने अमिन भेटियो । अमिनले बाटो छेक्यो । हात समायो । र सोध्यो ।

‘नक्सा बन्ने भो ?’

‘बन्ने भो ।’ उसले उत्तर दियो ।

‘कहिले ?’ अमिन हाँस्यो ।

‘चार महिनापछि ।’ उसले बोल्यो ।

अमिन नमिठो गरी हाँस्यो । उसको हात पहिलेभन्दा जोड गरेर समायो । र चिया पसलतिर लग्यो उसलाई ।

उनीहरु चिया पसलको गोप्य रुममा पसे । बीस÷बाइस मिनेटपछि उनीहरु अघिकै बाटो निस्किए । उसले चियाको पैसा दियो ।

उ फेरि नक्साघरभित्र छि¥यो । यसपालि चार दिनपछि घरको नक्सा बन्ने खबरले उ दङ्ग भयो । घर फर्कदा अमिनले भनेमुताबिक अमिनसँग भेट गरेर गयो ।

चार दिनपछि घरको नक्सा पायो उसले । अब नक्सा पासको कामपछि घर बन्न सुरु हुनेछ । अमिनले भनेकै थियो । चार दिनपछि मलाई भेट्नु । म गरिदिउँला काम । अमिन बोलेको थियो ।

उसले हातमा घरको नक्सा समाउँदै खोज्दै हिड्यो अमिन । चिया पसलमै भेटियो अमिन । आज पनि भित्र पसे दुबै । गोप्यरुममा छिरे दुबै । बीस/बाइस मिनेटमा बाहिर आए उनीहरु । र हिडे हाकिम भएतिर । सजिलै भनिदियो हाकिमले ।

‘भोलिबाट बनाउन सुरु गर घर ।’

उ थोरै खुसीसाथ फर्कियो आफ्नो बाटो । तर उसलाई बाटामा घोचिरहयो थिम्बरको काँडाले च्वाँस्स च्वाँस्स । मुटु पोलिरह्यो उसको भतभत ।

भोलिपल्ट , अमिनले पहिल्यै भनेको थियो । घर बनाउने ठेकेदार, हेड मिस्त्री, लेबर सबै हामी खोजिदिन्छौं । र यो पनि सहयोग गर्छौं कि, घर बनाउँदा आवश्यक सरसामान किन्ने पसल पनि खोजिदिन्छौं ।

त्यसैले उनीहरुले नै खोजेको ठेकदार आयो भोलिपल्ट । हरहिसाब सब भयो । ठेक्का लिएको बैना बुझ्यो । कागज लेख्यो । व्यापारी पनि आयो । सरसामानको कुरा भयो ।

भोलिको दिनबाट घरको जग खन्ने पक्का भयो ।

उसलाई चाहिने सरसामानको ऐंचोपैंचो सब मिलाउन आदेश भयो । र हिड्यो ठेकेदार । गयो व्यापारी । ऊ घर बन्ने घडेरीमाथि एक्लै उभिरह्यो ।

बच्चा पाउने आइमाई

यो घर बनाउने एउटा लेबर । बच्चा पाउने आइमाई पनि हो । उसले दुई महिनापछि जन्म दिनेछे बच्चाको । सात मासको बच्चा पेटमा बोकेर उ इट्टा ओसार्थी । यो उसको मजबुरी हो । उसले दुखेसो पोखिरहन्थी बेला–बेला ।

‘गरिब हुनुको घाटा यही हो यो दुनियाँमा । न राम्रो खान मिल्छ । न त लाउन मिल्छ । शरीरलाई चैन हुँदैन् । यो गरिबको नागरिकता हो । सबभन्दा मुटु दुख्ने कुरा । गरिबको मूल्य नै छैन । यो अपमान हो ।’

र, बच्चा जन्माउने आइमाईको सबभन्दा ठूलो रहर ।

‘यसरी बाँच्नुभन्दा मर्न निको हो ।’

छेउमा छोरो भोक लाग्यो भन्थ्यो । छोरी के खाने भन्थी । नसुनेको भेषमा उ कामतिर लाग्थी । खै मनमा कसलाई हो गाली गरिरहन्थी बरु ।

‘पापीहरु ।’

‘कुकुरहरु ।’

‘…….’

उ इट्टा ओसारिरहन्थी । छोराछोरी रोइरन्थे ।

जरुरी कुरा यहाँ छ

जरुरी कुरा के छ भने, बच्चा पाउने आइमाईको छोराको अनुहार हाकिमसँग मिल्छ । छोरीको ठेकेदारसित मिल्छ । पेटको चाहिं अमिनको भन्ने हल्ला छ । आइमाईको न घर छ न त श्रीमान् । यसको न्याय कहाँ मिल्छ हँ ? कसले दिन्छ हँ ?

घर मालिक

घर बन्यो । ऊ घरको मालिक भयो । घरमा रङ लाग्यो । घर राम्रो देखियो । मान्छेहरुले ‘राम्रो घर बन्यो’ भने । मेचमानीपछि कामदारहरु तितरबितर भए । तर घर मालिक खुसी देखिएन । घरि बाहिर गथ्र्यो । घरि भित्र गथ्र्यो । र ‘मा’ गाली दिन्थ्यो हाकिमलाई । ठेकेदारलाई । अमिनलाई । र सराप्थ्यो सरकारलाई । उसले कसैलाई भन्न चाहेन केही उसको मनको कुरा । केही समय । उसलाई कुकुरडाइनाको काँडाले घोचिरह्यो भित्र–भित्र । तर एकदिन उसले हल्ला ग¥यो छिमेकभरि । बोल्यो जताततै ।

‘मेरो घर मेरो नाममा छैन ।

मेरो घडेरी मेरो नाममा छैन ।’

(नागरिकता नम्बर ४५८९१ को नेपाली नागरिकको पीडा हो यो । कुबेतको तेलखानीमा दुःख गरेर जोरेको सम्पत्ति । उसको पनि कत्रो रहर हुँदो हो । मेरो नाममा घर छ । घडेरी छ भन्न । परिवारसँग रमाउँदै बस्न । तर अनपढ सोझो यो नागरिकको रहर खोस्ने । चाहना खोस्ने । साँच्चिकै को–को मान्छे होलान् ?! सरकार को यो घरको मालिक ?! चिन्ने रहर छ मेरो पनि । कारण, म पनि यही देशको एउटा नागरिक हुँ नागरिकता नं. ४५८९१ जस्तै ।)

प्रतिक्रिया दिनुहोस्