स्वर्ण जन्मोत्सव

       दिल महरा | 748 Views |   Published Date : 20th February 2016 |

म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई तिलाले बगाउँदै लगेछ ।

Dil Mahara1(कुनै आलिसान महलको सबभन्दा माथिलो तलामा । कपडा धोइरहेको धोबीको हातको कापबाट निस्किएको साबुनको फिंजजस्तै भाग्य लिएर ५० वर्षअघि जन्मिएको मान्छे थियो ऊ । जो आजकै दिन ५० वर्ष पुगेको छ । आज उसैको जन्मोत्सव मनाउनका लागि उपस्थित भएका छौं हामी । आज उसैको जीवन सुनौं । कुरा उसैको सुनौं । उसैको कुरा गरौं । अनि हाँसौं हामी । रोऔं पनि । र उसको जन्मोत्सव भव्यरुपले मनाउन सहयोग गरौं हामी । अब उसको जन्मोसव मनाउने रीतितिर लागौं । ल, सबभन्दा पहिले उसलाई उपस्थित सबैलाई स्वागत मन्तव्य भन्न लगाऔं । हामी चुप लागेर सुनौं । उसलाई बोल्न भनौं ।)

sketch_storyम चिड्डी

बाको कम्मरसम्म मेरो टाउको हुने उमेरमा एक दिन बाले धुतेलो र ओखरको पातमा जमेको सेतो हिउँ खान सिकाउनु भो मलाई । र आफूले पनि खानु भो सेतो हिउँ । त्यो दिन– यति खानु भो कि बाले हिउँ ! म पेटभरि हिउँ खाएर घाममा तातिसकेको निकै बेरसम्म पनि बाको पेट अघाएको थिएन । बा अघाउनु भएको थिएन । मसँग बचेको नुन पनि बाले मागेर हिउँसँग सक्नुभएको थियो । अनि, बल्ल बा डकार ओक्लेर मेरो छेऊमा आउनुभएको थियो । र घाममा तात्तिदै उत्तानो परेर त्यो दिन बाले आकाश हेर्दै भन्नुभएको थियो–

‘चिड्डी भोलि नि हिउँ पर्छ । भोलिचाहिँ आलो हिउँ खाउँला । यो भन्दा मीठो हुन्छ । अनि सुन– तेरो आमा ऊ पारि आकाशमा बसेकी होली  । उतै कतै । त्यो सेतो हिउँजस्तो बादलभित्र । हामीजस्तै हिउँ खाँदै होली तेरी आमाले पनि त्यहाँ । तर तेरी आमाले निस्तो हिउँ खाँदै होली त्यो आकाशमा । आकाशमा नून कतै पाइदैन होला त्यहाँ । तेरी आमाले त नूनबिना केही पनि खान सक्दैनथी । नून चर्को खान्थी । बिचरी ! निस्तो हिउँ कसरी खाँदै होली तेरी आमा । तेरी आमालाई पनि त हामीजस्तै भोक लाग्दो होला ।’

म बाको कुरा सुन्दै थिएँ– ऊ पारि आकाशतिर हेर्दै । बा उठेर परतिर मुत्न जान्छु भन्नु भोे । उठेर बा पर जानु भो । मैले पेट छामेको थिएँ त्यसपछि । हिउँले भरिएको मेरो पेट चिसो थियो । मलाई पनि मुत्न मन लाग्ला–लाग्ला जस्तो भो । म पनि उठेर परतिर हिडेको थिएँ । बाले उत्तर फर्केर मुत्नु भो । मैले दक्षिण फर्केर मुतेको थिएँ । यो मेरो सम्झनाको बालापनको कुरा हो त भनुँ म । हो, त्यो दिन सम्झेर रुन मन लाग्ने त्यसैदिनको कुरा हो यो  । जुन दिन बा र म हिउँ खाएर छाक टारेका थियौं । भोक मेटेका थियौं ।

जन्म

नेपालको ऊ माथि हिमालतिर पनि मान्छेहरु बस्छन् । त्यहाँ पनि गाउँ छन् । घर छन् । उनीहरु पनि हाँस्छन् । रुन्छन् । र बच्चा, बालक, बुढा सबै हुन्छन् । या कि उनीहरुले पनि मानव सृष्टिको अहंकारलाई जरुर प्रेम गर्छन् । जसरी कि चलेको छ यो दुनियाँ । अस्ति, हिजो, आज र चल्नेछ भोलि पनि । त्यसैगरी चलेका छन् उनीहरु पनि । यो उनीहरुको मानव अहंकारको एउटा सुन्दर चुचुरा हो । जहाँ सबै चढ्दै झर्दै हिडिरहेका हुन्छन् ।

अनि, एकदिन त्यहींको कुनै भूगोलमा हिउँको ओछ्यानमाथि मेरी आमाले तातो रगत बगाएपछि म पनि जन्मिएँ । आजको दिन । आजभन्दा ५० वर्षअघि । ५० सालअघि । त्यस दिन आरु र ओखरको हाँगामा बेस्मारी जमेको थियो रे हिउँ । उतापट्टि पखेरामा हिमपहिरो खसेको रे । डाँफे लेकमा, हाकु लेकमा रुखहरु पुरिए रे हिउँले । बाले भनेको कुरा हो । तिला त हिउँमुनि लुकेकी रे । म त्यहीं दिन जन्मिएको मान्छे । आजको दिन जन्मिएको मान्छे । पचास वर्ष पुरानो हिमालको मान्छे । दुःख पाउन जन्मेको गरिब म मान्छे ।

आमाको मृत्यु

आमाको दूधले नपुगेर बाख्राको दूध खाएर बाँचेको रे म । यो पनि बाले गरेको, बाको इतिहास सम्झिने कुरा हो । बाको दुःख हो । यो बाको आँसुको रारादह हो, गिरीदह हो । र चुपचाप लुकेर भित्र–भित्र हिड्न मन पराउने बाले तिलाबाट सिकेको काँडे बाटो हो । अक्करे गोरेटो हो ।

म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई तिलाले बगाउँदै लगेछ । एक दिन पछि आमालाई बाले तल भेट्नुभएछ । त्यो दिन पनि आमाको अनुहार उस्तै थियो रे । बाले जति गरे नि मन थाम्न नसकेर आमाको निधारमा म्वाई खानुभयो रे । रुनुभयो रे । मैले आमाको हातलाई तान्न खोजें रे त्यसदिन । आमासँग जान भनेर बुरुक–बुरुक उफ्रें रे । रोएँ रे । बाको अङ्गालोबाट छुट्टिन खोजें रे । उफ्रिएर हेरें रे मैले । बाले भनेको कुरा हो । आमा त्यो दिनदेखि मर्नु भयो रे ।

बा आक्च्या खोई ?

पाटनबाट आक्च्या बोकेर आइपुग्ने दिन । बाको शरीर पो बोकेर ल्याइदिए गाउँलेहरुले । म त बाले आक्च्या लिएपछि आगोमा पोलेर नुनसँग पेटभरि खाउँला भनिरहेको थिएँ । तर, डेरा बाजे, उल्के ठुल्बा, हउरे काका रुँदै–रुँदै पो आए । उफ् । मैले बा भनें । बा त बोल्नु भएन । नबोलेपछि फेरि बा भनें । बा फेरि नि बोल्नुभएन । अनि भोक लाग्यो भनें । बा अझै बोल्नु भएन । बा नबोलेपछि मैले कराउन छोडें ।

मान्छेहरुले बालाई सेतो कपडामा बेर्न थाले । हरे, दुनियाँ किन रोएको होला । त्यस दिन दुनियाँ रुन थाले । दुनियाँले मलाई अङ्गालोमा हाले । मलाई त ठूला मान्छेको अगाडि रुन लाज हुन्छ भन्ने बाले सिकाउनु भएको थियो । त्यसैले म त रुँदै रोइँन । बरु बा बोल्नुहुन्छ कि भनेर फेरि बा भनें । बा फेरि नि बोल्नु भएन । मलाई खुब भोक लागिरहेको थियो । दुनियाँ भने खुब रोइरहेको थियो ।

एकछिनपछि त बालाई मान्छेहरुले बोकेर पर लगे । मान्छेहरुले दाउरा चाँजे । बालाई दाउरामाथि राखे । अनि त बालाई दुनियाँले आगो लाएर जलाउन थाले । फेरि, दुनियाँ ठूलो–ठूलो स्वरमा रुन थाले । अहिले झन्–झन् मलाई त भोक लागिरहेको थियो । मैले पनि ठूलै स्वरमा आक्च्या खै बा भने । दुनियाँ त बेस्मारी रुन पो थाले अझ । मैले के भनेर खै ?

औंलतिर

अनि, आरुका फूलहरु झरेर भुइँभरि भए । बाले कलमी गरेको स्याउको बोटमा चारवटा फूल फुले । म ठूलो हुँदै आएँ । जति–जति ठूलो हुन्थे म त्यति–त्यति धेरै भोक लाग्थ्यो मलाई । मैले दुनियाँको भेंडाबाख्रा ग्वाला, घोडा ग्वाला लाग्दै बाँच्न थाले । त्यहीबेला, एकदिन सउरेको बाले सिलाजित बेच्न दाङ, बाँके, बर्दिया, सुर्खेत जाम् भने । झोलाभरि सिलाजित बोकेर म औंल झरें । औंलमा सिलाजित बेच्दै हिडें । सबैले सिलाजित व्यापारी भन्न थालें । म त सिलाजित व्यापारी पो भएँ । दुनियाँले सिलाजित किन्न थाले । दुनियाँले सिलाजित बेच्ने मान्छे भन्न थाले । मलाई त त्यसपछि हिमाल जान मन लाग्नै छोड्यो । औंलमा सिलाजित बेचेर बाँच्ने भएँ । पेटभरि खाने भएँ । म सिलाजित व्यापारीको नामले चिनिदै गएँ । हुर्किदै गएँ ।

मैले देखेको मुनामदन

एकपटक ठकुरी बाजेले धैंसो लागेको कालो किताब पढिरहेको देखें मैले । मलाई त्यो किताब उचाल्न खुब मन लागेर ठकुरी बाजेलाई भनें । ठकुरी बाजेले उचाल्न दिनु भो किताब । किताब सानो थियो । हलुको थियो । मैले त्यो किताब उचालेर खुब रमाएँ । अनि ठकुरी बाजेलाई सोधें, यसमा के हुन्छ बाजे ?

ठकुरी बाजेले सबै भनिदिनु भो । म दङ्ग परेर सुनिरहें । यो म एघार÷बाह्र वर्ष हुँदाको कुरा हो । जब म ठूलो–ठूलो हुँदै गएँ अहो ! मदन मै हँु जस्तो लाग्न थाल्यो । बरु मुना पो कहाँ होलिन् ? म त मुनालाई खोजेर हिड्न थालें । हर दिन । हर रात । मुनालाई खोजिरहें । मैले पढ्न जानेको थिइँन त्यो किताब । ठकुरी बाजेले पढेको सुनें मैले । मुनामदन गरिब छन् भन्ने कुरा त्यसमा लेखेको छ रे । म त गरिब मदन थिएँ । बरु गरिब मुना कहाँ होलिन् खोजेर धेरै थाकें म ।

एकदिन सिलाजित बेच्दाबेच्दै औंलमा मुनालाई भेटी छोडें । ठकुरी बाजेले पढेको किताबकी मुनाजस्तै । अनि, मैले मुनालाई धेरै प्रेम गर्न थालें । मुनाले मलाई साहै्र पे्रम गर्न थाली । ठकुरी बाजेको किताबमा जस्तै ।

अनि, एक दिन कुरा हो । ठकुरी बाजेको किताबको मुनामदनजस्तै मुना र मलाई नि भोक लाग्ने भयो । या कि बाँच्नुपर्ने भो । सिलाजित बेचेर बाँच्न नसक्ने भयौं मुना र मदन । अनि म सिलाजित व्यापार छोडेर सिलोङतिर हिडें । हरे ! भगवान हुन्छन् कि हुदैनन् । हुन्छन् भने भगवान काना छन् । स्वार्थी छन् । पापी छन् । लाछी छन् । होइन भने मेरै मात्र सब दुनियाँ किन ताछेर फालिदिन्छन् भगवान ? सबैले सुन्नुस् । भगवानले मेरी मुनालाई पनि चार महिनापछि राप्तीमा बगाएर मारिदियो । बगी मुना । कठै ! कहाँ गई होली मेरी मुना ? बिचरी मेरी मुना । त्यसपछि म सिलोङबाट मर्ने र बाँच्ने हुँदै दाङ फर्किएँ । दाङ आएँ ।

मुना गाउँ

मेरी मुना मरी । मलाई थाहा छ । मेरी मुनालाई म खुब माया गर्थें । ठकुरी बाजेको किताबको मदनले भन्दा नि बढी । त्यो पनि मलाई मात्र थाहा छ । तर यो सबै कुरा दुनियाँले भुल्दै–भुल्दै गयो । दुनियाँ मेरी मुना थिई भन्ने कुरा बिर्सेर धेरै पर आयो । म मुनाको बिछोडले एकोहोरो बन्दै गएँ । निद्रा, भोक, प्यास हराउँदै गएँ । कहाँ छे मेरी मुना । म उसलाई खोज्दै हिडें । मुना भएको भए घर हुन्थ्यो होला । बा भन्ने, आमा भन्ने, बच्चा नि हुन्थे होला । मुनै नभए के को बच्चा ? अनि कसका लागि घर ? म त मुनाको प्रेमले एकोहोरिदै गएँ । बौलाहा त हुँदै होइन म । तर दुनियाँले बौलाहा हो भनेपछि बौलाहा नै भएँ म ।

दिनहरु बित्दै गएँ । रातहरु आउँदै गरे । म रात र दिन नचिन्ने भइसकेको थिएँ । केटाकेटीहरुले ढुङ्गा हान्न थाले । मलाई जिस्काएर मरेकी मुनाको पोई भन्न थाले । बौलाहा भन्न थाले । म हेपिदै गएँ । देशमा शासन चल्थ्यो । चलिरहेको थियो । त्यो दिन पनि शासन चलिरहेको थियो होला । समाजका मान्छेहरु मिलेर ढुङ्गामुढा गरे म माथि । मैले समाजको सुन्दरतालाई बौलाहा भएर बिगारिदिएँ रे । मैले फोहोर गरें रे । उनीहरुका केटाकेटीका लागि भूत पो भएँ रे म । अनि म बौलाहा भएर लखेटिएँ ।

यो मान्छे नबस्ने जङ्गलको बस्तीभित्र छिरें । साल, खयर अनगिन्ती यी रुखहरु मेरा छिमेकी हुन थाले । यो तपाईंहरु बसिरहेको चिड्डी बौलाहाको झुप्रो । यी नै छिमेकीको हात पाखुराले बनेको हो । यी नै छिमेकीहरुले मेरो प्रेमबारे सोधी खोजी गर्न थालेपछि मेरी मुनाको सबै कहानी भनिदिएँ । त्यसपछि यिनै मेरा साल, खयर अनगिन्ती छिमेकीहरुले मेरी मुनाको नाउँबाट मुना गाउँको नामकरण गरे । आज मुना गाउँमा उपस्थित तपाईंहरु सबैलाई स्वागत छ । मेरो यो पचास वर्षको जन्मोत्सवमा स्वागत छ । म मुना गाउँको बासिन्दा । चिड्डी । यहाँहरुप्रति नतमस्तक छु ।

(उसले मन्तव्य सकेर ऊ पारि कुनामा गयो । चुलोमा डेक्ची बसाल्यो । उसको मन्तव्य सुनेर मान्छेहरु रुन थाले । केही मान्छेहरु मुत्न भनी हिडेर पर–पर गए । चिड्डीले भने चिया पकाउन लागेको थियो । कालो चिया । धेरै कालो चिया । त्यो चियाको रङ उसको जीवनजस्तै थियो । कालो न कालो ।)
०००

विवरण : यो कथा लेख्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यको मुना र मदनलाई धेरै सम्झिएको छु ।

प्रतिक्रिया दिनुहोस्