आज सरको क्लास लिन्छ विद्यार्थी

       विनोद विक्रम केसी | 401 Views |   Published Date : 12th November 2014 |

Binod_bikram_kcबेञ्चमै बसिराख्नुस्, उभिनुपर्दैन
खोल्नुपर्दैन किताब
बुझाउनुपर्दैन होमवर्क
बनाउँदिनँ तपाईंलाई मुर्गा म
गराउँदिनँ उठ्बस्

बस्, आज म तपाईंको क्लास लिन्छु सर

सोध्दिनँ म वाहियात प्रश्नहरू
कसले ग¥यो आधुनिक नेपालको एकीकरण ?
पहिलोचोटि कसले फत्ते ग¥यो सगरमाथा ?
कसरी भयो श्री ३ जङ्गबहादुरको उदय ?
पाइथागोरसको साध्यले के भन्छ ?
जलस्रोतमा कतिऔं धनी मुलुक हो नेपाल ?
हाइड्रोजन र अक्सिजन मिलेर के बन्छ ?
बुद्धलाई किन भनिन्छ एसियाको प्रकाश ?
ह्वाट डू यू वान्ट टू बी इन द फ्युचर ?

गर्दिनँ म यस्ता अर्थ न बर्थका सवालहरू
तर बताउनेछु तपाईंलाई मेरा आफ्ना…
नितान्त आफ्ना केही कुरा
ध्यान दिएर सुन्नुहोला सर
(यो स्कुलको इतिहासमा
आज केही अनौठो भइरहेको छ)

भारी बोक्दाबोक्दै रगत छादेर बितेका थिए मेरा बा
र, तपाईं मलाई घोकाइरहनुभएको छ
कालिजको हाड अड्किएर श्री ३ के जातिको मृत्यु भयो

आङ खसेकी मेरी आमा
हरेक दिन भीर–बेसी गरिरहेकी छिन्
र, तपाईं मलाई रटाइरहनुभएको छ
महारानी के जाति राजपाठमा खोइ कुन्नि के नमिलेर काशी गइन्

मेरा साना भाइबहिनी बुढी औंला चुसिरहेछन्
मरुभूमि पल्टिएका तिनका आँखामा
म दुःखका ऊँटहरू लस्करै हिडिरहेको देख्छु
र, तपाईं मलाई कण्ठ गराइरहनुभएको छ
इन्द्रेनी पर्दा नाच्ने मुजुरका गीतहरू

बहिष्कार गर्छु तपाईंका कक्षाहरू

जबसम्म यो कक्षाकोठामा प्रवेश गर्ने छैनन्
बाढीले खाने खेत र पहिरोले लाने बारीको ज्यामिति
झुपडीको अर्थशास्त्र
दुःखको समाजशास्त्र
पीडाको वास्तुशास्त्र
आँशुको रसायनशास्त्र

तबसम्म म बहिष्कार गर्छु तपाईंका कक्षाहरू

चूक घोप्टिएजस्तो अँध्यारो जिन्दगीमा
तपाईंको शिक्षा
जूनकीरीले पिँधमा बोक्ने
लुसिफेरिन जति पनि उज्यालो नभएपछि
मलाई
अपठित या अशिक्षित या औंठाछाप नै रहनुमा
आपत्ति छैन
दुःख छैन
पछुतो त झन् छँदै छैन

ल अब घर जानुस् सर
क्लास सकियो
सदाका निम्ति ।
०००

प्रतिक्रिया दिनुहोस्