प्रलेस दाङले पाँच स्रष्टालाई पुरस्कृत तथा सम्मान गर्ने

       सम्पादक | 518 Views |   Published Date : 6th December 2015 |

दाङ, मंसिर २० । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले यस वर्ष पाँच जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

संघले गठन गरेको प्रतिभा छनौट समितिको आइतबार घोराहीमा बसेको बैठकले स्थापना दिवसको अवसरमा यस वर्ष पुरस्कृत गरिने स्रष्टाहरुको नाम छनौट गरेको हो । pralesa dang 2072_1

जसअनुसार प्रगतिशील साहित्य पुरस्कारबाट संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव थापालाई, चिन्तामणि–जमुना पोख्रेल स्मृति साहित्य पुरस्कार प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष शशिधर भण्डारीलाई, अनन्त–टीका प्रतिभा पुरस्कार युवा कथाकार महेन्द्र महकलाई र गोविन्द चिस सर्जक पुरस्कार युवा कवि तथा कथाकार बसन्त विवश आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक तथा प्रलेस दाङका अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार प्रलेस दाङ शाखाले स्थापना गरेको प्रगतिशील साहित्य पुरस्कारको राशी नगद रु. ५ हजार रहेको छ भने रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना स्मृति साहित्य पुरस्कारको राशी रु. १० हजार रहेको छ ।

त्यस्तै, पद्मप्रसाद शर्मा र शान्तादेवी शर्माले स्थापना गर्नुभएको अनन्त–टीका प्रतिभा पुरस्कार र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कारको राशी रु. २ हजार रहेको छ ।

त्यस्तै, यस वर्ष प्रलेस सम्मान अग्रज साहित्यकार एवम् पुरस्कार संस्थापक भक्तिराम ज्ञवालीलाई गर्ने निर्णय गरिएको छ । हरेक वर्ष प्रदान गरिने यी पुरस्कारहरु प्रलेस दाङ शाखाको स्थापना दिवसको अवसर पारेर दिने गरिएको र आगामी पुस ३ गते घोराहीमा आयोजना हुने कार्यक्रममा स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष शरद अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा उपाध्यक्ष डिल्ली मल्ल र सल्लाहकार पुरुषोत्तम खनाल सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्