कविता बिम्बको कला हो

       यज्ञबहादुर डाँगी | 501 Views |   Published Date : 12th November 2014 |

Yagya_bdr_dangiयज्ञबहादुर डाँगी प्रगतिवादी नेपाली कविता लेखनका क्षेत्रमा स्थापित नाम हो । प्रगतिशील लेखक संघका केन्द्रीय सदस्यसमेत रहेका कवि डाँगी अन्य थुप्रै साहित्यिक संघ संस्थामा समेत आबद्ध छन् । दाङ घोराही–८ बनगाउँ निबासी डाँगीका तिम्रो हत्यापछि कविता संग्रह प्रकाशित छ भने अर्को कविता संग्रह प्रकाशनको तयारीमा रहेको छ । झण्डै तीन दशकदेखि कविता लेखनमा क्रियाशील कवि डाँगीसँग डिल्ली मल्लले कविता लेखन र अनुभवबारे संक्षिप्त कुराकानी गरेका छन् ।

के गर्दै हुनुहुन्छ आजभोलि ?

खास नयाँ केही छैन । एउटा कविता संग्रह निकाल्ने सोच हो । त्यसको तयारी गरिरहेको छु ।

कहिलेसम्म आउँछ त नयाँ कविता संग्रह ?

छिट्टै आउँछ । काम भइरहेको छ ।

तपाईंले पहिलो कविता संग्रह प्रकाशन गरेको पनि डेढ दशक बितिसक्यो, कविता हुँदाहुँदै पनि पुस्तक प्रकाशनमा ढिलासुस्ती किन गर्नुहुन्छ नि ?

पुस्तक प्रकाशन चाँडो नहुनुमा एउटा त आर्थिक पक्ष पनि हो । अर्को कारण म आफै ढिलासुस्ती नै छु । अब चाहिं ढिला गर्नुहुँदैन भन्ने लागेको छ ।

तपाईं कविता किन लेख्नुहुन्छ ?

जीवनलाई दह्रो रुपमा बुझ्नका लागि ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईंलाई के लाग्छ ?

विधागत हिसाबले त शक्तिशाली उपन्यास नै हो । तर, कविता पनि कम शक्तिशाली हुँदैन । मैले त्यस्तै बुझेको छु ।

कविता नै किन रोज्नुभयो ?

विद्यालयमा पढ्दाखेरि रहरले कविता लेखियो । जब मैले कवितालाई राम्रोसँग बुझ्न पाएँ, त्यसपछि मलाई कविता विधा साह्रै मन पर्छ । अहिले म अलि धेरै कविता नै पढ्छु र लेख्ने पनि कविता नै लेख्छु । आख्यानतर्फ मेरो कलम नै गएन ।

कवि र कविता अर्थात् स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?

यो चाहिं शब्द र कर्मसँग सम्बन्धित कुरा हो । कविता लेख्दाखेरि एउटा धारबाट लेख्ने तर जीवनशैली भने अर्कै धार बनाउने मलाई मन पर्दैन त्यस्तो कुरो । कवि र कविताको बीचमा गहिरो सम्बन्ध हुन्छ नै । तर कसै कसैमा त्यस्तो पाइदैन । कतिपयले कविता लेख्ने एउटा, जीवनशैली अर्कै खालको पनि पाइएको छ । त्यस्तो गर्नुहुँदैन ।

साहित्यिक लेखनमा लागेर जीवनमा के पाए जस्तो लाग्छ अनि के गुमाएँ जस्तो लाग्छ नि ?

साहित्यिक क्षेत्रमा लागेर मैले केही गुमाएको छैन । मैले कविता लेखिरहेको छु र मेरा कविताहरु धेरै पाठकले मन पराइदिनुभएको छ जस्तो लाग्छ मलाई । कविता पढ्दै नपढ्ने मान्छेहरुले तपाईंका कविता पढेर अरुका कविताहरु पनि पढ्न मन लाग्यो भनेका छन् मसँग ।

कविताका पाठक कविहरु नै हुन्छन् धेरैजसो । तर मेरा कविता पढेका धेरै अरु पाठकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । यसले पनि मलाई लाग्छ, कविता लेखेर मैले केही गुमाएको छैन, बरु केही भए पनि पाठक कमाएको छु ।

कविता लेखनका लागि तपाईंलाई के कारणले प्रेरित ग¥यो ?

सानो छँदा विद्यालयमा हुने नियमित अतिरिक्त क्रियाकलापले रहरै रहरमा कविता लेख्न थालियो । त्यो लेखाइ पनि प्रेरणा हुँदोरहेछ । बीचमा म अलि हराएको थिएँ लेखनी क्षेत्रबाट ।

हैन है, तपाईंका कविताहरु राम्रा हुन्छन्, तपाईंले लेख्न छोड्नुहुन्न भनेर अमर गिरीले मलाई धेरै हौसला दिनुभयो । हामी सँगै पढ्थ्यौं, पछि सँगै पढायौं पनि । उहाँले मलाई बारबार लेख्नैपर्छ भनेर चुप्प लागेर बस्नै दिनुभएन । उहाँको त्यो प्रेसरले मलाई धेरै सहयोग ग¥यो ।

तपाईंका कवितामा धेरै बिम्बहरु पाइन्छन्, कवितामा बिम्बको प्रयोग किन आवश्यक छ ?

कविता भनेकै बिम्बको कला हो । जुन चीजलाई नाङ्गो रुपमा भन्दाखेरि त्यति प्रभावकारी हुँदैन, त्यसलाई बिम्बको माध्यमबाट सरल रुपले बुझाउन सकिन्छ ।

कवितामा विचारलाई जस्ताको तस्तै राख्नुहुँदैन । जस्तो, खाली टेबुल छ भने राम्रो देखिदैन, त्यसमा टेबुलपोस बिछ्याएपछि त्यो राम्रो देखिन्छ । ठीक त्यस्तै, विचारमा पनि बिम्बले टेबुलपोसको काम गरेको हुनुपर्छ भन्ने मान्यता हो मेरो ।

विचार, राजनीति र कलासाहित्यको अन्तरसम्बन्धबारे तपाईंको बुझाई के हो ?

विचार, राजनीति र कला हेर्दाखेरि भिन्दाभिन्दै देखिए पनि यिनको बीचमा गहिरो सम्बन्ध छ । राजनीतिले गर्ने काम बेग्लै होला, कलाले गर्ने काम बेग्लै छ ।

कलाले राजनीतिलाई डो¥याउन सक्दैन भने राजनीतिले कलाले गरेजस्तो काम गर्न सक्दैन । समाजमा राजनीति र कलाले पार्ने प्रभाव बेग्लाबेग्लै भए पनि यी दुबै एउटै ठाउँमा हुन्छन् ।

कविता लेखनका लागि नवप्रतिभाहरुलाई के टिप्स दिनुहुन्छ ?

कविता वा अरु कुनै लेखनमा कसैले यसरी लेख् उसरी लेख् भनेर भन्दैमा नयाँ प्रतिभाहरुको विकास हुँदैन । त्यसरी विकास भएको मैले कसैलाई देखेको छैन ।

कविता लेखन स्वतस्फूर्त आफैले प्रयास गर्ने कुरा हो । हुनसक्छ केही चीजमा अरुको निर्देशनले पनि फाइदा गर्ला । तर, नयाँ प्रतिभाहरुले धेरै पढ्न जरुरी छ । कविताहरु नपढेर कविताको भाषा जानिदैन ।

कविताको भाषा भनेको बोलचालको भाषा होइन । बोलचालको भाषालाई नमारेर कविताको भाषा विकास हुँदैन ।

कविताको भाषालाई विकास गर्नको लागि राम्रा–राम्रा कविका कविताहरु पढ्नुपर्छ । र, राम्रो लागेका कविताका पङ्तिहरु आफ्नो डायरीमा टिप्ने, बारबार पढ्ने, त्यसमा प्रयोग भएका बिम्ब र प्रतीकहरुको गहिरो अध्ययन गर्ने ।

अनि त्यही कविताको शैलीमा अछुतो बिम्ब र प्रतीकहरुको खोजी गर्ने प्रयास गर्नुपर्दछ । अछुतो भन्नुको मतलब कसैले नछोएका बिम्ब र प्रतीकहरु खोज्ने र कवितामा राख्दै जाने हो भने कवितामा विकास गर्न सकिन्छ जस्तो लाग्छ ।

तर त्यसका लागि एउटै शर्त छ– निरन्तर साधना ।

Yagya_bdr_Dangi 1तपाईंको कविता लेखनको प्रक्रिया के हो नि ?

कविता दुई किसिमबाट लेखिन्छ । एउटा, प्रयास र अर्को अनायास ।

कहिलेकाहीं कविता त्यत्तिकै आउँछ । प्रयास गर्दै नगरे पनि कहिलेकाहीं कविता आउँछ, त्यसलाई म अनायास भन्छु । कहिलेकाहीं भने जबर्जस्ती पनि लेख्नुपर्ने हुँदोरहेछ ।

तर मेरो अनुभवमा जबर्जस्ती लेखिएको कविताचाहिँ अनायास आएको कविता जस्तो मीठो हुन सक्दोरहेनछ ।

प्रयासबाट लेखिएका कविताहरुलाई धेरै मात्रामा सच्याउने, पुनर्लेखन गर्नुपर्ने हुन्छ । तर कहिलेकाहीं आफसेआफ आएको कविताचाहिँ धेरै सच्याउनु पर्दैन ।

मेरो आफ्नो कविता लेखनको अनुभव हो यो ।

जीवन के हो ?

जीवन नै कविता हो, कविता नै जीवन हो ।

मलाई त्यस्तै लाग्छ । किनभने कविता पनि संघर्षमय छ, जीवन पनि संघर्षमय छ । एउटा फूललाई पनि मैले कविता जस्तै मान्छु ।

एउटा विरुवामा फूल फुल्न वातावरणदेखि थुप्रै अप्ठ्याराहरुसँग संघर्ष गर्नुपर्छ ।

त्यस्तै, एउटा जीवनको कविता पनि जीवनको फूल हो । र, जीवनलाई मैले निरासाको कोणबाट हेर्दिनँ । जीवनले कहिल्यै हार्दैन । यो संघर्षमय छ ।

कविताले पनि हार्दैन, जीवनले पनि हार्दैन ।

प्रतिक्रिया दिनुहोस्