भेरीको तिरैतिर

       वीरेन्द्र शाही | 321 Views |   Published Date : 12th November 2014 |

Birendra_Shahi_1अनुरोधको विचलन । प्लेनको ब्ल्याक टिकट किन्ने सामथ्र्यहीनता । नयाँ भूगोल घुम्ने, त्यहाँको जीवन पढ्ने, अनुभव–अनुभूति बटुल्ने । एउटा रुचि सबुको ।

बाँके, दाङ, सल्यान, रुकुम हुँदै हामी राडी पुग्छौं । अलिपर सानी भेरी छोडेर हामी ठुली भेरको किनारा समात्छौं । खानाका लागि चाउचाउ, चिनी र अन्य सामान बोरामा हालेर खेगनसम्मको बास तय गरेर हिड्छौं ।

साँझको बेला, मनमोहक समय, थकित शरीर पाइलाहरु बिस्तारै चल्छन् भेरीको तिरमा । डोल्पा राजमार्गले बनाएको छ बाटो कठीन ।

पहरो खोपेर बनेको छ बाटो । छोप्छ अज्ञात डरले । सबु यस्तो बाटो कसरी पार गर्लिन् ? हौसला उर्लन्छ उत्साहका लागि ।

पैतला फुत्किए बाँच्ने आशा कमै छ । उनी हात खुट्टा टेकेर घिस्रिन्छिन् उकालोमा पनि । गर्छु म पनि त्यसै । आरामसँग/सुस्तरी हिड्न आग्रह मेरो । उनको पनि आग्रह यस्तै मप्रति ।

सायद उनले जीवनमा पहिलो पटक यति कष्टकर बाटो हिडिन् । मैले सोधिनँ उनलाई । आफ्नो पीडा पोखेर, मलाई पीडा गराउने चाह थिएन क्यारे । बरु कठीन यात्रा गर्न सक्ने जाहेरी उनको ।

भेरी तिरको यात्रा एकप्रकारको रोमाञ्चक थियो । एकप्रकारको कष्टप्रद । यो मेरो तेस्रो र सायद अन्तिम यात्रा थियो । पश्चिमतिर लागेको सूर्यको किरणले हामीलाई लखेटिरहेको थियो बास बस्नका लागि ।

क्रमशः रात पर्दै गयो । उनी आत्तिदै गइन बसाइको लागि । उनका लागि नयाँ यात्रा, नयाँ भूगोल, नयाँ अनुभव थियो यो ।

बास स्थान नजिकै भएको भन्थें म ।

तर पनि उनी आत्तिन्थिन् ।

रात/साँझ तरुन हुँदै थियो । तल एकतमासले भेरी सुसाइरहेको थियो । भेरीको यो सुस्साहटमा कता–कता डर थियो । कता–कता अमिलो पीडा ।

सानो गाउँ । दुई–चार वटा पसल । बास बस्नका लागि एक–दुई वटा होटेल । हामी खगेनकोट आइपुग्यौं ।

खच्चरको कोलाहलसँगै हाम्रो निद्रा भङ्ग हुन्छ । सुरु गर्छौं हिड्न हामी । उकालो, तेस्रो, जङ्गल, छिटपुट बस्ती ।

यस्तै–यस्तै बाटो ।

भेरीलाई छोएर जीवनलाई अनुभूत गर्ने चाहना । उनको अनि मेरो ।

एकटकले हेर्छौं भेरी । भेरी निलो बग्छ । भेरीको उपयोगिता योजना कल्पन्छु म । मानौं उनी योजना आयोगको कर्मचारी हुन् ।

बिहानको भोक भेरीको माछा र रोटीले टार्ने सोच । भेरीको माछाको स्वाद वर्णन्छु म । स्वादहीनता उनीमा । माछा पाउँदैनको आवाज हामी दूध रोटी खाएर भेरीको छेऊतिर लाग्छौं ।

हाम्रो उत्साह, रोचकता, सौन्दर्य, सङ्गीत, गायक–

केवल भेरी ।

पाखामा भेटिन्छन् टाँसिएका बस्ती, खल्वाट डाँडा, चट्टाने भूमि । कतै–कतै पाखामा भेटिन्छन् गाई, बाख्रा भेडा र गोठालाहरु । उनी बिरक्तिन्छिन् पटक–पटक ।

कस्तो बस्ती ! कस्तो देश !

यो कुन जिल्ला हो ? सोधनी उनको ।

झाडापखालाले सताएको जिल्ला– जाजरकोट । चिनाउँछु ठाउँ म ।

ठाउँ–ठाउँमा खच्चरले बाटो अवरोध गर्छन् हाम्रो । डोल्पा बोक्ने (बचाउने) खच्चर दौडन्छन् विकटतामा पनि । खच्चरको ढाडमा बाँचेको बिचरा डोल्पा ।

बस ट्रक देखेकी उनलाई अनौठो लाग्छ खच्चर देख्दा । खच्चरको भारी बोकाइ, उसको दौडाइ, एकटकले हेरिरहन्छिन् बाटाको किनारामा उभिएर उनी । खच्चरको क्याराभास गहनरुपले पढेर उनी भन्छिन्–

‘तेरा देश !’

यतिखेर उनमा पीडा छ– देश भोग्नुको ।

खच्चर हेर्नेको पनि जीवनमा आफ्नै योजना होलान् ।

एउटा अनिष्ट खबर !

सोधपूछ गर्छ आइमाईको हूल । ‘आफ्नै खच्चरले फालेर खच्चरे म¥यो रे ! कतै देख्नु भो ? केही सुन्नु हो ?’

अनभिज्ञता हाम्रो ।

नैराश्य अनुहार हामीबाट छुट्टिए । सायद उनीहरु आफन्तको खोजीमा थिए । मान्छे भएर बाँच्न प्रयासरत खच्चरेहरु । डोल्पालाई बचाउने नाममा हिड्दा हिड्दै कति मरे भेरीको तिरमा ।

आत्माराम पनि यसरी नै बेपत्ता भएथ्यो । कति आत्मारामहरु आफ्नो आत्मा हराउँछन् भेरीको तिरमा ।

आफूलाई जोखिम मोलेर अरुलाई बचाउन खोज्ने खच्चरेहरु यो कष्टकर बाटोमा कति चिन्तन गर्छन् होला ?

हिडाइको तीव्र चाप सबुको खुट्टामा पीडा ओर्लन्छ ।

बादलको लहरले आकाश छोपेपछि वर्षन्छ पानी बिस्तारै । भूइँ कुहिरो डाँडाबाट ओर्लन्छ बस्तीहरु छोप्दै ।

हामी रुझेका छौं अलि–अलि । अनुभूति छ चिसोको पनि । हामी खाना खान चौकाको होटेलमा पस्छौं ।

यहाँ भने पाइयो माछा । उनले जीवनमा पहिलो पटक खाएको माछाको स्वाद भने नमीठो भयो ।

मेरो वर्णनातीत स्वाद उनले त्यसमा भेटिनन् ।

खाना खाइवरी पानी पराइको विश्रान्तिमा हामीले होटेलमा विश्राम लियौं । मौसम चिसिदै गयो । माथि डाँडामा हिउँ झर्न थाल्यो । काला डाँडा सेता हुँदै गए ।

उनलाई हिमपातले रोमाञ्चित बनाउँदै थियो । उनले पहिलो पटक हिमपात देखिन् । हिमपात बढ्दै गएमा साँझसम्म हाम्रो बस्तीसम्म हिउँ आउने निश्चित थियो । यो क्रम झण्डै तीन घण्टापछि रोकियो र हामी हिड्न सुरु ग¥यौं ।

उकालो र तेस्रो हिड्न सजिलो भए पनि ओरालो झर्न कठीन हुँदै गयो उनलाई ।

मौसम अत्यन्त चिसो थियो । बाटो चिप्लो थियो । हिडाइको चापले शरीरमा ताप प्रसारण हुन्थ्यो ।

भूइँ कुहिरो ओलिर्दै गरेको दृश्य । मन कता–कता बिथोलिन्थ्यो । सडक खनाइले बीच–बीचमा बाटो अप्ठेरो बन्दै गएको थियो । पानी परेको दिन सडक खन्नेहरु घर फर्कदै गरेको भेटिन्छन् फाटफुट ।

सोधनी मेरो– ‘बाटो कस्तो छ’ को ?

‘तपाइँहरु जान सक्नुहुन्छ’ को प्रत्युत्तर ।

मैले टेकेको पाइलामा सबु खोच्याउँदै टेक्छिन् । अक्करै अक्करको बाटो म उनलाई अगाडि लगाउँदै भन्छु– घारी समातेर सुस्तरी हिड ।

मान्छेको हुल हामीलाई छोडेर बढ्छ अगाडि । हामी ती मान्छेका पैतुला पछ्याउँदै हिड्छौं ।

पैतुला फुस्क्यो कि मान्छे भेरीमा पुग्छ । समात्नलाई, अल्झिनलाई रुख त के बुट्यानसमेत छैन ।

कस्तो अल्छिनको तल्लुको भीर । जीवनमा यस्ता भीर थोरै काटियो होला । भेरीतिर हेर्नै हुँदैन । हे¥यो कि आँखा रिङ्छन् ।

हातखुट्टा टेकेर बाटो काटेपछि काँप्छ शरीर । बाटो सम्झेर ।

पैतुला फुत्केको भए ? अज्ञात डर सल्बलाउँछ । एक रात गणेश र मेरो यही भोगाइ थ्यो– खगनकोट गाउँ पुग्दा ।

हामी तल्लुको बगर पार गर्दै गोतामकोट पुग्यौं । साँझ पर्नुभन्दा पहिले खुट्टामा थकान भरिन्छ । यात्राको सहयात्री भेरीलाई पर छाडेर हामी गोतामकोटमा बास बस्छौं ।

एकाबिहानै, समय चर्केको छ छातीमा । के सुसेल्दै बग्छ भेरी सधैं ? बिहान बिहानै म देख्छु उत्ताउला छाल । उनी देख्छिन् छालहरुमा सुन्दरता ।

आँखा आफ्नै आफ्नै । हेराइ आ–आफ्नै ।

हिउँका जलप लागेका पहाड । हामी दर्शक छौं यतिखेर गजब छ प्रकृतिको रचना । नाङ्गा पहाड, डरलाग्दा पहरा ती पहाडको चेपबाट चेपिदै बग्छ नदी । पखेरामा चेप्टिएका छन् घरहरु ।

यात्रा विपरित धारमा उसको र हाम्रो ।

कतै सुस्त । कतै हतार । कतै सुखद । कतै टकराव । उसको यात्रा । एवम् रीत हाम्रो पनि ।

उकालोको खच्चरझैं कठीन छ यात्रा गर्न सबुलाई । म उनको सामान बोक्छु ठाउँ–ठाउँमा ।

हिमप्रदेशीय समस्या ।

बास, गास, वातावरण र भूगोलको ।

हामी नास्ता गरेर अगाडि बढ्छौं । उनी पटक–पटक दोह¥याउँछिन् । देश यस्तो छ भनेर कहिल्यै सोचिनँ । सोचभन्दा बाहिरको देशमा हामी हिडिरहेछौं ।

अब उनी खोच्याउन शुरु गर्छिन् । शरीरले साथ नदिएमा यात्रा कष्टकर बन्छ । हामी बिस्तारै मनकाबगर आइपुग्छौं । परिचित मान्छेसँग भेट । हामी मुस्किलले भात खान्छौं ।

उनको खच्चरमा सामान ल्याइदिने आग्रह । हामी केही सामान छाडेर हिड्छौं ।

केही सजिलिन्छ यात्रा अब । आज पनि पानी बर्सियो । हामी रुझ्दै हिड्यौं । घोडा, खच्चर, बस्तीहरुलाई छोडेरै हामी त्रिवेणी बजार पुग्यौं ।

रुकुम, जाजरकोट र डोल्पाको सङ्गम केन्द्र त्रिवेणी बजारलाई छोडेर हामी अगाडि बढ्यौं ।

आज दिनभरि फाल्गुन रोयो । पानी बाक्लिएपछि ढुङ्गाको आडमा कुप्रिएर बस्छौं हामी । बस्ती टाढा छ । पानी छल्ने केही छैन । पानी कम नभए आजको रात यही बित्नेछ । साढे तीन भइसक्यो ।

करपगाड पुग्न समय लाग्छ । ढुङ्गामुनिको बसाइँले उनलाई पीडाबोध हुन्छ । सायद उनले इतिहासमा पढेको ढुङ्गे युग भोगिन् क्यारे । मलीन छ अनुहार उनको ।

म उत्साह थप्छु । उनीकहाँ पुग्नु अगावै उत्साह सेलाउँछ चिसोमा । म उनलाई हेर्छु । उनी हातमा बाँधेको घडी हेर्छिन् । हेर्छिन् ढुङ्गा बाहिरको मौसम ।

सूर्य आफ्नो राज्यको समय सक्दै थियो । चन्द्र राज्य गर्ने तयारी गर्दै थियो ।

हामी ढुङ्गामुनि कुप्रिएर पर्खिरहेछौं– पानी थमाइको ।

उनी प्रार्थना गर्छिन् । म प्रार्थना गर्छु ।

आजको राज ढुङ्गामुनि नबितोस् !

बिना प्रतिक्रिया भेरी बगिरहेछ तल । भेरी किनारमा भूँइ कुहिरो ओर्लेपछि उनी झनै मलिन हुँदै गइन् । म उनको अनुहार हेर्छु । उनी रुन सकेकी छैनन् यतिखेर ।

पानी अलि कम भएपछि म हिड्न सुरु गर्छु । उनी चाहिं हिड्नुभन्दा बढी खोच्याउन सुरु गर्छिन् ।

गएको वर्षातको एक रात बौलायो करपगाड । उसले घर, खेत, मान्छे, बाटो केही भनेन ।

सबै बगायो ।

करपगाडको परिणाम बाटो अप्ठ्यारो छ अब । जति उक्लिदै जान्छौं करपगाडको पागलपन देख्दै जान्छौं ।

अब करपगाडलाई पार गरेर छुनु छ डोल्पालाई हामीले ।

करपगाडको छेऊमै हाम्रा खुट्टा रन्थनिन्छन् चिसोले । ठाडो खोला प्रेसर पनि धेरै । हामी बीचमा पुग्न नसकेर फर्कन्छौं र अलि माथि पुगेर पुलबाट पार गर्छौं करपगाडलाई ।

बस्नलाई राम्रो होटेल छैन करपगाडमा ।

हिंड्नलाई ताकत र समय दुबै छैन हामीसँग । बसाइँका लागि सोधपुछ होटेलमा । प्रत्युत्तरमा– ‘ठाउँ छैन !’

हामी पुग्छौं अर्को होटेलमा । होटेल के भनौं घरमा ।

बूढी आमा । कुरा गर्छौं बासको । उनी बोल्दिनन् केही ।

धेरै आग्रह ।

बोली फुट्यो उनको– ‘बसे छ । नबसे छैन ।’

खानभन्दा बस्न आवश्यक थियो हामीलाई । एउटा अँध्यारो कोठा । त्योभन्दा अँध्यारा थिए खाटमाथिका कपडा । मधुरो रुपमा बलेको छ ट्युबलाइट एउटा कुनामा । अहिले पनि भात छिर्ने छाँट छैन । भातभन्दा अण्डा खाएर सुत्ने योजना । मुस्किलले चार वटा अण्डा भेटें । अण्डा मात्र खाने कुरा गर्दै म कोठामा पुगें ।

कोठाबाट पुगेर सुरु भो नेपालगञ्जबाटै बोकेर ल्याएका रोटी खान । अण्डा आयो कतै काँचो कतै जलेको । सबुले खान सकिनन् । भोकले होला मैले खाएँ सबै ।

यो रात हिमाली हावा ओढेर सुत्नु छ । सिरकभित्र (नाममात्रको सिरक) पनि रातभरि नतातेर उज्यालो भयो ।

हामी जुरुक्क उठ्यौं र हिड्यौं ।

हामी चार दिनदेखि भेरीको किनारामा हिडिरहेका छौं । भेरी कतै फिक्का निलो बग्छ । कतै गाढा निलो बग्छ । कतै सेतो बग्छ ।

भौगोलिकतामा एक पछि अर्को थपिन्छ विकटता । उनलाई देश सुन्दरभन्दा बढी कुरुप लाग्छ । बीच बाटाहरुमा भेटिन्छिन् हिम पैराका ढिस्काहरु ।

उनले पहिलो पटक हिउँ स्पर्श गरिन् । जता हे¥यो, सेतामे छन् पाखाहरु ।

बीच–बीचमा भेटिन्छन् पाखुराले पहरा फोरेर सडक बनाउनेहरु । महिलाले ब्याल्चे चलाइरहेको दृश्य उनी हेर्छिन् गौर गरेर । म फोटो कैद गर्छु श्रमशील महिलाहरुको ।

उनी अचम्भिन्छिन् उनीहरुको काम हेरेर ।

फुत्किन्छ शब्द यसपटक– मजबूरीले मान्छेलाई के–के गर्न सिकाउँछ !

शिरबिन्डेमा पुगेर सबैलाई फोनमार्पmत् सम्झदै तातो चाउचाउ खाएर बढ्छन् पाइला अगाडि । हामी अलि अगाडि पुगेर बीस रुपैयाँका दरले खान्छौं मकैका रोटी । साउनी भन्छिन्– ‘यो मकैको पीठो पनि औल्यालले ल्याएका हुन् उतैबाट !’

कस्तो उर्वराहीन ठाउँ ! कस्तो महङ्गी !

आज जुफाल जसरी भए पनि पुग्ने योजना । हिडाइमा थियो तीव्रता । सबुको खुट्टा दुखाइमा पनि थियो तीव्रता !

आइडेक्सले दुखाइ रोक्न सकेन । मैले परैबाट देखाएँ– ऊ त्रिपुरासुन्दरी मन्दिर ।

उनमा अलि–अलि खुशियाली छायो । हामी त्रिपुराकोट हुँदै जुफालको उकालो लाग्यौं ।

जुफालको छेऊमा पुगेपछि हामीले फर्केर हे¥यौं । जहाँबाट हामी पत्रैपत्र परेका पहाडहरु काट्दै आएका थियौं ।

उनले देश भोगाइको अनुभव गरेर फेरि भनिन्–

“तेरा देश !”

उनले सम्झिन् उनले पढेको देश ।

देश त साहित्यमा मात्र सुन्दर रहेछ ।

उनले देखेको देश तस्वीरमा मात्र सुन्दर रहेछ ।

प्रतिक्रिया दिनुहोस्