दुःखमा उदाउने उदय

       भुपेन | 1204 Views |   Published Date : 2nd April 2016 |

Bhupen

बोलाउनुस्– केही समय नबोल्न सक्छन् । सुनाउनुस्– केही समय नसुन्न सक्छन् । हल्लाउनुस्– तर नहल्लिन सक्छन् । मोबाइलमा यसरी एकोहोरिएका उदयको व्यहोरा देखेर तपाईको प्रेसर चाहिँ नबढोस् ।

त्यसरी बोलाइरहेको/सुनाइरहेको/हल्लाइरहेको तपाईलाई मैले कथंकदाचित देखेछु भने– एउटा आग्रह गर्नेछु– डिस्टर्व नगर्नुस् उदयलाई । किनकि उनी डिस्टर्व हुँदा डिस्टर्व हुन सक्छ– कसैको जीवनप्रतिको आशा र भरोसा । कसैको हृदय । कसैका आँखा । अनि कसैका आँसु । बरु एकोहोरिन दिनुस् ट्वीटर र फेसबुकमा ।

सामाजिक सञ्जालहरुमा उदय यसरी एकोहारिएर नै हो– चिउँडो ढाक्ने गरि जिब्रो बढ्दै गएका बसन्त र मुटुको समस्या भएका समिर सिंजालीका मुखबाट बाआमाले आफूलाई सम्बोधन गरिएको शब्द सुन्न पाएको ।

कमला वलीले आफ्नो पत्थर जिन्दगीबाट मुक्ति पाएको । कुनै डिस्टर्व हुन नपाई उदयका औंला मोबाइलको किप्याडमा त्यसरी नै चलमलाइरहन पाए भने– मृत्युले नङ्ग्रा बिझाएको छत्र परियार फेरि तङ्ग्रिन सक्छन् । कम्मरको देब्रेतिर कृत्रिम झोलामा जीवन बोकेर हिड्ने उसको भारी हलुङ्गो हुन सक्छ ।

त्यसैले म फेरि पनि आग्रह गर्छु– उदय जीएमलाई एकोहोरिन दिनुस् । लेख्न दिनुस्– केही आग्रहमिश्रित वाक्य । केही धन्यवाद मिश्रित शब्द ।

०००

udaya 1

हाँस्दा चिमिक्क हुने मंगोलियन आँखा । जुँगाको खडेरी परेको सपाट अनुहार । तिनै आँखाले डो¥याएका हुन् १५ वर्षे उदयलाई रोल्पाको हुङदुङदेखि भारतको भटिण्डासम्म । तर रित्ता थिएनन् आँखा । सपना थिए कैयन्, जस्तो कि–

साथीभाइजस्तै कालापहाड देख्ने सपना ।

लेदरको कालो ज्याकेट अनि बेलीबटम प्यान्ट लगाउने आकांक्षा ।

फर्किदा करेटीको उकालोमा काँधमा बोकिराखेको फिलिप्स टेपमा ‘कालीपारे दाइ मेरो मायालाई… भन्ने गीत घन्काउने सपना ।

पैसा अझ धेरै कमाइएछ भने– बाका लागि बिहान साँझ चार÷चार माना दूध दिने लैनो भैंसी । आमाको लागि मखमली फरिया । भाइका लागि नयाँ स्कुल ड्रेस… आदि इत्यादि ।

Udaya_Gmयस्तै केही सपना बोकेर १५/१६ वर्षको उमेरमा पुगेका थिए उनी– पञ्जाबको भटिण्डा । त्यहाँ पुगेर उनले केही दिन भटिण्डाको चर्चित पाउभाजी खाए । अनि केही दिन कामको खोजीमा बिताए । साथीभाइले खोजिदिएका काम सुन्दैमा कम्ति रोचक र मनलाग्दो थिएनन् । किताबी तथा राजनीतिक चेतनाका गुरु कृष्णबहादुर महराका चेला उनी । यताबाट स–सानो मसाल पार्टीको ह्याङओभर बोकेर पुगेका थिए उता । भटिण्डामा कामको प्रस्ताव यस्तो आयो–

‘बड्डा उदय ! तेरा लागि मसालजीको काम पाइया छ गर्छस् ?’

रोल्पाका मसाललाई भटिण्डामा नि मसालकै काम पाउनु अहोभाग्य थियो । उनले कामलाई एक निमेषमै स्वीकार गरे । भारत आएर पनि गाउँकै जस्तो अनुभवी जागिर पाइएपछि किन नस्वीकार्नु ?

तर पछि काम गर्न जाँदा पो खिस्रिक्क परे– यता मसालजीले नारा जुलुस गर्नुपथ्र्यो । उस्तै परे मान्छे अगाडि पाखुरा नि सुर्किन पथ्र्यो । पाखुरा त उता नि सुर्किन पथ्र्यो तर मान्छेका लागि नभई भाँडावर्तनका लागि । भटिण्डामा मसालजीको काम त भाँडा चम्काउने पो रहेछ ।

केही दिन त्यसरी पाखुरा सुर्केपछि उनी क्रमभंगी भएर निस्किए । सपना र संघर्षको नदी अन्तै मोडिदिए । साथीभाइजस्तै फिलिप्स टेप बोकेर छ/छ महिनामा नेपाल–भारत ओहोरदोहोर गर्नुपर्ने मान्छे कलम पो बोक्न थाले ।

कालिपारे हुनुपर्ने उदय भारतमै पत्रकार भइगए । केही समय भारतबाट नै प्रकाशित हुने एउटा पत्रिकामा उदयले कलम चलाए । कलम निखारिदै गयो । निखारिएको कलमले कति लेखोस् पराई देशका कुरा ? चारो भेटाएसी चरा त गुँडमा फर्किन्छ, उदय पनि फर्किए– आफ्नै गुँडमा ।

नेपाल फर्किदा धेरै कुरा फेरिसकेको थियो । उनको पार्टी मसाल नि मोटो र पातलोमा विभक्त भइसकेको थियो । र गुरु कृष्ण महरा र चेला उदय पनि फरक–फरक मसालमा विभक्त भइसकेका थिए ।

नेपाल फर्केको केही दिनपछि रोल्पाको टुडिखेलमा आयोजित कार्यक्रममा गुरुलाई चेलाले राजनीतिक बहसमा उत्रिन चुनौती दिए । जुँगाको रेखी नि गज्जबसँग नकोरिएको युवकले सांसद भइसकेका आफ्नै गुरु महरासँग बहसमा उत्रिदा वरपरका मान्छे आकर्षित नहुने कुरै थिएन । बहस सुन्न भीड जम्मा हुन थाल्यो ।

चेलाले चुनौती नै दिए पनि गुरु त्यसरी नै बहसमा उत्रिनु शोभनीय थिएन । बहस टुङ्ग्याउने सुर कस्दै महरा सरले भने– ‘लौ त उदयजी । अहिले पश्चिमतिरको यात्रामा जाँदैछु, फर्केपछि कुरा गरौंला ।’

चेला उदय पनि के कम ? गुरुजी बहसबाट डराएर भाग्न लागेको भ्रममा फेरि चुनौती दिन भ्याइहाले– ‘लौ त महरा सर, म नि अहिले पूर्वतिरको यात्रामा जाँदैछु । फर्केपछि बहस गरौंला ।’

कुरैकुरामा पूर्व-पश्चिम पुगेका गुरु–चेलाको स्थगित बहसले त्यसपछि निरन्तरता त पाएन । तर त्यसकै प्रभावले एउटा महत्वपूर्ण उपलब्धि भयो ।

आफूले पहिलोचोटि लेखेको कृति ‘पञ्जाबदेखि रोल्पासम्म’ उदयले १ रुपैयाँको दरले मज्जैले बेच्न पाए । शायद त्यसरी पुस्तक बिक्री गर्ने क्षमता राख्ने रोल्पाका ‘वन्ली वान’ कान्छा साहित्यकार उदय नै थिए ।

महरासँग त्यसरी बहस गर्न तम्सिने आलोकाचो उदयलाई सम्झिदा अहिले उनी आफै नर्भस् हुन्छन् रे ।

०००

माओवादी जनयुद्धको गति बढ्दै थियो ०५९/६० सालतिर । जनयुद्ध गाउँको पुल पार गरेर शहर छिर्दै थियो । माओवादी शहरमा भएसम्म आफूलाई सहयोग गर्ने कार्यकर्ता र सहयोगी खोजिरहेका थिए । र, यसरी सहयोगी खोज्ने क्रममा रोल्पाली र मंगोलियन अनुहारधारी पहिलो लिस्टमा पर्थे । उदय पनि बेला–बेला परे (कारण अरु पनि थिए होलान उनको साथ चाहिनुका ।)

त्यो समय उदय घोराहीको मिलनचोकमा टेलिफोन सेन्टर चलाएर बस्थे ।

त्यो टेलिफोन सेन्टरमा एकाबिहानै एउटा लुते झोला बोकेको मान्छे श्रीमानलाई दिनू भन्दै ज्ञानमाला भाउजूको हातमा एउटा प्याकेट थमाएर आफ्नो बाटो लाग्यो । प्याकेटभित्र एउटा डिस्क र चिठ्ठी राखिएको थियो । चिठ्ठीमा जनाइएअनुसार केही डकुमेन्टहरु मेल गरिदिनुपर्ने थियो ।

डिस्क खोलेर हेर्दा त्यतिबेला राज्यद्वारा घोषित ‘चर्चित आतंककारी’ प्रचण्डको अन्तर्वार्तालगायतका सामग्री पो भेटिए । हेर्दाहेर्दै उदयको गोरो अनुहारमा डरको ग्रहण पोतियो । डकुमेन्ट पठाम् शाहीसेनाको डर, नपठाम् जनसेनाको डर । दिनभरि यसै–त्यसै केही सोचिरहे । जसोतसो डरले दिशा र समय निर्धारण ग¥यो ।

सुनसान रातको १२ बजे उदयले ती डकुमेन्ट निर्देशित ठेगानामा मेल गरिदिए ।

त्यसको तीन/चार दिनपछि आफु कार्यरत पत्रिकामा पुग्दा सहकर्मी नरेन्द्र काठमाडौंबाट प्रकाशित अनलाइनहरुमा विशेष सामग्रीका रुपमा छापिएको त्यहीं अन्तर्वार्ता पढेर उदयलाई सुनाए । नेपालका सारा सञ्चारमाध्यम अमेरिकाको चर्चित पत्रिका टाइम्स म्यागेजिनलाई उधृत गर्दै विशेष सामग्रीका रुपमा त्यही समाचार छापिरहेका थिए ।

यता उदयचाहिँ प्रचण्डको बहुचर्चित अन्तर्वार्ता आफ्नो कम्प्युटरको कुनाकन्दरामा लुकाइएको सामग्री भएकोमा उकुसमुकुसमा थिए ।

कुराकानीकै क्रममा घटना सम्झिएर उदय खितखिताए– ‘बड्डा त्यो समय नेपाली माओहरुले झण्डै थाङ्नामा सुताएनन् यार । शाही सेनाले समाचार पठाउने स्रोत थाहा पाको भए उदयमाथि निष्फिक्री खुकुरी उद्याउँथ्यो ।’

०००

०५९ सालको अर्को एउटा प्रहर । टीकाराम उदासी, नवीन विभास, आकाशगंगा विसी, उदय जीएमको दौंतरीले आ–आफ्ना कविता संग्रह निकाल्ने प्रतिबद्धता एक–अर्कालाई जनाए । त्यसको केही दिनपछि उदासी र नवीन संग्रह प्रकाशनको अन्तिम चरणमा पुगिसकेका थिए ।

यता उदयचाहिँ आफ्नो हरफन मौला तालमा दिन कटाइरहेका थिए । साथीहरु कविता संग्रह प्रकाशनको अन्तिम चरणमा पुगेको थाहा पाएर पो झस्किए । अनि आफ्नो अल्छीपनालाई थन्क्याउँदै केही यस्तो कविता कोरे–
हजार/लाख चोटहरु
हजार/लाख पीडाहरु
म्वाई खान्छन् उसलाई
रन्थनिएर यताउता
अभावको चोकमा हराइरहेछ
साला उदय कराइरहेछ

यो सँगै उनका अन्य पाँच कृतिहरु प्रकाशित छन् । पत्रकारितामा कलम पनि चलिरहेकै छ । युगबोध हुँदै अन्नपूर्ण पत्रिकाका पन्नामा उदयले वर्षौं अक्षर भरे । सामाजिक दुःख, पीडा, पसिनालाई शब्द बनाए ।

तर १२ वर्ष मेहनत गरेको त्यही अन्नपूर्ण पोस्टले पोहोर साल एकाएक बिनाकारण जागिरबाट हटाइदियो । श्रमजीवी पत्रकारका लागि बनेका ऐन कानुन पत्रिकाका मालिकका पहुँचसामु बालुवामा पानी भए ।

उदयले आफू हटाइनुको कारण मागे । तर हटाउनुपर्ने र सार्वजनिक गर्न मिल्ने चित्तबुझ्दो कारण स्वयं मालिकसँग नै थिएन । मालिकको मौनतामा उदयका आग्रह बिलाए ।

लडाई जागिरको मात्र नभई अधिकारको पनि थियो । ११ वर्ष बढी समय यताउता नगरि काम गरेको इमान्दार कलमले आफैबाट पनि न्याय मागिरह्यो । आफुले नभ्याएपछि उदयले पत्रकार महासंघलाई गुहारे । श्रमजीवीको अधिकारको पक्षमा लडनुपर्ने महांसघलाई पनि उदयले ११ वर्ष गरेको ‘श्रम’ भन्दा भरपर्दो केही कागजका खोस्टा लागे । जहाँ मालिकहरुले कोरिदिएका केही वाक्य हुन सक्थे– नियुक्तिको समय, जागिरबाट हटाउँदाको समय.. अन्य केही । तर यी सबै जुटाउने सामथ्र्य एउटा श्रमजिवीले कसरी राख्न सक्थ्यो ? उनी हार खाएजस्ता भए ।

अनि मेरो आफ्नै श्रमजीवी मन पनि सोच्न बाध्य हुन्छ- श्रमजीवीको अधिकारको संरक्षण गर्छु भनेर दुहाई दिने पत्रकार महासंघका लागि भरपर्दो प्रमाण श्रमजिवीले ११ वर्ष भरेका पत्रिकाका पन्ना होलान या आठ लाइने कागजको खोस्टो ? मालिकबाट निर्देशित नियम कानुन हुन् या श्रमजीवीले गरेको श्रमको जीवन्त इतिहास ? जवाफ दिनेले चाँडै देऊन् ।

होटेलदेखि पिसिओसम्म । भाँडा चम्काउनेदेखि मान्छे चम्काउनेसम्म । उदयसँग कैयन् रोचक अनुभव छन् ।

uday bare narendra-1

उदय जीएमको जीवनी, व्यक्तित्व र कृतित्व शीर्षकमा त्रिभुवन विश्वविद्यालयमा शोधपत्रसमेत तयार भइसकेको छ । तर ती सबै कोट्याएर उनलाई धेरै झस्काउन चाहिनँ मैले ।

किनकि संघर्षका ती दिन सम्झिएर उनी भावुक हुन सक्छन् ।

भावनाले आँसु झारिदिन सक्छ । अनि आँसुले हौसलाको बाटो छेकिदिन्छ ।

क्यान्सरपीडित छत्रलाई बचाउन उदयमा हौसलाको खाँचो छ ।

मैले चाहिँ कुराकानीको बिट मार्ने उद्देश्यले उदयलाई अन्तिममा सोधें– ‘अनि बड्डा उदय यत्रो संघर्ष ग¥यौ । दुःख पसिना बगायौ । कैयन् अनुभव संगाल्यौ । लौ भन जिन्दगीको ४४ औं बसन्त पार गरिरहँदा के कमाएँ भन्ने लाग्छ ?’

उदय एकछिन टक्क अडिए । चाउरी परी नसकेको निधार हल्का खुम्च्याएर मास्तिर हेरे ।

एकछिनपछि…

सेतो सर्टको दाहिने गोजीबाट सुरजमुखी सुर्ति निकालेर मिचमाच पारे । सुर्तिको एक भाग मेरो हातमा टक्र्याए । र जीवनबारे सुर्तिजस्तो मसिनो निष्कर्ष सुनाए– ‘भुपेन बड्डा, पत्रकारिता र समाजसेवा गर्दा जोवन गुमाइयो, मलामी कमाइयो ।’
०००

सहकर्मी नरेन्द्र केसीका नजरमा उदय जीएम

सबल पक्ष

– अन्यन्त निष्ठावान् र दृढ छन् । आफूलाई सत्य लागेको कुराप्रति ज्यान गए नि दायाँ बायाँ गर्दैनन् ।

– संवेदनशील पनि छन्, कुनै सानो कुराले पनि मन छोयो भने बाँकी संसार छाडेर त्यसको उद्धारमा लाग्छन् ।

– कर्म र संघर्षमा विश्वास गर्ने मान्छे हुन् । आफूले चाहेको काम गर्न जस्तोसुकै कठिनाइ व्यहोर्न नि तयार हुन्छन् ।

– परिवार र समाजप्रतिको जिम्मेवारीबोध यिनको अनुकरणीय पाटो हो ।

दुर्बल पक्ष

– व्यक्तिगत समय व्यवस्थापनमा उदासिन हुनु यिनको सबैभन्दा ठूलो कमजोरी हो ।

– आफूलाई आशंका लाग्यो भने तथ्यसंगत पुष्टि नगरी यही त होला भनेर निर्णय लिइहाल्ने र त्यसमै टिक्ने जिद्धीपना छ ।

– प्रायः कार्यक्रमको समापन चरणमा पुग्छन् । छिटो पुग्ने चराले बढी चारो खान पाउँछ भनेर यिनलाई कसले बुझाइदेला ?

– राम्रो साहित्य लेख्ने मान्छे हुन् । तर हिजो आज साहित्यकार कम, कभर र पात्रो डिजाइनर बढी भएका छन् । त्यहीं पनि समयमै काम गर्न नसकेपछि फोन समेत उठाउने जाँगर गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्