आफ्नै प्रतिस्पर्धी

       भुपेन | 643 Views |   Published Date : 5th March 2016 |

Bhupenजिन्दगीका ४२ औं बसन्त पार गरिरहेका उनी हिजोआज निकै हतारोमा हुन्छन् । कारण– केही दिनपछि चलचित्र लावाजुनीका लागि आफ्नो लर्के जुल्फी सम्हाल्दै उनले एक्सन–कटको तालमेल मिलाउनुपर्नेछ ।

यसर्थ हिजोआज उनको दैनिकी मुक्तकम्लरीसँग सम्बन्धित कच्चा सामग्री बटुल्नमा व्यस्त भएको छ ।

थोत्रिदै गएको रातो भटभटेले उनको हतारोको मर्मलाई कति बुझ्न सक्ला ? यद्यपि यही हतारोको बीच फिल्म निर्माणका लागि कैयन् लाखको जोहो गर्न पनि हतारिनु छ । यही भटभटेमा सवार केएल पीडितले यसअघि थारु संस्कृतिसँग सम्बन्धित चलचित्र भुइँयार निर्माण गरेका थिए । फरक यति हो– भटभटे थोत्रो भइसकेको छ तर उनीभित्रको आँट झनै आँटिलो भएको पाउँछु ।

KL Peeditनेपाली फिल्म उद्योगलाई नियाल्दा यसले भर्खर–भर्खर आफ्नै पखेटाको सहारामा उड्ने क्षमताको विकास गर्दैछ । यद्यपि अझै पनि बलिउड र हलिउडको कपी जमाना गएको छैन । अझै पनि दर्शक र निर्माता स्वयं पनि नेपाली फिल्म उद्योगमा सलमान खानका पाखुरा र कट्रिना कैफको ग्ल्यामर्सलाई नै बढी माग र आपूर्ति गर्छन् । यस्तो बजारका बीच पीडितले मोफसलबाट त्यो पनि मौलिक विषयवस्तुमा आधारित लावाजुनी अर्थात् नयाँ जुनीबारे फिल्म तयार पार्दैछन् । उनको यो आँटलाई कतिले मुख्र्याइँ पनि भनिदेलान् । यद्यपि उनका शब्दमा यो आँट र मुख्र्याइँ दुबै हो । ‘एक सरो जीउ लिएर भेलमा हाम फालेको छु । बगे भने यो ठूलो दुस्साहस हुनेछ पारि पुगे सुन्दर कदम !’ एकाबिहानै चिया गफमा उनले सुनाए ।

भनिन्छ– धेरै परिचय बनाएको मानिसको एक समय यस्तो आउँछ जब ऊसँग आफ्नो एउटा परिचय पनि बच्दैन । किनकि समग्र पहिचानलाई एउटै वाक्यमा सम्बोधन गर्न मिल्ने शब्द विकास भइसकेको छैन ।

नामको पछाडि पीडित झुण्ड्याएका केएलको जीवनका पन्ना पल्टाउँदै गर्दा म उनलाई पनि यस्तै कतै भेटाउँछु । यद्यपि केएलको ‘क’ कलमसँग भने निरन्तर जोडिएको छ । हो, समयसँगै कलमका अक्षर केही फेरिएका छन् । केही कोमल भएका छन् । युद्धकालीन समयमा गाउँघरमा फहराइरहेको रातो झण्डाको मसीलाई निचोरेर केएल शहरमा सेता पत्रिकाका पन्ना भर्थे । घोराही आक्रमणको बिहान उनी कार्यरत नौलो जनउभार साप्ताहिकले रातो रंगको समर्थन गरेपछि हरिया बर्दिधारीको बन्दुकले बोल्न थाल्यो ।

‘हाम्रै काखी मुन्तिर केएल भन्ने भुसुना पत्रकारको त्यत्रो आँट ?’

त्यसपछि केएलसँगै उनका लर्के जुल्फी करिब दुई वर्ष भूमिगत हुन बाध्य भए ।

०००

०६३ सालको एक बिहान घोराहीस्थित तुलसीपुरचोकको अलि पर रहेको पुस्तक पसल अगाडि एउटा मान्छे आफ्नो कविता संग्रहबारे चर्चा गरिरहेको मैले देखेको थिएँ । कुरा गर्दागर्दै बीच–बीचमा इण्डियन हिरो अक्षयकुमारका जस्ता जुँगा मुसार्ने (उनी अहिले पनि अक्षयकुमारका भयंकर फ्यान हुन्) र जुल्फी कपाल सम्हाल्दै कुरा गरिहेका थिए । पसले साहुजीले चिनाएअनुसार ती मानिस नै केएल थिए ।

यद्यपि यति जोशिलो स्वभावको मान्छेको नाम पछाडि ‘पीडित’ शब्द झुण्डिएको कुराले मलाई अझैं पनि अलमलमा पारिदिन्छ । त्यसपछिका दिनमा केएलको परिचयका कैयन् आयाम मेरो स्मृतिग्रन्थमा घुस्दै गए । कहिले पत्रिकाको बाइलाइन समाचार उनको नामको हुन्थ्यो त कहिले पत्रिका नै उनको । कहिले गायन विधाका लुकेका प्रतिभालाई निखार्न मञ्च खडा गरिरहेका केएललाई मैले देखें भने कहिले डान्सिङ स्टार छान्न नवप्रतिभाहरुसँग कम्मर मर्काइरहेको भेटाएँ ।

उता पत्रकार महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुपर्ने जेन्टल मान्छेले यसरी कम्मर मर्काउन थालेपछि यता कसैले मेरो कानमा खुसुक्क भन्यो– ‘उत्ताउलो पत्रकार !’ शायद उनी आफैले पनि यस्ता आरोप सुने होलान् । पछि तिनै आलोचना गर्ने मान्छेहरुमध्ये केही आफ्ना सन्तानको भविष्य केएलका हातमा सुम्पिरहेका थिए । र, उनले दाङमा शुरु गरेका केही अभियानहरुलाई पछ्याइरहेका थिए ।

भन्न मन लाग्छ– ‘बनिबनाऊ गमलामा फूल धेरैले सजाउँछन् । तर काँचो माटोलाई निखारेर गमला बनाई फूल सजाउने क्षमता भएका मान्छे कमै हुन्छन् । केएल त्यस्तै क्षमता भएका एक कालिगढ हुन् ।’

०००

४५/४६ सालतिर आजभोलिजस्तो विद्युतको विकास भइसकेको थिएन । कलाको पनि यसरी हाँगाबिगा बिकसित भइसकेको थिएन । केएलबारे बुझ्दै जाँदा मैले थाहा पाएँ । त्यो समय पनि अत्यधिक कलामोह भएका केएल उज्यालोका लागि ५०औं लालटिन बालेर गाउँलेहरुलाई नाटक देखाइरहेका हुन्थे । र हाल उनी एउटापछि अर्को चलचित्रको निर्देशकका रुपमा स्थापित हुने क्रममा छन् । यद्यपि निर्देशकका रुपमा मात्र सम्बोधन गरिदिदा उनको परिश्रमलाई अन्याय हुन जाला । किनकि उनले कैयन् साहित्यिक कृतिहरुको प्रकाशन पनि गरेका छन् । शहर पसेपछि कविता संग्रह, समयको कथा कथा संग्रह, झोला र सपना कविता संग्रह, हृदयका सरगम गीत संग्रह र आह्वान गीति एल्बम उनका अमूल्य सम्पत्ति हुन् ।

uday

यस्तै कैयन साना ठूला चलचित्र र डकुमेन्ट्रीको उनले निर्देशन पनि गर्न भ्याएका छन् । पत्रकारितामा निरन्तर कलम चलिरहेको छ । भिडियो क्यामेरामा हात अभ्यस्त हुँदैछ । तर फेरि पनि यति थाहा पाउँदा पाउँदै कसैले चोकमा केही सोधिदिन्छ– ‘केएल एउटै काममा धेरै समय किन टिक्दैनन् ?’

‘मैले जीवनमा जे आँटेको छु, त्यो पूरा गरेरै छाडेको छु । सबैको जीवन सरल रेखामा बग्दैन । मेरो जीवन त्यस्तै छ । अनेक घुम्ती, मोड, उतारचढावका बीच मेरो जीवन निरन्तर गतिशील छ । कला साहित्यका विविध आयामसँग जोडिएको हुँ । आफ्नो मूल चरित्रअनुसार कला साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील नै छु । तर पनि मान्छे खोइ यसरी किन सोच्छन् ?’ यति भनिरहँदा अलमलिएर उनले निधार खुम्च्याए ।

उनले आफ्नो जीवनलाई यसरी अथ्र्याइदिएपछि मैले नि सोचें । एकै ठाउँमा जमेको तलाउजस्तो जीवन ठीक होला कि नदीजस्तो ? जतिसुकै मोड अनि घुम्तीहरुमा टक्राए पनि समुन्द्रसम्म पुग्ने त नदी नै हो ।

०००

दैनिकी सहज बनाइदिने मास्टरी जागिर केएलले अरुलाई सुम्पिदिए । पत्रकारिताको कलम पनि फेरिएको छ । उनका सहकर्मी निरन्तरको कर्मले स्थापित पत्रकार, कलाकार, साहित्यकार छन् । तर केएल आफैमा यी सबै परिचय बोकेका मानिस हुन् ।

सबै भइदिनु कहिलेकाँही केही नहुनु जस्तो भइदिन्छ । मलाई लाग्छ– केएलको प्रतिस्पर्धा अब उनी आफैसँग छ ।

साहित्य र पत्रकारितामा लामो समय अनुभव संगालेका केएलले चलचित्र निर्माणको क्षेत्रमा पाइला अघि बढाउनु एक अनुभवी पत्रकार र साहित्यकारसँग प्रतिस्पर्धा गर्नुजस्तै हुनेछ । कलमसँगै क्यामेराको भार झनै गह्रौं हुनेछ । सँगसँगै मध्यमस्तरीय जीवनस्तरका आर्थिक अनि पारिवारिक अप्ठ्याराहरु छदैछन् । चलचित्रजस्तै उतारचढाव बोकेको जीवनलाई अब उनले बिस्तारै सहज बनाउनु नि आवश्यक छ । तर फेरि पनि प्रश्न उठ्छ– ‘अबको १० वर्षपछि केएल कुन मोडमा भेटिएलान् ?’

‘म मेरो मूल चरित्रअनुसार कला साहित्य क्षेत्रमा नै क्रियाशील रहनेछु ।’ उनले सुनाए ।

मलाई पनि लाग्छ– उनले कुनै दिन आफ्नो जुल्फी कपाल सम्हाल्दै उही थेगो दोहो¥याउनेछन्– ‘गोठाला छोराले फेरि यस्तो काम आँट्यो नि भुपेनजी !’

प्रतिक्रिया दिनुहोस्