कम बोल्ने कवि

       दिल महरा | 469 Views |   Published Date : 13th November 2014 |

Dil Maharaबिग्रेको घडीको कुरा नगर्नू । सद्दे छ घडी भने– करेक्ट अठ्ठाइस मिनेट । बरु मोटाघाटा बङ्गुरे मासुवाले– सकभर नजानु हिडेर त्यो बाटो ।

दुब्ला पातला । हिड्न चाहिं हिड्नु । तर एउटा कुरा ख्याल गर्नू । दम रोगीलाई त्यो बाटो हिड्नै नदिनू । अटेरी गरेछ भने भनिदिनू ।

‘दमरोगीलाई सख्त मनाही छ यो बाटो हिड्न ।’

***

यही हो भूगोल । सूचना हुँदै होइन । अनि भन्देलान् कसैले ठट्टासट्टा ।

‘लेख्नेलाई सोध्नुस् । विश्वास लागेन हिडेर जानु मेरो घर । मैले के भनुँ र ?’ मरि गए भन्ने छैनन् । सिधा–सिधा उत्तर । छिनमै डाइभर्ट गर्नेछन् कुरा बरु ।

झण्डै पाँच फुटे अग्ला कवि ।

Yagya_bdr_dangiनाम : यज्ञ बहादुर डाँगी

आमाले जन्माको : २०११ साल फागुन २७ ।

हेडमास्टरले लेख्देको जन्म मिति : २०१० साल फाल्गुन २७ ।

सुन्नेलाई परिचय लाग्ला । बुझ्नेलाई ठ्याकै कविता । कुराकानी यस्तै हो । कविता जस्तै ।

***

उफ् ! कति वर्षे कवि लेख्दिम् म ? ६० वर्ष लेख्दिम् त बूढो भन्यो भन्लान् । ५९ बर्ष नै लेखिदिम् भने वृद्ध भत्ता एक वर्ष पहिले खाने होलान् (तर मान्छेको मृत्युबारे अनविज्ञ छु म) । जे पो होस् । उनको गल्ती होइन । जिम्मेवार मान्छेले नै दुइटा उमेर बनाइदे उनको । भन्दै हिड्दा रहेछन् कवि । भित्री इच्छा नहुँदा पनि ।

‘साठी वर्ष पुगें । खै कति बाँच्नी छ अब ।’

एक बर्ष बढी हो यो उमेर ।

***

साठी वर्षे कविलाई भेट्न सजिलो छैन । फोनमा इच्छा भाकाले डायल गरे हुन्छ ।

लाग्नै गाह्रो । लागे नि उठ्नै गाह्रो ।

कम्तीमा सात पटक भनिरहनेछ फोन– सम्पर्क हुन सकेन । सम्पर्क हुन सकेन । सकभर आठौं पटक पनि नलाग्ला फोन । लाग्यो भने पनि नराखे हुन्छ कानमा । फूल घण्टी गइरहन्छ । उठे पो फोन !

फेरि डायल । फेरि फूल घण्टी ।

तर नहुनुस् निरास । चार दिनपछि भए नि आउनेछ व्याक कल । बोल्न चाहिं पाउनुहुन्न बढी फोनमा । त्यस्तै अन्ठाउन । उन्साठी सेकेन्ड ।

***

घरमै पुग्नेलाई जति नि समय छ फेरि । दिनभरि गफमै भुलाउन सक्छन् उनी । चनाखो आफै हुनुपर्छ ।

खाना नास्ता । अर्गानिक नै व्यवस्था छ । भेट्न जाँदा पर्दैन लग्न केही ।

सिधै जानुस् पहिले– नयाँ बसपार्क घोराही । दायाँबायाँ । आत्तिनु पर्र्दैन । सिधै हिड्ने हो । घाम डुब्ने डाँडातिर । बाटो भुलिन्छ भन्ने डर लागे सेवार खोला काटेपछि गन्न सुरु गरिहाल्नु– बाटामा बिजुलीका पोल । ५२ नपुग्दासम्म गन्दै जानुअघि । पुग्यो भने रोकिनु ठिङ्ग ।

दायाँबाट घुमेर नपाउनु दुःख । बायाँबाट घुमेर हिड्नु तीन मिनेट । सान–सानो वनै छ । फस्टमा आउने घर हुने नै भो । ह्वाङ, गराली नभा’को गेटभित्र छिर्नु । कहिंनेर वेस्ट देखिने छन् यी कवि । एक्लो घरको मालिक । विद्यार्थीले भेटे भने भन्नेछन् गणित मास्टर । साथीभाइले मानेका डरलाग्दा कवि ।

स्कुलमा हेडमास्टरले चिन्दा रहेछन्– चरीनङ्ग्रे कवि ।

***

अब सोध्दै जानु । जे त मन लाग्छ । हाँस्दै बोलि नै रहन्छन् उनी । उपन्यास पढ्दैन् । सिधै भनि दिन्छन् । जे पायो पढ्न हुन्न । सल्लाह नै दिन्छन् उनी । कविताको बारे कुरा गर्न जोरी खोज्यो भने निकाली नै दिन्छन् दाँतबाट पसिना । सुस्तरी बोल्दै रहन्छन् । उनको भाषामा मिठाई घुलिरहेका । चानचुन अध्ययनलाई लोप्पाइ खुवाउलान् जस्तो । डिग्री गरेकालाई गन्दै गन्दैनन् उनी । जीवन बुझेको रहेछ भने निरक्षर मान्छेसँग पनि तर्सिन्छन् बरु । सबभन्दा कवितामा सैद्धान्तिक लाद्नेलाई झपारिहाल्छन् उनी ।

तर चिन्तित छन् कवि । राम्रो कविता लेख्नै नसकेको सन्दर्भमा आफूले । त्यसैकारण होला जीवनको बयान गर्नतर्फ लाग्छन् । जो कोहीलाइ नबुझिने भाषा । उनको शैली नै हो बोल्ने ।

‘हरेक मान्छेको आत्मामा । बाँदर, सिंह, खरायो, भालु, गाई, परेवा वा डाँका, चोर, साधु, सज्जन सबै लुकेर बसेका हुन्छन् । जसलाई जे मन पर्छ । त्यसैको चरित्र देखाउँदै हिड्छन् । मैले सज्जन रोजे हुँला । र त कवि हुन खोज्दैछु आजभोलि ।’

हुन पनि मान्छेले वाह वाह गरेका कवि नै रहेछन् उनी ।

हाँस्छन् खित्का छोडेर । फेरि थप्छन् । महाभारत लडाइँमा युद्ध हेर्न जाने गाउँलेहरुलाई गिद्धले मान्छेको टाउको लिन लगाएको घटना । अनि चकित पार्छन्– डाहा नै लाग्ने गरी बनाउँछन् जीवको परिभाषा । राम्रो लेखन त यस्तो कुरौटे हुनु पो पर्दोरहेछ जो कोहीलाई लागिहाल्छ डाहा ।

एकाएक गम्भीर हुन्छन् कवि । भन्न थाल्छन् समाजसँगै हामी र हामीसँग समाज हिड्नुपर्दछ । होइन भने मान्छे हुनुको रत्तिभर अर्थ छैन । कुरुपताको सतप्रतिशत विरोध गर्छन् उनी ।

***

उनका कविता बुझ्ने जतिले राम्रो कविको घानमा हालिदिदा रहेछन् । साँच्चै कवि बन्न खोज्नेहरु उनको पछि नि लाग्छन् रे । उनकै भाषामा असफल कविहरु (भाषण दिएर कवि हुनेहरु) भने यज्ञबहादुर डाँगीको प्रतिपक्षमै बस्दा रहेछन् । तर उनलाई कसैको चासो छैन । राम्रो भन्नेलाई धन्यवाद भन्छन् रे । प्रतिपक्षीलाई सम्मान । मात्र उनलाई कवि बन्नु छ रे । त्यसै पनि सस्तो लोकप्रियतामा कवि बन्नलाई भाषण गर्न जान्दैनन् जे पायो त्यही ।

ठट्टा गरिहाल्ने बानी

‘भाषण गर्नेहरु बोल्न सक्दासम्म कवि । म चाहिं मरेपछि नि कवि ।’

खित्का छोडेर जोडले हाँस्ने उनको बानी । हसाउँछन् निकै ।

युवाहरुप्रति त्यति साह्रै गहिरिएका छैनन् रे । भन्छन्, अब गहिरिनुपर्ला । तर युवाहरुको सन्दर्भमा के चाहिं बोल्छन् भने, ‘हाम्रो परिवारमा पहिलेदेखि ठूलो मान्छेलाई ठूलो भाग लगाइदिने । सानोलाई सानै भाग लगाइदिने परम्परा छ । यस्तो चाहिं हटेकै जाती हुन्छ ।’

गम्भीर भएर चुप लाग्छन् उनी एकछिन । फेरि बोल्न थाल्छन्, ‘मेरो बारे म आफै भनिरहँदा । मन नपरेको मान्छे भो भने । घोसे मुन्टो पारेर बाटोे काटिदिन्छन् रे । ‘चाहे त्यो मान्छे नमस्कार गरेर मरिहत्ते गरोस् । म कतै नहेरी हिडिदिन्छु आफ्नो बाटो ।’ ठाडै भन्छन् उनी ।

***

जस्ता पायो त्यस्ता गीत सुन्दैनन् उनी । गीत सुन्ने मामिलामा कडा नै रहेछन् । व्यापारीकरणका गीतको को ध्वज्जी नै उडाउँछन् । कम्तीमा गीतकारहरु कवि हुन जरुर ठान्छन् उनी ।

तीन पटकको दुर्लभ बसाइ । तीनै पटक । किन पो हो खै ?

‘ढुङ्गा दुखेको छ, माटो दुखेको छ ।’
‘……………………………………………।’

गीत लेख्नेले यस्तो लेखोस् गीत

उदाहरण पेश गरिदिन्छन् मलाई ।

***

प्रेम र यौनका बारेमा बोल्नै चाहदैनन् भन्दा हुन्छ लामो । सिधै भनिदिन्छन् बढी के पो बोलुँ र म । तपाइँ जस्ता युवाको अघि । त्यति बोल्न नि जान्दिनँ म । आपैm बुझ्नुस् । ‘ग्लुभी सन्डे’ लाजलो जावोरको गीतमै सबथोक छ । मैले यही नै बुझें । नत्र भने कैयौ युवतीहरु किन त्यही गीतका कारण आत्महत्या गरे ? भकाभक मरे ?’

हिन्दी पत्रिकामा छापिएको चिर्कटो झोलाबाट झिक्दै थप्छन् । लाजलो जाकेर हंगेरिका हुन् । एकदिन आफ्नी प्रेमिका भेट्न गएछन् । प्रेमी नआएपछि पीडामा ‘ग्लुभी सन्डे’ लेखेछन् ।

***

कवि पे्रम र यौनका बिरोधी भन्न सक्छु म कसरी ? सुन्दर प्रेमलाई सम्मान गर्ने आधार प्रशस्त देखियो । उनी निकै भावुक भएर टोलाइरहे बेला–बेलामा ।

***

केन्द्रसँग गुनासो छँदै छैैन् भन्दा हुन्छ उनको । ‘नाम नआए के भो त ? कवि हुन केन्द्रले रोक्दैन यज्ञलाई ?’

आफैले आफैलाई चित्त बुझाउन माहिर छन् यी कवि । पुरस्कार सुरस्कारबारे सिधै टिप्पणी गरिहाल्छन् ।

‘हाम्रो समाज कम्ता बदमास छ । छोइछिटो गर्न हुन्न भन्दै भाषण गर्छ । रातारात छोइछिटो गरेको पत्तै हुन्न । राम्रो पुरस्कार पाउन त राजनीति पो गर्नुपर्दछ नि ।’

६० वर्षे कविको घाँटी सुक्यो होला बोलेर । एकैछिन समय माग्छन् र हिडिदिन्छन् इनारतिर ।

***

बाउका सात भाइ छोरा । एक बहिनी छोरी । माइलो भएर जन्मेछन् उनी । लगातार चौतीस वर्ष आठ महिना अध्यापन । बिताएछन् गणित विषय नै पढाएर जिन्दगी । आर्किमिडिज कसरी गिन्सवर्ग बन्ला ? सोचेर कायल छु म । बितेको फागुन २७ बाट स्वेच्छिक अवकाश लिएका कवि । अब घरमै हुन्छन् । लेख्नुपर्छ । पढ्नुपर्छ । सके भने चाँडै किताब निकाल्ने सुरमा छन् । भविष्यको योजना बताउँछन् उनी । एउटा कविता संग्रहका धनी कवि । केही वर्ष पहिले निकालेका रहेछन्–

‘तिम्रो हत्यापछि ।’

***

बढी नै माक्र्सवाद पढेका हुन् वा घोकेका हुन् यी कविले । अलि बढी नै चिन्ता रहेछ ‘कम्युन’बारे । एकदमै कम बोल्ने । प्रचारप्रसार मनै नपराउने । उनी घरमा नि एकलकाटे स्वभाव नै रमाउँछन् रे बढी ।

एकपटक नजिकका आफन्त र समकालीन साथीहरुले लाइदे’छन् आरोप– यज्ञबहादुर कांग्रेस भो भनेर । कोमल हृदयका कविलाई पर्न परेछ चोट ।

तर प्रतिवाद गरेनछन् कसैको पनि ।

‘इमान्दार ठूलो हो । आफू कस्तो छु भन्ने ठूलो हो । किन बोल्नु पो प¥यो र अनावश्यक बढी ?’ अरुको बारे बोल्न झ्याउ लाग्छ रे उनलाई ।

अन्त्यमा भनी छोडे, ‘पार्टीको कार्यकर्ताभन्दा बढी कविताको कार्यकर्ता हुँ म पनि ।

***

उनीबाट छुटेपछि । यस्तो लाग्छ– हजारौं कविताले भरिएको छ उनको जीवन । न त सकिन्छ लेखेर । न त सकिन्छ सुनेर नै । हरेक मान्छेको जीवन नै एउटा युग हो हरेकका लागि । जस्तो छ उनको । ग्ल्यामर खासै निको नमान्ने यी कवि सेतो कपाललाई बनाइरहँदा रहेछन् कालो ।

सोध्नै भुलेछु यही कुरा । के यो उनको निजी बिम्ब हो– कवि जीवनको ? सोध्नुहोला है तपाइँहरुको दिलको कविलाई– मैले नसोधेको यो कुरा ।

‘सेतो कपाललाई कालो किन बनाउँछन् यी कवि ?’

प्रतिक्रिया दिनुहोस्