‘बजारीकरणले साहित्यलाई ‘माल’ बनाउँदैछ’– आहुति

       सम्पादक | 1126 Views |   Published Date : 20th February 2016 |

घोराही, ७ फागुन । ‘नयाँ घर’ लेखेर थुप्रैलाई ‘क्रान्तिकारी’ बनाएका आख्यानकार एवम् कवि आहुति शुक्रबार मदानीमा नेपाली साहित्यको गम्भीर चिन्तकका रुपमा देखिए । उनले कार्यक्रममा न त कविता सुनाए न कुनै कृतिको रचनागर्भ । कार्यक्रममा उनले साहित्यलाई बिकाउ माल बजारीकरणको कडा चिरफार गरे ।

aahuti 2

‘पूँजीवादले कुनै बेला भातृत्व, स्वतन्त्रता र समानताबाहेकका कुराहरु मात्रै बेच्थ्यो, अब त्यहीं पनि बाँकी रहेन, आहुतिले भने, ‘एकाधिकार पूँजीवादको चरणसँगै यतिबेला सबै वस्तु बिकाउ मालको रुपमा परिणत हुँदैछन्, यहाँ साहित्यलाई पनि बिकाऊ माल बनाएर बेचिदैछ ।’

aahuti 3लेखक र साहित्य दुबैलाई मालको रुपमा परिणत गरी बेचिदिने प्रवृत्ति नै साहित्यको बजारीकरण भएको उनले बताए । ‘यहाँ साहित्यमात्रै होइन, लेखक समेतलाई बेचिदिन्छ बजारीकरणले’, सहभागीहरुलाई केही उदाहरणहरु राख्दै आहुतिले भने, ‘अहिलेका प्रकाशकहरु लेखकलाई यस्तो लेख्नुस्, उस्तो लेख्नुस् भनेर ‘आइडिया’ दिन्छन् ।’

बजार र बजारीकरण फरक कुरा भएको बताउँदै आहुतिले साहित्यका लागि बजारको आवश्यकता हुने भए पनि बजारीकरणले साहित्यकै भ्रष्टिकरण गरिरहेको दावी गरे । गम्भीर रचनालाई भन्दा छिपछिपे रचनाहरुलाई नै आम मानिसमा स्थापित गर्ने गरी बजारीकरण भइरहेको भन्दै आहुतिले गम्भीर रचनाहरु अध्ययन गर्ने पाठकहरु नै बन्न नदिई साहित्यलाई माल मात्रै बनाइदिने बजारीकरणको मुख्य उद्देश्य रहेको बताए ।

‘गम्भीर रचनाको यहाँ अध्ययन नै हुँदैन, पाठकहरु छिपछिपेमै हराउँछन्, उनले भने, ‘बजारीकरणले पाठकहरु कृति अध्ययन गर्ने होइन, कागज खाने कीरा बनाउँदैछ ।’

बजारीकरणले नयाँ किताब आउने बित्तिकै पढिहाल्ने तर ज्ञान आर्जन केही पनि नगर्ने पाठकहरुको जमात पारिरहेको भन्दै उनले भने, ‘बजारीकरणले पाठकलाई पूरै किताब खाने कीरा बनाइदिएको छ । यतिसम्म कि छापिएका कुनै पनि पुस्तक बाँकी नराख्ने तर विधागत ज्ञान शून्य रहने स्थितिका पाठकहरु पनि छन् । उनले थपे, ‘बजारीकरणले सिर्जनशील भूमिका र वैचारिक कामलाई पूरै अलग गर्दैछ ।’

साहित्यमा देखिएको तीव्र बजारीकरणका विरुद्ध लड्न विचारको हतियारमात्रै अचुक भएको उनले सुनाए । ‘अब विचारको हतियारबिना बजारीकरण विरुद्ध लड्न सकिदैन, उनले भने, ‘पाठकलाई किताबी कीरो बनाइदिने, लेखक र साहित्यलाई बिक्रीको वस्तु बनाइदिने बजारीकरण कुनै व्यापार मात्र होइन, यो विचारको कुरा हो ।’ संगठितरुपमा वैचारिक लडाईं लड्ने, गम्भीर साहित्यहरुको प्रकाशन र किताबी कीराहरु उत्पादन गरेर होइन, विषयगत ज्ञाता हुने गरी पाठकहरुको जमात तयार पारेर मात्रै बजारीकरण विरुद्ध लड्न सकिने उनले सुझाए ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासामा साहित्यकार आहुतिले लेखनको मुख्य चरित्र साधना नै भएको बताए । बिक्न र टिक्नका लागि लेखकले आफ्नो विचार नै बेच्नु लेखकीय धर्म नहुने भन्दै उनले त्यस्तालाई लेखक नभएर पूँजीवादी बजारका बिकाऊ माल मात्रै भएको टिप्पणी गरे ।

मदानी अभियन्ता गणेश ओलीले संयोजन गरेको कार्यक्रममा वक्ता आहुतिलाई पत्रकार तथा साहित्यकार सविन प्रियासनले खाँदा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्