हराएको अम्बरे

       दीपक घिमिरे | 756 Views |   Published Date : 22nd November 2015 |

Dipak Ghimire web

‘छि ! कस्तो काखी गनाको तेरो, उता बस साले ।’

अम्बरेले बलेलाई थर्कायो । बले चैं चोर औंला र माझी औंला काखीमुनि घुसारेर नाकमा लगेर सुँघ्यो । अनि प्याच्च जवाफ फर्कायो ‘इस् गना’छ मेरो, आफ्नै गना होला अझ ठालु बन्छ ।’

शंकर टाकिज लमहीमा तिलहरी भन्ने नेपाली फिलिम चल्दै गर्दा लस्करै बेन्चमा बसेका हामीमध्ये सबैभन्दा जेठो अम्बरे नै थियो र सबैभन्दा फोहरी पनि त्यही अम्बरे नै थियो । तर छेउछाऊमा बसेका अरु दर्शकका अगाडि शान झार्नकै लागि भए पनि ठूला कुरा गर्न कहिल्यै छाड्दैनथ्यो ।

छ रुप्पेको बोरामा बस्ने टिकट काटेर हलभित्र प्रबेश पाएका हामी अम्बरेकै जुक्तिबुद्धिले बेन्चमा बस्न पाएका थियौं । नत्र त जुटको बोरामा बसेर ट्वाँ पर्ने अनि फाइटको सिन आउँदा जोडले ताली बजाउने हैसियतका थियौं ।

‘जा बले पाँच रुप्पेको बदम लिएर आइज, मध्यान्तरमा कपाकप खान पर्च ।’

अम्बरेले बलेलाई उतार्न खोज्यो । बले अम्बरेभन्दा धनी त थियो तर बलेका बा मख्खिचु थिए । सुको नदिने खालका । बले पनि बाउजस्तै मख्खी कन्जुस निस्क्या थ्यो । रुप्पे निकाल्न प¥यो भने सामान्य ज्वरो आइहाल्थ्यो तर बहानाबाजी बनाएर भए पनि आफुलाई बचाउँथ्यो ।

बले बोल्यो, ‘खाइस बदम, टिकट काट्ने रुप्पे त बाको गोजाबाट चोरेर ल्या हुम् । पाँच रुप्पे बाको गोजामा थियो अनि एक रुप्पे आमाले पूजा गर्ने कुन्टीमा भेटेको थिएँ । बरु दिपके तैले बदम ख्वा न यार ।’

अम्बरेले बलेलाई अनि बलेले मलाई मुर्गा बनाउन थाले । छ रुप्पेका लागि हिजो दिउँसो बाले रक्सी खाएर फालेका खाली सिसी देशी भैयालाई बेचेर आएको चार रुप्पे अनि पर्समा राजाको टाउको देखाई देखाई सजाएर राख्या दुई रुप्पे निकालेर टिकट किन्या अम्बरेलाई राम्ररी थाहा छ । त्यही भएर पनि होला अम्बरेले मलाई बदम किन् भनेन । तर बलेले मसँग रुप्पे छ भन्ने ठानेछ ।

‘नखाए नि हुन्च बदम सदम । जाम बरु पाइखाना ।’ बदम खाने कदमको बिरोध गर्दै केटाहरुलाई बाहिर जाम् भनें । मलाई थाहा थियो बलेसँग रुप्पे छ तर निकाल्नेवाला छैन । बिचरो अम्बरे त सधैंको भुक्कड हो । मभन्दा पनि भुक्कड भन्दा फरक नपर्ला । तर कुरा चैं लाउरेको छोरो जस्तै गर्छ नि फेरि ।

टिरीरीरी घण्टी बज्यो, फिलिम सुरु भयो । बदमका खोस्टा क¥याप्प कुरुप कुचल्दै बेन्चमा गएर बस्यौं । बदम खाने सपना पूरा भएन । मध्यान्तरभन्दा अघि गजब रमाइलो लागिरा’को फिलिम मध्यान्तरपछि खल्लो लाग्न थाल्यो । कारण सबै अन्टीहरु रुन थाले । आफूलाई त फिलिममा गाना र फाइटमात्र मन पर्दथ्यो, त्यो पाइँन । सबैले क्या दामी फिलिम भन्दै बाहिरिए । आफु चैं फोकटमा छ रुप्पे गुमेकोमा तनाव मात्र लाग्न थाल्यो ।

***

ambare_1अम्बरे, बले अनि मेरो घर सँगसँगै थियो । स्कुल बिदाको मौका पारेर फिलिम हेर्न लमही बजार आएका हामी छिट्टै घर फर्केनौं भने बाको हातको लतक मैले र बलेले नराम्ररी भेट्थ्यौं । तर अम्बरेलाई केही हतार थिएन । उमेरले सानै भए पनि उसको बैंश आइसकेको थियो । बाटोमा हिड्ने तरुनी जिस्काउन माहिर थियो ऊ । मान्छे पनि हेन्समै थियो । बाटोमा हिड्दा हिड्दै सिटी बजाएर तरुनीको ध्यान आफूतिर तान्न माहिर थियो । तर हामी उमेरमा पनि सानै थियौं र अलि सोझा अनि लजालु पनि ।

‘बले केरा किन् न यार, भस्मे भोक लाग्या छ के ।’ ठेलामा बेच्न राखेको केरा देखाउँदै अम्बरेले फेरि बलेलाई आग्रह ग¥यो । बले हुक्क परेछ क्यार, पाइन्टको चोर गोजामा राखेको दशको नोट निकालेर आधा दर्जन केरा किन्यो । अनि सबैलाई दुई पिसका दरले भाग लगायो । आफूले चैं अलि ठूला र पोटिला केरा राख्यो ।

‘कैल खाथिस् होला र नि यस्ता मीठा केरा, हेर बोक्रासम्म नछाडेको ।’ अहिले चैं बलेले अम्बरेलाई कडा दनक दियो । अम्बरे ट्वाँ परेर बलेलाई हे¥यो, मैले ग्वाम ग्वाम केरा हसुरें ।

अम्बरेले केराको पहेंला बोक्रासमेत खायो । खानमा उसलाई कस्ले जित्ने ? हुन त ज्यान पनि खाइलाग्दो नै छ । हामी पिलन्धरे थियौं, हेर्दै यो पुरेत हो भनेर चिन्न सकिने । घरमा खानै नपाएर सुकेकाजस्ता । बले क्षेत्रीको छोरा भए पनि म जस्तै सुकुटे थियो तर अम्बरे बाहुनकै छोरा भए पनि मगरको छोराजस्तो मोटोघाटो अनि बलियो थियो ।

‘जा दिपके त्यो घरमा गएर पानी मागेर ल्या तो, केरा खाएसी पानी खान पर्च रे ।’ केरा खाइसकेपछि अम्बरेले मलाई अह्रायो । बले जाने कुरै भएन उसले हाम्लाई केरा खुवाको थियो । अम्बरे हामीभन्दा सिनियर थियो । उसले हामीलाई पानी ल्याएर खुवाउने कुरै थिएन । खुरुक्क गएँ पानी ल्याउन ।

अम्बरे जतिसुकै फटाहाजस्तो देखिए पनि रमाइलो गर्ने अनि रमाइलो गराउने खालको केटा थियो । गाउन र मादल बजाउनमा उस्ताद नै थियो । पूजापाठ मेला पर्वमा गाउने, बजाउने अनि नाच्नेमा उ सधैं अगाडि थियो । अम्बरे निडर पनि थियो, नबिराउनु, नडराउनु भन्ने मान्यता उसको थियो । गाउँमा गाह्रो साह्रो पर्दा ज्यानै फालेर अगाडि सर्ने भएकै हुनाले पनि उ सँगको संगतमा बाआमाले गाली गर्नु हुदैनथ्यो ।

***

गाउँमा संकटकाल थियो । माओवादीले युद्वविराम गरेको समयमा अम्बरे खुबै झण्डा बोकेर हिड्थ्यो अनि फेरि युद्व चर्केपछि घरै चुप लागेर बस्थ्यो । तर सबै हामी गाउँबासीले उसलाई माओवादी नै मान्थ्यौं ।

उसको भाग्य बलियो रै’छ कि ? कहिल्यै सुराकी गर्नेले उसको नाम सेनालाई भन्देनन् र त ऊ आजसम्म ज्यूँदैछ । संकटकालमा हाम्रा गाउँमा भात खान अनि दिनभर सुत्न आउने धेरैजसो कमरेडहरु निसानामा परेर यमराजको प्यारो भएका खबर उनकै साथीहरु सुनाउँथे । त्यस्ता खबरहरु सुन्दा गाउँबासीले अम्बरेलाई पनि गाउँ छाड्न सल्लाह दिन्थे । कालापार भए पनि जा भन्थे ।

उसले ठाडै जवाफ दिन्थ्यो, ‘अम्बरे मर्न डराएर भाग्ने मान्छे होइन्, यत्ति बुझौं ।’

तरुनी जिस्काउन माहिर अम्बरे हिन्दी फिलिमको हिरो मिथुनको फ्यान थियो । लमहीमा मिथुनको फिल्म लाग्नासाथ हामी सबै केटाहरुलाई फिलिम देखाउन हलमा लग्थ्यो अनि मिथुनका डाइलग मार्दै बाटोमा केटी जिस्क्याउँथ्यो । कहिलेकाहीं गाउँ समाजका ठूला ठालुहरु उसलाई अलि भलादमी बन्ने अर्ति दिन्थे । ऊ चैं खिस्स हाँस्दै भन्थ्यो, ‘ए अपुनका स्टाइल हेरे चाचु, बदल नहीं सक्ता ।’

पाँच कक्षा पास हुन नसकेर पढाइ छाडेको अम्बरे दश कक्षा पास आफ्ना साथीभाइभन्दा दिमागमा तगडा नै थियो । सामान्य जोड घटाऊ अरुले औंला भाँचेर हिसाब गर्न थाल्दा उसले फ्याट्टै भनिदिन्थ्यो । सबै चकित पर्थे उसको दिमाग देखेर । तर पाँच क्लासको जिल्लास्तरीय परीक्षा पास गर्न नसकेर पढाइ नै छाडेको कथा सुन्नुपर्दा अचम्म पर्थे ।
***

‘ओए, अम्बरे अस्ति बजार गएको आजसम्म आएको छैन रे । अम्बरे त गायब छ बे ।’

एकाबिहानै बले र गिरेले खबर सुनाए । कहाँ गयो त यार ? हामी सबै एक अर्कालाई यहीं प्रश्न गरेर बस्न थाल्यौं । त्यो दिन उसले मलाई पनि बजार जाम भनेको थियो । बजार लगेर एक हाप छोला समोसा खुवाउँछु भनेर लोभ पनि देखाएको थियो तर बाले स्कुल छाडेर जाने कुरा निकाल्दा रामधुलाइ गर्ने पक्का भएकै कारण गइँन । आखिर कहाँ गयो त अम्बरे ?

युद्धले ग्रस्त पारेको देशमा हिडडुल गर्न पनि गाह्रो थियो । संकटकालले सताएको बेला अम्बरे हराएको खबर गाउँभरि फैलियो । भरे आउला र भोलि आउला भन्दैमा दश दिन बित्यो तर अम्बरे आएन ।

गाउँका जिम्दार र लाउरे बाले पनि अम्बरेको खोजीका लागि पहल गरे । स्थानीय पुलिस र सेनालाई सोधपुछ गर्न गाउँका ठूला ठालुले अम्बरेको परिवारलाई सघाए तर कुनै अत्तोपत्तो लागेन । घरको एक मात्र छोरो त्यो पनि बुढेसकालको सहारा हराएपछि अम्बरेका बाआमा चिन्ताले सुक्न थाले । गाउँमा सबैले अम्बरेलाई सम्झिन थाले । उसले लगाएका गुनलाई सम्झेर आँसु झार्ने धेरै बुढापाकाहरु गाउँमा थिए ।

तर अम्बरे भेटिएन ।

अम्बरे बेपत्ता भएको हो या मरेको हो कसैले चाल पाउन सकेन । भागेर कही गएको हो कि भनेर उसका बुढा बाआमा अहिलेसम्म ऊ आउने आशा राखेका छन् । उसका बाबु अझै पनि आफ्नो अम्बरे जीवितै देख्न पाउने आशा पालेर बसेका छन् तर अम्बरे न आफू आउँछ न त उसको खबर ल्याएर कुनै मान्छे नै आउँछ ।

संकटकालमा बेपत्ता भएका सयौं नेपाली नागरिकको लिस्टमा उसको नाम पनि लेखियो ।

त्यो हँसिलो अनि बलियो र बाआमाको बुढेसकालको सहारा अम्बरे बेपत्ता भएपछि उसको हँसिलो फोटो घरको भित्तामा टाँगिएको छ । बाआमाले त्यही फोटोमा हेर्दै आँसु झार्छन् ।

तर अहिलेसम्म बाआमाको आँसु पुछ्न अम्बरे फर्किएको छैन ।

प्रतिक्रिया दिनुहोस्