कविता : जीवन सङ्घर्षको एउटा मोर्चा

       प्रमोद | 631 Views |   Published Date : 5th November 2015 |

प्रमोद

यदि कविताभित्र सच्चाई मुखरित भएको छैन भने त्यो सुन्दर कविता हुन सक्दैन । अन्तर्वस्तुलाई उपेक्षा गरेर छुट्टै सुन्दर कविताको खोजी गर्नु कागजको फूलमा सुगन्धको खोजी गर्नुजस्तै हो । फेरि सच्चाई पनि सापेक्ष नै हुन्छ । सबैको निम्ति एउटै कुरा सच्चाई हुन सक्दैन ।

कविता अलि विशिष्ट विधा हो । यो कथा–आख्यान विधाजस्तो फराकिलो हुँदैन । त्यसैले अहिले भन्ने गरिएजस्तो यतिखेर आख्यानको बजार छ या कविताको छैन भन्नेजस्ता कुराको पछि लाग्नुपर्ने जरुरी किन छैन भने यी दुवै विधा आ–आफ्नो ठाउँमा सर्वकालिक विधा हुन् । दुवै लोकप्रिय छन् ।

जहाँसम्म बजारको कुरा छ, कमसललाई उम्दा र उम्दालाई कमसल बनाएर पेस गर्ने पनि बजारले नै हो । बजारले अधिकतम स्थापित गर्ने भनेको मास कल्चरलाई हो । मास कल्चरको अर्थ जनहितकारी संस्कृति नभएर झुण्ड संस्कृति हो । यस्तो संस्कृति जो हित अहितको आधारमा होइन सस्तो लोकप्रियताको आधारमा स्थापित हुन्छ ।

बिकाउ साहित्यकै कुरा गर्ने हो भने कुनै बेला सुवास घिसिङले लेखेको ‘निलो चोली’ खुबै बिकाउ थियो । त्यसको लोकप्रियतालाई के भन्ने ? अहिले त्यसको अस्तित्व कहाँनेर छ ? त्यसकै नयाँ संस्करणको रुपमा राजेन्द्र थापाको ‘खेलौना’ आयो । केही समय त्यसले पनि बजार ततायो । खै त्यसले साहित्यिक र मानवीय मूल्यमा दिएको नयाँ योगदान के हो ? तसर्थ क्षणिक बिकाउका आधारमा कुनै पनि साहित्यिक कृति मूल्यवान् हुन सक्दैनन् ।

फेरि पनि यहाँ चर्चा गर्न खोजिएको विधा कविताकै गरौं । आज कविता पनि कम लेखिएको छैन । एक त यो थोरै शब्दमा धेरै अर्थ दिनुपर्ने विधा हो । अलि विशिष्ट प्रकृतिको विधा । त्यसमा पनि धेरैले लहडबाजीकै भरमा यसको मूल्यभन्दा धेरै कम आँकेर पनि लेख्ने गरेकाले समस्या सृजना भएको हो । कवितामाथि अकविता हावी हुन थालेपछि समस्या त आउँछ नै । कम्तिमा कविता लेख्नेहरुले औसत स्तरभन्दा तलका कविताहरु नछाप्ने कुराले मात्र पनि कविता लेखनमा धेरै सुधार हुनसक्छ ।

तर कविता सिद्धान्तको बारेमा आधारभूत बुझाई वा सामान्य परिष्कारको अभावमै सङ्ग्रहहरु आउन थाल्छन् । यसले गर्दा आम पाठकहरुमा कविता भनेकै यस्तै हुन् भन्ने भ्रम पनि सिर्जना भएको छ । तसर्थ यतिखेर पनि कविता विरोधीहरु भन्दा कविहरु नै असल कविताका बेैरी साबित भएका छन् । पंक्ति छोट्याएर कविताको रुप दिन खोज्दैमा कविता हुने होइन ।

कविताको निम्ति मूलतः दुई कुराको अनिवार्य आवश्यकता पर्छ । त्यो भनेको एउटा विधाचेतना । अर्थात् कविता बन्नलाई आधारभूत भाषिक उपकरणहरु र तिनको संयोजन । जुन शिल्प पक्षभित्र आउने कुरा हो । त्यो निरन्तर साधना र योजनाबद्ध प्रयासबाट विकास हुन्छ । अर्को हो कथ्य वा अन्तर्वस्तु । कविताले दिन खोजेको वा भन्न खोजेको कुरा । जुन कविको जीवन जगतप्रतिको बुझाई, अध्ययन र निरीक्षणसँग सम्बन्धित कुरा हो ।

अन्तर्वस्तुको कुरा गर्दा वर्तमानमा जीवनशील र मरणशील, सुन्दर र कुरुप दुवै पक्षहरुको उपस्थिति र संघर्ष चलिरहेको हुन्छ । कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निरपेक्ष हुन सक्दैन । न त सुन्दरताको परिभाषा नै निरपेक्ष हुन्छ । जस्तो कि वर्तमानका कुरुपताहरु, निरासाजनक वा विरोधाभाषपूर्ण कुराहरु कवितामा चित्रण हुनु निरास हुनु वा बनाउनु होइन । सवाल त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने हो ।

समाज रुपान्तरणमा मानवचेतनाको सचेतन प्रयत्नमा विश्वास गर्ने अर्थात् त्यो दर्शनलाई अंगाल्ने कविले त्यसप्रति घृणा, संघर्ष, प्रतिरोध गर्न प्रेरित गर्छ भने अर्को कविले त्यही कुरालाई भाग्यवादी भएर पेश गर्न सक्छ । अतः कवितासँग कविको दृष्टिकोण पनि अनिवार्य जोडिएर आउँछ । अन्तर्वस्तुको चयन र प्रस्तुति उसको जीवन र जगतप्रतिको दृष्टिकोणसँग जोडिएर आउँछन् । अन्तर्वस्तुलाई उपेक्षा गरिएको कवितामा बिम्बहरुको जुलुस हुनसक्छ, त्यो लोभलाग्दो आकर्षक पनि देखिनसक्छ । तर, मेरुदण्डबिनाको मासुको थुप्रोजस्तै हुन्छ । यसको अर्थ कविता विचारको सोझो प्रक्षेपण वा सपाट वर्णन पनि होइन । दृष्टिकोण स्पष्ट हुँदाहुँदै पनि अन्तर्वस्तुलाई कवितामा ढाल्नको लागि साधनाको आवश्यकता पर्दछ ।

मेरै पनि लामो समयदेखिको बुझाई के थियो भने साहित्य कुनै फुर्सदको समयको उपज हो । स्वतःस्फूर्त रुपमा जे फुर्दछ त्यही साहित्य हो । अहिले आएर महसुस हुँदैछ, साहित्य लेखनजत्तिको जिम्मेवार मुद्दा सायद अर्को छैन । कविताको हकमा पनि त्यही कुरा लागू हुन्छ । किनकि कैयन् यस्ता सवालहरु छन् जसमा हामी सहभागी भइरहँदा धेरै मानिसहरुलाई ध्यान दिनुपर्दैन । आफ्नो मात्र रुचि, खुशी, सन्तुष्टि र वर्तमानलाई मात्र ध्यान दिए पुग्छ । तर लेखनको सवालमा त विगतदेखि वर्तमान अनि भविष्यलाई पनि ध्यान दिनु पर्दोरहेछ । त्यतिमात्र होइन एउटा ठूलो जमात, जो हाम्रो पाठक हो त्यससँग पनि सुक्ष्म सम्वाद गर्नु पर्दोरहेछ ।

एउटा असल कवि र असल कविताको बीचमा धेरै ठूलो सम्बन्ध हुने गर्छ । तपाईंको विचार सुन्दर र सफा नभइकनै सुन्दर कविता लेख्न सक्नुहुन्छ, यो विश्वास गर्न गाह्रो कुरा हो । त्यतिमात्र होइन तपाईंको विचार सुन्दर र सफा छ, त्यसैले सुन्दर कविता लेख्न सक्नुहुन्छ यो पनि होइन । यी दुबै सम्बन्धित कुरा त अनिवार्य हुन्, तर फरक कुरा पनि छन् । सुन्दर र न्यायपूर्ण विचार कविमा हुँदाहुँदै पनि कविताको मोर्चामा राम्रोसँग ऊ भिडेको नहुन सक्छ । जब हामी कविताको मोर्चामा राम्रोसँग भिड्दैनौं, हाम्रो कवितामा सुन्दर विचार हुँदाहुँदै पनि त्यो कलात्मकताको हिसाबले कमजोर हुनु स्वभाविक छ । त्यसैगरी हामीसँग कविता लेख्ने ढङ्ग राम्रो हुनसक्छ तर विचार पक्ष कमजोर हुनसक्छ त्यतिखेर पनि कविता कमजोर हुनु स्वाभाविक नै छ । यी दुई कमीहरुलाई पूरा गरेर एउटा जीवित कविता जन्माउनको लागि एउटा कवि दुबै मोर्चाहरुमा भिडेर सफल हुनु अनिवार्य सर्त हो । विचार अनि कला दुबै क्षेत्रमा असफल कविताहरु कविताका सबैभन्दा ठूला दुश्मन हुन् भन्दा पनि हुन्छ ।

आज पनि कविताको मूल्य बजारभन्दा धेरै माथि छ । तमाम खालका यथास्थितिवादी झूठ, पाखण्ड र जनविरोधी रवैयाहरुको विरुद्धमा उभिने एउटा प्रतिरोधको हतियार हो कविता । जुन कविताहरु सफल छन् ती कविताहरु कुनै समयमा कति बिके भन्ने आधारमा होइन गुणवत्ताको आधारमा उत्कृष्ट ठहरिएका छन् । अहिलेको मापदण्ड पनि त्यही हो र हुनुपर्छ । मुनामदनको महत्व हिजो जति थियो आज पनि त्यत्तिकै छ । गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि सेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’को सार्थकता अहिले पनि त्यत्तिकै छ । विमल निभाको ‘आगोनेर उभिएको मानिस’, ‘बाहुला नभएको बुसर्ट’ आहुतिको ‘तपश्वीका गीतहरु’, कृष्ण सेन ‘इच्छुक’को ‘शोकाञ्जली’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रागिरि’, अमर गिरीका ‘घाम छेक्ने पहाड’, ‘दुःसाध्य समय’, यज्ञबहादुर डाँगीको ‘तिम्रो हत्यापछि’, श्यामलको ‘हतारमा यात्रा’ त्यसैगरी नयाँ पुस्ताका कविहरु केशव सिलवालको ‘धारिला मानिसहरु’, ‘वर्जित अवशेष’, सरिता तिवारीको ‘अस्तित्वको घोषणापत्र’, संगीतस्रोताको ‘म काठमाडौं आइपुगें, विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल’ लगायतका अरु पनि धेरै राम्रा कविताकृतिहरु पढ्न जरुरी छ र तिनमा निहित कथ्य र शिल्पको अध्ययन गर्नुपर्छ । त्यसरी मात्र हामी यस क्षेत्रमा अगाडि बढ्न चाहनेहरुले आफ्नो लेखनलाई परिमार्जन गर्न र आफ्नो शैली निर्माण गर्न सहयोग पु¥याउँछ ।

धेरै सफल लेखकहरुको एउटा अनुभव के रहेको छ भने उनीहरु जति लेख्ने गर्छन्, त्यो भन्दा बढी पढ्ने गर्छन् तर हामीकहाँ लेख्नेहरुमै अध्ययनको ठूलो खडेरी छ । अध्ययनबिना नै लेखनलाई परिमार्जन गर्न र उत्कृष्ट सृजना जन्मिन सम्भव छैन । प्रकाशनपूर्व कविताहरुमाथिका नियमित समीक्षा र छलफलहरु गर्ने, यसका कथ्य र शिल्प विषयहरुमा नै विमर्शहरु सञ्चालन गर्ने कुराले कविता लेखनलाई परिमार्जन गर्न धेरै सहयोग पु¥याउँछ । यस्ता विषयहरुमा नयाँ सर्जकहरु जति गम्भीर हुन सक्छन्, कविता लेखनको मोर्चा त्यति नै बलियो हुन्छ । अन्यथा कविता लेखन धेरैको निम्ति दायित्वको सवाल कम र रहर बढी साबित हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस्