बदलिदो तस्बिर

       वीरेन्द्र शाही | 491 Views |   Published Date : 23rd December 2015 |

Birendra_Shahi_1सुन्दर समाज निर्माणको एउटा नमुना ।

गेटमा झुन्डिएको छ ‘शान्ति कुञ्ज’ । अर्कोतिर छ ‘कुकुरदेखि साबधान’ !

म देख्दैछु वर्तमानले अतीतदेखि नै जग हाल्दै आएको परिणाम । संसार बुझेपछि आफू उद्देश्यविहीन बन्नुको परिणाम ।
समग्र परिणामको अघि उभिएको छु म ।

महसुस– नयाँ बस्तीको । कार्य– आफ्नो अस्तित्व खोजको । दृश्यपान– सपनाको सङ्ग्रहालयको । खोज– हराएका सपनाहरूको । कोसिस– उसको फैलावट नापको । छाल– तर्क, चिन्तन, भाव, अनुभूति, संवेदनाको । परिवर्तन– सपना देख्ने आँखाहरूको, जीवन बाँच्ने तरिकाको ।

उसको आगमनमा म पर्दा बन्द गर्छु मनको ।

उसको घरमा सन्दर्भ सामग्रीविहीन प्रवेश थियो मेरो । मैले मौनता भत्काउँदै भनें– ‘घर त भव्य बनाएछौ ।’

उसले प्रतिक्रिया दियो– ‘राम झुपडी ।’

म उसको घर नियालिरहन्छु । भव्य घर । सुन्दर रङरोगन । आँगनमा गाडी, मोटरसाइकल । क्याक्टस झाङ्गिएका गमला । चिनियाँ दुबो । सुन्दर बगैंचा ।

मलाई उसले घरभित्रै आउने निम्तो दियो । मेरा फाटेका पैतालाले सिङ्गमरमर बिछ्याएका भुइँ टेक्न निकै गारो माने । तैपनि म पुगें उसले लगेको कोठामा । एसी जडित कोठा । महङ्गा फर्निचर । ठूलो टीभी । लहरै राखिएको छ– माक्र्स, लेनिन, माओ, प्रचण्ड र आफ्नो फोटो ।

उसको बदलिएको रूप, व्यवहार, रहनसहन देखेर मलाई ऊसँग बोल्न सङ्कोच लाग्छ ।

उसले गाउँ सोध्यो ।

गाउँलेहरूलाई उसैले सिकाएको थियो प्रजातन्त्र, समाजवाद र साम्यवाद । उसैले बाँडेको थियो नारा र सपनाहरू ।

एक साँझ घरका लागि मेरा दाजु भाउजूको झगडा हुँदा उसले भनेको थियो– ‘घर किन बनाउने ? सहरका ती सबै महल भोलि हाम्रा हुनेछन् ।’

कौसीमा बसेर उसले बिदेशी रक्सी र मैले कोक पिउँदै गर्दा मैले गाउँतिरका घटना सम्झाएँ ।

रक्सीको नसा चढ्दै गएपछि उसले वर्गसङ्घर्षको इतिहास सम्झँदै गयो । र भन्दै गयो– म मेरो लागि र तिम्रो लागि लडें । परिणाम स्वरूप मैले सहरमा घर बनाएँ । गाडी किनें । छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाएँ । मान्छेहरूलाई मेरो प्रगति देखेर डाहा हुन लागेको छ । त्यही भएर ममाथि थुप्रै आरोपहरू छन् अहिले । तर म आरोपहरूदेखि डराउने मान्छे होइन ।

र लाल पुरुषले एउटा उद्दरण राख्यो– ‘ लक्ष प्राप्त गर्न समयसँगै बदलिन जान्नुपर्छ । आदर्श कुरा मात्र गरेर बस्न हँुदैन ।’

चिसो बढ्दै थियो । ऊ रक्सी र कुरा दुबै थप्दै थियो ।

भविष्यसँग के को डर ? आदर्शसँग के को डर ? दुई/चार पैसा कमाइयो । मान्छेहरू अधिकार सुनिश्चित गर्न आन्दोलनमा थिए, मैले कमाइरहें । मान्छेहरू सङ्क्रमणकाल भन्दै थिए, मैले कमाइरहें । नदीले गाउँ डुबायो, बस्ती बगायो भन्दै थिए, मैले कमाइरहें । मान्छेहरू सहिद परिवार, घाइते, बेपत्ताका कुरा गर्थे, मैले कमाइरहें । हो मैले कमाएकै हो । म झुटो बोल्दिनँ ।

लाल पुरुषले एक टुक्रा कागज झिक्यो र लेख्यो– ‘जननेता’ । हत्तपत्त ‘जन’ काट्यो र भन्यो– कुनै समय म जननेता थिएँ । अब म केवल नेता हुँ नेता । अनि आक्रामक शैलीमा ऊ गर्जियो– ‘के तँलाई थाहा छ ? म माक्र्सवादको लेटेस्ट फेसन डिजाइनर हुँ । म निख्रिन लागेको कम्युनिष्ट हुँ ।’

सिद्धान्त, आदर्श र सपनाको बाँकी रहेको भोज खाएर फर्किदै गर्दा मैले गम्भीर भएर सोचें– के यही लाल पुरुष अन्तिम कम्युनिष्ट हो त ?

प्रतिक्रिया दिनुहोस्