जिन्दगीका केही दिनहरु

       टंक गौतम | 765 Views |   Published Date : 2nd September 2015 |

Tanka_gautamहिजो राती सिरकको सानो प्वालमा खुट्टा पस्यो र ध्वार्रर्रर्र च्यातियो । लौ जा, यसले सिरकको जवानी पूरै उदाङ्गो पो भयो । शहरिया आधुनिक युवतीजस्तो छाती, तिघ्रा सबै देखाएको सिरक पनि ओढ्न भएन । खोल किन्न गोजी रित्तो छ । होस् न, सिरकका तिघ्रा सुमसुम्याउँदै बसौंला ।

बिहान उठेपछि लाग्यो, एक कप मिठो चिया खाऊँ । अम्बिकालाई एक कप चिया बनाउन आदेश जारी गरें । उताबाट जवाफ आयो– ‘चिनी छैन ।’

चिनी हालेको चिया पिउनु हुँदैन, सुगरको सम्भावना ह्वात्त बढ्छ ।

‘चियापत्ती त होला नी ?’ उताबाट जवाफ आयो– ‘थोरै छ ।’ ‘जति छ त्यसमा पानी हालेर उमाल ।’

एउटा आज्ञाकारी विद्यार्थीझैं उनले त्यसै गरिन् । टर्रो स्वादको पानी घाँटीबाट धकेलेपछि याद आयो तरकारी छैन । गुन्द्रुक छ कि ? नुन पनि हिजो बिहानै सकिएको हो । साँझको छाक घरबेटीको पैंचोमा टरेको थियो । फेरि पैंचो माग्न पनि के जानु ? सिरानीमुिन हेरेँ । बिस्तरा ओल्टाइपोल्टाई गरें । आठ वटा सिक्का हात परे । नुनको मूल्य कति पर्छ ? श्रीमतीलाई सोधें । (कारण नुन नकिनेको धेरै भयो) । ‘१६’, जवाफ आयो । अब आठ वटा सिक्का कहाँबाट जुटाउने ।

एउटा सुन्दर कमेडी जस्तो लाग्ने यो घटना आज साउन ७ गते २०७२ साल बिहानको मेरो जीवनको यथार्थ हो । आफैले आफैलाई व्यङ्ग्य गरे जस्तो लाग्यो । यो समयले ममाथि गरेको गम्भीर ठट्टा थियो । यस्ता धेरै दिन गुजारेको छु मैले । त्यही श्रृंखलामा आज साउन ७ गतेको दिन पनि थपिएको छ । यस्तो बेलामा म कि त कोठाबाट निस्कन्छु । या त तिघ्रा देखाएको सिरग च्यापेर सुतिदिन्छु, निन्द्रा लागोस नलागोस् । निद्राले पनि म जस्तो नाङ्गोलाई के साथ दिन्थ्यो । त्यो अरुकै हुन्छ । तै पनि म सुतिदिन्छु जतिबेलासम्म पेटभित्रका आन्द्रा बटारिदैनन् ।

यो पनि जीवनको फरक प्राप्ति हो  । कम्तीमा म यो जे लेखिरहेको छु, त्यसको कच्चा पदार्थ पनि त्यही ७ गते बिहानको दिन नै त हो । जो सामान्य मान्छेका भन्दा भिन्न छ ।

श्रीमतीको अनुहार हेरें। बिहेअघिका बाचा सम्झें, ‘हेर अम्बिका, हामी फलानाको जोडीजस्तै हुनेछौं, एउटा घर बनाउने छौं । त्यसको माथिल्लो तलामा एउटा पुस्तकालय बनाउनेछौं । जहाँ हामी ज्ञानको क्षुधालाई तृप्त पार्नेछौं । तिम्रो जागिर हुनेछ । मेरो जागिर हुनेछ । म लेख्ने छु, तिमी त्यसको संरक्षण गरिदिने छौ (किनकि लेखकहरु लापर्वाह हुन्छन्) । बिस्तारै मेरो नाम उक्लिदै जानेछ । म सँगसँगै तिम्रो पनि । हाम्रा लागि कुनै कुराको अभाव हुने छैन । किनकि म सर्वोत्कृष्ट छात्र हुँ नि त । जागिरलाई मैले खोज्नुपर्ने छैन । जागिर मलाई खोज्दै आउनेछ । हामी समाजका अरु सफल जोडीजस्तै बन्नेछौं । म मनको लड्डु घ्यूसँग खादै मात्र थिइनँ । खुवाउँदै पनि थिएँ मेरी हुनेवाला श्रीमतीलाई ।

श्रीमतीको अनुहार फेरि हेर्छु । बादल धुम्मिएको आकाशजस्तै छ । जोड–जोडले हाँस्न मन लाग्छ (किनकि हाँस्नु स्वास्थ्यको लागि फाइदाजनक छ) ।

हिजोका मेरा सपनाहरु प्रारम्भमा साइकल चढ्थे । जतिबेला म बीए पढ्दै थिएँ, मोटरसाइकलको चर्को आवाज निकाल्दै मेरा सपनाहरु यताउता दौडिरहेका देखिन्थे । एम.ए. पढ्दै गर्दा मेरा सपनाहरुले थोत्रो मोटरसाइकललाई किनारतिर हुत्याएर मोटर चढ्न थालेका थिए । जब एम.ए. मा उत्कृष्ट अंकसहित भित्तामा मेरो नाम टाँसियो मेरा सपनाहरु भुरुर्रर्र हवाइजहाजमा उड्दै थिए । ठीक त्यसैबेला अहिले उतापट्टि आधा चम्चा चियापत्तीमा दुई कप पानी हाली सुगर फ्री चिया उमाल्ने मेरी श्रीमतीलाई सिटमा बसालेर अनन्त प्राप्तिको उडान भरेको थिएँ मैले र यही उडानको क्रममा म आज एकाएक दुर्घटित भएको छु । ….र मेरा सपनाहरु पूर्ण रुपले ध्वस्त भएका छन् । यात्रारत हामी जीवन मरणको दोसाँधमा छौं ।

म सोचमा यसरी दौडिरहँदा मेरी श्रीमती उता च्यातिएको सिरकको खोलमा सियो दौडाउँदै थिइन् । ‘भो छोडिदेउ अम्बिका च्यातिनुमै त्यसको सुन्दरता छ । सिरकको खोल त सिउन सकौली तर तिम्रा रहरहरु सिउन सकौली र ?’ भन्न मन लागेको थियो, भनिनँ । भनँे– ‘यसरी होला र ?’ उनी थोरै हाँसेर भनिन्– ‘नभए तपाईं यही सिरकका तिघ्रा सुम्मसुम्याउँदै सुत्नुहोला ।’

लाग्यो, दुःखसँग संघर्ष गर्न म मात्र होइन उनी पनि अभ्यस्त भइछिन् । ठीक छ अम्बिका, जीवन सम्झौतामा नै धकेल्नु पर्छ ।

अचेल गम्भीरतालाई हाँसोमा टारिदिने प्रयत्न गर्न थालेको छु मैले । भोक लाग्यो खानेकुरा छैन, खिसिक्क हाँसो उम्रिन्छ कताबाट । भान्छामा जान्छु, भाँडाकुँडा सबै रित्ता देखिन्छन् । रित्ता भाँडा आफूलाई हेरेर हाँसेजस्तो लाग्छ । म उनीहरुतर्फ हेरेर फिस्स हाँसिदिन्छु ।

मलाई अब कसैका सामु रोएर आफ्नो लाचारी देखाउनु छैन । म हाँसेरै संकटलाई पराजित गरिदिन सक्छु । म भोकसँग संघर्ष गर्न सक्छु । म भोकसँगको संघर्षमा बलिदानी दिन सक्छु । म निरुत्साही हुन्न । म पराजित हुन्न । आऊ जीवनका संकटहरु मलाई अझै प्रताडना देऊ । किनकि तिम्रो धर्म त्यहीं हो । म सामना गरेर आफ्नो धर्म निर्वाह गर्छु । नसके मृत्युवरण गरेर आफ्नो धर्म निर्वाह गर्छु । तर म तिम्रा अगाडि आँसु खसाल्दिनँ । मेरा आँसुको पनि मूल्य छ । तिमीहरु मेरा आँसुको मूल्य तिर्न सक्दैनौ । त्यसो भए म सित्तैमा मेरा आँसुहरु किन बाडूँ । कहिलेकाँही यस्ता विचारहरु पनि आउँछन् र हाँसेरै टारिदिन्छु यस्ता विचारहरुलाई पनि ।

रहरको चाङ लगाएर म विराजमान थिएँ, रहरमाथि कुनै बेला । चौरासी हजार ऋषिमुनिहरुले पातको चाङ लगाएर सुकदेव स्वामीको आसन तयार पारेपछि उनले सत्यनारायणको कथा भन्न सुरु गरेका थिए रे । म रहरको आसनमा बसेर मेरी प्रेमिकालाई सपनाको कथा सुनाइरहेको थिएँ कुनै बेला । सत्यनारायणको कथाको सार थियो भगवान प्राप्ति, मोक्ष प्राप्ति र सबै चाहनाहरुको प्राप्ति तर मेरा सपनाको कथाको सार थियो मेरी प्रेमिकाको प्राप्ति । यसका निम्ति रहरको आसनमा बसेर सपनाको कथा सुनाएको थिए मैले र नभन्दै उनी मेरी बनेकी थिइन् ।

जसरी सत्यनारायणको व्रत बसेर कथा सुनेकै दिन कुनै दुर्घटना हुन पनि सक्छ, ठीक त्यसैगरी मेरी ऊ बेलाकी प्रेमिकाका सपना अहिले दुर्घटित भएका छन् । हाम्रा सपनामा पहिरो गएको छ । हाम्रा रहरहरु हाम्रै भारले माटोमा समाहित भएका छन् ।

यति लेख्दै गर्दा ओठमा अलिकति हाँसो फेरि दौडिन आइपुग्यो । यहीं हाँसो नहुँदो हो त सायद म अहिलेसम्म जीवनदेखि पलायन भइसक्थेँ । म जीवनको अस्तित्वमै छु भन्ने प्रमाण मेरो बेला–बेला उदाउने, अस्ताउने हाँसो पनि हो । जसले मेरो अस्तित्वबोधलाईं अझै सुरक्षित गरिदिएको छ ।

आजभन्दा करिब तीन महिनाअघिको यो एउटा घटना पनि रोचक लाग्न सक्छ तपाईंलाई । किनकि तपार्इंले त्यो भोग्नु परेको थिएन । काम विशेषले रत्नपार्क गएको थिएँ । गोजीमा जम्मा ४० रुपैयाँ थियो । जाँदा २० रुपैयाँ भाडा तिरें । फर्किनको लागि २० को नोट बाँकी थियो तर त्यो नोट अलिकति फाटेको रहेछ । मलाई हेक्का भएन । रत्नपार्कबाट जोरपाटीका लागि छुट्ने निलो माइक्रो चढें । मलाई उत्रनु थियो मित्रपार्कमा । जयबागेश्वरीमा एकछिन माइक्रो रोकियो । लाग्यो– गाडी रोकिएकै बेला भाडा तिरिदिऊँ । बीसको नोट गोजीबाट झिकेँ र दिएँ । कण्डक्टरले त्यो बीसको नोट ओल्टाइपोल्टाई हे¥यो । थोरै फाटेको थियो । अर्को दिनुस् भन्यो । मानौं, मेरो गोजीमा नयाँ पुराना, साना ठूला सबै प्रकारका नोटले भरिएको छ जस्तोगरी । मैले भनें, नेपाली नोट हो चलिहाल्छ नि

(सकभर आफ्नो अभावलाई उसका सामु राख्न चाहिनँ) । उसले ठर्रो आवाजमा भन्यो ‘चल्छ भने तपाई आफै चलाउनोस् मलाई अर्को दिनोस् ।’ मैले त्यो नोटमा त्यस्तो चल्दै नचल्ने कुनै समस्या छैन कृपया तपाई लिनोस् भनेर लागे पुगेसम्म अनुरोध गरँे । तर उसले सुनेन । जिद्दी गरिरह्यो । अन्त्यमा मैले उसका अगाडि आफ्नो अभाव छरपस्ट पारिदिएँ– ‘दाइ मसँग अरु पैसै छैन । यतिमात्र हो ।’ उसले अझै पत्याएन । मैले गाडीमा आफ्ना सबै गोजी र वालेटसमेत उल्टाएर देखाउनु प¥यो । गाडी मित्रपार्क आइपुग्यो । ओर्लने बेला उसले भन्यो ‘लाज नभएका कस्ता–कस्ता भिखारी गाडी चढ्छन् यार ।’ उसको आवाज बुलेटका रुपमा मेरा कानको छेवै भएर अगाडि बढ्यो । म अपमानबोधले पानी–पानी भएँ । दुई/चार पाइला हिडेँ । मुसुक्क मुस्काइदिएँ । आफूलाई छामें । म जिउँदै छु । उसो भए सबै ठीक छ ।

कोठामा आएर श्रीमतीलाई सुनाएँ । उनले भनिन्– ‘किन हजुर ठिक्क पैसा बोकेर हिड्नुभएको ? बाहिर निस्कने बेला अलिकति बढी नै लिएर हिड्नु पर्छ । बरु त्यो सिरानीमुनिका सबै सिक्का लिएको भए हुन्थ्यो नि ।’ बिचरी अम्बिकालाई के थाहा सिरानीमुनिका पाँचवटा सिक्का त हिजो दाह्री काट्ने ब्लेड किन्नमै खर्च भइसकेको ।

भनें– ‘त्यो फेरि चाहिएला नि ।’

०००

प्रतिक्रिया दिनुहोस्