सिर्जनशील मोतीराम

       टीकाराम उदासी | 607 Views |   Published Date : 12th September 2015 |

udasi_cap small

अहिलेसम्म आउँदा झण्डै अढाइ सय वर्ष व्यतीत हुन लागेको नेपाली साहित्यको इतिहासलाई मुख्यतः तीन कालखण्डमा राखेर चर्चा–परिचर्चा र विश्लेषण गर्ने गरिएको छ । ती तीन कालहरु हुन् : प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल ।

प्राथमिक कालको आरम्भकर्ता पृथ्वीनारायण शाहका समकालीन मानिएका कवि सुवानन्द दासलाई मानिएको छ । यसको अर्थ हो उनकै सिर्जनात्मक प्रयासबाट नेपाली साहित्यको लिखितयात्रा कविता विधाबाट आरम्भ भएको हो । तर समग्र प्राथमिक कालका केन्द्रीय प्रतिभाका रुपमा भने कवि भानुभक्त आचार्य प्रसिद्ध रहेका छन् नै ।

त्यस्तै, नेपाली साहित्यमा माध्यमिक कालको आरम्भ वा प्रवर्तन गर्ने काम मोतीराम भट्टबाट भएको हो । साथै उनी नेपाली साहित्यको समग्र माध्यमिक कालकै केन्द्रीय प्रतिभाका रुपमा स्थापित र सम्मानित पनि छन् ।

Motiसंयोगले यही साता उनको जन्मदिन पनि परेको छ । र, विगतको परम्परालाई साक्षी राखेर भन्ने हो भने यस साताभर नेपालभित्र र विदेशमा पनि उनै साहित्यकार मोतीराम भट्टको जन्मजयन्तीलाई विविध कार्यक्रमका साथ मनाइने छ ।

विशेषतः त्यस अवसरमा विभिन्न ठाउँमा गजल प्रतियोगिताहरु सम्पन्न हुनेछन् । मोतीरामको व्यक्तित्व र कृतित्वका बहुबिध आयामहरुमाथिको चर्चा पनि स्वाभाविकै रुपले कतिपय कार्यक्रमका केन्द्र भागमा रहनेछन् ।

वि. सं. १९२३ साल भाद्र कृष्ण अमावस्याका दिनमा बुबा दयाराम भट्ट र आमा रिपुमर्दिनीका छोराका रुपमा जन्मिएका मोतीराम भट्टको देहावसान ३० वर्षको अल्पायुमै भयो १९५३ सालमा । अर्थात् जम्मा तीस वर्षको कलिलो उमेरमा उनले यस धर्तीलाई सधैंका लागि छाडेर गए । तर तीस वर्षको उमेरभित्र पनि उनले नेपाली साहित्यमा व्यक्तिगत र सामूहिक रुपमा धेरै सिर्जनात्मक गतिविधिहरु गरेको देखिन्छ ।

ललितपुरको एउटा मध्यमवर्ग परिवारमा जन्मिएका भए पनि उनका बुबाआमाले मोतीरामको शिक्षादीक्षामा प्रशस्त ध्यान दिएका थिए । उनले पाँच वर्षको उमेरमा अक्षरारम्भ, आठ वर्षको उमेरमा उपनयन, त्यस्तै सानैमा काशीमा संस्कृत पाठशाला र मदरसाको अध्ययन, किशोरावस्थामा हरिश्चन्द्र हाइस्कुल र युवावस्थामा दरबार हाइस्कुल काठमाण्डौैं तथा रिपन कलेज कलकत्ताजस्ता शैक्षिक संस्थाहरुमा पढ्ने अवसर प्राप्त गरेको देखिन्छ । साथै उनले बनारसमा रहँदा त्यहाँका धेरै महत्वपूर्ण व्यक्तित्वहरुसँग सङ्गत गरेका थिए ।

खडी बोली (हिन्दी)का उन्नायक मानिने बाबू हरिश्चन्द्रदेखि बाबु रामकृष्ण बर्मासँगको सङ्गत र सम्पर्कले उनको साहित्यिक जीवनमा आमूल परिवर्तन आएको घटना त आफैमा विशेष उल्लेखनीय छँदैछ ।

सानैदेखि नै उर्दू, हिन्दी र नेपाली भाषामा कलम चलाएका मोतीरामले बनारसमा छँदै केही साथीहरुलाई समेटेर एउटा सिर्जनशील मण्डली बनाई त्यसमार्फत् विभिन्न गतिविधिहरु सम्पन्न गरेका थिए । १९४४ सालमा आएर काठमाण्डौंमा पनि मोतीमण्डलीको स्थापना भयो । त्यसमार्फत् मोतीरामहरुले नेपाली भाषासाहित्यको उत्थानका लागि विभिन्न प्रयासहरु गरेका छन् ।

नरदेव पाण्डेका अनुसार मोती मण्डलीमा बनारसमा पद्मविलास पन्त, काशीनाथ, रङ्गनाथ, चेतसिंह र तेजबहादुर राना थिए भने काठमाण्डौंको मण्डलीमा नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी र भोजराज पाण्डेका नाम छन् । त्यसो त यसबारेमा उनका बारेमा कलम चलाएका इतिहासकार बाबुराम आचार्य, चूडामणि रेग्मी, डा.कुमारबहादुर जोशी, पारसमणि प्रधान, रमा शर्मा आदिका भनाइ भने फरक–फरक पनि देखिन्छन् ।

जेहोस् मोतीराम र उनको मण्डलीका रचनाहरु श्लोक सङ्ग्रह, मनोद्वेग प्रवाह, पिकदूत, उषा चरित्र आदिमा रहेका छन् । मोतीमण्डलीका स्रष्टाहरुको रचनाका विषय र प्रस्तुतिमा विविधता छ । उनीहरुले श्रृंगारिक रचना, भक्ति रचना, नैतिक–औपदेशिक रचना, राष्ट्रभक्तिका रचना, समाज सुधारका रचना, शासक स्तुति, मित्र प्रशस्ति, अग्रज सम्मान, शोक अभिव्यक्तिजस्ता विषय तथा वार्णिक छन्द, गजल, गीत, समस्यापूर्ति, कूट कविताजस्ता काव्यिक शैलीहरुलाई भरपूर प्रयोग गरेका देखिन्छन् ।

मोतीराम भट्टले सर्वप्रथम विस्मृतिको अज्ञात गर्भमा हराइसकेका नेपाली भाषासाहित्यका साधक भानुभक्त आचार्यलाई प्रकाशमा ल्याए । उनले नै भानुभक्तका बारेमा शोधखोज गरी वि.सं. १९४८ सालमा ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ नामक पुस्तक प्रकाशित गरे साथै छरपष्ट अवस्थामा रहेका पाण्डुलिपिहरुलाई सङ्कलन गरेर रामायणलाई पनि सिंगो कृतिका रुपमा प्रकाशित गरिदिए ।

हो, अवश्य मोतीरामका खोज र उनले लेखेका भानुभक्तको जीवनीका केही सीमाहरु छन् नै तर त्यो समयमा त्यसप्रकारको आँट र मेहनत गर्नुलाई भने ठूलै कुरा मान्नुपर्छ । यसरी उनले सिर्जना मात्रै गरेनन्, भानुभक्तजस्ता नेपाली भाषाका स्रष्टाको अनुसन्धान र चर्चा परिचर्चा पनि गरेका छन् ।

नेपाली समालोचनाको आरम्भ १९४८ सालबाट भएको मानिन्छ र मोतीरामलाई नै पहिलो नेपाली समालोचकका रुपमा उल्लेख गरिन्छ । उनले भानुभक्तको जीवनी लेख्ने क्रममा उनको कवित्व शक्तिका बारेमा जुन चर्चा गरेका छन्, त्यसलाई नै समग्र नेपाली समालोचना परम्पराका आरम्भिक विन्दुका रुपमा लिने गरिएको छ ।

त्यस्तै उनले सर्वप्रथम कविहरुको मण्डली बनाए अथवा सर्वप्रथम साहित्यको विकासका लागि सामूहिक प्रयासको आरम्भ गरे । यसरी नेपाली साहित्यमा संस्थागत विकासको आरम्भ पनि मोतीरामबाटै भएको देखिन्छ । उनको मण्डलीलाई मोती मण्डली भन्ने चलन छ । हुन त १९३८ सालमा मोतीराम तत्कालीन समयका चर्चित हिन्दी कवि भारतेन्द्र हरिश्चन्द्रसँग सम्पर्कमा आइसकेका र उनकै प्रेरणाले साहित्यमा लागेको चर्चा भएको छ । तर पनि उनले मोती मण्डली १९४४ सालमा आएर मात्रै बनाएको देखिन्छ ।

मोती मण्डलीको स्थापनाअघि उनले गजल लेखेको कुनै प्रमाण पनि फेला परेको देखिदैन । हुन त अहिलेसम्म १९४० देखि नेपाली साहित्यको माध्यमिक काल आरम्भ भएको मानिएकाले १९४० लाई नै नेपाली गजलको आरम्भ समय मानिदै आइएको छ । तर तथ्यहरुले भने १९४४ अघि पु¥याउन नसकेकाले नेपाली गजलको सूत्रपात पनि १९४४ पछि नै भएको बताउँछन् ।

माध्यमिक कालका गजलहरुको संयुक्त संग्रहका रुपमा देखिएको ‘संगीत चन्द्रोदय’ गजलहरुको रचनाकाल १९४५ देखि १९५५ भएको कुरा हरिभक्त नवपानीयले आफ्नो पिएचडी शोधपत्रमा उल्लेख गरेका छन् । जेहोस्, मोतीरामबारे नेपाली भाषामा गजल लेखनको आरम्भ भएकोमा भने कसैको विमति छैन । यद्यपि नेपाली साहित्यको इतिहास (माध्यमिक काल)का लेखक शरदचन्द्र शर्मा भट्टराईले भने मोतीरामपूर्व पनि नेपाली गजल लेखिएको हुनसक्ने तर्क गरेका छन् ।

यहाँसम्म आइपुग्दा नेपाली संगीतको इतिहासले एक सय वर्ष पूरा गरेको छ । रेडियो नेपालको स्थापना २००७ सालमा मात्रै भएको हो । त्यसअघि मात्रै होइन रेडियोको स्थापनापछि पनि नेपाली गीत–संगीतको रेकर्ड गर्न नेपाली कलाकारहरुलाई भारतको कलकत्ता पुग्नुपथ्र्यो । मोतीराम भट्ट लिखित गजल ‘यता हे¥यो यतै नजर्मा राम प्यारा छन्’ भन्ने रचना नै नेपाली भाषामा रेकर्ड भएको पहिलो रचना मानिन्छ । यो रचनामा संगीत र स्वर दुबै त्यस समयका लोकप्रिय कलाकार सेतुरामको रहेको छ । यसको रेकर्ड १९६५ मा भएको मानिन्छ । यसबाट नेपालीमा संगीतको आरम्भमा पनि गजलको भूमिका हुनु एउटा मिठो संयोग मान्नुपर्छ । यस सन्दर्भमा पनि मोतीरामले एउटा कीर्तिमान नै स्थापित गरेका छन् ।

मोतीरामले सामूहिकरुपले साहित्यिक गतिविधि अगाडि बढाए । त्यसअघिको साहित्य प्रकाशनमा आउन सकेको थिएन । उनले नै वनारसबाट प्रेस लिएर नेपाली साहित्यलाई मुद्रण युगमा प्रवेश गराए । साथसाथै आफ्नो साहित्यिक मण्डलीका माध्यमबाट समस्यापूर्ति कविता परम्परा पनि बसाले । उनले वनारसमा अध्ययन गर्दा हिन्दी कविता क्षेत्रमा समस्यापूर्ति कविता परम्परा निकै लोकप्रिय थियो । यद्यपि त्यो परम्परा पनि उनीहरुले संस्कृत काव्यपरम्पराबाट सिकेका थिए । पछि नेपाल फर्किएपछि उनले त्यसलाई नेपालीमा पनि भित्र्याए । उनले कवितामा मात्रै होइन गजलमा पनि यसलाई स्थान दिएको भेटिन्छ ।

मोतीराम भट्टले नेपालीमा पनि काव्य र नाटकहरु प्रशस्त लेखेका छन् । अनुवाद नाटकहरुमा पनि मौलिकताका प्रशस्त छटाहरु रहेका छन् । उर्दूमा पनि उनले नाटक लेखेको पाइन्छ । शकुन्तला र प्रियदर्शिका नाटक अनि पिकदूत काव्य उनका चर्चित रचना मानिन्छन् । उनका नाटकहरु त्यस समयमा मञ्चन पनि भएका थिए । उनको समयमा राणाशासन थियो । राणाहरुले उर्दू–फारसी नाटकहरु हेर्थे । उतैबाट संगीतज्ञ, नर्तकी एवं ओस्तादहरु लिएर थिएटरहरु प्रदर्शन गर्थे ।

त्यसबाहेक त्यतिबेला नेपालमा संस्कृत नाटकको पनि प्रचलन थियो । तिनलाई अनुवाद गरिन्थ्यो नेपालीमा तर मोतीरामले नै सर्वप्रथम नेपालीमा नाटक लेखेर मञ्चन गरी तत्कालीन दर्शकहरुलाई नेपाली भाषाप्रति आकर्षित गर्ने काम गरे । मोती मण्डलीको सक्रियतापछि नेपाली भाषा साहित्यले विस्तृत मैदान प्राप्त गरेको हो । त्यसअघि त सबै रचना पाण्डुलिपिमै थन्किएका थिए । साथै साहित्य साधना भनेको नै एकल एकान्त साधना थियो, अरु गतिविधि पनि शून्यप्रायः थियो ।

मोतीरामको परम्परा उनको देहावसानपछि पनि निरन्तर चल्यो– शम्भुप्रसाद ढुंगेलदेखि भीमनिधि तिवारी प्रवृत्ति लेखकहरुले पछि–पछिसम्म त्यसलाई आफ्नै प्रकारले निरन्तरता प्रदान गरे ।

मोतीरामले अनुवादको परम्परालाई पनि अगाडि बढाएको पाइन्छ । उनले अनुवादको नाममा भाषानुवाद मात्रै गरेका छैनन्, तिनमा आफ्ना मौलिक र सिर्जनात्मक छाप पनि छाडेका छन् । उनले संस्कृतबाट नेपालीमा अनुवाद गरेका नाटक र तिनको मूल संस्कृत कृति अध्ययन गर्दा यो स्पष्ट हुन्छ ।

उनका जीवनी लेखक नरदेव पाण्डेका अनुसार १९४९, ५०, ५१ र ५२ मा पढाइको सिलसिलामा मोतीराम भट्टको कलकत्ता जाने आउने क्रम चलिरह्यो । यसै सिलसिलामा १९५२ सालको अन्त्यतिर कलकत्तामा बिरामी भई काठमाण्डौं फर्केको सात महिनासम्म ओछ्यान परेर उनको निधन भएको हो ।

तीस वर्षकै उमेर भन्नु केही पनि होइन । आजभोलि त विश्वविद्यालयको पढाइ सकिदा नसकिदै धेरै युवाहरुको यो उमेर सकिएर जान्छ । तर त्यति उमेर बाँचेर पनि मोतीराम भट्टले नेपाली भाषा–साहित्यका क्षेत्रमा जुन योगदान गरेका छन्, त्यो निश्चय नै अतुलनीय छ । नेपाली साहित्यको सिंगो माध्यमिक कालको पूर्वाद्र्धलाई उनले नै नेतृत्व प्रदान गरेका छन् प्रायः सबै विधामा ।

उनीपछि आउने अन्य माध्यमिककालीन स्रष्टाहरु पनि उनकै पदचिन्ह पछ्याएर अगाडि बढेका देखिन्छन् । बाँचुञ्जेल मात्रै होइन मरेपछि पनि माध्यमिककाललाई उनले नै डो¥याएका छन् । उनी सधैंभरि अनन्त उत्साह, सङ्कल्प र सपना बोकेका युवाहरुका लागि जीउँदा प्रवक्ता बनेर नेपाली मनहरुमा बाँचिरहेका छन् । यसैले पनि मोतीराम मरेर पनि नेपाली भाषा–साहित्यमा अमर छन् र पछि–पछिसम्म अमर नै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्