दाङ

       यज्ञबहादुर डाँगी | 472 Views |   Published Date : 12th November 2014 |

Yagya_bdr_dangiकसैले गजब छ भने पनि
कसैले अनौठो छ भने पनि
वास्तवमा
वर्षौंसम्म घाम नपाएको आङ त हो दाङ

तपाईंहरु आफ्नो दाङलाई
कसैले ताप्लेजुङ र झापा
कसैले डोल्पा र रोल्पा
कसैले हुम्ला र जुम्ला
आदि–इत्यादि भनेझैं
हामी हाम्रो दाङलाई दाङ नै भन्छौं
सबै घाम नपाएका आङ त हुन्
जहाँ प्रदेशतिर नदीहरु मात्र होइन
बगिरहेका तमाम कान्छी र कान्छाहरु छन्
र जहाँ दाल होइन
दिलहरु पाकिरहेका भान्सी र भान्साहरु छन्

कसैले प्रजातन्त्र र लोकतन्त्र
कसैले जनवाद र गणतन्त्र भन्ने क्रममा
पटक–पटक आएको चुनावमा
जसले जिते पनि
दाङले हारेकै इतिहास छ
दाङमा

जीवनलाई राम्रोसँग लेख्न नसक्ने खरी–पाटी
र दाङमाथिको परिपाटी बीच
जुन समानता छ
त्यो ऐतिहासिक छ
कहिलेकाहीं राजधानीतिर दुःख डुलाउन गए पनि
दाङमै छ दाङ
रात घटिरहेको छ
या बढिरहेको छ
चाल पाउन
चाल्नुमा चाल्दै
हेरिरहेछु समयतिर
त्यही समयको छातीमा हात राखेर भन्न चाहन्छु
अलि तताउनु छ भने आङलाई
अलि जगाउनु छ भने दाङलाई
जुन बन्दुकले मर्दैन र मर्न सकेन
त्यसकै विकल्पमा उभ्याउनु छ अब दाङलाई

देशको छातीमा
जुन सिंहदरबार छ नि
न हर्ष पलाएको छ दाङको त्यसबाट
न त देखिन्छ दाङ त्यहाँबाट
बरु हेर्नुभयो भने दाङको एक्स–रेमा
देखिन्छ देशकै अस्थिपञ्जर
अनि देखिन्छ कालो दाग छातीको
रोग छ भने यसको छातीकै छ रोग

फेरि जोड दिएर भन्न चाहन्छु
वर्षौंसम्म घाम नपाएको आङ त हो दाङ
आउनुहोस् युवाहरु
आतुर छु म हात मिलाउन
यी हातहरुले नै बदलिन्छ भने बदलिन्छ दाङ
यी हातहरुले नै बदलिन्छ भने बदलिन्छ दाङको अर्थ

भाद्र २०७१, दाङ

प्रतिक्रिया दिनुहोस्