विभाजित मान्छे

       टंक गौतम | 731 Views |   Published Date : 20th November 2015 |

Tanka_gautam

सम्भावनाहरू भत्किएका छन् । विचारहरू मौन छन् । आकाङ्क्षाहरू भावविह्वल छन् । रहरहरू शोकमा छन् । आदर्शहरू उदास छन् । यो उदासीको युगमा समग्र ‘म’ उदासीन छन् । उदासीनताको पराकाष्टामा संसार रुमल्लिरहेछ र फेरि बाँचिरहेछ मान्छे, मान्छे हुनुको आदर्शभित्र ।

एउटा इतिहासको अन्त्य भएको घोषणा गरिन्छ र अर्को इतिहास दसैँमा घर फर्किएको लाहुरेझैँ नवयुगको पिढींमा खुट्टा टेक्छ उत्साह बोकेर । समयको अन्तरालमा उत्साह उदासीनतामा रूपान्तरण हुन्छ । मान्छे इतिहास भत्काउने सपना देख्न थाल्छ र फेरि भत्किएको इतिहासका टुक्राटाक्रीमा उभिएर फेरि नवयुगको घोषणा गर्छ । यही निरन्तरताको श्रृङ्खलाभित्र समग्र मानव इतिहास कैद भैरहेछ ।

यो युगमा कसैको अनुहारमा गरिबी गन्हाएको सुँघ्न चाहदैनन् मान्छे । यो युगमा कसैको अनुहारमा अभाव विष्फोटित भएको हेर्न चाहँदैनन् मान्छे । यो युगमा कसैको अनुहारमा उदासीनता बाफिएको छाम्न चाहँदैनन् मान्छे । नचाहनुको रहस्यभित्र सुटुक्क एउटा बाध्यता छिरिदिन्छ र कुनै अदृश्य शक्तिले लठ्याएझैँ पछ्याइरहन्छ मान्छे सामयिक युगका असरल्ल बिष्फोटित आकाङ्क्षाहरूलाई । मान्छे ‘म’ हुनुको फ्रेमभित्र कैद हुन चाहन्छ । तर पनि त्यो फ्रेमभित्रको आफ्नो तस्बिर सबैले देख्ने गरि भित्तामा झुण्ड्याइरहन्छ । यहीँनिर त छ विरोधाभाष । मान्छे लुक्न पनि चाहन्छ र देखिन पनि चाहन्छ । ऊ आफ्नो वैयक्तिक एकाधिकार दावा गर्छ र फेरि सामूहिक जीवनको रहरले पनि कुत्कुत्याइरहन्छ । यथार्थ ‘म’ र आदर्श ‘हामी’को सिमारेखामा आफ्नो पहिचानको खोजी गरिरहेछ मान्छे । यद्यपि दिनानुदिन ‘म’तिरकै सिमानामा अतिक्रमण गरिरहेछ मान्छे ।

ए बुद्ध र मोहम्मदहरू ! तिमीले कुन जीवन रोज्यौ र कुन जीवनको पथमा यात्रा ग¥यौ ? अहिले त तिम्रा आदर्शहरूको बिक्री गरेर मान्छे धनाढ्य भइरहेछन् । दिनानुदिन सफलताको सिँढी चढेको भ्रममा बाँचिरहेछन् । एउटा चोर तिमीलाई साक्षी राखेर चोरी गरिरहेछ । एउटा डाँका तिमीलाई साक्षी राखेर डकैती गरिरहेछ । एउटा व्यभिचारी तिमीलाई नै साक्षी राखेर बलात्कार गरिरहेछ– दिदी, बहिनी र आमाहरूको । तिमी त आदर्श समाजकोे सपना बोकेर अवतरित भएका मान्छेहरू, यो बेमौसममा कसरी टुलुटुलु हेरेर बस्न सक्छौ युगमाथिको आक्रमण ?

devoted people 1यो युग विभाजनको युग । यो युग बिच्छेदको युग । यो युग टुटफुटको युग । यो युग प्रत्यावर्तनको युग ।

उस्तै–उस्तैका बीचको विभाजन हास्यास्पद हुँदोरहेछ । उस्तै–उस्तैका बीचको बिच्छेद अनौठो हुँदोरहेछ । यो विचित्रताको दर्शक र भोक्ता दुबै म । म मेरै अबनतिमा व्यङ्ग्य मिसाउँछु, अनि म मेरै उन्नतिमा हाँस्न पनि सक्दिनँ । प्रत्येक ‘म’हरूका बीचमा ९९ प्रतिशत समानता छन्– उही रिस, राग, इष्र्या, क्रोध, भय, बिभत्सता, निद्रा, भोक, प्यास, मैथुन, अस्तित्वको खोजी र आफ्नो आडम्बरपूर्ण उपस्थिति । तर पनि फेरि मान्छे विभाजित छन्, प्रत्येक वर्गमा, प्रत्येक जातिमा, प्रत्येक समूहमा, प्रत्येक विचारमा प्रत्येक सिमानामा ।

यो उस्तैहरूका बीचको विभाजन समयलाई दिएको बाध्यात्मक चुनौती हो । नचाहँदा नचाहँदै मान्छे ममयमाथि धावा बोलिरहेकै थियो, बोलिरहेछ र बोल्नेछ । मात्र एक प्रतिशतको अन्तरले यो युगलाई अव्यवस्थित तुल्याइदिएको छ, बिथोलिदिएको छ र भत्काइदिएको छ । हामी बीचका ९९ प्रतिशत समानतामा आँखा चिम्लेर मान्छे एक प्रतिशत असमानताको ढोल पिट्तै विभाजित भइरहेछ, दिनानुदिन । विभाजन हाम्रो संस्कार भएको छ । विभाजन हाम्रो परम्परा भएको छ । विभाजन हाम्रो संस्कृति भएको छ र विभाजन हाम्रो विशेषता भएको छ ।

एउटै रगत पनि विभाजित भएको छ अहिले । एउटै आँसु र हाँसो पनि विभाजित भएको छ अहिले । एउटै भोक र एउटै प्यास पनि विभाजित भएको छ अहिले । एउटा सन्तानका नसा–नसामा उसका पुर्खाको, अझ उसका बाबुआमाको रगत बगेकै हुन्छ, यो यथार्थ हो । तर त्यो सन्तान तिनै बाबुआमाको अस्तित्व स्वीकार गर्दैन र विभाजनको सिमारेखा कोर्छ । तिनै बाबुआमा आफ्नै रगतमाथि विश्वास गर्दैनन् र विभाजनको सिमारेखा कोर्छन् । एउटा मान्छे टन्न खाएर अघाउँछ र अर्को टुलुटुलु हेरेर बस्छ अर्को मान्छेको अनुहारमा भोक देख्दैन उसले । आफ्नो पीडामा रुन्छ र अरुको पीडामा हाँस्छ मान्छे । त्यहाँ उसले अरुको आँसुमा आफ्नो आँसु देख्दैन । यो नैसर्गिकताकै विभाजन निकै बिभत्स बनेर उभिएको छ अहिले ।

लोक साहित्यमा हामी देख्न सक्छौं आत्मशीलताको भावना । जहाँ निर्जीवमा पनि आत्माको प्रतिस्थापन गरिन्छ । त्यहाँ मान्छेजस्तै ढुङ्गा बोल्छ । त्यहाँ मान्छे जस्तै रुख, बोटबिरुवा रुन्छन्, कराउँछन् । त्यहाँ नदी नाला बाजा बजाउँछन् । त्यहाँ बतास हाँस्छ । त्यहाँ पहाडहरू हिड्छन् । एउटा सम्भावना देखिन्छ त्यहाँ । सायद त्यतिबेला मान्छेमा विभाजन थिएन । उनीहरू आफ्नो भोकमा सबैको भोक देख्थे । उनीहरू अरुको आँसुमा आफ्नो आँसु देख्थे । उनीहरू अरुको खुसीमा आफू पनि मुस्कुराउँथे । सबै रुँदा रुन्थे । सबै हाँस्दा हाँस्थे । सबैले खाँदा खान्थे र सबैले सुत्दा सुत्थे ।

अहिले त त्यो आत्मशीलताको भावना चाउरिदै–चाउरिदै मरिचजस्तै भइसक्यो । मान्छेले आत्मा भनेको आफ्नो आत्मा बुझ्न थाल्यो । हरेक समान अनुभूतिलाई पनि आफूमै सीमित गर्न थाल्यो । संवेदनाहीन बनिरहेछ मान्छे । यद्यपि यसमा पनि उसको विवशता छ । युगले उसलाई थिचिरहेछ, किचिरहेछ र मिचिरहेछ । युग अनुकूल बाँच्दै छ ऊ ।

अचेल त मोहम्मद मस्जिदमा उभिएर मन्दिरलाई लात्ती उज्याउँछन् । ब्रह्मा मन्दिरको छेउबाट मस्जिदलाई थुक्छन् । बुद्ध स्तूपमा उभिएर चर्चमा आगो लगाउने सपना देख्छन् । क्राइस्ट चर्चबाट स्तूपमा बम बिस्फोट गराउने सपना देख्छन् । ए मोहम्मदहरू ! कुन कुरानमा तिमीले विभाजनको अध्याय राखेका छौ ? ए ब्रह्माहरू ! कुन वेद र उपनिषद्मा तिमीले विभाजनका बारेमा बोलेका छौ ? ए बुद्ध ! तिम्रो त्रिपिटकमा पनि विभाजनको पाठ भए जस्तो लाग्दैन । ए क्राइस्ट ! खै कुन बाइबलमा तिमीले विभाजन सत्य हो भनेका छौ ?

अहिले त तिम्रा अनुयायीहरू नै ‘तिमी’ बनेपछि तिम्रै उपदेशको आडमा आफ्नो घरमाथि आगो लगाइरहेका छन् । के यो धुवाँले तिमीहरूका आँखा पिरा हुँदैनन् ? तिम्रा आँखाबाट आँसु झर्दैन ? सत्य, अहिंसा, प्रेम र शान्तिलाई न त बुद्धले अस्वीकार गरेका थियौ न त मोहम्मद र क्राइष्टले, न त ब्रह्माले नै । खै त तिमीहरूको एउटै विचारलाई तिम्रा सन्ततिहरूले पछ्याएको ? यहाँ त मान्छेहरू एउटै घरको पनि एउटाले छाना मेरो भन्छ । अर्कोले भित्तो मेरो भन्छ । अर्कोले झ्यालढोका मेरा हुन् भन्छ । अर्कोले जमिन मेरो हो भन्छ । यी सबै एकअर्काबिना अपूरा छन्, बेअर्थका छन् भन्ने सत्यमाथि आँखा चिम्लिदिन्छन् मान्छे ।

मलाई हर्के भोकभोकै रहेको फिक्री छैन बरु स्वास्नीको लिपिस्टिकको फर्माइस पूरा कसरी गर्ने चिन्ता छ । मलाई पहिरोले उठिबास गराएको मुगुको किशोर कठायतको चिन्ता छैन, छोराको निम्ति कुन कलेज रोज्ने चिन्ता छ । मलाई सडकपेटीमा अरण्य रोदनका साथ एक पैसा माग्ने विवश अपाङ्गहरूप्रति चासो छैन, बेलुका जीउ तताउने पेय कुन ठीक हुन्छ म सोचमग्न हुन्छु । मेरो र उनीहरूका नैसर्गिक आवश्यकताहरूमा समानता छ भन्ने यथार्थलाई बिर्सिदिन्छु म र रङ्गीन सपनाहरूको परिपूर्तिको ध्याउन्नमा हुन्छु । म एक्लिदिन्छु यो संसारदेखि, समाजदेखि र आफ्नै घर परिवारदेखि । म खुम्चिरहेछु दिनानुदिन– अनन्तबाट शून्यमा । व्यापकबाट सङ्कीर्णमा । असीमितबाट सीमितमा । हामीबाट ‘म’मा । बाँच्नुको यथार्थले ढोँगी, भोगी, सङ्कीर्ण, स्वार्थी र धूर्त बनाइदिएको छ मलाई । म मेरो हाँसोबाहेक बढी केही पनि देख्न चाहन्नँ र आफू निस्फिक्री हाँस्न पनि सक्दिनँ ।

पहिले संसार एउटा थियो र हामी पनि एउटै थियौँ । हामीमा विभेद थिएन, विभाजन थिएन, विस्थापन थिएन । समयको अन्तरालमा राज्यवादी चिन्तनले भूगोलबाट छुट्टियौँ । अदृश्य सत्तामाथिको विश्वासले धर्मका नाउँमा अलग्गियौँ । वैचारिक आस्थाको नाउँमा राजनीतिक रूपले अलग्गियौँ । उत्पादन र उपभोगको नाउँमा धनी र गरिब भनेर अलग्गियौँ । ईश्वरीय सत्ताका आडमा जातजातिमा विभाजित भयौँ । मान्छे–मान्छेका बीच विभेद र उँचनिच देख्न थाल्यौँ । भौगोलिक रूपमा संसार । संसारबाट राष्ट्रमा अनि राष्ट्रबाट जिल्ला, जिल्लाबाट गाउँ, गाउँबाट परिवार र परिवारबाट व्यक्ति व्यक्तिमा अलग्गियौँ हामी । र एक–एकमा बाँच्न थाल्यौँ । एकता आदर्श बन्यो भने विभिन्नता यथार्थ ।

अचेल त घरमा बुढो बाबुले मृत्युशैयामा छटपटाउँदै ‘छोरा….छोरा’ भनिरहेको बेला छोरो प्रेमिकाको आलिङ्गनमा कसिएर ‘हाई डार्लिङ’ भनिरहेको हुन्छ । बुढी आमा खोरियामा गोठालो गरिरहेका बेला छोरो समुन्द्री किनारमा प्रेमिकासँग छिल्लिदै पानी छ्यापाछ्याप गरिरहेको हुन्छ । बूढाबूढी अँगेनामा दाउरा ठोस्दै धुँवाले पिराएका आँखाबाट खोक्दै–खोक्दै आँसु झारिरहेका बेला छोरी डिस्कोमा मस्किरहेकी हुन्छे । सन्तानलाई पुर्खाको वास्ता छैन । दूरी दिनानुदिन बढिरहेछ । टाढिँदै छ मान्छे, टाढिनुमा आधुनिकता देख्न थालेको छ मान्छे । फाट्नुमा आधुनिकता देख्न थालेको छ मान्छे । च्यातिनुमा आधुनिकता देख्न थालेको छ मान्छे । एक्लिनुमा आधुनिकता देख्न थालेको छ मान्छे । ‘म’मा आधुनिकता देख्न थालेको छ मान्छे र दिनानुदिन खिइदै गइरहेको छ मान्छे ।

रोटीको दास मान्छे । आफ्नो सुदीर्घ परम्परालाई नङ्ग्याएर आफै रमिता हेरिरहेछ । परम्परालाई नङ्ग्याउनुमा उसको प्रतिष्ठा दुख्दैन । परम्परालाई नङ्ग्याउनुमा उसको स्वाभिमान दुख्दैन । परम्परालाई नङ्ग्याउनुमा उसको आस्था र आदर्श दुख्दैन । दुखोस् पनि कसरी ? जब ऊ आफू आफू नभई आफ्नो युगको दास हो । ऊ भोकको कमारो हो र ऊ व्यक्तिगत अस्तित्वको भिखारी हो ।

भरे नचाहिकनै निदाउन विवश मान्छे व्युँझदा अभावका पहाड चढ्ने भयले त्रसित हुन पुग्छ । तर पनि विवश छ, चढ्नै पर्छ । पहाडको केही अंश ऊ एक चम्चा नुनको निम्ति चढ्छ । पहाडको केही अंश ऊ आधा चम्चा बेसारको लागि चढ्छ । पहाडको केही अंश ऊ एक पाउ सिमीको लागि चढ्छ । पहाडको केही अंश ऊ आधा किलो चामलको निम्ति चढ्छ । पहाडको केही अंश ऊ दाह्री काट्ने ब्लेडका निम्ति चढ्छ । अलिकति पहाडको अंश ऊ लगाउने भोटो र कट्टुको लागि चढ्छ । समग्रमा उसको अभावको पहाड यी विविध कुराको समुच्चय हो । बेलुकी थकित थकित भएर पहाडबाट झर्छ मान्छे र नमिठो अनुहार लगाएर जाउलो मुखमा पारेर निदाउँछ तर भोलिपल्ट फेरि उसले त्यो पहाडको यात्रालाई निरन्तरता दिनु त छँदै छ ।

शङ्कर लामिछाने भन्छन्–‘रोज मेरो प्रातः तरकारी किन्ने पैसा चाहियोबाट प्रारम्भ हुन्छ । मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या ‘अलि बढ्ता थाकेर आएछु’मा समाप्त हुन्छ ।’ मान्छे अरु सम्पूर्ण संसारलाई मरिसकेपछि भीरबाट पल्टाएको सिनोलाई जस्तै बेवास्ता गर्छ र उसको संसार बिहान र बेलुकाको छाकमा आएर सीमित बन्छ । उसलाई बुबाआमा बिरामी परेको वास्ता छैन । उसलाई गाउँको बाटो भत्किएको सुर्ता छैन । उसलाई छिमेकीको घरमा आगो लागेको पीर छैन । उसलाई त केवल आफ्नै पीर छ । आफ्नै सुर्ता छ । दिनभर पहाड नचढे बेलुकी मुखमा माड पर्दैन, तब किन राख्नु अन्य कुरामा चासो ?

यहाँ इतिहास भत्काउने र निर्माण गर्ने कुरा गरिन्छ । यहाँ नवयुगको स्थापनाका कुरा गरिन्छ । यहाँ विद्रोह र आन्दोलनका कुरा गरिन्छ । यहाँ निषेध र प्रतिशोधको कुरा गरिन्छ । यहाँ समर्थन र स्वागतका कुरा गरिन्छ । यो समयको रूप हो । हिजो समय भाङ्ग्रो ओढेर अगाडि बढ्यो । आज समय सर्ट पाइन्टको खोजी गर्दैछ । भोलि समयले टाइसुटको माग गर्नेछ र पर्सी समयले यी सबैको बहिष्कार गर्ने छ । समय आफ्नै गतिमा टुकुटुकु हिडिरहेछ, विभिन्न पोशाकमा विभिन्न रूपहरूको निर्माण गरेर । शायद मान्छेको विभाजन पनि समय यात्राको एउटा अध्याय हो । यहाँ जे हुन्छन्, सामुहिकतालाई आरोपित गरेर व्यक्तिका निम्ति हुन्छन् । समूहका नाममा वैयक्तिक उन्नतिलाई विशेष चासो दिइरहेका हुन्छन् । यो अनिवार्यजस्तै भएको छ । फेरि पनि हामी व्यक्तिको केन्द्रीयतालाई चाहेर पनि भुल्न सक्दैनौँ । यद्यपि हामी जुन व्यक्तिगत स्वतन्त्रताको अपेक्षा गर्ने गर्छौं, ती पूरा नहुदै व्यक्तिगत स्वतन्त्रताको अर्को रूप विभाजन उपस्थापन हुन्छ । कुनै पनि संघर्ष र आन्दोलनको लक्ष्य व्यक्तिगत विभाजन होइन, व्यक्तिगत स्वतन्त्रता हो तर यही स्वतन्त्रताले विभाजनको बाटो तय गरेको तितो यथार्थ हाम्रो सामु छ । जसको दलदलमा हामी भासिएका छौँ र भासिदै जाने छौँ । हाम्रो मुक्ति असम्भव छ समयको चक्र घुमेर यथास्थानमा नआउन्जेलसम्म ।

मान्छे विनिर्माण खोज्दै छ अहिले । मान्छे स्वपहिचानको खोजीमा छ अहिले । मान्छे आत्मनिर्णयको खोजीमा छ अहिले । उसलाई सानो–सानो अंशमा विभाजित हुनुमा आनन्द छ । अंश मान्छे बन्नुमा गौरव छ । यो समयको माग हो । यो रूपको समयले यही कुराको माग ग¥यो र मान्छेले सोही कुरालाई पछ्याउँदै गयो नकार्नै सकेन । उसले उपन्यासलाई बहिस्कार ग¥यो, लघुकथालाई पछ्यायो । उसले महाकाव्यलाई बहिस्कार ग¥यो, फुटकर कवितालाई पछ्यायो । उसले पूर्णाङ्कीलाई बहिष्कार ग¥यो र एकाङ्की खोज्न थाल्यो । उसले बृहत्मा पूर्णता देख्न छोड्यो र सूक्ष्ममा बाँच्ने दुर्गम बाटो रोज्यो जुन निकै पत्थरिलो र काँडैकाँडाले भरिएको छ ।

यद्यपि मान्छेलाई काँडामाथि खुट्टा टेकेर गरिने यात्रा नै आनन्ददायी बन्न थाल्यो । खुट्टाबाट निस्केको रगतमा आफ्नो गौरव देख्न थाल्यो र नाक फुलाएर गर्व गर्न थाल्यो । कठिन पथको यात्रा द्रुतगामी बन्ने कुरै भएन । तर पनि ऊ आफूले लामो यात्रा पूरा गरेको अनुभूति गर्न थाल्यो । आफू विजयी भएको घोषणा गर्न थाल्यो ।

हामी धेरै समयदेखि विभाजनमा बाँच्यौँ र बाँच्दै छौँ । हामी धेरै समयदेखि एक्लिएर बाँच्यौँ र बाँच्दै छौँ । हामी धेरै समयदेखि टुटफुटमा बाँच्यौँ र बाँच्दै छौँ । हामी धेरै समयदेखि तेरोमेरोमा बाँच्यौँ र बाँच्दै छौँ । यो सबै युगले सिकाएको हो हामीलाई । हामी बाँचेको युग नै विषाक्त बन्यो, फोहर र कलुषित बन्यो । र हामी त्यही फोहरमा भ्यागुतो झैं रुमल्लिरह्यौँ । हामीले व्यापकतालाई देख्न सकेनौँ र अंशमा खुम्चियौँ । हामी बाँचेको युगले त्यही सिकायो हामीलाई र त्यही सिक्दै गयौँ हामी । हामीले अर्काको अस्तित्व स्वीकार गर्न सिकेनौँ र सकेनौँ ।

हामीले साझा मुद्दामा सिमारेखा को¥यौँ । दृष्टिकोण विरोधमुखी तुल्यायौँ । अरुको सकारात्मक कदममा हामीले षड्यन्त्र देख्यौँ र आफ्नो षड्यन्त्रमा पनि अरुले सकारात्मक कुरा मात्रै देखुन् भन्ने अपेक्षा ग¥यौँ । कसैले माक्र्सलाई एउटा गोजीमा च्यापेर हिड्यौँ । कसैले गान्धीलाई एउटा पोकामा कैद ग¥यौँ । कसैले बुद्धलाई आफ्नै निजी ठान्यौँ । कसैले कन्फ्युसियसलाई पराई ठान्यौँ । समग्रमा सबैको समुच्चयमा हामीले आफ्नो उन्नति देख्न सकेनौँ । विचार र दृष्टिकोणलाई पनि तेरो मेरोमा कैद ग¥यौँ । यो विद्रुप विभाजनले हाम्रो मानव अस्तित्वमै विभाजन ल्याइदियो । एउटा ‘म’लाई पनि टुक्रा–टुक्रा पार्नुपर्ने अवस्थासम्म पु¥याइदियो ।

तर पनि समय हिडिरहेछ, थोत्रा लुगा फटाउँदै र नयाँ फेर्दै । कहिले सुकिलो देखिन्छ समय, कहिले फोहरै फोहर, दुर्गन्धित, विशाक्त र कलुषित । जरुर समयले आफ्नो यात्र तय गर्नेछ । घुम्नेछ समय र पुनः त्यो बिन्दुमा आइपुग्नेछ जहाँ विभाजनका सिमारेखा मेटिनेछन् । तेरो मेरोको अन्त्य हुनेछ । आफ्नो पराईको भाव समाप्त हुने छ । ‘म’वादी चिन्तनको अन्त्य हुनेछ । एकाङ्गी प्रवृत्ति ध्वस्त हुनेछ । सम्पूर्ण अहम्को अस्तित्व समाप्त हुनेछ । त्यहाँ क्राइष्ट, मोहम्मद, ब्रह्मा र बुद्धहरू एउटै आलिङ्गनमा बाँधिनेछन् । एउटै संसारमा एकाकार हुनेछन् ।

त्यतिबेला बुढा बाबा आमाहरू मृत्युशैयामा हुँदा हजारौँ हजार सन्तानले आफ्नो आमाबुबा सम्झेर उनीहरूको स्याहार गर्नेछन् । बिरानिनु पर्ने छैन तिनीहरू । एकलास महसुस गर्ने छैनन् तिनीहरू । त्यहाँ भूगोलको सिमारेखा हुने छैन । त्यहाँ धर्मको सिमारेखा हुने छैन । त्यहाँ जातजातिको सिमारेखा हुने छैन । त्यहाँ वैचारिक विविधता हुने छैन ।

त्यहाँ उत्पादनको वितरण समान हुने छ र धनी र गरिबको विभेद हुने छैन । त्यहाँ महिला र पुरुषबीच विभेद हुने छैन । सम्पूर्ण संसार एउटा परिवार हुनेछ । हामीवादी चिन्तनको विकास हुनेछ । त्यहाँ भत्काउने कुराको निषेध हुनेछ र निर्माणलाई अँगालिनेछ । मान्छेहरू सबै हाँस्नेछन् । सबै सुखी र खुसी हुनेछन् ।

जरुर त्यो समय आउने छ ।
०००

प्रतिक्रिया दिनुहोस्