सूचनाको त्यो भोक !

       सुशील गौतम | 454 Views |   Published Date : 12th November 2014 |

Sushil Gautamपञ्चायतको कठोर शासनको बेला हुर्के बढे पनि हाम्रो घरको वातावरण अलि पृथक थियो । घरमा केही माक्र्सवादी पुस्तक थिए, बाले पढ्नुहुन्थ्यो । त्यो बेलाका कम्युनिष्टहरु हाम्रो घरमा आउने, राजनीतिक कुरा गर्ने भएर पनि होला सानैदेखि मलाई सूचना (समाचार) को भोक थियो ।

तर त्यो बेला सूचनाको पहुँचको कुरा गर्ने हो भने अहिलेको पिंढीले विश्वास गर्न कठिन मान्छन् होला । टिभी, इन्टरनेट, टेलिफोनको त कल्पनासम्म थिएन । काठमाडौंबाट गोरखापत्र, राइजिङ नेपाल जस्ता सरकारी र केही निजी पत्रिका निस्के पनि जिल्लामा आउँदैनथे ।

केही सरकारी कार्यालयमा गोरखापत्र आए पनि त्यो प्रकाशित भएको एक डेढ महिनापछि मात्र दाङमा आउने । रेडियो पनि अत्यन्त सीमित थियो । रेडियो राख्न सरकारबाट लाइसेन्स लिनुपर्दथ्यो ।

मलाई सम्झना भएसम्म मैले प्राथमिक शिक्षा लिने बेलासम्म मेरो सिङ्गो गाउँ रझेनामा एउटा पनि रेडियो थिएन । एकातिर सानैदेखि सूचनाको भोक अर्कोतिर सूचनाको पहुँचको त्यो स्थिति ।

radio 2रझेनामा कक्षा तीन पास गरेपछि चार कक्षा पढ्न भरतपुर स्कूल (हालको पपनउच्च मावि) पुगेपछि थोरै भए पनि रेडियो सुन्न पाइयो ।

हेड मास्टरको कोठामा ठूलो (अहिलेको टिभी जत्रो) रेडियो थियो । मेरो सूचनाको भोक मेटाउने कुरामा त्यो रेडियो धेरै सहयोगी भयो । तर त्यो धेरै टिकेन ।

मैले ४ वा ५ मा पढ्दा भरतपुर स्कूलमा त्यसबेलाका हेडमास्टर (भारतीय नागरिक) ले नेपाल र नेपालीलाई अपमान गरेको भन्दै ठूलो विद्यार्थी आन्दोलन भयो । आन्दोलनको नेतृत्व गर्नुभएका रश्मीराज नेपाली (हाल केन्द्रीय उपाध्यक्ष राष्ट्रिय जनमोर्चा) ले हेडमास्टरलाई उनकै कार्यकक्षमा गालामा चड्कन हान्नुभयो ।

चड्कनपछि विद्यार्थीहरु बाहिर निस्किए । म भने त्यसपछि पनि झ्यालबाट हेडमास्टरलाई हेरिरहेको थिएँ । हेडमास्टर रामसुरत त्रिपाठीले मलाई इंगित गर्दै भने, ‘खेल खतम हो गया, चले जाओ’ म दर्गुदै विद्यार्थी नेताहरुनेर पुगें ।

उनीहरुले हेडमास्टरले के भन्यो भनेर सोधे । मैले हेड मास्टरले भनेको कुरा दोहो¥याएँ ।

विद्यार्थी नेताहरुले मलाई हेडमास्टरनेर गएर ‘खेल खतम नही हुआ है शुरु हुआ है’ भन भनेपछि कोठाको नजिकैबाट लुकेर ‘खेल खतम नहीं हुआ है शुरु हुआ है’ भनेर भागें । तर भाग्दा भाग्दै कता ‘क्रान्तिकारी जोश’ चलेछ रेडियोको लामो तार चुँडाली दिएँ ।

आफ्नै कामले आफैलाई पि¥यो समाचार सुन्नबाट आफै बञ्चित भएँ ।

तर भोक कहाँ शान्त हुन्थ्यो ? बाले चिया खान दिनको १५ वा २० पैसा दिनुहुन्थ्यो । तर मेरो मन चियामा होइन समाचारमा थियो ।

त्यसबेला पनि चियाका पसल भरतपुरमा नभएको होइन तर म समाचार सुन्न चियाको निहुँ पारेर हाल अस्पताल रोडमा भएको अर्घालीको चिया पसलमा ठीक समाचार आउने बेला पुग्थें । समयको लागि दिनदिनै मिलाउनु पर्ने भए पनि एउटा नाडी घडी थियो ।

म सानामा घोर संकोची थिएँ । चिया खाने निहुँ नपारेर होटलमा पस्ने साहस ममा थिएन । चिया खाएर धेरै बेर बस्ने हिम्मत पनि थिएन ।

रेडियो नेपालको धुन बज्न थालेपछि अर्घालीको होटलमा पस्यो ‘एक गिलास चिया दिनुस तो’ भन्यो । तर चियाको स्वाद मतलब छैन, ध्यान रेडियोको समाचारमा । चिया निहुँ थियो, भोक सूचनाकै थियो ।

कुनै दिन झ्वाट्ट होटलमा पसेको बेला रेडियो नेपाल नलगाएर रेडियो सिलोन लगाएको हुन्थ्यो । स्टेशन फेरिदिन भन्ने बाफरे वाफ कहाँ हिम्मत ? पैसा पनि गयो समाचार पनि सुन्न पाइएन । गाँठ भी फेंको बेकुफ भी होओ । मन अमिलो हुन्थ्यो ।

साँझको रेडियोको समाचार सुन्ने आधार हरिप्रसाद श्रेष्ठ साउजीको रेडियो थियो । घोराही अहिलेजस्तो न ठूलो थियो न घोराहीमा यति बढी ध्वनि नै थियो । हालको गणेश मन्दिरनेर हरिप्रसाद साहुजीको घर ।

हालको अन्नपूर्ण बोर्डिङ (घोराही नपाको पुरानो भवनदेखि पूर्व) नेर चमै सोतानेर हाम्रो खेत । वर्षादेखिबाहेक साँझको समाचार त्यही खेतमा बस्यो साउजीको रेडियोबाट समाचार सुन्यो । तर एक्लै खेतमा किन बसेको होला भन्छन् कि भन्ने डरले जतिखेर पनि सताउने ।

रेडियो स्वर्गद्वारीबाट प्रसारित हुने ‘उहिलेका कुरा’ कार्यक्रममा पत्रकार सुदीप गौतमसँग कुराकानी गर्दै हरिप्रसाद साहुजीले उहाँको रेडियो मैले खेतमा बसेर नियमितरुपमा सुन्ने गरेको उल्लेख गर्नुभएको छ ।

मेरो घरमा रेडियो त श्रीमती पुष्पासँगै पसेको हो ।

अलिपछि फाट्टफुट्ट पत्रिका पनि आउन थाले । प्रकाशित भएको एक दुई महिनापछि भए पनि सर्वोदय पुस्तकालयमा आउने पत्रिका (प्रायः म्यागजिन) ले थोरै भए पनि मेरो सूचनाको भोक मेट्ने काम गरे ।

अस्पताल रोडमै हुलाक थियो । म हरेकदिन हुलाकमा जान्थें । त्यहाँ आउने पत्रिका खोल्थें, पढ्थें र त्यहीं राखिदिन्थें । कुन्नी किन हो (यो केटाले पढ्न खोज्छ भनेर होला) हुलाकका कर्मचारीले कहिल्यै मलाई गाली गरेनन् ।

गालीको प्रसंग आउँदा कुटाइको सम्झना आइहाल्यो ।

पञ्चायतको त्यो बेला दाङमा कांग्रेस र कम्युनिष्ट विद्यार्थीको सधैं कुटाकुट । नारायणपुरमा कांग्रेसी कुटिने, घोराहीमा कम्युनिष्ट कुटिने । कम्युनिष्ट भएवापत चोटै लाग्ने गरी कमै कुटाइ खाए पनि कुटाइ नखाएको दिनै नहुने । तर धन्य सूचनाको भोक ।

त्यसबेला बनारसबाट तरुण पत्रिका निस्कन्थ्यो । लुकी चोरी कांग्रेसी साथीहरुले त्यो पत्रिका दाङ ल्याउने । एक दिन एउटा कांग्रेसी साथीले तरुण पत्रिका ल्याएका । बडो याचना गरेपछि ‘ल साले कम्युनिष्ट !’ भनेर पत्रिका दिए ।

जे गाली गरे पनि उनले पत्रिका दिएर मेरो सूचनाको भोक शान्त गरिदिएकोमा मनमनै धन्यवाद दिएर यसो पल्टाएँ । प्रदीप गिरीको लेख रहेछ । दुई/चार लाइन पढें । साह्रै पढुँ–पढुँ लाग्थ्यो ।

तर साथीले केही मिनेटमा तानिहाल्यो । भोको मान्छेलाई खान दिएर तुरुन्तै खोसेपछि जस्तो अनुभूति हुन्छ त्यस्तै भयो । फेरि कसरी कहाँको सँग मागेर पढुँ मनमा हुटीहुटी भयो ।

उक्त घटना भएको यस्तै दुई चार दिनपछि अर्को साथीको हातमा त्यही तरुण पत्रिका देखें । हिम्मत गरेर मागिहालें । तर पत्रिका त पाइनँ, सामूहिक लात र मुक्का पाएँ र निलकाँडाको झ्याङमा हुत्याइमागें ।

अहिले त्यो घटना सम्झदा आक्रोश, प्रतिशोध वा पीडा होइन अनायास मुस्कान पो आउँछ ।

त्यसबेलाका घोराहीका सबैभन्दा प्रमुख व्यापारी भुपेन्द्रेश्वर श्रेष्ठको पसलबाट आमा बाले कपडा किन्दा कपडा पत्रिकामा पोको पारेर दिने गर्नुहुन्थ्यो । बा, आमाले कपडा बेरेर ल्याएका ती पत्रिकाका टुक्रा कहिले पूरा पेज कहिले आधा । फालेपछि म लुकेर पढ्न थालिहाल्थें ।

तर अफसोच धेरैजसो पत्रिका मराठीका हुन्थे । सायद त्यो बेला उहाँहरुले बम्बैबाट कपडा मगाउनुहुन्थ्यो र कपडाका गाँठको बीचमा पुराना पत्रिका हुन्थे ।

पत्रिकाकै सन्दर्भमा अर्को अपमान भारतीय रेलमा पाएको अहिले सम्झना आयो ।

भारतको तुलसीपुरतिर चल्ने सबैभन्दा तल्लो स्तरको ट्रेन । म पहिलो पटक ट्रेन चढेको । सिट नपाएर म भूइँमा बसेको थिएँ । मैले आधा च्यातिएको पत्रिका देखिहालें । ‘आज’ दैनिक रहेछ । सूचनाको भोकले कहाँ छोड्नु ? पढ्न थालिहालें त्यही आधा च्यातिएको धेरैले कुल्चेको पत्रिका ।

त्यही डिब्बामा बसेको अलि सुटेड बुटेडले देखिहाले । एउटा अलि झुत्रे नेपाली केटो (पहाडी साथी) उसले मलाई व्यङ्ग कसिहाल्यो– ‘पेपर पढ्ना जानते हो ? उल्टा पढा जाता हे कि सिधा ? (पत्रिका पढ्न जान्छस उल्टो पढ्छस कि सुल्टो ?) तर घोर अपमान सहेर पत्रिका पढी रहें ।

अहिले त्यो मान्छे भेटिए म पनि सम्पादकसम्म भएँ, ‘पत्रकार संघको सभापति भएँ, अझ प्रेस स्वतन्त्रता सेनानीसम्म भएँ भनेर फुर्ती लगाउने थिएँ जस्तो लाग्छ ।

पञ्चायतकाल पत्रिका पढ्नै कहाँ पाउनु ? पाए पनि प्रशासनको डर । सन्देश पत्रिका पढेकोमा सात दिन प्रहरी हिरासतमा बस्नुप¥यो । ठिगुरामा कसी मागियो ।

दाङमै मातृभूमि (जसको मास्टहेड रातो थियो) यो रातो पत्रिका पक्कै कम्युनिष्ट पत्रिका होला भन्दै सबै पत्रिका खोसेर प्रहरी कार्यालय (हाल नगर प्रहरी रहेको घर) पु¥याएर खुब कम्युनिष्ट पत्रिका पढ्ने, चीनमा पानी आए यहाँ छाता ओढ्ने’ भन्दै निकै गाली पाइयो ।

पञ्चायतको त्यो बेला मातृभूमि कुनै भूमिगत पत्रिका होइन, काठमाडौंबाट सरकारकै अनुमति लिएर प्रकाशित हुने साप्ताहिक पत्रिका हो भन्ने हिम्मत कसको ? सुन्ने को ?

सूचनाको यस्तै भोकले अर्को एकपटक फेरि झण्डै फसिएन । त्यसबेला तत्कालीन सोभियत संघको समाचार संस्था ‘तास’ले लिथो गरेर एउटा समाचार बुलेटिन निकाल्ने गर्दथ्यो । काठमाडौंबाट आउने खोई कसले हो मलाई पढ्न दिए ।

मैले किताबको बीचमा राखेको थिएँ । पुलिसले फेला पारिहाले । उक्त बुलेटिनमा नेपालबारे केही लेखिएको थिएन । तर समाचारहरुको ठाउँ–ठाउँमा ‘सोभियत संघको कम्युनिष्ट पार्टी’ लेखिएको । लौ फसाद ! पुलिस भन्छ– लौ कम्युनिष्ट पार्टी लेखिएको यो पर्चा हो ।

म भन्छु– होइन सोभियत संघको समाचार संस्थाको बुलेटिन हो ।

जति ठूलो हुँदै गएँ सूचनाको भोक पनि ठूलो हुँदै गयो । हाइस्कुलमा पढ्ने बेला रुस र चीनमा मलाई पत्रिका पठाइदिन चिठी पठाएँ । नभन्दै चीनबाट पेकिङ रिभ्यू, रुसबाट मास्को न्यूज, न्यू टाइम्स मेरो नाममा आउन थाल्यो ।

पत्रिका आयो कि भनी दिनको दुईपल्ट म हुलाकमा पुग्थें ।

तर यी पत्रिकाबापत भने पुलिस, प्रशासनबाट कुनै दुःख पाइएन । सायद अंग्रेजी भाषाका पत्रिका पुलिस प्रशासनका सामान्य मान्छेले नबुझेर पनि होला ।

सूचनाको भोक मेटाउँदा दुःख पाएका अरु कथाहरु पनि छन् । कति दुःखका मात्र सम्झना गर्नु ? केही सूचनाको भोकबाट सुख पाएका कुरा पनि गरौं ।

केही वर्षअघि युगबोध दैनिकको कार्यालयनेर मस्तबहादुर श्रेष्ठ (पुराना कम्युनिष्ट नेता हाल माउन्टभ्यू स्कूलमा कार्यरत) ले मलाई भने ‘सुशील तिमी त हामीप्रति सधैं कृतज्ञ हुनुपर्दछ । तिमीलाई पत्रकार हामीले बनाएका हौं’ श्रेष्ठको मैले खास कुरा बुझिनँ ।

तैपनि हो हो भनि दिएँ ।

तर उनले सबैका सामु कुरा खोल्दै भने, हामी भाँडा माझेर भात पकाएर यिनलाई पत्रिका पढ्न दिन्थ्यौं । कुरा सही हो– काठमाडौं (ललितपुर)मा डेरा गर्दा लिलामणि पोखे्रल, महेश चौधरी (दुबै पूर्वसभासद), कलाधर पौडेल (प्राध्यापक) म र मस्तबहादुर श्रेष्ठको संयुक्त डेरा थियो ।

नजिकै शारदा पुस्तकालय थियो । मेरो सूचनाको भोक थाहा पाएर होला मलाई खाना पकाउन र भाँडा माझ्न छुट थियो ।

म हरेक दिन साँझ ५ बजे पुस्तकालय जान्थें । ८ बजे (५ बजे खुलेर ८ बजे पुस्तकालय बन्द हुन्थ्यो) डेरामा आउँथें । अरुको भात पकाउने भाँडा माझ्ने पालो हुन्थ्यो तर म पत्रिका पढ्ने निहुँमा बच्थें ।

तर डेरामा आएर पत्रिकामा के–के लेखेको छ (अझ खासगरी विश्वका घटनाबारे) भन्ने व्रिफिङ साथीहरुलाई मैले गर्नुपर्दथ्यो ।

मस्तबहादुरले भनेको कुरा ठीकै हो म पत्रिकामार्फत् सार्वजनिक रुपमा मेरा ती पुराना मित्रहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । मेरो सूचनाको भोक मेट्न मात्र होइन भाँडा माझ्न र भात पकाउनेसमेत छुट दिएकोमा ।

स्मृति त धेरै छन् सूचनाको भोकका । राजनीतिप्रतिको कक्षा चारमा पढ्दादेखिको चासो यो भोक उत्पादनको प्रमुख कारक तत्व थियो ।

अचेल राजनीति अझ आफूले सारा हृदयले समर्पित गरेको नेपालको बामपन्थी राजनीति लाज लाग्ने गरी स्खलित भएको देख्दा केही नसुनेर केही नपढेर ढोका थुनेर बसूँ जस्तो लाग्छ कहिलेकाहीं ।

तर नानीदेखिको बानी कहाँ जान्थ्यो फेरि सूचनाको भोक कहाँ जाने ? लागि हाल्छ ।

अहिले सूचनाको भोक आपूर्तिका थुप्रै साधन मसँग पनि छन् तर पहिलो माया भएर होला प्यारो त रेडियो नै छ ।

मलाई राम्ररी चिन्नेहरु अझैं भन्छन्– ‘रेडियो त सुशीलको जनै हो ।’

प्रतिक्रिया दिनुहोस्