प्रलेस दाङले मनायो स्थापना दिवस

       | 473 Views |   Published Date : 23rd December 2015 |

Pralesa dang 2072दाङ, पुस ३ । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले स्थापना दिवसको अवसरमा चार जना स्रष्टालाई पुरस्कृत गर्नुका साथै एकजनालाई सम्मान गरेको छ । संघले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।

संघले यस वर्ष प्रगतिशील साहित्य पुरस्कारबाट संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव थापालाई, चिन्तामणि–जमुना पोख्रेल स्मृति साहित्य पुरस्कार प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष शशिधर भण्डारीलाई, अनन्त–टीका प्रतिभा पुरस्कार युवा कथाकार महेन्द्र महकलाई र गोविन्द चिस सर्जक पुरस्कार युवा कवि तथा कथाकार बसन्त विवश आचार्यलाई समर्पण गरेको हो । त्यस्तै, प्रलेस सम्मान पुरस्कार संस्थापक भक्तिराम ज्ञवालीलाई समर्पण गरिएको हो ।

पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले सम्मान पत्र, अबिरमाला लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको संक्षिप्त परिचय संघका उपाध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो ।

प्रलेस दाङ शाखाले स्थापना गरेको प्रगतिशील साहित्य पुरस्कारको राशी नगद रु. ५ हजार रहेको छ भने रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना स्मृति साहित्य पुरस्कारको राशी रु. १० हजार रहेको छ । त्यस्तै, पद्मप्रसाद शर्मा र शान्तादेवी शर्माले स्थापना गर्नुभएको अनन्त–टीका प्रतिभा पुरस्कार र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कारको राशी रु. २ हजार रहेको छ ।

संघका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्माले प्रगतिवादी साहित्यको उन्नयनका साथै नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्नतर्फ प्रलेसको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । सबैतिर विभाजन, अराजकता र खण्डित सोचाइले राज गरिरहेको बेला प्रलेसले सबैलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रलेस नेपालका केन्द्रीय सदस्य पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, अग्रज साहित्यकार गिरिराज शर्मा, लेखक संघ दाङका सचिव खगराज न्यौपानेलगायतले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो ।

pralesa dang 1

pralesa dang keshav

pralesa dang shashi

pralesa dang mahendra

pralesa dang_basant

प्रतिक्रिया दिनुहोस्