दुःखसँग लडिरहेको मानिस

       टीकाराम उदासी | 2468 Views |   Published Date : 13th April 2016 |

udasi_cap smallअस्ति बिहीबार, २०७२ चैत्र २४ गते । बिहान सवा आठ बजे मैले फोन गरेँ गुरुवर मित्र वा मित्रवत् गुरु जे भने पनि हुने साहित्यकार नित्यानन्द शर्मालाई । मलाई फोन गरुँ कि नगरुँ भएको थियो अर्थात् म दुविधामा थिएँ केहीबेर ।

कारण फोन उनी आफै उठाउने हुन् कि होइनन् भन्ने संशय थियो मभित्र ।

तर उनले तुरुन्त आफै फोन उठाए र भने, ‘हेलो उदासी सर, नमस्कार ! मैले नमस्कार भनिनभ्याउँदै उनले नमस्कार गरेपछि मलाई स्वाभाविकै रुपमा केही संकोचबोध भयो नै, तर मैले पनि शिष्टाचारवश नमस्कार भनेँ ।

उनको यो विनयशील स्वभाव, आदत र मिठो बोलीबाट धेरै मानिसहरु परिचित छन्, कोही पराजित पनि होलान् । म त नतमस्तक नै छु धेरै अघिदेखि नै, अढाइ दशकअघिदेखि नै भन्दा हुन्छ होला ।

‘सरलाई कस्तो छ ? सञ्चै छ ?’

मैले अप्ठेरो मानी–मानी सोधेँ किनभने उनी आजभोलि सञ्चो छैनन् भन्ने मलाई मात्र होइन– धेरै लेखक, पत्रकार, उनका आफन्त र शुभेच्छुकहरु सबैलाई थाहै छ ।

खासमा मैले संवादको कुनै मेसो नपाएरै उनीसँग यी अनावश्यक तर शिष्टाचारका शब्दहरुबाट फोनसंवाद प्रारम्भ गरेको हुँ ।

उनले भने, ‘हजुर उदासीजी, म एकदम राम्रो छु, धेरै सुधार हुँदै गइरहेको छ, मेरो चिन्ता गर्नु पर्दैन, अलि–अलि विक्नेस (कमजोरी) मात्र बाँकी छ ।

nityanada1

उनले भन्दै गए, ‘आजै काठमाडौं हिड्न लागेको छु, बूढी र म दुबै जानुपर्ने, उही पेन्सनको काम नि, मैले सहीछाप मात्रै गर्ने हो, अरु सबै काम भइसकेको छ, अबको दश मिनेटभित्रै हिड्दैछु, प्राइभेट गाडीको व्यवस्था छ, ठिकै छ ।’

उनले एकै सासमा यी सबै कुराहरु भनेर सके । त्यसपछि म फेरि एकपल्ट कन्फ्यूज भएँ, कताबाट कुराकानी गर्ने वा विदा हुने भनेर । बल गरेर यति सोध्न भ्याएँ मैले, ‘सर रिटायर्ड भएको कति भयो रे ?’

‘यही गएको पुस २९ गते । २०३० सालमा जागिर शुरु गरेको हो यही क्याम्पसमा, अहिले ठिक ४२ वर्षको अनवरत सेवापछि २०७२ पुसमा रिटायर्ड भइयो । उमेर ६३ वर्ष ।’ उनले भने । उनको जागिर शुरु हुने समय र म जन्मिएको समय एउटै परेछ । एउटा गजबको संयोग ।

‘सरले कतिवटा किमो दिनुभयो अहिलेसम्म ?’ मैले पुनः जिज्ञासा राखेँ । खासमा उनीसँग यत्ति चाँडै फोनसंवाद अन्त्य गर्नु उचित हुँदैन कि भन्ने मलाई अनुभूति भइरहेको थियो ।

उनले उही सरल शैलीमा भने, ‘तीनवटा किमो दिइयो उदासीजी, अब चौथो किमोका लागि यही वैशाख १ गते पुनः दिल्ली जाँदैछु । जम्मा १२ वटा किमो लगाउने भनेको छ डाक्टरले । नयाँ वर्षकै दिन क्यान्सरविरुद्ध किमो दिन उनी दिल्ली प्रस्थान गर्ने खबरले नमिठो अनुभव नभएको होइन तर मैले त्यसलाई व्यक्त गरिनँ । यत्ति भनें, ‘हो नि सर, उपचार त गर्नैप¥यो नि ।’

नित्यानन्द शर्मा गएको पुस २९ गते यस क्षेत्रकै पुरानो र राप्तीको हालसम्मकै त्रिभुवन विश्वविद्यालयको एकमात्र आङ्गिक क्याम्पसका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस (२०१६), भरतपुर दाङको उप–लाइब्रेरियनको जागिरबाट रिटायर्ड भए ।

Nityananda sharmaरिटायर्ड हुँदा उनको मनमुटुभरि बाँकी जिन्दगीका रङ्गीन सपना र सिर्जनात्मक योजनाहरु मात्र थिए । उनले आफूलाई कहिल्यै बूढो भनेनन्, सदाबहार तन्नेरी । सधैंको तन्नेरी जोस, जाँगर र सक्रियता । भेटघाट र भलाकुसारीमा सबैसँग भन्थे उनी– अबको रिटायर्ड लाइफ पनि पुनः सामाजिक र साहित्यिक क्षेत्रमा समर्पण गर्ने हो, जागिरे जीवनभन्दा अझै सक्रिय हुने हो नि । मसँग धेरै योजनाहरु बाँकी छन्, दिमागमा सबै सेट छन् ती ।

तर जिन्दगी उनले सोचेजस्तो भएन । माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन नै । उनले आफ्नी जन्म दिने आमालाई सधैँका लागि विदा गर्नुप¥यो । उनीमाथि समयले गरेको पहिलो निर्मम प्रहार थियो त्यो । परम्पराअनुसार उनले आमाको किरिया गरे तर त्यही अवधिमा उनी अस्वस्थ बने । हामी उनकी आमाप्रति श्रद्धाञ्जली व्यक्त र उनीप्रति समवेदना पनि प्रकट गर्न गएका थियौँ । केही कमजोर देखिएका थिए उनी । लाग्यो, किरिया बस्दा खानपिन, सुताइ आदि नमिलेर कमजोर भएका होलान् । तर होइन रहेछ । हाम्रो अनुमान गलत प्रमाणित पनि भयो बिस्तारै ।

आमाको काम सकिएपछि उनी फागुन २ गते उपचारका क्रममा बाँकेको कोहलपुर पुगे । फागुन १२ गते उनको मोटेआन्द्राको पानी दिल्ली पठाइयो परीक्षणका लागि । फागुन २० गते उनी आफै दिल्ली पुगे । फागुन २६ गतेसम्म निरन्तर उनको गम्भीर परीक्षण भयो ।

त्यसपछि पत्ता लाग्यो– उनलाई क्यान्सर भएको रहेछ । यो समयले उनीमाथि गरेको दोस्रो खतरनाक आक्रमण थियो । पहिलो किमो दिएर घर फर्किएपछि उनलाई क्यान्सर भएको खबर बतास जता–जता पुग्छ, त्यतै–त्यतै फैलियो ।

त्यसपछि घोराही अम्बापुरस्थित उनको घरआँगनमा साथीभाइ, इष्टमित्र र शुभेच्छुकहरुको भीड निरन्तर नै लागिरहेको छ । त्यसै क्रममा हामी केही लेखक, पत्रकार, साहित्यकारहरु उनलाई भेट्न पुग्यौँ फागुनको अन्तिम अन्तिमतिर ।

दाङ उद्योग वाणिज्य सङ्घले नित्यानन्दकै गाउँ अम्बापुरमा यसपल्ट कृषि, पर्यटन तथा औद्योगिक मेला वा महोत्सव लगाएको थियो । सधैँका मेला, उत्सव र कार्यक्रमहरुमा नियमित व्यस्त देखिने नित्यानन्द यसपल्ट कतै देखिएनन् । सायद धेरैले यो रिक्तता महसुस गरेको हुनुपर्छ । स्वाभाविकै रुपमा हामी सिर्जनाका सहयात्रीहरुलाई यो महसुस भयो नै ।

साहित्यिक कार्यक्रम सकेर हामी केही साथीहरु उनका घरमा गयौँ । तर सबैका मन–मनमा केही थोक अव्यक्त पीडाका सिलसिला, केही अनुत्तरित प्रश्नका हरफहरु र केही त्रासका क्षणहरु पनि साथमै थिए । हामीहरु थियौँ राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् प्राज्ञ अमर गिरी, अग्रज साहित्यकार गिरिराज शर्मा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्यहरु पद्मप्रसाद शर्मा र यज्ञबहादुर डाँगी, केन्द्रीय पार्षद् रामप्रसाद जैशी, कविहरु केशव थापा, नारायणप्रसाद निरौला आदि–आदि ।

अग्रज पत्रकार नारायण गुरुहरु पहिले नै गइसक्नुभएको रहेछ । साहित्यकार उत्तमकृष्ण मजगैयाँ त दिनदिनै गइरहनुभएकै थियो । सायद उहाँकै मुखबाट मैले नित्यानन्द सरलाई गम्भीर रोग लागेको खबर सुनेको थिएँ । त्यतिबेला मेरा शरीरभरि काँडाहरु उम्रिएका थिए । म केही क्षण मौन बनेको थिएँ– आश्चर्य र पीडाबोध दुबैले ।

धेरै कुराकानीहरु भए । स्वास्थ्यसँग सम्बन्धित र अन्य विषयबारे चर्चाहरु चले । स्वास्थ्य खस्किएकै थियो तर उनमा आत्मविश्वास र उत्साहको कुनै कमी थिएन, झन बढेको हो कि जस्तो पो लागिरहेको थियो हामीलाई । उनले उत्तमकृष्ण सर र मलाई एउटा कविताकृतिको सम्पादन गर्ने जिम्मेवारी दिए । मैले जिम्मेवारी लिएर फर्किएँ । उत्तम सरसँग पहिले नै सरसल्लाह भइसकेको रहेछ ।

दाङमा रहेर म जहिलेदेखि साहित्य क्षेत्रमा लागिरहेको छु, त्यतिबेलादेखि नै नित्यानन्द शर्मा यस क्षेत्रमा सक्रिय रहेका छन् । तीसको दशकअघिदेखि कविता लेख्न थालेका उनले अहिलेसम्म धेरै सिर्जनाहरु गरिसकेका छन् । यद्यपि ‘बाँच्ने रहर’ कथासङ्ग्रह र ‘जूनमामा’ बालगीत सङ्ग्रहजस्ता पुस्तकाकार कृतिहरु र केही फुटकर सिर्जनाहरु उनका प्रकाशित छन् भने धेरै पाण्डुलिपिहरु अझै उनीसँगै रहेका छन् ।

त्रिभुवननगर जेसिसले पनि उनको एउटा किताब प्रकाशित गर्न लागेको खबर पाइएको छ, अति राम्रो काम । उत्तम सर र मेरो जिम्मामा परेको कविताकृति पनि प्रेसमा पुगेको छ । मलाई लाग्छ– यी दुबै किताब बैशाखमै पाठकसमक्ष आउनेछन्, आइपुग्नेछन् ।

मैले आजभन्दा २६ वर्षअघि पद्योदय स्कुल भरतपुरबाट एसएलसी सकेको हुँ । त्यसपछि स्कुलसँगै पर्खाल जोडिएको महेन्द्र क्याम्पसमा भर्ना भइयो । क्याम्पस प्रवेशसँगै नित्यानन्द सरसँग परिचय भएको हो । मेरो पुस्तकप्रेम र उहाँ पुस्तकालय प्रमुख भएका कारणले पनि उहाँसँग म जति नजिक भएँ, अरु सरहरुसँग त्यति हुन सकिएन । उहाँसँगै सुशील गौतम सरसँग पनि नजिक भइयो तर धेरैपछि मात्र ।

शुरुमा दिनहरुमा मेरो पुस्तकप्रेमको भोकलाई शान्त बनाउने क्रममा नित्यानन्द सरको ठूलो योगदान छ भन्ने मलाई लाग्दछ । खासमा क्याम्पस, पुस्तकालयको नियमअनुसार एकजना विद्यार्थीले हप्तामा दुईवटा किताब मात्र घर लैजान पाउने व्यवस्था थियो तर मलाई त्यसले पुग्दैनथ्यो । किनकि त्यतिबेला ममाथि साहित्यिक पुस्तकहरु पढ्ने भूत यसरी चढेको थियो कि कोर्षका किताब र तिनका सन्दर्भ पुस्तकले मात्र मलाई पुग्ने कुरै थिएन । सबै किताब न किनेर सम्भव थियो न त बजारमै पाइन्थ्यो ।

त्यस अवस्थामा नित्यानन्द सरले गरेको सहयोग र दिएको प्रेरणा मेरा सम्झनामा अमिट छाप बनेर रहेको छ । मैले पहिलो किताब प्रकाशित गर्नुका पछाडि उनकै प्रेरणाले पनि ठूलो काम गरेको छ । उनले आफ्नै कार्डबाट मलाई सयौँ किताबहरु निकालिदिएका छन् । यो क्रम उनले अवकाश प्राप्त गर्ने मितिसम्मै निरन्तर जारी रह्यो । दाङ क्याम्पसबाट स्नातक सकेको पनि दुई दशक बितिसकेछ तर पनि हाम्रो सम्बन्ध उस्तै छ, हाम्रा सम्बन्धसूत्रहरु उस्तै बलिया छन् ।

आफू अवकाश हुने समयका अन्तिम दिनहरुसम्म उनले आफ्नो कार्डमा किताब लैजानेहरुको विवरण हेरिरहेका थिए । गएको पुस महिनाको एउटा बिहान । मसँग भएका केही किताबहरु फिर्ता गर्न गएको थिएँ म उनकै कार्यकक्षमा । मैले किताबहरु बुझाइसकेपछि उनले मित्र नवीन विभास र सागर पण्डितको फोन नम्बर मागे, कारण उनी दुबैले स्नातक पढ्दा लिएका किताब बुझाउन बाँकी रहेछन् । नियत खराब भएर होइन उदासीजी, बिर्सिएर– उनले मलाई भने ।

त्यसपछि मैले नवीनले लिएको किताबको नाम सोधेँ । ध्रुबचन्द्र गौतमको डापी उपन्यास रहेछ । मैले दुईचार दिनपछि साझा प्रकाशन, घोराहीको बिक्री कक्षबाट किताब किनेर लिदा भूलवश परेछ– ध.च. गोतामेको घामका पाइलाहरु नामक उपन्यास । पछि कथाकार भाइ महेन्द्र महकसँग किताब साट्नुप¥यो मैले । उनले मलाई डापी उपन्यास दिए र मैले उनलाई घामका पाइलाहरु । त्यसपछि मैले नवीनले लिएको किताब बुझाइदिएँ डापी उपन्यास । सागर पण्डितको फोन नम्बर पनि नित्यानन्द सरलाई टिपाइदिएँ एकदिन फोन गरेर ।

त्रिभुवननगर जेसिजदेखि परिवार नियोजन सङ्घ दाङका पूर्वअध्यक्ष नित्यानन्द शर्मा राप्ती साहित्य परिषद, लेखक सङ्घजस्ता धेरै संस्थाहरुमा रहेर पनि महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । साथै उनले यस क्षेत्रमा भएगरेका राष्ट्रिय कविता महोत्सवदेखि चौथो राष्ट्रिय लोकवार्ता सङ्गोष्ठीजस्ता राष्ट्रिय रुपमै चर्चित कार्यक्रमहरु सम्पन्न गर्नमा पनि अनुकरणीय योगदान गरेको हाम्रा स्मृतिबिम्ब बनिरहेका छन् । अझ रोचक पक्ष, उनले ती सबै कार्यक्रमहरुमा प्रदान गरिएका परिचय–पत्र, प्रमाण–पत्र, प्रशंसा–पत्र, सम्मान–पत्र पनि आफैले लेखेका छन् । धेरैका घर–घरमा पुगेका यी अभिलेखहरुमा उनका सुन्दर हस्ताक्षरहरु कुँदिएका छन् ।

विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियरले कतै लेखेका छन्– ‘मानिसको जीवनमा दुःख वा विपत्ति एक्लै आउँदैन, जुलुस लिएर आउँछ ।’

यतिबेला यी हरफहरु दाङका एउटा अग्रज साहित्यकार नित्यानन्द शर्माको जीवनमा पूर्णतः चरितार्थ हुन पुगेको छ । तर उनी कत्ति पनि आत्तिएका छैनन्, उनी निरास पनि भएका छैनन् जीवनको यो मोडमा आइलागेको एउटा अकथनीय दुःख, पीडा र विपत्तिबाट । बरु उनी अझै उत्साही र संघर्षशील बनेका छन् ।

भन्छन्– ‘म क्यान्सर लाग्यो भनेर निरास छैन, औषधी गर्नका लागि मसँग पेन्सन आउँदाको पैसा छ, सम्पत्ति छ, सबैभन्दा ठूलो कुरा मेरो काँध थाम्ने मेरो छोरा छ ।’ उनले उपचारका लागि भनेर कतै सहयोग मागेका छैनन्, माग्न पनि चाहन्नन् । भन्छन्– ‘मसँग सबै छ, मैले किन माग्ने अरुसँग । यही सम्पत्ति बेचेर भए पनि औषधी गर्छु, पेन्सन निस्कदा आएको पैसा खर्च गर्छु ।’

मान्छे धरतीमा जन्मन्छ । जन्मेपछि बालक, युवा र बृद्ध पनि हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । मान्छे धरतीमा जन्मेपछि एकदिन मर्छ । यो पनि नियमित प्रक्रिया नै हो । अन्नपानीको यो शरीरमा अनेक प्रकारका रोगहरु लाग्छन् । यो पनि सनातन परम्परा नै हो ।

तर नित्यानन्द शर्मालाई क्यान्सर रोगले आक्रमण गर्दा हामी उनका साथीभाइ, आफन्त र शुभेच्छुकहरु बेचैन बनिरहेका छौँ । उनले क्यान्सरविरुद्ध निरन्तर किमो दिइरहेका छन्, हामी उनको बाँकी जीवनको स्वास्थलाभको कामना गरिरहेका छाँै । उनको बलियो आत्मविश्वास, दुर्लभ उत्साह र जीवनको जिजीविषा साँच्चैको सार्थक बनोस्, यही शुभकामनासहित यी हरफहरु अन्त्य गर्दछु ।

प्रतिक्रिया दिनुहोस्